
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागिपरेको बताउँदै सो बताएका हुन् । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो ।
कांग्रेस बदलियो भने कांग्रेसले देश बदल्ने महामन्त्री थापाले बताए । ‘आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन, सक्किएको छैन, कसैले सक्काएर सकिदैन । राजाले सकेन, माओवादीले सकेन । बन्दुकले सकेन, कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं, नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन’, उनले भने, ‘काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो, आफ्नो बारेमा समिक्षा गर्नु प¥यो, काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस्, यो देश बदल्नै पर्छ, बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ, तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ, म बदलिन तयार छु, म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ, त्यो बदलिन म तयार हो, सबै तयार हुनुपर्छ ।’
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताए । महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे । महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस्, कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन, नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो, कुनै व्यक्तिको दोष होइन’, उनले भने ।
महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।