विकासन्युज

असार लागेसँगै बढ्न थाल्यो सरकारको खर्च, तीन दिनमा ३३ अर्ब भुक्तानी

काठमाडौं । असार लागेसँगै सरकारी खर्चमा वृद्धि भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा मात्रै ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयले असार २१ गतेसम्म मात्रै भुक्तानी हुने र त्यही अनुसार गर्न कोष तथा लेखा नियन्त्रक र प्रदेश लेखा नियन्त्रकलाई निर्देशन समेत दिइसकेको छ । सोही निर्देशन अनुसार यसअघि काम भएर पनि भुक्तानी रोकिएका विभिन्न परियोजनाको रकम एकैपटक ठूलो रकम भुक्तानी भएको हो । कार्यालयको तथ्यांक अनुसार गत शुक्रबारदेखि सोमबारको तीन दिनको अबधिमा मात्रै ३३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । जसमा गत शुक्रबार ५ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ, आइतबार १८ अर्ब १६ करोड ७० लाख र सोमबार ९ अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । चालु आर्थिक वर्षको साउनदेखि सोमबारसम्मको तथ्यांक अनुसार १२ अर्ब ६३ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको खर्च भएको छ । साढे ३ खर्ब नोक्सानीमा सरकारी कोष चालु आर्थिक वर्ष सकिन १२ दिन बाँकी रहदा सरकारी कोष साढे ३ खर्ब बढी नोक्सानीमा पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएपछि सोमबारको तथ्यांक अनुसार सरकारी कोष ३ खर्ब ५३ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बराबरको नोक्सानीमा पुगेको हो । आयात न्यून हुँदा सरकारको राजस्व आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका भन्सार महसूल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क आदि शिर्षकमा राजश्व संकलनमा कमी आएको छ । अहिलेसम्म खर्च भएको रकममध्ये ६२ प्रतिशत रकम चालू शीर्षकमा खर्च भएको छ । नियमित तलबभत्ता, प्रशासकीय खर्च, सामाजिक सुरक्षाभत्ता, प्रदेश र स्थानीय तहहरूलाई अनुदानका रूपमा यस्तो खर्च हुन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूले चालू प्रकृतिको दायित्व असाध्यै उच्च रहेका कारण सरकारलाई वित्तीय व्यवस्थापन गर्नै चुनौती भइरहेको बताउने गरेका छन् । सरकारले आम्दानी कम र खर्च धेरै भइरहेपछि आन्तरिक र बाह्य ऋण मार्फत स्रोत व्यवस्थापन गरिरहेको छ । यो वर्ष बजेटले चार खर्ब ९८ अर्ब रुपैयाँ ऋण लिने तयारी भएको उल्लेख गरेको थियो । सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर, अहिलेसम्म सङ्कलन भएको राजस्व लक्ष्यको तुलनामा करीब ६१.७ प्रतिशत मात्रै हो । बाँकी १२ दिनमा लक्ष्य अनुसारको बाँकी राजस्व सङ्कलन नहुने प्रस्ट छ । उक्त लक्ष्यमध्ये सोमबारसम्म ८ खर्ब ६५ अर्ब ६८ करोड २९ लाख रुपैयाँ बराबर मात्रै असुल गरेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा सोमबारसम्म लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रुपैयाँ मात्रै अनुदान आएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १२ खर्ब ६३ अर्ब १७ करोड ८६ लाख बराबर खर्च भएको छ । असार १८ गतेसम्म चालु खर्च ७९ दशमलव ०४, पुँजीगत खर्च ४४ दशमलव ८२ र वित्तीय व्यवस्थातर्फको खर्च ६८ दशमलव ३९ प्रतिशत बराबर छ ।

३० वर्ष उमेरपछि कपाल किन सेतो हुन्छ ?

