लघुवित्तमा गरिएको लगानी असुरक्षित भयो, राष्ट्र बैंकले भूमिका खेलेन
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले लघुवित्त वित्तीय संस्था विरुद्ध अराजक घटना हुँदा पनि नियामक निकाय राष्ट्र बैंकले आफ्नो भूमिका निर्वाह नगरेको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लम्सालले लघुवित्त संस्थालाई अफ्ठ्यारो परेको बेलामा सहयोग नगरेको दुखेसो गरेका हुन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका लम्सालले राजनीतिक पार्टीमा आवद्ध भएका व्यक्तिले लघुवित्त विरुद्ध आन्दोलन गरेको बताए । लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिटका घटना बढेकाले काम गर्ने वातावरण नभएको उनले बताए । साथै, लघुवित्तमा गरिएको लगानी पनि असुरक्षित भएको उनको भनाइ छ । ‘लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले काम गर्ने वातावरण भएन, लघुवित्तमा गरिएको लगानी असुरक्षित भयो, यस्तै अवस्था रह्यो भने लघुवित्त संस्था चलाउन सक्दैनौं, बन्द गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अप्ठ्यारो परेको बेलामा नेपाल राष्ट्र बैंकले समेत सहयोग गरेको छैन, लघुवित्त संस्थाले ऋण मिनाहा वा छुट दिन सक्दैन ।’ उनले लघुवित्तले गलत गरको भए कानुनी बाटो अपनाएर कारवाही भोग्न तयार रहेको बताए । तर, अनाहकमा आरोप लगाएर काम गर्ने वातावरण नबिगार्न उनको आग्रह छ ।
कक्षा ११ मा निजी स्कुलले लिने शुल्कको शिर्षक र शुल्क महानगरलाई बुझाउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी स्कुलहरुले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा काठमाडौं महानगरलाई विवरण बुझाउनुपर्ने भएको छ । महानगरले असार ५ गते सूचना जारी गर्दै विद्यालयहरुले लिने शुल्कको शिर्षक र शुल्कको प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ । विद्यालयहरुले उक्त शुल्क प्रस्ताव असार मसान्तभित्र महानगरको कार्यालयमा पेस गर्नुपर्ने बताएको छ ।
कर्पोरेट पे मार्फत् ५० अर्बको कारोबार
काठमाडौं । कर्पोरेट पे मार्फत् जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार भएको छ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो । गत आर्थिक वर्ष कुल १०९.५ रुपैयाँअर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४२१ अर्ब रुपैयाँभन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कपार्रेट पे मार्फत् डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो । हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कपार्रेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ७,७०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० रुपैयाँकरोड सम्म गर्न सकिन्छ । साथै, व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।
गुरुङको प्रवेशले कृषि विकास बैंककाे छलाङ, असार नबित्दै ‘टार्गेट मिट’
