काठमाडौं । निजी क्षेत्रबाट प्रतिस्पर्धा गरेर सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने पहिलो ब्यक्ति हुन् गोविन्द गुरुङ । बैंकको सीईओमा नियुक्त भएसँगै उनको कार्यशैलीलाई सेयरधनीहरुले नजिकबाट नियालिरहेका छन् । नोक्सानीमा रहेको कृषि विकास बैंकलाई सीईओ गुरुङले कसरी अघि बढाउँछन् भन्ने चासो सेयरधनी, सञ्चालक र ग्राहकको पनि छ ।
गत फागुन पहिलो साता बैंकको सीईओमा नियुक्त भएका गुरुङसँग निजी बैंकसँगै विदेशी बैंकको पनि अनुभव भएकोले पनि धेरैले उनको कार्यशैली र कृषि विकास बैंकका गरिरहेको कामलाई निगरानी गरिरहेका छन् । कमजोर अवस्थामा रहेको तत्कालीन सिभिल बैंकलाई बलियो बैंक बनाएपछि बैंकिङ्ग क्षेत्रमा उनको कामको चर्चा भएको थियो । त्यो संकेत कृषि विकास बैंकमा पनि देखिएको छ ।
सीईओ गुरुङको प्रवेशले बैंकलाई सफलताको बाटोमा डोर्याइरहेको छ । उनले बैंकको जिम्मेवारी सम्हालेको ५ महिनामै बैंकलाई एक किसिमको उचाईमा पुर्याएको बैंकका नायब महाप्रबन्धक डा.बाबुकाजी थापा बताउँछन् ।
।
सीईओ गुरुङले कार्यभार सम्हादा चालु आर्थिक वर्षको पुसमा बैंक १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक थियो । बैंकको खराब कर्जा पनि झण्डै ५ प्रतिशतको हाराहारीमा थियो । गुरुङ सीईओमा नियुक्त भएपछि बैंकलाई धनात्मक बनाए भने खराब कर्जा निरन्तर घटाइरहेका छन् । साथै, निजी क्षेत्रका वाणिज्य बैंकलाई समेत टक्कर दिने अवस्थामा पुर्याएको थापाको भनाइ छ ।
एनपीएल २ प्रतिशतमा झार्ने
चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको एनपीएल ४.२० प्रतिशत रहेको छ । यसअघि पुसमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । सीईओ गुरुङले चालु आवको असारसम्म बैंकको खराब कर्जा २ प्रतिशतमा झार्ने लक्ष्य राखेका छन् । सोही अनुसार बैंकका कर्मचारीहरु आक्रामक भएर ऋण असुलीमा जटेको उनको भनाइ छ ।
‘अहिले सबै कर्मचारीहरु कर्जा असुलीमा खटिएका छन्, बैंकको खराब कर्जा ५ प्रतिशतबाट घटाएर असारमा २ प्रतिशतमा झार्ने योजना छ,’ उनले भने, ‘२ प्रतिशतमा खराब कर्जा झार्न सकियो भने नाफामा राम्रो प्रभाव पार्ने छ, शाखा कार्यालय, प्रदेश कार्यालय र केन्द्रिय कार्यालयका कर्मचारीहरु दिनरात काम गर्दै हुनुहुन्छ ।’
उनका अनुसार राष्ट्र बैंकले रिल्याक्सेसन दिएका कारण खराब कर्जा २ प्रतिशतमा झार्न सम्भव छ । गत पुससम्म असल वर्गमा भएका कर्जा बिग्रिएका छन् भने कम्तिमा १० प्रतिशत ब्याज असुली गरेर पुनसंरचना तथा पुनरतालिकीकरण गर्ने सुविधा दिएको थियो । राष्ट्र बैंकले त्यसैलाई निरन्तरता दिएर चैतसम्म असल कर्जाको १० प्रतिशत ब्याज लिएर पुनसंरचना तथा पुनरतालिकीकरण गर्ने सुविधा थप दिँदा एनपीएल घट्ने उनको भनाइ छ ।
गुरुङ सीईओ भएर आएपछि बैंकले राम्रो प्रगति गरेको तथ्याङ्कले स्पष्ट पार्छ । साथै सीईओ गुरुङले बैंकको काम गर्ने तौरतरिका पनि पूर्ण रुपमा परिवर्तन भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव र निजी क्षेत्रको वाणिज्य बैंकमा काम गरेको अनुभवले सरकारी बैंकलाई प्रगतिको दिशातिर डोर्याएको उनले बताए । अबको १५÷२० दिनपछि चालु आवको पूर्ण विवरण आउने भएकाले के कति काम गरेको रहेछ भनेर छर्लङ्ग हुने उनको भनाइ छ ।
‘अकबरी सुनलाई कशी लाउनु पर्दैन भने जस्तै हुन्छ, यसमा टिमको पनि भूमिका हुन्छ तर, टिमलाई परिचालन गर्न सक्ने, सकारात्मक भायव ल्याउन सक्ने क्षमता सीईओ गुरुङसँग छ, त्यही अनुसार कर्मचारी परिचालन भए र बैंकले प्रगति गरेको हो,’ उनले भने, ‘गुरुङ सर कर्मचारीका लागि नयाँ र उहाँको लागि कर्मचारी पनि नयाँ थिए, नयाँ जोसजागँरका साथ काम गर्नु पर्छ भन्ने सकारात्मक भायव आयो, गत पुसमा ऋणात्मक भएको नाफा चैतमा धनात्मक हुन पुग्यो ।’
