छात्रवृत्तिका लागि परीक्षा आफै लिने तयारीमा महानगर
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताएका हुन् । कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्र्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि कामपा आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनकाअनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट भएको छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्तिको परीक्षा लिने र छनोटमा परेकालाई वितरण गरिने छ । यो छात्रवृत्ति कक्षा ११ का लागि मात्रै हो, कक्षा १ देखि माध्यमिक तहसम्मका लागि पनि कामपा आफैले परीक्षा सञ्चालन गरेर योग्य विद्यार्थी छनोट गर्ने तयारीमा छ । छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने र त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ । कामपाको पटक–पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । हाल कामपामा ५०४ निजी विद्यालय सञ्चालनमा रहेकामा तीमध्ये ९० प्रतिशत विद्यालयले छात्राबृत्तिका लागि विद्यार्थीको नाम पेस गरिसकेका छन् । प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । कामपाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० मा भएको व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ । जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले नियमअनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरेपछि निजी विद्यालय विवरण लिएर आएका हुन् । हाल कामपामा ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छ ।
खल्तीकाे व्यापार चार गुणा बढी छ, बिगेस्ट पेमेन्ट जात्रामा आकर्षण बढ्दैछ : सीईओ खड्का
खल्ती डिजिटल वालेटले जेठ र असार महिनामा बिगेस्ट पेमेन्ट जात्रा अफर सञ्चालन गर्यो । असार महिनाको अफर अहिले पनि सञ्चालनमा छ । जेठ १ गतेदेखि असार ३१ गतेसम्मका लागि ल्याएको बिगेस्ट पेमेन्ट जात्रा अफरमा सेवाग्राहीको आकर्षण पनि बढिरहेको छ । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । प्रत्येक राउण्डमा २ वटा भुक्तानी गर्ने प्रयोगकर्तालाई लक्की ड्र मार्फत् ५ वटा पल्सर एन १६० मोटरसाइकल प्रादन गर्नेछ । साथै यो अफरमा कार्ड स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिनेछ । साथै पछिल्लो समय डिजिटल भुक्तानीमा विकास र विस्तार हुँदै गर्दा ठगी धन्दाहरु पनि मौलाएका छन् । यही विषयमा केन्द्रित भएर खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्कासँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । खल्तीले बिगेस्ट पेमेन्ट जात्रा अफर सञ्चालन गरिरहेको छ, यसको फिडब्याक र प्रभाव कस्तो छ ? गत वर्षदेखि बिगेस्ट पेमेन्ट जात्राको रुपमा मेगा क्याम्पेन सञ्चालनमा ल्याएका हौं । गत वर्ष बिगेस्ट पेमेन्ट जात्रा २ महिनाभन्दा कम समय सञ्चालन गरेका थियौं । त्यो बेलामा ५ लाखभन्दा बढी प्रयोगकर्ताहरु सहभागी भएका थिए । यसपटक भने हामीले झनैं रोमाञ्चक बनाएका छौं । पहिला भुक्तानी गरेपछि मात्रै रिवार्ड पाउने स्कीम थियो । अहिले पेमेन्ट गरेपछि बम्फर उपहार पाउने बाहेक दिनको एकपटक खल्ती खोल्दा हात खाली नहुने गरी स्कीम ल्याएका छौं । त्यसैले