काठमाडौं । निजी क्षेत्रबाट प्रतिस्पर्धा गरेर सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने पहिलो ब्यक्ति हुन् गोविन्द गुरुङ । बैंकको सीईओमा नियुक्त भएसँगै उनको कार्यशैलीलाई सेयरधनीहरुले नजिकबाट नियालिरहेका छन् । नोक्सानीमा रहेको कृषि विकास बैंकलाई सीईओ गुरुङले कसरी अघि बढाउँछन् भन्ने चासो सेयरधनी, सञ्चालक र ग्राहकको पनि छ । गत फागुन पहिलो साता बैंकको सीईओमा नियुक्त भएका गुरुङसँग निजी बैंकसँगै विदेशी बैंकको पनि अनुभव भएकोले पनि धेरैले उनको कार्यशैली र कृषि विकास बैंकका गरिरहेको कामलाई निगरानी गरिरहेका छन् । कमजोर अवस्थामा रहेको तत्कालीन सिभिल बैंकलाई बलियो बैंक बनाएपछि बैंकिङ्ग क्षेत्रमा उनको कामको चर्चा भएको थियो । त्यो संकेत कृषि विकास बैंकमा पनि देखिएको छ । सीईओ गुरुङको प्रवेशले बैंकलाई सफलताको बाटोमा डोर्याइरहेको छ । उनले बैंकको जिम्मेवारी सम्हालेको ५ महिनामै बैंकलाई एक किसिमको उचाईमा पुर्याएको बैंकका नायब महाप्रबन्धक डा.बाबुकाजी थापा बताउँछन् । । सीईओ गुरुङले कार्यभार सम्हादा चालु आर्थिक वर्षको पुसमा बैंक १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक थियो । बैंकको खराब कर्जा पनि झण्डै ५ प्रतिशतको हाराहारीमा थियो । गुरुङ सीईओमा नियुक्त भएपछि बैंकलाई धनात्मक बनाए भने खराब कर्जा निरन्तर घटाइरहेका छन् । साथै, निजी क्षेत्रका वाणिज्य बैंकलाई समेत टक्कर दिने अवस्थामा पुर्याएको थापाको भनाइ छ । एनपीएल २ प्रतिशतमा झार्ने चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको एनपीएल ४.२० प्रतिशत रहेको छ । यसअघि पुसमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । सीईओ गुरुङले चालु आवको असारसम्म बैंकको खराब कर्जा २ प्रतिशतमा झार्ने लक्ष्य राखेका छन् । सोही अनुसार बैंकका कर्मचारीहरु आक्रामक भएर ऋण असुलीमा जटेको उनको भनाइ छ । ‘अहिले सबै कर्मचारीहरु कर्जा असुलीमा खटिएका छन्, बैंकको खराब कर्जा ५ प्रतिशतबाट घटाएर असारमा २ प्रतिशतमा झार्ने योजना छ,’ उनले भने, ‘२ प्रतिशतमा खराब कर्जा झार्न सकियो भने नाफामा राम्रो प्रभाव पार्ने छ, शाखा कार्यालय, प्रदेश कार्यालय र केन्द्रिय कार्यालयका कर्मचारीहरु दिनरात काम गर्दै हुनुहुन्छ ।’ उनका अनुसार राष्ट्र बैंकले रिल्याक्सेसन दिएका कारण खराब कर्जा २ प्रतिशतमा झार्न सम्भव छ । गत पुससम्म असल वर्गमा भएका कर्जा बिग्रिएका छन् भने कम्तिमा १० प्रतिशत ब्याज असुली गरेर पुनसंरचना तथा पुनरतालिकीकरण गर्ने सुविधा दिएको थियो । राष्ट्र बैंकले त्यसैलाई निरन्तरता दिएर चैतसम्म असल कर्जाको १० प्रतिशत ब्याज लिएर पुनसंरचना तथा पुनरतालिकीकरण गर्ने सुविधा थप दिँदा एनपीएल घट्ने उनको भनाइ छ । गुरुङ सीईओ भएर आएपछि बैंकले राम्रो प्रगति गरेको तथ्याङ्कले स्पष्ट पार्छ । साथै सीईओ गुरुङले बैंकको काम गर्ने तौरतरिका पनि पूर्ण रुपमा परिवर्तन भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव र निजी क्षेत्रको वाणिज्य बैंकमा काम गरेको अनुभवले सरकारी बैंकलाई प्रगतिको दिशातिर डोर्याएको उनले बताए । अबको १५÷२० दिनपछि चालु आवको पूर्ण विवरण आउने भएकाले के कति काम गरेको रहेछ भनेर छर्लङ्ग हुने उनको भनाइ छ । ‘अकबरी सुनलाई कशी लाउनु पर्दैन भने जस्तै हुन्छ, यसमा टिमको पनि भूमिका हुन्छ तर, टिमलाई परिचालन गर्न सक्ने, सकारात्मक भायव ल्याउन सक्ने क्षमता सीईओ गुरुङसँग छ, त्यही अनुसार कर्मचारी परिचालन भए र बैंकले प्रगति गरेको हो,’ उनले भने, ‘गुरुङ सर कर्मचारीका लागि नयाँ र उहाँको लागि कर्मचारी पनि नयाँ थिए, नयाँ जोसजागँरका साथ काम गर्नु पर्छ भन्ने सकारात्मक भायव आयो, गत पुसमा ऋणात्मक भएको नाफा चैतमा धनात्मक हुन पुग्यो ।’ सीईओ गुरुङले बैंकमा काम गर्ने शैलीमा परिवर्तन ल्याएको अर्का एक उच्च अधिकारीको दावी छ । उनका अनुसा टर्मिनलोजी, भाषा लगायत थुप्रै कुराहरुमा फरक भएको छ । सीईओ गुरुङले अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीमा काम गर्ने वातावरण बनाएको उनको भनाइ छ । ‘पहिलाको काम गर्ने शैली र नयाँ शैलीमा महसुस हुने गरी काम भएको छ, बैंकमा कर्मचारीले अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रक्रिया, ट्रेण्ड, काम गर्ने तरिका, एक्सपोजर पाएका थिएनन्, अहिले कुनै न कुनै रुपले उहाँको अनुभव उच्च व्यवस्थापन समूहसँग सेयर भएको छ, ५ महिनाको अवधिमा २७२ वटै म्यानेजरलाई भेट्नु भएको छ, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गएर आफ्नो अनुभव साट्नु भएको छ, म्यानेजरहरुमा प्रत्यक्ष मोटिभेसन देखिएको छ, उहाँहरुले नयाँ कुराहरु सिक्ने अवसर पाउनु भएको छ,’ ती कर्मचारीले भने । कर्जा प्रवाहमा छलाङ सीईओ गुरुङ आउनु अघि कृषि विकास बैंकले स–साना कर्जा मात्रै जोड दिइरहेको थियो । औषतमा ८५÷८६ प्रतिशत कर्जा १० लाखभन्दा कम रकमका थिए । अहिले ठूला कर्जामा पनि जोड दिएको छ । ‘सानो कर्जाले दुख पाइने रहेछ, ग्राहकलाइ बैंकिङ अनुशासनमा राख्न गाह्रो र डकुमेन्टेसनमा समस्या हुन्छ, अब कमर्सियल भएर ठूलो कर्जामा लगानी गर्नु पर्छ भनेर बिग हाउस, हाइड्रो, ट्रेडिङ, उद्योग, सिमेन्ट उद्योगमा लगानी गरिरहेका छौं,’ उनले भने । यस्तै, बैंक भित्रका विभिन्न किसिमका सफ्टवेयरलाई परिमार्जन गरिएको छ । सामूहिक निर्णय प्रक्रियाको जग बसेको छ । कुनै पनि निर्णय गर्दा सामूहिक निर्णय गर्ने परिपाटीको सुरुवात बैंकमा भएको छ । ‘कृषिप्रति गुरुङ सरको मायामोह र झुकाव पनि छ तर, त्यो भनेर १०÷२० लाख मात्रै बाँडेर हुँदैन, अन्य निजी ज्वाइन्ट भेञ्चर बैंकसँग प्रतिस्पर्धा गर्नका लागि ठूलो कर्जामा जानु पर्ने रहेछ, अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणाली अपनाउन ट्रेड फाइनान्स एलसीमा जाने, ठूला एलसी खोल्ने काम अघि बढेको छ, विदेशी मुद्रामा कारोबार गर्ने गराउने परिवर्तन भएको छ,’ उनले भने । असारको लक्ष्य पुरा बैंकले असारसम्म निक्षेपमा राखेको लक्ष्य पुरा गरिसकेको छ । बैंकसँग हाल १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सो लक्ष्य पुरा भएको बैंकले जनाएको छ । असारमा १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप पुर्याउने बैंकको लक्ष्य थियो । निक्षेप संकलनमा लक्ष्य हासिल गरेको भएपनि कर्जाको टार्गेट भने पुरा गर्न सकेको छैन । ‘अन्य बैंकले जे भोगेका छन् त्यही अवस्था कृषि विकास बैंकमा पनि छ । कर्जाको माग नै छै । ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन्, आउनु लैजानु भन्दा पनि लगेको अवस्था छैन । नयाँ कर्जाको माग नभएको हुँदा बैंकको लक्ष्य पुग्न गाह्रो छ, असार मसान्तमा बैंकको कर्जाको लक्ष्य २ सय अर्ब थियो । अहिले १८० अर्ब रुपैयाँ मात्रै पुगेको छ । गत असारमा बैंकले २ अर्ब ६९ करोड खुद नाफा गरेको थियो । यो असारमा पनि बैंकले गत असारको नाफा कटाउने टार्गेट राखेको छ । आजको दिनमा बैंक ८/१० अर्ब कर्जा लगानी गर्न सक्षम रहेको बैंकले जनाएको छ । ‘अहिले पनि गत असारको नाफा कटाउने लक्ष्य छ, अबको १५ दिनले निर्धारण गर्छ, हामी आक्रामक भएर काम गरिरहेका छौं, हरेक दिनको प्रगति हेर्दा त्यो लक्ष्य पुरा गर्छाै,’ उनले भने, ‘कर्जाको वृद्धि नहुने र निक्षेप बढ्दै गएको छ, ब्याज आम्दानी नहुने र निक्षेपमा ब्याज दिनु पर्ने स्थिती छ ।’ उनका अनुसार बिग्रेको कर्जा उठाउने, राइट ब्याक गराउने, प्रोभिजन कम भन्दा कम गराउने, नाफा मिट गर्ने उद्देश्य छ । अहिले राष्ट्र बैंकले लेखापरीक्षण गराइरहेको हुँदा कति प्रोभिजन स्पष्ट भएको छैन । यसअघि अनिल उपाध्याय सीईओ हुँदा बैंकका वित्तीय सूचकहरु नकारात्मक थिए । तर, सीईओ गुरुङको प्रवेशपछि बैंकले पहिलेकै जस्तो सूचकहरु सकारात्मक बनाउन सफल भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसकिएको पनि स्पष्ट पारे । सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन् । मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको समेत बताए । ‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ, यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ, साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भईसकेको छ, ७० लाख नागरिक विमामा आवद्ध छन । ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो र, यो विमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो, जनताका लागि यो धेरै ठूलो सेवा हो, तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’ मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।
नेको इन्स्योरेन्समा काम गर्ने अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेको इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री
धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।’ धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए । उनले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे । ‘अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हुने चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’ उनले भने। प्रधानमन्त्री प्रचण्डले १८औँ शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि आफ्नो ध्यान राम्रो गर्दै जानेतर्फ रहेको स्पष्ट पारे। भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अनुसन्धान र खोजलाई केन्द्रित गर्ने गरी नयाँ विश्वविद्यालय स्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरे । प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि यो संरचनाले महत्वपूर्ण योगदान गर्ने बताए । धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले सामुदायिक क्याम्पसका लागि सरकारको अनुदान कम भएकाले सञ्चालनका लागि समस्या भएको बताए । सो भवन भारत सरकारको अनुदान सहयोगमा निर्माणमा भएको हो ।
नेप्से दोहोरो अंकले बढ्दा ५ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५५ प्रतिशतले बढी हो । बजारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा भने ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार शिवम् सिमेन्टस्को सबैभन्दा बढी कारोबार भएको छ । एकैदिन ४२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६१.१० रुपैयाँ पुगेको छ । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संंस्थाको ९.९९ प्रतिशतले, नागरिक लगानी कोषको ९.९९ प्रतिशतले, सिभिल लघुवित्त वित्तीय संस्थाको ९.९७ र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । मंगलबार सुपर म्यादी हाइड्रोपावरको सबैभन्दा बढी अर्थात ६.९४ प्रतिशतले घटेको छ । बजारमा ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ५ वटा समूह राताम्मे देखिएका छन् ।