विकासन्युज

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

पाँचथर । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् । निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो । प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो । यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले जानकारी दिए । ‘हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय सङ्कट आउन लागेको छ’, उनले भने ‘त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।’ ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय बनेको बताए । ‘पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ । चामलको मौज्दात सकिन लागेको छ’, उनले भने, ‘अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।’ डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरे । यस्तै बेलीब्रिज निर्माणमा पर्याप्त जनशक्तिको परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन् । ‘असार ३ गते १०–१२ दिनमा बन्छ भनेको बेलीब्रिज अझै १०–१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ’, अध्यक्ष थापाले भने,’यसमा सरकार गम्भीर बनेर लाग्नुपर्यो ।’ प्रजिअ चेम्जोङका अनुसार बाढीपहिराका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । यस्तै तीन अझै बेपत्ता छन् । ताप्लेजुङमा बाढीपहिराका कारण सिदिङ्वा, सिरिजङ्घा र मैवाखोला गाउँपालिकाका गरी ३३ घरमा पूर्ण क्षति भएको छ भने उच्च जोखिममा एक सय ११ घर छन् । विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरू आफन्त, विद्यालय र टेन्टमा आश्रय लिएर बसेका छन् । विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषबाट सहयोग हुँदै आएको छ भने टेन्ट, कम्बललगायत बसोबासका सामग्री प्रदान गरिएको छ । ताप्लेजुङमा एउटा मोटरेबल पुल पूर्ण क्षति भएको छ भने तीनवटा मोटरेबल पुलमा क्षति पुगेको छ । यस्तै १० झोलुङ्गे पुल, १० लघुजलविद्युत्मा क्षति पुगेको प्रजिअ चेम्जोङले जानकारी दिए । रासस

वृत्तिमार्ग निर्देशन तथा रोजगार मेलामा पचास जनाले पाए रोजगारी

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन् । मेलामा राखिएका विभिन्न सङ्घसंस्था, उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीले मेलामा आवेदन दिएकामध्ये उनीहरुलाई मेलास्थलमै रोजगारी दिएको मेला मूल आयोजक समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए । मेला अवलोकनमा आएका पाँच हजारभन्दा बढी युवायुवती एवं विद्यार्थीमध्ये मेला प्रदर्शनी कक्षमा रहेका विभिन्न रोजगारदाता कम्पनीमा चार सय ८० जनाले रोजगारीका लागि आवेदन दिएको उनले बताए । मेलामा रोजगारी प्रदान गर्न इन्स्योर परियोजनाले छ, भक्तपुर चेम्बर अफ कमर्सले ५०, पूर्ण हस्तकला सङ्कलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य सङ्घले ११, जिल्ला सहकारी सङ्घ भक्तपुरले आठ, प्याब्सनले एक सय १७, बालकुमारी महिला समाज मध्यपुरथिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण सङ्कलन गरेको छ । मेलामा सबैभन्दा धेरै निजी विद्यालयहरूको संस्था प्याब्सन भक्तपुरले ४१ जनाका लागि रोजगारीको अवसर प्रदान गरेको छ । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यावसायिक सङ्घसंस्थाले समेत गरी एक सयभन्दा बढीलाई रोजगारीका लागि सुनिश्चितता गरेको जनाइएको छ । यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार छ सय ५० जनाले परामर्श सेवा लिएको वडा नं ३ का वडाध्यक्षसमेत रहनुभएका आचार्यले बताउनुभयो । मेलामा निजी उद्योगका १२, सङ्घसंस्थाका पाँच, प्राविधिक विद्यालयका आठ, खाना, स्वास्थ्य सेवा गरी कुल ३४ प्रदर्शनी कक्ष थिए । मेलाको शुभारम्भ गर्दै सांसद  एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले मध्यपुरथिमिलाई शिक्षा, व्यावसायिक र पर्यटन गरी तीन क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिने बताए । ‘मध्यपुरथिमिलाई विशेषगरी तीनवटा क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । एउटा शैक्षिक केन्द्र, दोस्रो व्यावसायिक केन्द्र र तेस्रो यहाँको धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ’, उनले भने । उनले भने, ‘मध्यपुरथिमिमा जुन सम्भावना छ, त्यसको विकास र विस्तार गर्न सके यहाँका नागरिकलाई यहीँ मलेसिया, दक्षिण कोरिया र अरबका देश बन्न सक्छ ।’ मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनतासमक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पूरा गर्न रोजगार मेला आयोजना गरिएको बताए । उनले मेलाका माध्यमबाट स्थानीयलाई रोजगारी दिने, रोजगारीको खोजीमा रहेका युवा र रोजगारदातालाई प्रत्यक्ष भेट गराउने र युवा विद्यार्थीलाई उनीहरूको वृत्ति विकासका लागि परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताए । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अन्य मेलाको तुलनामा यो रोजगार मेला नौलो रहेको चर्चा गर्दै मेलाको यसपटकको अनुभव र सिकाइलाई ग्रहण गरी आगामी दिनमा पनि यस्तो मेला आयोजना गरिने बताए । बिहानदेखि परेको वर्षाका बाबजुद मेलामा उल्लेख्य सहभागिता रहेको थियो । स्वीस सरकार विकास सहयोग एसडिसी, इन्स्योर परियोजना र हेल्भाटासको सहयोग रहेको थियो । रासस

संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  प्रतिनिधि सभा बैठकले आर्थिक विधेयकमाथि छलफल हुँदै छ । विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आजै आर्थिक विधेयक(२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ । आजै उनले राष्ट्र ऋण उठाउने विधेयक(२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

  फाइल फाेटाे काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै

काठमाडौं । अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी आयात गर्न सक्ने उल्लेख छ । विद्युतीय व्यापार गर्ने विदेशी व्यक्ति, फर्म अथवा कम्पनीबाट कानुन अनुसार वस्तु आयात गर्न सक्ने बाटो खुला गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए । “कानुन अनुसार नेपालको कर कानुन र वाणिज्य विभागमा दर्ता भएर विद्युतीय पोर्टलमा अभिलेखीकरण गरेका त्यस्ता व्यक्ति तथा फर्मबाट आयात गर्न सक्ने व्यवस्था गर्न खोजिएको हो,” उनले भने । यसरी वस्तु आयात गर्दा नेपालको कानुन अनुसार प्रचलित भुक्तानी माध्यम प्रयोग गरी सबै कर तथा शुल्क भने बुझाउनुपर्ने उनले बताए । आयात जस्तै विधेयकमा नेपालबाट पनि विद्युतीय प्लेटफर्मको प्रयोग गरी निर्यात गर्न सकिने प्रस्ताव गरिएको छ । विधेयकमा ‘नेपालभित्र सञ्चालित विद्युतीय प्लेटफर्मको माध्यमद्वारा कुनै विदेशी व्यक्ति, फर्म कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेमा प्रचलित सङ्घीय कानुनको अधीनमा रही अग्रिम भुक्तानीपश्चात् त्यस्तो वस्तु वा सेवा नियार्त गर्न सक्ने’ उल्लेख छ । खास गरी साना तथा घरेलु व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीको वस्तु तथा सेवा निर्यातलाई प्रवर्धन गर्ने उद्देश्यसहित यस्तो व्यवस्था प्रस्ताव गरिएको सहसचिव कार्कीले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीको पनि बयान लिने तयारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो । संगठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सिआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा संगठित अपराध गरेको ठहर हुने भए किर्तेबाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको बयान सुरु गरेपछि प्रहरीको ध्यान संगठित अपराधतर्फ मोडिएको हो । सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पनि यो विषयमा सरकारी वकिलसँग छलफल भइरहेको बताइन् । ‘अपराधको प्रकृति हेर्दा धेरै जना मिलेर संगठित रूपमा ठगी गरेको देखिन्छ । त्यसकारण यो विषय संगठित अपराध हुन सक्ने भनेर हामीले सरकारी वकिलसँग समन्वय गरिरहेका छौं,’ एआइजी बज्राचार्यले भनिन् । संगठित अपराधको मात्र कुरा गर्ने हो भने पाँच वर्षसम्म कैद वा ५ लाख रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । संगठित अपराध आफैमा एउटा मात्रै अपराध नभएकाले यसमा अन्य अपराधसँगै जोडिएर आउने हुनाले पनि ललिता निवास जग्गा प्रकणमा संगठित अपराध ऐन आकर्षित हुने प्रहरीको ठम्याइ छ । प्रहरीका अनुसार यसमा जोडिएका व्यक्तिहरूको संलग्नता हेरेर उनीहरूलाई कति सजाय हुने भन्ने निर्धारण गरिन्छ । संगठित अपराध कसुरमा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म थुनामा राखेर प्रमाण संकलन गर्न पाउँछ । किर्तेको मात्र मुद्दामा यस्तो अवधि अधिकतम २५ दिन हुन्छ । बालुवाटार जग्गा प्रकरणमा नेताहरू कर्मचारी, व्यापारी र बिचौलिया मिलेर अपराध गरेको देखिन्छ, एआइजी बज्राचार्यले भनिन् । यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईका पालामा सरकारी जग्गामा व्यक्तिको स्वामित्व स्थापित गराए पनि उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न कार्य क्षेत्रभित्र परेको थिएन । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण मुद्दा नचलाएको अख्तियारले जनाएको थियो । तर सिआइबीले भने पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानका लागि बोलाउन सक्ने जनाएको छ । ‘आवश्यक परे र अन्य अभियुक्तको बयानका आधारमा पूर्व प्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाउन सकिनेछ,’ सिआइबी स्रोतले भन्यो । यो समाचार नागरिक दैनिकमा छ ।

आज श्री एयर लाइन्सका सबै उडान बन्द हुने, साेमबारदेखि नियमित

काठमाडौं । श्री एयर लाइन्सले आज आइतबार सबै उडान बन्द गर्ने भएको छ । श्री एयर लाइन्सका सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गरिने भएकाले आज असार १७ गते सम्पूर्ण उडाहरु स्थगित गरिएको कर्पोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । शनिवार (असार १६ गते) अपरान्ह साढ ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा सामान्य प्राविधिक समस्या आएको कारण क्याप्टेनले विमानलाई काठमाडौं फिर्ता ल्याई सकुशल अवतरण गराएको उनले बताए । डीएएसएच ८ क्यू ४०० विमान क्यानडामा बनाइएकाले प्राविधिक रुपमा अति सुरक्षित मानिने उनको भनाइ छ । ‘यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन एयरलाईन्सको प्राथमिकता भएकोले यस्ता प्राविधिक समस्या नदोरियोस भनि असार १७ गतेका दिन सम्पूर्ण उडानहरु स्थगित गरि सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गर्ने निर्णय गरिएको र असार १८ गतेदेखि सम्पुर्ण उडानहरु संचालन गरिने छन्,’ कर्पोरेट प्रवन्धक मानन्धरले भने ।

१० वर्षपछि बनेको फोक्सिङटारको पक्की पुल सडक नहुँदा उपयोगविहीन

काठमाडौं । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी वि.सं. २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ल्याइएको हो । तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्ड कालोपत्रको काम निर्माण कम्पनीको लापरवाहीले समयमा सम्पन्न नहुँदा विगतदेखि जिल्लावासीले भोग्दै आएका समस्या ज्यूँका त्यूँ छ । पुल निर्माणमा निर्माण कम्पनीको लापरवाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्य कोषको करोडौँ रकम खर्च भएको थियो । फोक्सिङटार पुल निर्माणका लागि सडकबाट सदनसम्म चौतर्फी दबाब दिँदा–दिँदा १० वर्षपछि पुल त बन्यो तर सडक कालोपत्र नहुँदा उक्त मोटरेबल पक्की पुल उपयोगविहीन जस्तै भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो छ । १० वर्षपछि निर्माण सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजार रुपैयाँमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको हो । पुल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आए पनि फोक्सिङटारवारि र पारिको सडक कालोपत्र नहुँदा यातायात सञ्चालनमा समस्या भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । ‘१० वर्षपछि पुल सञ्चालनमा आयो, तर सडक कालोपत्र नहुँदा यातायात सञ्चालन हुने अवस्था छैन, कच्ची अवस्थामै भए पनि सञ्चालनमा ल्याउन सकिने अवस्था त छ, तर सम्बन्धित निकायले ध्यान नदिँदा यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन,’ उनले भने । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा निर्माण कम्पनीको चरम लापरवाहीका कारण अलपत्र परेको हो । मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले वि.सं. २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा वि.सं. २०७३ असार ३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् । ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति देखिएको जनाइएको छ । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ । ५५ करोड ८७ लाख रुपैयाँमा वि.सं.२०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा वि.सं.२०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक गत चैतदेखि निर्माणको काम ठप्प छ । सुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीयवासी एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । ‘पछिल्लो समय थपिएको समयावधि गत चैत मसान्तमा सकियो, निर्माण कम्पनीको लापरवाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले यातायातका कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन,’ उनले भने । सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले वि.सं. २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउँन बाँकी रहेको वडाध्यक्ष राईले बताए । कालोपत्रको काम अलपत्र पार्ने निर्माण कम्पनीको धरौटी रकमबाट अवरुद्ध सडक मर्मतको काम गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए । ‘महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेहेदार कम्पनीको चरम लापरवाही भएको छ । महुरे–राजापानी सडकखण्डका निर्माण त कामै छाडेर भाग्यो, निर्माणाधीन अवस्थाका सडक अलपत्र छाडेर निर्माण भागेपछि उसको धरौटी रकम खर्च गरेर अवरुद्ध सडक मर्मत गरेका छौँ, यद्यपि वर्षात्को समय भएकाले नियमित यातायात सञ्चालन हुनसकेको छैन,’ उनले भने । निर्माण कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्योलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर निर्माण कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन् । रासस