पनि यसपटक प्रयोगकर्ताको सहभागीता बढेको छ । यसपटक बिगेस्ट पेमेन्ट जात्रा सुरु भएपछि ११ लाखभन्दा बढीले कुनै न कुनै माध्यमबाट सहभागी भएका छन् । एजेन्ट साइटबाट पनि सहभागी हुने दर बढेको छ । २ महिनाको अवधिमा ३ करोडभन्दा बढी गिफ्ट भौचर, कुपन दिने लक्ष्य हो । सोही अनुसार नै खपत भइरहेको छ । पहिलो चरणको राउण्डमा पल्सर एन१६० मोटरसाइकल विजेता घोषणा गरिसकेका छौं । कूल ५ वटा मोटरसाइकल दिन्छौं । त्यसको पनि लक्कि ड्र हुने तयारीमा छ । समग्रमा बिगेस्ट पेमेन्ट जात्राले खल्तीको ट्रान्जेक्सन, प्रयोगकर्तासँगको संलग्नता, ब्राण्ड भ्यालुमा ठूलो मद्दत पुगेको छ । धेरैले बिगेस्ट पेमेन्ट जात्रा सुने पनि बुझेका छैनन्, ती नबुझेकाहरुलाई यस विषयमा कसरी बुझाउनु हुन्छ, के हो बिगेष्ट पेमेन्ट यात्रा ? हामीले दैनिक विभिन्न डिजिटल कारोबार गरिरहेका हुन्छौं । समय समयमा विभिन्न अफरहरु पनि चलिरहेका हुन्छन् । तर, दशैं एउटा पर्व हो । त्यो बेलामा माहोल श्रृजना गर्छ, सबै मान्छेले सपिङदेखि अन्य काम हुने भएकाले अर्थतन्त्र चलायमान बनाउँछ । जेठ र असारमा धेरै मान्छेहरुको प्रिमियम ड्यू हुने र क्लियरेन्स गर्ने भएकाले जेठ र असारलाई भुक्तानी पर्वको रुपमा बिगेस्ट पेमेन्ट जात्रा नाम दिएर यो क्याम्पेन सुरु गरेको हो । खल्ती डिजिटल वालेटमार्फत कुनै पनि भुक्तानी गरेर हात खाली नहुने गरी उपहार जित्ने अवसर हो । यदि भुक्तानी नै गर्नु छैन भनेपनि खल्ती एपमा क्वीजदेखि लिएर अन्य प्ल्याटफर्महरु छन् । जसमा संलग्न भएपछि रिवार्ड, अफरहरु सुरक्षित गर्न सकिन्छ । बिगेस्ट पेमेन्ट जात्रामा अफर तथा स्कीम के कस्ता छन् ? यसमा ३ करोडभन्दा बढी कुपन, स्क्र्याच कार्डहरु राखिएका छन् । जसमा प्रयोगकर्ताले केही न केही हात परेका हुन्छन् । हात खाली हुँदैन । साथै, बम्फर उपहार स्वरुप ५ वटा पल्सर एन१६० मोटरसाइकल दिँदैछौं । यस्तै, आईफोन, वान प्लस लगायतका उपहार राखेका छौं । यसमा हजारौं गिभवेयजहरु राखिएको छ । जस्तै, फिल्म कुपनहरु राखिएका छन् । साथै, मर्चेन्ट पार्टनरहरुसँग मिलेर हामीले विभिन्न खालका अन्य अफर पनि राखेका छौं । जस्तो बीमा कम्पनीको भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिन्छ । त्यसैले अफरहरुको महा-उत्सव भन्ने हिसावले यसलाई डिजाइन गरिएको हो । धेरैले यस्ता स्कीम तथा अफर ल्याउँदा कम्पनीले आफ्ना कर्मचारी र आफन्तहरुलाई नै पार्न गरेको भन्ने शंका गर्ने गरेको देखिन्छ, यो कत्तिको यथार्थ हो ? प्रत्यक्षरुपमा ३५ लाखभन्दा बढी प्रयोगकर्ताहरुसँग जोडिएका छन् । अप्रत्यक्ष रुपमा ९० हजारभन्दा बढी एजेन्टबाट लाखौं प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् । वर्षभरी हामीले केही न केही क्याम्पेन गरिरहेका हुन्छौं । लक्की ड्रलाई हामीले सकेसम्म पारदर्शी बनाउने कोशिस गरिरहेका छौं । बाइक, मोबाइल लगायत अन्य उपहारहरु सामाजिक सञ्जालदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट पनि प्रकाशन प्रसारण भइरहेको हुन्छ । प्रयोगकर्ताहरुलाई विभिन्न प्रश्न गरेर संलग्न गराउने काम गरिरहेका हुन्छौं । प्रत्यक्ष लाइभबाटै छनोट गरेर विजेता घोषणा गरेर उहाँहरुलाई फोन सम्पर्क गर्छाैं । खल्तीका कर्मचारीहरुमध्ये बिगेस्ट