
फाइल तस्बिर
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैंकले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गरेका छन् । चितवनका उद्योगी व्यवसायीले शुक्रबार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । ‘गाउँको लेनदेन मिटरब्याज भयो तर बैंकको किन हुँदैन ?’ अध्यक्ष ओलीले प्रश्न गरे । बैंकहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उनले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।
अध्यक्ष ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने भन्दै उनले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताएका हुन्। ‘बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पु¥याएका गुनासो सुनेको छु’, ओलीले भने, ‘यसरी बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।’
बैंकले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उनले ऋणी र बचतकर्ताप्रति बैंक उत्तरदायी हुनुपर्नेमा जोड दिए। ‘ऋण लगानी ग¥यो, ब्याज आउँछ भनेर बैंक तथा वित्तीय संस्था बस्ने गरेका छन्’, उनले भने, ‘ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठीक होइन ।’
छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले सरकारको नीति र बैंकको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताए ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यावसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गरे । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले राज्यले उद्योगी व्यावसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए।