साढे २ लाख रुपैयाँ लगानीमा कालीकोटमा नेपाली कागज उद्योग, ४ जनालाई रोजगारी
काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । ‘२ लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो, गाउँपालिकाले ३ वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ,’ उनले भने । गाउँमै उत्पादन हुने कच्चा पदार्थ सेतोवढु सदुपयोग हुने र गाउँमै रोजगारी पाउने आएको स्थानीय राजबहादुर सहकारीले बताए । ‘गाउमै केही गरौँ भन्ने युवाहरू मिलेर कागज उद्योगको स्थापना गरेका छौँ, यसले स्थानीयलाई रोजगारी दिन सहयोग पुगेको छ,’ उनले भने । गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिए । ‘नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएका छौँ, कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ,’ उनले भने । उद्योगमा ४ जना स्थानीयले रोजगारी पाएका छन् ।
३३ केजीको अजिङ्गर स्थानीयले काँधमा बोकेर निकुञ्जमा छाडे
काठमाााडौं । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका–३ स्थित लामिटार सामुदायिक वनमा ३३ केजीको अजिङ्गर फेला परेको छ । अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । ‘अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ,’ स्थानीय श्यामबहादुर राईले भने । लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए । ‘अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ,’ पौडेलले भने ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी आज श्रेष्ठ स्वदेश फर्किएका छन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ रेका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । भ्रमणका दौरान उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए । यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उनले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरेका थिए । छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठ शनिवार साँझ छेन्दुस्थित महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । उनी ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन आएका हुन् ।
युक्रेन–रूस–युद्धमा ईयुको तर्फबाट स्पेनले कुटनीतिक अग्रसरता देखाउँदै
एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान कीभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका निम्ति उनी शनिबार बिहान कीभ पुगको बताइएको छ । ‘म युरोपेली सङ्घको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु’, सान्चेजले आफ्नो आधिकारिक ट्विटमा लेखेका छन् । उनले सिङ्गो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन् । ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेनी जनतालाई समर्थन गरिरहनेछौँ’, बिहीबार ईयु शिखर सम्मेलनको क्रममा भ्रमणको घोषणा गर्दै सान्चेजले भनेका छन्, ‘रुसको आक्रमणविरुद्ध लड्ने कीभलाई ईयुको समर्थन’, प्रदर्शन गर्ने उद्देश्य पनि यो भ्रमणको रहेको उनले उल्लेख गरेका छन् । एक वर्ष पहिले ईयु सदस्यताको उम्मेदवार बनेको युक्रेनले यस वर्ष सदस्यता प्राप्तिका निम्ति औपचारिक वार्ता गर्ने तयारी गरेको छ ।
वायुसेवा निगमले मनायो ६५औँ वार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६५औँ वार्षिकोत्सव मनाएको छ । दिवसका अवसरमा नयाँसडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ । विगतका वर्षहरुमा औपचारिक कार्यक्रम गरेर दिवस भव्यरुपमा मनाइने गरिएको भए पनि निगमले यसपटक सामान्यरुपमा कार्यालय परिसरमै अनौपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सव मनाएको हो । निगमको प्रधान कार्यालयबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आएर अनौपचारिक कार्यक्रममा परिणत भएको थियो । वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीलाई आग्रह गरे। उनले सम्पूर्ण कर्मचारी अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्न पनि अनुरोध गरे। वार्षिकोत्सवको अवसरमा असार ८ गते केन्द्रीय कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा निगमका एक सय ७२ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यसैगरी निगमको केन्द्रीय कार्यालयमा असार १५ गते टेबल टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का.मु. उपनिर्देशक शैलेश कंशाकार पहिलो र निगमका अध्यक्ष युवराज अधिकारी दोस्रो भएका थिए । महिलातर्फ उपनिर्देशक सविना शाक्यले पहिलो र उपनिर्देशक प्रतिभा शर्मा दोस्रो भएका थिए। निगमले बिना तामझाम आर्थिक मितव्ययता अपनाइ वार्षिकोत्सव कार्यक्रम मनाइएको विज्ञप्तिमा जनाइएको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६५ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानका नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । स्थापनाको ६५ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु ४८ अर्ब पुगेको छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमले ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार भने राम्रो भइरहेको छ।
आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १४ गते भएको एक विशेष समारोहमा ३६७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । सत्रौं वार्षिक साधारणसभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बैंकले जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ । यस वैंकको हालसम्म कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलले उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र गणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।
मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ । विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम, बाढी आएपछि च्यानलाइजेसन गरिने आयोजनाको योजना छ । आयोजनामा आगामी वर्ष मर्मत सञ्चालनको काम गरिने आयोजनाले जनाएको छ । हेडवर्ककको बायाँतर्फ रहेको पहिरोको रोकथामका लागि काम गरिने उनले बताए । सानासाना काम मात्रै गर्न सकिने उनले बताए । ‘नयाँ हेडवर्क तत्काल बनि सक्दैन, त्यही संरचनाको मर्मत गरेर पानी चलाउन लागिनेछ’, उनले भने । आयोजनालाई स्थायीरुपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताए। डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उनले बताए । हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले जनाएको छ । हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बर्ताए । नयाँ ‘हेडवर्क’ निर्माणमा एशियाली किास बैंकले पनि चासो देखाएको उनले बताए । ‘यस वर्षमा निर्णय भएमा अर्को वर्ष निर्माण सुरु हुनसक्छ’, उनले भने । आयोजनाले सो बैंकसँगको ऋण सहयोगमा आयोजना निर्माण गरेको थियो । यस अघिको ऋण सकिएकाले नयाँ सम्झौता गरेर काम गर्नुपर्ने उनले बताए । नयाँ ‘हेडवर्क’ निर्माणका लागि विज्ञहरुले दुई÷तीन ठाउँ हेरिसकेको उनले बताए । कुन ठाउँ उपयुक्त हुन्छ भनी र कस्तो बनाउने भनी निर्णय हुन बाँकी रहेको उनले बताए। अन्तिम भएपछि प्रतिवेदन दिने र त्यहीअनुसार रकमको व्यवस्था गरिनेछ । ’त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान सकिनेछ’, उनले भने । दीर्घकालीन योजनाअनुसार नयाँ हेडवर्क सम्पन्न गरेर स्थायीरुपमा चल्न समय लाग्ने भएकाले मध्यकालीन योजनाअनुसार भइरहेका संरचना सुधारका काम गर्न लागिएको हो । यस वर्ष निर्माणको काम सुरु गर्नसके अर्को दुई वर्षभित्रमा सम्पन्न गर्न सकिने उनले बताए। उनले भने, ‘त्यतिबेलासम्म मध्यकालीन कार्ययोजनाअनुसार यही हेडवर्कबाट पानी चलाउनुपर्छ ।’ आगामी वर्ष आयोजनाका लागि सरकारले बजेट कम छुट्याएकाले धेरै काम नहुने उनले बताए । आगामी वर्षको बजेटमा आयोजनाको अस्थायी हेडवर्कको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ । मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावअनुसार आयोजनाको सञ्चालन गरिनेछ । आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गर्ने बजेटमा उल्लेख छ ।