पेमेन्ट जात्राको लक्की ड्रमा आवद्ध हुन पाउनु हुन्न । उहाँहरु खल्ती प्रयोग गर्ने हिसावले स्क्रयाच कार्ड पाएपनि लक्की ड्रमा कर्मचारीलाई सहभागी गराउँदैनौं । कार्यालय भित्रै पनि विभिन्न क्याम्पेन गरिरहेका हुन्छौं । जसमा कर्मचारी मात्रै सहभागी हुन पाउँछन् । त्यसैले कर्मचारीलाई पब्लिक क्याम्पेनमा हामीले सहभागी गराउँदैन । खल्ती भ्यालू र विश्वासले बनेको ब्राण्ड हो । सयौं करोड लगानी गरेका छौं । एउटा बाइक, मोबाइल कुनै कर्मचारीलाई नियतवश पारेर त्यो रेपुटेसन खराब गर्ने अवस्थामा छैनौं । त्यसैले हामी पूर्ण रुपमा पारदर्शी भएर काम गरिरहेका छौं । सामाजिक सञ्जालमार्फत् हामी प्रत्यक्ष प्रसारणमा आउँदैछौं, लक्कि ड्र हुँदै छ भनेर पूर्व जानकारी गराएका हुन्छौं । खल्तीले ल्याएको बिगेस्ट पेमेन्ट जात्रा जेठ र असार महिनामै किन ? असारलाई क्लोजिङको रुपमा लिएका हुन्छौं । असारमा अर्थतन्त्र पनि चलायमान हुन्छ । सरकारका अधिकांश कामहरु पनि असारमा नै बढी हुन्छन् । वित्तीय क्षेत्रका सबै हिसावहरु पनि असारमा बन्द हुन्छन् । हामी पेमेन्टसँग बढी झुकाव राख्ने भएकाले कारोबार जुन बेला बढी हुन्छ त्यो बेलामा क्याटर गर्न सक्यो भने बढी फाइदा हुन्छ । आर्थिक वर्षको अन्त्यमा अर्थतनत्रलाई चलायमान गर्न योगदान पुर्याउन सहयोग गर्ने हो । अन्य महिनामा हुँदै नहुने भन्ने मनस्थिती बनाएका छैनौं । अर्थतन्त्रलाई बढी चलायमान गर्न सकिने भएकाले जेठ र असारलाई जोड दिएको हो । अहिले खल्तीले प्रयोगकर्ताहरुलाई के कस्ता सेवा सुविधाहरु दिइरहेको छ ? खल्ती डिजिटल वालेटलाई ‘फाइनान्सियल लाइफ स्टाइल एप’को रुपमा स्थापना गर्ने लक्ष्य छ । ७ वर्ष अगाडि टेलिकमको रिचार्ज, विजुलीको बिल भुक्तानीबाट खल्तीको यात्रा सुरु भएको हो । अहिले खल्तीबाट बीमा कम्पनीको स्किम खरिद गर्न मिल्छ । खल्तीले ५ हजार मर्चेन्टहरुसँग प्रत्यक्ष सिस्टम इन्टरग्रेट गरेको छ । जसमा टेलिकम, इन्टरनेट सेवा प्रदायक, टेलिभिजन सेवा, विद्यालय, कलेज, बीमा कम्नपी, बैंक आवद्ध छन् । अर्थतन्त्रका मुख्य क्षेत्र सरकारी सेवा, क्यापिटलको भुक्तानीदेखि लिएर सबै कुराहरु जोडिएका छन् । क्यूआर पेमेन्टमार्फत् खल्तीबाट १३ लाख बढी क्यूआर पेमेन्ट गर्न सकिन्छ । साथै, एउटा बैंकबाट अर्काे बैंक पैसा पठाउँदा खल्ती प्रयोग गर्न सकिन्छ । इनोभेटिभ सर्भिसमा खल्ती क्वीज भनेर वित्तीय साक्षरताको लागि विशेष सेग्मेन्ट स्थापना गरिएको छ । जसमा दैनिक ५० हजारभन्दा बढीले क्वीज खेल्नु हुन्छ । नेपालका सबै फिल्म हलको टिकट खल्ती एपबाट समय छनोट गरेर खरिद गर्न सकिन्छ । राइड सेयरिङको पेमेन्ट लगायत यूनिक फिचर रहेका छन् । जुन अन्य कुनै पनि एपहरुमा छैन । आगामी दिनमा पनि यस्ता इनोभेटिक फिचर ल्याउने तयारी छ । तपाई सीईओ भएपछि खल्तीको ब्यापार व्यवसायमा कस्तो वृद्धि भएको छ ? हामी दीर्घकाल उद्देश्य बोकेर काम गरिरहेका छौं । खल्तीमा डेढ वर्षको यात्रा पुरा भइसकेको छ । डेढ वर्ष अघि र आजको दिनमा धेरै इनोभेटिभ काम भएका छन् । सक्रिय प्रयोगकर्ताहरु २ गुणा बढी थपिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुसँग कुनै न कुनै रुपमा जोडिएका छन् । साढे ३ लाख वटा कारोबराहरु दैनिक हुन्छन् । वालेट