विकासन्युज

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद जारी गर्ने, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी वृद्धि गर्नको लागि इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । ‘एनएलजीलाई ६६ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले पनि कम्पनीको योजनाअनुसार नै हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको बताएका छन् । प्राधिकरणले कम्पनीहरुको पुँजी वृद्धि गराउने नीति लिएसँगै कम्पनीले हकप्रद मार्फत पुँजी बढाउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन असार १८ गते मात्रै औपचारिक रुपमा पारित भएको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी हो र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेको छ । त्यसैले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको हो । प्राधिकरणले हालसम्म कुनै पनि कम्पनीलाई पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएको थिएन । हकप्रदमार्फत पुँजी बढाउन पाउने एनएलजी इन्स्योरेन्स नै पहिलो कम्पनी भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । प्राधिकरणले दिएको स्वीकृति अनुसार अर्थात ६६ प्रतिशत हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने कम्पनीको योजना छ । प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ ।

सामुदायिक विद्यालय हाँक्ने कञ्चनपुरका महिला प्रधानाध्यापक

काठमाडौं । कञ्चनपुर लालझाडी गाउँपालिका–२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मेवारी सम्हालेकी छिन् । विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन् । ’बाल विकास शिक्षकमा नियुक्त भइ २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेको छु’, रानाले रासससँग भनिन्,’विद्यार्थी, प्रशासन र अभिभावकबीचको सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ ।’ उनले नेतृत्व गरिरहेको विद्यालयमा हाल एक सय ८८ विद्यार्थी र १२ शिक्षक तथा कर्मचारी छन् । ’विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पु¥याउन सकिएको छ’, उनले भनिन्, ’तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो अवस्था छ ।’ भौगोलिक रुपमा जिल्लाकै विकट क्षेत्रमा पर्ने लालझाडीमा राना थारु समुदायको बाहुल्यता छ । त्यसैले विद्यालयमा पनि राना थारु समुदायकै बालबालिकाको सङ्ख्या बढी छ । रानाले भनिन्, ’महिलाले अधिकार मागेर होइन, मेहनतले उच्च तहमा पुग्ने वातावरण हरेक कोणबाट बन्दै गएको छ ।’ थारु जस्तै जिम्मेवारीमा हुनुहुन्छ, सुरिता चौधरी । शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा  रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चौधरीले दश वर्षदेखि उक्त जिम्मेवारी सम्हालेकी छिन् । चौधरीका श्रीमान् विक्रम चौधरी पनि सोही विद्यालयमा शिक्षक हेन् । ’शिक्षक हुँदा सम्बन्धित विषय पढाउने र विद्यार्थीको भविष्यप्रति बढी केन्द्रित भइन्थ्यो भने प्रधानाध्यापकका रुपमा विद्यालयको सबै जिम्मेवारी लिएकी छु ।’ विगत २२ वर्षदेखि शिक्षण पेसामा रहेकी चौधरी सुरुमा निजी शिक्षक, अस्थायी हुँदै २०७५ सालमा स्थायी भएकी थिइन् । ’हामी दुवै जना शिक्षण पेसामा दुई दशकभन्दा बढी समय संलग्न भएकाले समाजमा पनि राम्रो प्रतिष्ठा कमाएका छौँ’, उनले भनिन्, ’बढ्दो आधुनिकीकरण र प्रविधिको उच्च विकास भइरहेको समयमा ग्रामीण क्षेत्रमा विद्यालय सम्हाल्नु चुनौतीपूर्ण छ ।’ ग्रामीणस्तरमा प्राथमिक तहदेखि नै समयसापेक्ष शिक्षा दिने विषयमा स्थानीय तहदेखि केन्द्र सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । दुई सय ५९ वटा सामुदायिक विद्यालय रहेको कञ्चनपुरमा हाल २० विद्यालयमा महिला प्रधानाध्यापक रहेको शिक्षा तथा समन्वय इकाइ, विद्यालय प्रशासनका शाखा अधिकृत रुपराम तिरुवाले जानकारी दिए । यहाँको शुक्लाफाँटा नगरपालिकाको झलारीमा २०२२ सालमा स्थापना भएको श्रीकृष्ण माविको नेतृत्व पनि महिला प्रधानाध्यापकको काँधमा छ । विद्यालयमा चार वर्षयता लक्ष्मी थापा ऐर प्रधानाध्यापक हुन् । ’शिक्षकका रुपमा एक प्रकारको सन्तुष्टि थियो भने अहिले प्रधानाध्यापकका रुपमा विद्यालयको नीति निर्माणदेखिका सबै काम गर्दा थप जिम्मेवारी महसुस भएको छ’, उनले भनिन् । निजी र सामुदायिक विद्यालयमा गरी १७ वर्ष अध्यापन गराएकी उनी १२ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहेकी छिन् । ’करिब दुई दशकको अनुभवले प्रधानाध्यापकका रुपमा काम गर्न सहज भएको छ’, उनले भनिन्, ’अहिले विद्यालयको भौतिक संरचना निर्माण, अभिभावकसँग समन्वय, अतिरिक्त क्रियाकलाप, अध्यापन र विद्यालयको विकासमा सक्रिय हुन पनि सजिलो भएको छ ।’ महेन्द्रनगरमा सञ्चालित जानकी कन्या माविमा पनि नौ वर्षदेखि अञ्जुला भट्ट प्रधानाध्यापक छिन् । करिब दुई सय विद्यार्थी रहेको विपद्यालयमा २० जना शिक्षक कार्यरत छिन् । ’विसं २०६३ बाट स्थायी भइ दैजीको शारदा माविबाट अध्यापन सुरु गरेकि हुँ’, भट्टले भनिन्, ’यतिबेला जानकी कन्या मावि सञ्चालन गर्ने अवसर प्राप्त भएको छ ।’ रासस

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ, को हुन् ?

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन हुन् । प्रहरीले आइतबार पनि प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइवीले नौ जनालाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो । वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, एकैदिन १७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २०९७ अंकबाट कारोबार सुरुवात भएको थियो । तर, बजार २११३ अंक पुगेर घटेको देखिन्छ । नेप्सेका अनुसार सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ६४ हजार ८६८ पटक खरिद बिक्री भएको छ । यसअघि आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार सीवाईसी लघुवित्त, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत मूल्य बढेको छ । यससँगै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार २८९ रुपैयाँ, बिपीडब्लु लघुवित्तको १ हजार ५५४.८० रुपैयाँ र सिटी होटलको ५०८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । सोमबार ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सले बताएको छ । सोमबार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको सेयर २० करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न दृढता व्यक्त गरे । नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उहाँले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे । ’माओवादीको एजेण्डा अरुले खोस्ने जस्तो अवस्था देखा प¥यो । भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखा परे । नयाँ खालका भनिएकाको अवस्था पनि त्यस्तै देखियो । यतिबेला नयाँ तरिकाको क्रान्ति सुरु भएको छ । यसलाई सफल बनाउन नयाँ तरिकाले जानुको विकल्प छैन’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै वाइसिएलका इञ्चार्ज सापकोटाले भने । नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उनको भनाइ थियो । सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई आग्रह गरे । सरकार स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको उल्लेख गर्दै उनले जनअपेक्षा पूरा गर्ने र भ्रष्टाचारलाई कुनै पनि अर्थमा संरक्षण नगर्ने नीति रहेको बताए । सरकारको सकारात्मक कामलाई जनतामाझ लैजान र पार्टीलाई विस्तार गर्न, युवालाई थप आकर्षित गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई निर्देशन दिए । सो अवसरमा उनले आगामी असोज ८ देखि १० गतेसम्म हुन लागेको वाइसिएलको राष्ट्रिय सम्मेलनलाई नयाँ आधारमा संगठन निर्माण र जनतासँग जोडिने गरी तयारी गर्न पनि निर्देशन दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका सापकोटाका अनुसार सो अवसरमा नयाँ ढङ्गको पार्र्टी निर्माणमा नयाँ प्रयोग, देशको आवश्यकतासहितको नेतृत्वमा केन्द्रिकरण लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको थियो ।

जलविद्युत् आयोजना मर्मत नहुँदा ७ सय परिवार बिजुलीबाट वञ्चित

मुगु । मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा मुगु नेर, ताजा गाउँका दुई सय र हुम्ला जैर गाउँका पाँच सय परिवार बिजुलीबाट वञ्चित भएका हुन् । नेरखोला जलविद्युत् आयोजनाबाट करिब ६५ किलोवाट विद्युत् उत्पादन भई मुगु नेर, ताँजा गाउँ र हुम्ला जैर गाउँ बत्तीले झिलीमिली हुँदा स्थानीय बासिन्दा खुसी भएका थिए । गत मङ्सिरदेखि विद्युत् सेवा बन्द हुँदा स्थानीयवासी चिन्तित छन् । बिजुली नहुँदा कामकाज गर्न समस्या भएको नेर गाउँका कलिमान नेपालीले बताए । उनले भने, ’बत्ती नबल्दा छोराछोरीको पढाइमा बाधा पुगेको छ, घरको अन्य काम गर्न असहज भएको छ ।’ बिजुली अवरुद्ध भएपछि दियालो बाल्नुपर्ने अवस्था आएको नेर गाउँका चीनबहादुर शाहीले बताए । मर्मत गर्न ढिलाइ हुँदा मुगु नेर, ताँजा र हुम्ला जैर गाउँका बासिन्दा मर्कामा परेका छन् । नेरखोला जलविद्युत् आयोजनामा दक्ष अपरेटर नहुँदा समस्या देखिएको छ । विद्युत्को सामान्य उपकरणमा गडबडी भई विद्युत् बन्द हुँदा जिल्ला बाहिरबाट मिस्त्री बोलाएर मर्मत गर्नुपर्ने अवस्था छ । दक्ष अपरेटरको अभावले सामान्य मेसिन बिग्रिए पनि जिल्ला बाहिरबाट मिस्त्री बोलाइ मर्मत गर्नुपर्ने हुन्छ । यसबाट आर्थिक भार बढ्ने अपरेटर हरिबहादुर शाहीले बताए । उनले भने, ’कुन ठाउँमा के बिग्रियो मलाई थाहा हुँदैन । बाहिरबाट मिस्त्री नआउँदासम्म सेवा बन्द रहन्छ ।’ नेरखोला विद्युत् सेवा मर्मतका लागि पहल भइरहेको वडाअध्यक्ष पृथ्वीबहादुर मल्लले बताए । दक्ष प्राविधिक नहुँदा समस्या भएको हो  । रासस

सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै विद्यालयका कर्मचारीको माइतीघरमा अनशन जारी

काठमाडौं । सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन् । अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि यही असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन । ‘सहमति नहुँदा परिषद्ले थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ’, महासचिव योगीले भने । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा गठित वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवसमेत प्रतिनिधि रहेका छन् । ‘अर्थ मन्त्रालयले बजेट थप्ने विषयमा हालसम्म कुनै जवाफ नदिएपछि वार्ता सहमतिमा पुग्न सकेको छैन’, उनले भने । सरकारले वार्तामा बोलाएपछि परिषद्ले विद्यालय बन्दका कार्यक्रम फिर्ता लिई अनशन भने जारी राखेको छ । परिषद् र नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शिक्षामन्त्री अशोककुमार राईलगायत शीर्ष नेतृत्वलाई भेटेर आफ्ना माग पूरा गर्न ध्यानाकर्षण गराइसकेका छन् । यस विषयमा संसद्मा पनि आवाज उठ्दै आएको छ । विद्यालय कर्मचारीले मासिक आठ हजार रुपैयाँदेखि १२ हजार पाँच सय रुपैयाँसम्म पारिश्रमिक लिई काम गर्नु परेको, सर्वोच्च अदालतको २०६७ माघ २३ गतेको आदेशबमोजिम कर्मचारीको सेवा, शर्त र सुविधा उल्लेख गरी ‘सर्भिस ल’ बनाइ कार्यान्वयन गर्न आलटाल गरेको तथा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुको सुविधा बढाउने विषय उल्लेख गरे पनि आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कुनै सुनुवाइ नभएको भन्दै परिषद् आन्दोलनमा उत्रिएको हो । रासस

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

ढोरपाटन । बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन । मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए । अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ । गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ । खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन् । पछिल्लो समय गाउँमा घर जस्तातापाले छाइन र सिमेन्टले ढलान हुन थाले । त्यसले गर्दा गाउँको पहिचान हराउन थाल्यो । अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन् । माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो । यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र सितलताका लागि चौतारा थिए । सडकका कारण पोखरी र चौतारालगायतका सम्पदा मासिँदा अहिले उजाड जस्तो बनेको छ । सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन् । गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जङ्गबहादुर कार्कीले बताए । साढे दुईदशक अगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँगाउँकैरुपमा रहे पनि अहिले तीव्ररुपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ । अहिले गाउँबाट विदेश जानेको सङ्ख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउनुहुन्छ । सहजताका लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोली महसुस हुन थालेको छ । ‘हाम्रो पालामा गाउँमा यस्ता घर थिएनन्, तलदेखि माथिसम्म सबै ढुङ्गा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन तर अहिले दिनदिनै नयाँ घरहरु बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ’, कार्कीले भने, ‘विकास हुन त राम्रो हो, तर मौलिकता मासेर आधुनिकतालाई अङ्गाल्नु विल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले ।’ पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौँलगायतका सुविधायुक्त सहरमा बसाइँसराइ गरेर जान थालेका छन् । गाउँ भएर पनि बजारकै सेवासुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताइन् । देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकूल नभएको क्षेत्रीको भनाइ छ । आफ्ना छोराले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको जनाउँदै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नुपरेको बताइन् । ‘घरमा आमा बाबालाई लिपपोत गर्न दुःख भयो भनेर छोराले पक्की घर बनाइदिए, ढुङ्गा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई/दुई वटा ग्यास चुला छन्, बरु पहिलेकै माटो ढुङ्गाको घर ठिक थियो’ क्षेत्रीले भनिन् । सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधा त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हराउने गरायो । अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँ बजारमा रुपान्तरण हुँदैछन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्ररुपमा बजारीकरण भइरहेका छन् । रासस