सीईओ गुरुङले बैंकमा काम गर्ने शैलीमा परिवर्तन ल्याएको अर्का एक उच्च अधिकारीको दावी छ । उनका अनुसा टर्मिनलोजी, भाषा लगायत थुप्रै कुराहरुमा फरक भएको छ । सीईओ गुरुङले अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीमा काम गर्ने वातावरण बनाएको उनको भनाइ छ ।
‘पहिलाको काम गर्ने शैली र नयाँ शैलीमा महसुस हुने गरी काम भएको छ, बैंकमा कर्मचारीले अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रक्रिया, ट्रेण्ड, काम गर्ने तरिका, एक्सपोजर पाएका थिएनन्, अहिले कुनै न कुनै रुपले उहाँको अनुभव उच्च व्यवस्थापन समूहसँग सेयर भएको छ, ५ महिनाको अवधिमा २७२ वटै म्यानेजरलाई भेट्नु भएको छ, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गएर आफ्नो अनुभव साट्नु भएको छ, म्यानेजरहरुमा प्रत्यक्ष मोटिभेसन देखिएको छ, उहाँहरुले नयाँ कुराहरु सिक्ने अवसर पाउनु भएको छ,’ ती कर्मचारीले भने ।
कर्जा प्रवाहमा छलाङ
सीईओ गुरुङ आउनु अघि कृषि विकास बैंकले स–साना कर्जा मात्रै जोड दिइरहेको थियो । औषतमा ८५÷८६ प्रतिशत कर्जा १० लाखभन्दा कम रकमका थिए । अहिले ठूला कर्जामा पनि जोड दिएको छ ।
‘सानो कर्जाले दुख पाइने रहेछ, ग्राहकलाइ बैंकिङ अनुशासनमा राख्न गाह्रो र डकुमेन्टेसनमा समस्या हुन्छ, अब कमर्सियल भएर ठूलो कर्जामा लगानी गर्नु पर्छ भनेर बिग हाउस, हाइड्रो, ट्रेडिङ, उद्योग, सिमेन्ट उद्योगमा लगानी गरिरहेका छौं,’ उनले भने ।
यस्तै, बैंक भित्रका विभिन्न किसिमका सफ्टवेयरलाई परिमार्जन गरिएको छ । सामूहिक निर्णय प्रक्रियाको जग बसेको छ । कुनै पनि निर्णय गर्दा सामूहिक निर्णय गर्ने परिपाटीको सुरुवात बैंकमा भएको छ ।
‘कृषिप्रति गुरुङ सरको मायामोह र झुकाव पनि छ तर, त्यो भनेर १०÷२० लाख मात्रै बाँडेर हुँदैन, अन्य निजी ज्वाइन्ट भेञ्चर बैंकसँग प्रतिस्पर्धा गर्नका लागि ठूलो कर्जामा जानु पर्ने रहेछ, अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणाली अपनाउन ट्रेड फाइनान्स एलसीमा जाने, ठूला एलसी खोल्ने काम अघि बढेको छ, विदेशी मुद्रामा कारोबार गर्ने गराउने परिवर्तन भएको छ,’ उनले भने ।
असारको लक्ष्य पुरा
बैंकले असारसम्म निक्षेपमा राखेको लक्ष्य पुरा गरिसकेको छ । बैंकसँग हाल १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सो लक्ष्य पुरा भएको बैंकले जनाएको छ । असारमा १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप पुर्याउने बैंकको लक्ष्य थियो । निक्षेप संकलनमा लक्ष्य हासिल गरेको भएपनि कर्जाको टार्गेट भने पुरा गर्न सकेको छैन ।
‘अन्य बैंकले जे भोगेका छन् त्यही अवस्था कृषि विकास बैंकमा पनि छ । कर्जाको माग नै छै । ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन्, आउनु लैजानु भन्दा पनि लगेको अवस्था छैन । नयाँ कर्जाको माग नभएको हुँदा बैंकको लक्ष्य पुग्न गाह्रो छ, असार मसान्तमा बैंकको कर्जाको लक्ष्य २ सय अर्ब थियो । अहिले १८० अर्ब रुपैयाँ मात्रै पुगेको छ ।
गत असारमा बैंकले २ अर्ब ६९ करोड खुद नाफा गरेको थियो । यो असारमा पनि बैंकले गत असारको नाफा कटाउने टार्गेट राखेको छ । आजको दिनमा बैंक ८/१० अर्ब कर्जा लगानी गर्न सक्षम रहेको बैंकले जनाएको छ ।
‘अहिले पनि गत असारको नाफा कटाउने लक्ष्य छ, अबको १५ दिनले निर्धारण गर्छ, हामी आक्रामक भएर काम गरिरहेका छौं, हरेक दिनको प्रगति हेर्दा त्यो लक्ष्य पुरा गर्छाै,’ उनले भने, ‘कर्जाको वृद्धि नहुने र निक्षेप बढ्दै गएको छ, ब्याज आम्दानी नहुने र निक्षेपमा ब्याज दिनु पर्ने स्थिती छ ।’
उनका अनुसार बिग्रेको कर्जा उठाउने, राइट ब्याक गराउने, प्रोभिजन कम भन्दा कम गराउने, नाफा मिट गर्ने उद्देश्य छ । अहिले राष्ट्र बैंकले लेखापरीक्षण गराइरहेको हुँदा कति प्रोभिजन स्पष्ट भएको छैन । यसअघि अनिल उपाध्याय सीईओ हुँदा बैंकका वित्तीय सूचकहरु नकारात्मक थिए । तर, सीईओ गुरुङको प्रवेशपछि बैंकले पहिलेकै जस्तो सूचकहरु सकारात्मक बनाउन सफल भएको छ ।