इण्डष्ट्रिको ग्रोथ १५/२० प्रतिशत मात्रै भइरहेको छ भने खल्तीको ग्रोथ ६०/६५ प्रतिशतभन्दा माथि छ । जुन इण्डष्ट्रिको ग्रोथभन्दा ४ गुणा बढी हो । विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल भएका छौं । डिजिटल बजारमा प्रतिस्पर्धा ब्यापक बन्दै गएको छ । बजारमा प्रतिस्र्धीहरु धेरै छन् । यो अवस्थमा के कस्तो रणनीतिले काम गरिरहेको छ ? खल्ती टप लिडिङ वालेट कम्पनीको रुपमा उदाइरहेको छ । हामी ठूलो लगानी भएर बनेको कम्पनी पनि होइन । हामी निरन्तर ग्रोथ गर्दै प्रयोगकर्तालाई नयाँ प्रकारका सेवा दिँदै यहाँसम्म आइपुगेका हौं । खल्तीको भावी रणनीति इनोभेसनकै आधारमा बनाइएका छन् । कहिलेकाहीँ बजारमा सानो समस्या देखिन्छ । तर, त्यसले ठूलो तनाव दिइरहेको हुन्छ । हामीले बजारमा देखिएका समस्यालाई प्रडक्टलाई रिफाइन गर्दै सेवा दिइरहेका छौं । अन्ततः कारोबारलाई डिजिटल्ली मात्रै नभएर सबैलाई फाइनान्सियल सर्भिस बनाउने हो । भोलिका दिनमा डिजी बैंक नै बनाउन सकिन्छ । त्यहि गन्तव्य देखेर नै हामी अघि बढेका हौं । सबै डिजिटल कारोबारलाई क्याटर गर्ने गरी काम गरिरहेका छौं । डिजिटल वालेटहरूमा विभिन्न समयमा विभिन्न खालका समस्या आइरहन्छन् तर ती समस्याको समाधान समयमै नहुने गुनासो छ, किन जिम्मेवार बोध नभएका हुन् ? वालेट कम्पनीमा फरक–फरक स्टेक होल्डरहरु छन् । जस्तो खल्तीमा मर्चेन्ट पनि आवद्ध भएको हुन्छ । सेवा खपत गर्न खल्तीबाट मर्चेन्टलाई पैसा तिर्ने हो । सहकारी, बीमा कम्पनीदेखि लिएर सबै स्टेकहोल्डरहरु एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् । यसमा फस्ट ह्याण्ड क्यास हुँदैन । जस्तो म कुनै पसलमा सामान किन्दा पैसा तिरेर सबै भुक्तानी प्रणालीको काम सम्पन्न हुन्छ भन्ने हुँदैन । डिजिटल कारोबारका लागि सुरुमा बैंकबाट खल्तीमा पैसा ल्याउनु पर्याे । जसमा बैंक र खल्ती दुवै जिम्मेवार हुन्छन् । खल्तीबाट कुनै मर्चेन्टको पेमेन्ट गर्नु पर्याे भने सिस्टम अप एण्ड रनिङ हुनु पर्छ । यसमा खल्ती र मर्चेन्ट दुवै जिम्मेवार हुन्छन् । पहिला भ्यालिडेसन, सेक्युरिटी चेक गर्नु पर्याे, अनि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ । दैनिक साढे ३ लाख कारोबार हुँदा १ सय वटा मात्रै जिज्ञासा र गुनासो आएका छन् भने हामीलाई टाउको दुखाइको विषय बन्छ । सकेसम्म चाँडो समाधान गर्न पाए हुन्थ्यो लाग्छ । तर, मल्टिपल पार्टीको कन्फर्मेसन चाहिने भएकाले समय लम्बिन्छ । खल्तीको सपोर्ट, कस्टमर एक्सपेरियन्स टिममा ५० जना भन्दा बढी कर्मचारी छन् । जसले ग्राहकहरुसँग प्रत्यक्ष कोअर्डिनेट गरिरहेका छन् । उहाँहरु ग्राहकको समस्या समाधान गर्न दैनिक १८ घण्टा भन्दा बढी खटिनु भएको छ । ३५ लाख ग्राहकमा २/४ वटा ग्राहक गएर केही फरक पर्दैन भन्ने हाम्रो सोच छैन । उहाँहरुलाई छिटो र सहज सेवा दिन हामी तत्पर छौं । सबै ग्राहकहरु हाम्रा लागि महत्वपूर्ण छन् । डिजिटल भुक्तानी गर्दै गर्दा त्यसमा ठगीका घटनाहरु बढेका छन्, यसको न्यूनीकरणका लागि के आवश्यक छ ? तपाईंहरु के काम गरिरहनु भएको छ ? ठगीको धन्दा डिजिटलमा सरेको पक्कै हो । तर, कारोबारमा मात्रै होइन, सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट मौलाइरहेका छन् । यसको न्यूनीकरणका लागि सचेतना फैलाउन जरुरी छ । सेक्युरिटी भन्दा पनि सचेतनाको बढी खाँचो छ । आइएसओ स्ट्याण्र्डर्ड, आइटी अडिट लगायतमा हामी पूर्ण रुपमा सुरक्षित छौं । तर, प्रयागकर्ताहरुले नचिनेको मान्छेहरुलाई आफ्नो पासवर्ड, ओटीपी सेयर गरिरहेका हुन्छन् । म खल्तीको कर्मचारी, फलासानो बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्न ट्रेण्ड बढेको छ । यसमा हामीले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौं । खल्ती वा अन्य बैंक तथा वित्तीय संस्थाहरुले गोप्य फाइनान्सियल सूचनाहरु कहिल्यै पनि माग्दैनन् । प्रयोगकर्ताहरुले आफ्ना गोप्य कुराहरु सेयर नगर्नु होस भनेर सचेतना दिँदै आएका छौं । ९० प्रतिशत घटनाहरु गोप्य कुराहरु सेयर गरेर घट्ने गरेका छन् । साढे ३ लाख वटा कारोबार हुँदा १ लाख जनाले गरेको छन् भने कसले कुन नियतले कारोबार गरिरहेका हुन्छन् भन्ने थाहा हुँदैन । तर, एउटै मान्छेले मल्टिपल मान्छेसँग पैसा रिसिभ गरिरहेको छ भने त्यस्तो मान्छेलाई हामीले मनिटरिङ गर्ने, ब्लक गर्ने, सीआईबीसँग सहकार्य गर्ने काम गरिरहेका हुन्छौं । दैनिक कारोबार भन्दा फरक प्रकृत्तिको कारोबार आयो भने हामीले नजिकबाट नियाली रहेका हुन्छौं । त्यसैले यसको न्यूनीकरणका लागि सबै भुक्तानी प्रदायक, सञ्चालक, बैंक तथा वित्तीय संस्था मिलेर राष्ट्रिय स्तरमा वृहत्त सचेतनामुललक काम गर्नु पर्छ । नेपाल राष्ट्र बैंक पनि यसमा सकारात्मक देखिएको छ । डिजिटल कारोबार र भुक्तानीमा सबैलाई जोड्नका लागि सरकार पक्षले के गर्याे भने तपाईहरुलाई सहज हुन्छ ? आजसम्म जेजति पनि डिजिटाइजेशन भएको छ यसमा नेपाल राष्ट्र बैंकले अहम भूमिका खेलेको छ । त्यो बाहेक निजी क्षेत्रबाट मात्रै भएका छन् । वालेट कम्पनीहरुले सयौं करोड रुपैयाँ लगानी गरेका छन् । भोलिका दिनमा यसको रिर्टन आउँछ भन्ने ग्यारेन्टी कसैलाई पनि छैन । आजका दिनसम्म प्रयोगकर्ताहरुलाई डिजिटाइजेशन गरेर केही हदसम्म सफल भएका छौं । तर, मर्चेन्टहरुलाई फर्मल इकोनोमिमा ल्याउने र पारदर्शी बनाउने हो भने पक्कै पनि मर्चेन्ट लक्षित कार्यक्रमहरु सरकारले ल्याउनु पर्छ । हामीले प्रयोगकर्ता लक्षित काम गरिरहेका छौं भने सरकारले मर्चेन्टलाई गर्नु पर्छ । जस्तो कुनै न कुनै डिजिटल भुक्तानीको माध्यम अनिवार्य गर्नु पर्छ । पब्लिक कम्पनी, सूचीकृत कम्पनी, ठूलो कम्पनीमा डिजिटल अनिवार्य गर्नु पर्छ । ताकी त्यसको प्रायेग बढोस् । मर्चेन्टहरुलाई कर्जा दिँदा ब्याज छुट दिने, आयकरमा छुटको व्यवस्था हुनु पर्छ । किनभने उसले डिजिटल इकोनोमिकलाई दीर्घकालसम्म टिकाउन काम गरिरहेको हुन्छ । हामीले ५० प्रतिशत बढी कारोबारमा आम्दानी गरेका छैनौं । प्रयोगकर्ताहरुसँग शुल्क लिएर डिजिटल कारोबार गर्न सकिँदैन । उल्टै हामीले विभिन्न अफर र स्किम दिनु परेको छ । त्यसैले डिजिटल सचेतना चाहिएको छ । भारतमा आरबिआई र सरकार मिलेर २६ सय करोडको डिजिटल इन्सेन्टिभ वितरण गरेको छ । जसले डिजिटल कम्पनीहरुलाई दीगो बनाउन मद्दत खेलेको छ । यस्ता खालका प्रोग्रामहरु नेपाल सरकार पक्षबाट आउन सक्यो भने डिजिटलमा आकर्षित गर्न सकिन्छ । साथै, डिजिटल सम्बन्धी नीतिहरु स्पष्ट हुन जरुरी छ । डिजिटल भुक्तानी तथा कारोबारलाई बाध्यकारी बनाउन सकिन्छ ? क्यासलेस भन्दा पनि लेसक्यास सोसाइटीबाट बाध्यकारी बनाउन सकिन्छ । महिनाको २३÷२४ अर्ब कारोबार क्यूआरबाट मात्रै कारोबार भइरहेको छ । वालेटबाट मात्रै २०/२२ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ । मोबाइल बैंकिङ्गबाट पनि सोही आकारमा कारोबार भइरहेको छ । डिजिटल कारोबारलाई अनिवार्य भन्दा पनि डिजिटल भुक्तानीका लागि एउटा माध्यम हुनु पर्छ । बाध्यकारी बनायो भने सरकार लगायत नियामक निकायलाई पारदर्शी र अर्थतन्त्रलाई फर्मल च्यानलमा ल्याउन सहयोग पुग्छ ।
एनआइबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार शुरु
काठमाडौँ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलबीच एकीकृत कारोबार शुरु भएकाे छ । एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गरेको हाे । यस सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव पारित गरेको थियो । प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटलको नाम समेत एनआइएमबि एस क्यापिटल हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेको छ । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ अनुसार कारोबार सुरु भएको छ ।
आइडिया स्टुडियो र लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपाल बीचमा साझेदारी
काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारको रुपमा साझेदारी गरेको छ । साहसिक सुरुवात को मुख्य नारालाई आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेशनल ३५२ जे नेपालले अवसरबाट वन्चित व्यक्तिहरूलाई ऊद्यमशिलताका लागि सहयोग गर्न ब्रेभ स्टार्टअप फन्ड निर्माण गरेको छ। लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सेवा क्लब संस्था हो। लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन लायन्स क्लब इन्टरनेशनलको परोपकारी शाखा हो। १९१७ मा स्थापित, एलसीअइफले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्यहरु गर्दै आएको छ । लायन्सको अतिरिक्त कार्यहरूलाई समर्थन गर्न, उनीहरूको सेवालाई सशक्त बनाउन र स्थानीय र विश्वव्यापी रूपमा उनीहरूको समुदायको आवश्यकतालाई सम्बोधन गर्न अनुदान कोष प्रदान गर्दछ। लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल एक व्यवस्थित, रचनात्मक र नवीन जिल्ला हो, जहा १०० भन्दा बढी क्लब र २७०० सदस्यहरू छन्। युवाहरूलाई ब्रेभ एनफ टु स्टार्टु हुन प्रोत्साहित गर्दै ब्रेभ इनफ टु स्टार्ट लायन्स क्लब इन्टरनेशनलको नारा हो। आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्ष देखि निरन्तर काम गर्दै आएको संस्था हो । आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आएको छ । आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्लेटफर्मको रुपमा काम गर्दै आएको छ । यस सहकार्यको मुख्य उदेश्य उद्यमशीलतालाई प्रवर्धन गर्नु हो । बेर्भ स्टार्टअप फन्डका लागि आइडिया स्टुडियो नेपालले लायन्स क्लबसंग सहकार्य गरी बिभिन्न विषयमा तालिम प्रदान गर्ने छ । ब्रेभ स्टार्टअप फन्डबाट छनोैट भएका आइडियाहरुलाई लायन्स क्लबले सिड मनी उपलब्ध गराइने जनाइएको छ ।
आईफोनमा स्याटेलाइट इन्टरनेट सुविधा प्राप्त हुने, कसरी गर्छ काम ?
काठमाडौं । भविष्यमा आईफोनमा स्याटेलाइटबाट प्रदान गरिने सुविधाहरु उपलब्ध हुने भएको छ । एप्पलको साझेदार ग्लोबल स्टारले आईफोनमा स्याटेलाइट सुविधा विस्तार गर्ने संकेत दिएको छ । यदि तपाईं आइफोनको प्रयोगकर्ता हुनुहुन्छ भने यो तपाईंको लागि राम्रो खबर हुन सक्छ । एप्पलको आईफोनमा स्याटेलाइटको माध्यमबाट छिट्टै नै इन्टरनेट सुविधा प्राप्त हुन सक्छ । पीसी म्यागको एक रिपोर्टले भविष्यमा आइफोनमा स्याटेलाइटको माध्यमबाट धेरै सुविधाहरु प्राप्त हुनसक्ने बताएको छ । एप्पलले आफ्नो उत्पादन आईफोन–१४ सेरिजमा स्याटेलाइट फिचरको रुपमा एसओएस सुविधा समावेश गरेको थियो । जसको प्रयोग गरेर कोही पनि व्यक्ति मोबाइल नेटवर्क र वाइफाई कभरेजबाट बाहिर हुँदा स्याटेलाइटको माध्यमबाट आपतकालिन सेवाको लागि एसओएस पठाउन सकिने सुविधा रहेको थियो । साथै स्याटेलाइटको माध्यमबाट मानिसहरुले आफ्नो स्थान सेयर गर्नको लागि फाइन्ड माइ एप पनि प्रयोग गर्न सक्ने सुविधा रहेको छ । रिपोर्टअनुसार एप्पल आईफोनमा रहेको सो सुविधाको विशेषतालाई भ्वाइस कल र इन्टरनेट सम्म विस्तार गर्न खोजिएको छ । एफसीसी फाइलिङ टी–मोबाइल अथवा स्पेसएक्सको अनमोडिफाइड टी–मोबाइलका लागि पावर स्याटेलाइट इन्टरनेट सेवा आधारित रहेको छ । ग्लोबल स्टारका अनुसार ग्लोबल सटारको एमएसएस सिस्टम आफ्नो लाइसेन्स प्राप्त गरेका स्पेक्ट्रमहरुमा प्रत्यक्ष रुपमा हेन्डसेटमा सुविधा दिनेगरी निरन्तर विकसित हुनेछ ।
एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा नियुक्त भएकी छिन् । एसवाई बजारले व्यवसाय प्रवर्द्धनका लागि प्रथम मिस नेपाल राणालाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो । राणासँग एसवाई बजारको एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको पनि एसवाई बजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराज खड्काले बताए । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर राणाले प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरू गर्ने पनि बताइएको छ ।
एनएमबि बैंकको अफर : अन्तर बैंक फण्ड ट्रान्सफर र डेबिट कार्डमा पैसा नलाग्ने
काठमाडौं । एनएमबि बैंकले ग्राहकहरुका लागि दुई अफरहरू ल्याएको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो संगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्र मान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गांउपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पुर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका अर्घाखाँची शाखा प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।