काठमाडौं । उमेर बढेसँगै कपाल सेतो बन्ने विषय हामी सबैका लागि सामान्य विषय हो । हरेक १० वर्षमा ३० वर्ष उमेर पुगेपछि कपाल सेतो हुने प्रकृया १० देखि २० प्रतिशतले बढ्दै गएको छ । बर्मिघम विश्वविद्यालयकी प्राध्यापक मेलिसा ह्यारिसले ६० वर्ष नाघेका ९१ प्रतिशत मानिसको कपाल सेतो हुने गरेको बताएकी छन् । मान्छेको उमेर बढ्दै गएपछि कपाल सेतो हुने विषय सामान्य मानिएपनि कपाल किन सेतो हुन्छ भन्ने जिज्ञासा पनि धेरै मानिसहरुको रहेको पाइन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार हाम्रो कपाल, आँखा र छालामा मेलानिन नामक पिग्मेन्ट हुन्छ । जसले कपालको रङ निर्धारण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । मेलानिन दुई प्रकारका हुन्छन् । पहिलो – कालो, खैरो र सुनौलो कपालमा पाइने युमेलेनिन र दोस्रो – रातो कपालमा पाइने फेओमेलानिन । कोशिकाहरुमा मेलानिनको कमिले कपाल सेतो हुन्छ सोधकर्ताहरुका अनुसार जुन कोशिकाहरद्वारा मेलानिन बन्ने काम गर्छ, त्यो कपालको कपालको जरासँग टाँसिएको हुन्छ । मेलानिन पिग्मेन्ट कपालको फोलिकलको आधारमा हुन्छ । कपालको फोलिकल छालाको दुई माथिल्लो भागमा रहेको हुन्छ । जसले कपाललाई वृद्धि गर्न मद्दत पुर्याउँछ । मेलानिन पिग्मेन्ट मेलानोसाइट्स भनिने कोशिकाहरुले बनाउने काम गर्छ । जसले कपालमा पिग्मेन्ट पुर्याउने काम गर्छ । मेलानोसाइट्स कोशीकाहरु उमेरको वृद्धिसँगै घट्न थाल्छन् । जसले गर्दा मेलानिन पिग्मेन्ट कम हुन्छ र कपाल सेतो हुन थाल्छ । किनकी पिग्मेन्टको अभावकै कारणले कपाल सेतो हुन्छ । कपाल सेतो हुनुको कारण सिडिके प्रोटिन मानिसमा हुने तनावको असर छाला तथा कपालमा पनि पर्ने गर्छ । न्युयोर्कको कोलम्बिया युनिभर्सिटी इरविंग मेडिकल सेन्टरले पहिलो पटक यो विषयलाई पुष्टि गरेको छ । अनुसन्धानका अनुसार साइक्लिन डिपेन्डेन्ट किनेसेस (सिडिके) नामक विशेष प्रोटिनले कोशिकालाई नोक्सान गर्न थाल्छ । मानिस तनावमा भएको बेला यो प्रोटिन तिव्र गतिमा बन्ने काम गर्छ । त्यसैले, तनाव धेरै लिने मान्छेको कपाल सेतो हुन्छ । तनावका कारण मानिसको कोशिकाको पावर हाउस भनेर चिनिने माइटोकन्ड्रियामा परिवर्तन हुने गर्छ । जसका कारण कपालमा पाइने धेरै प्रोटिन परिवर्तन हुन्छ र कालो कपालको रंग सेतो हुन्छ । सोधकर्ताहरुका अनुसार कपालको रंग परिवर्तन हुँदा करिब तीनसय प्रकारका प्रोटिनमा पनि परिवर्तन हुन्छ । बेलायतको म्यानचेस्टरमा गरिएको एक अनुसन्धानमा पुरुषहरुको तुलनामा महिलाहरुको कपाल तिव्र गतिमा सेतो हुने पाइएको छ । जसका कारणले महिलाहरु पुरुषहरुको तुलनामा ६ वर्ष बढी वृद्ध देखिने गर्छन् । अनुसन्धानका अनुसार महिलाहरुमा ३४ वर्षपछि कपाल सेतो हुने प्रकृया शुरु हुने गर्दछ भने पुरुषहरुमा ३३ वर्षपछि कपाल सेतो हुन शुरु गर्छ ।

बैंकका सीइओसँग निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर्क्रिया : सानालाई पनि ऋणमा जोड दिऔं

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले मौजुदा सुरक्षण कार्यक्रममा पुनरावलोकनका साथै नयाँ सुरक्षण कार्यक्रमको आवश्यकता पहिचान सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । कोषले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखहरुको उपस्थितिमा  “बैक वित्तीय संस्थाहरुको कर्जा सुरक्षण आवश्यकता र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमहरुको अवस्था” विषयक आधा दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कोषको सञ्चालक समितिका सदस्यहरु, बिभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, नायव प्रमुख कार्यकारी अधिकृतहरु, कर्जा विभागका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका अन्य प्रतिनिधिहरु, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारी र सञ्चारकर्मीहरु समेत गरी १२० जना बढी व्यक्तिको सहभागिता रहेको कोषले जनाएको छ। कार्यक्रममा  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले साना निक्षेपकर्तालाई बैंक वित्तीय संस्थाहरुप्रतिको विश्वास अभिवृद्धि गर्न र साना कर्जाहरुको सुरक्षण मार्फत् न्यून आय आर्जन भएका गरिब जनतामा कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी गरीवी निवारण गर्नका लागि कोषले महत्वपूर्ण योगदान गरेको बताइन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा जोखिमलाई न्यूनीकरण गर्ने विभिन्न साधनहरुमध्ये सुरक्षण कार्यक्रम एक महत्वपूर्ण पक्ष रहेको विषयलाई प्रकाश पार्दै उनले यस प्रकारको जोखिम व्यवस्थापन गर्ने संस्थाको रुपमा रहेको कोषले आफ्नो जोखिम कोषलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसारको व्यवस्था गर्नु पर्ने बताइन् । साथै उनले व्यवसायको दायरा र क्षेत्र विस्तारको लागि मौजुदा सुरक्षण कार्यक्रमलाई बजार माग अनुसार परिमार्जन गर्दै नविन कार्यक्रम तर्जुमामा सूचना प्रबिधिको उच्चतम प्रयोग र संस्थागत सुशासनमा केन्द्रीत रहनुपर्ने बताइन् । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषको छोटो इतिहास, हाल सञ्चालनमा रहेका कर्जा सुरक्षण सम्बन्धी मौजुदा कार्यक्रमहरु तथा भावि योजनाहरु समावेश भएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोषले आफ्नै ढंगबाट कर्जा सुरक्षणका कार्यक्रमहरु विकास गर्ने र बैंक तथा वित्तीय संस्थाले त्यसलाई आत्मीयताका साथ स्वीकार नगर्ने हो भने त्यसको कुनै औचित्य नरहने कुरालाई कोषले गहन रुपमा लिएको हुँदा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत सबै सरोकारवालाहरुसँग सार्थक राय सुझावको कोषले अपेक्षा गरेको बताए । नेपाल बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइरालाले कार्यक्रम एकदम सफल रहेको बताउँदै कोषले निक्षेप सुरक्षण बापत लिने सुरक्षण शुल्कमा पुनरावलोकन गरे बैंक वित्तीय संस्था लाभान्वित हुने बताए । त्यस्तै डेभलपमेन्ट बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष बोधराज देवकोटाले निक्षेप सुरक्षणको कुरामा नै जोड दिँदै विकास बैंक पनि हाल निकै सबल रुपमा स्थापित भएको अवस्थामा विकास बैंकलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके विकास बैंक लाभान्वित हुने उल्लेख गरे । साथै विकास बैंकलाई पनि बैंक वित्तीय संस्था खारेजीमा जाँदा चयन गरिने एजेन्ट बैंक छनौटमा प्राथमिकता दिनुपर्ने उनले बताए । वित्त कम्पनी एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष रविचन्द्र गुरुङ्गले वित्त कम्पनीलाई पनि कोषको लगानी निर्णयमा सहभागी गराउन सके वित्त बैंक लाभान्वित हुने बताए । कोषका प्रमुख कार्यकारी अधिकृतले पेश गरेका भावी योजनाहरु असाध्यै राम्रा भएका तर कुरामा मात्रै सीमित नरही कार्यान्वयनमा समेत जाने अपेक्षा उनले व्यक्त गरेका छन् । यसका साथै अन्य सहभागीहरुले साना तथा मझौला उद्यम व्यवसायलाई परिभाषित गर्ने कोषको नियममा रहेको व्वस्था तथा अन्य सरोकारवालाहरुको परिभाषासँग एकरुपता नरहेको लगायत कोषको सुरक्षण कार्यक्रममा भएका कमीकमजोरी औंल्याउँदै मननयोग्य सुझावहरु दिएको कोषले जनाएको छ । कोषका प्रमुख कार्यकारी अधिकृतले  बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित सबै सरोकारवालाहरुसँगको निरन्तर छलफल र संवाद मार्फत बजारको सुरक्षणको आवश्यकतालाई पहिचान गरी मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु यकीन गरी सुरक्षण कार्यक्रममा परिमार्जन तथा संशोधन गर्ने र नयाँ नयाँ सुरक्षणका थप योजनाहरु विकास गर्ने कोषको सदैव प्रयास रहने कुरामा सबै सरोकारवालाहरुलाई आश्वस्त रहन आग्रह गरेका छन् । कोषका विशेषज्ञ सञ्चालक प्रकाशजंग थापाले  बढ्दो व्यवसायिक आकार, उपलब्ध अवसर, सूचना प्रविधिको उपयोग, जोखिम जस्ता पक्षलाई उपयुक्त तवरले सम्बोधन गर्न रणनीतिक योजना सहित अगाडी बढ्न आवश्यक रहेको औंल्याउँदै कोषको रणनीति तर्जुमामा कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरेका छन् ।

कामना सेवा विकास बैंकले विद्यार्थीलाई दियो पोशाक

काठमाडौं । कामना सेवा विकास बैंकले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बैंकले शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा.पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोशाक हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको छ । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानी भित्र्याउन आग्रह

काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेष गरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ । नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश पारे । नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उहाँले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा हङ्कङ महावाणिज्यदूत उदय रानामगर, एनआरएनए मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपाने, मकाउ लगानी बोर्डका अध्यक्ष चेन मेङ कामले बोलेका थिए । रासस

बालेनले भनेको तलब दिँदा काठमाडौंका २७५ निजी स्कुल बन्द हुन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी स्कुलहरुले आफ्ना शिक्षकहरुलाई सरकारी सरह तलब सुविधा दिनुपर्ने स्थिति आएमा आधा भन्दा धेरै बन्द हुने हुने अवस्था सिर्जना हुने देखिएकाे छ । निजी विद्यालयमा पढाउने शिक्षकहरुले सरकारी विद्यालय सरह तलब माग गरेमा अधिकांश विद्यालयहरु बन्द हुने अवस्था सिर्जना हुने देखिएकाे हाे । निजी विद्यालयका सञ्चालकहरुले सबै स्कुलहरुले सरकारी सरह तलब दिनै नसक्ने बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपाध्यक्ष कुमार घिमिरे काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा क्षेत्र सम्बन्धित अगाडि बढाएका कार्यक्रमहरु सकारात्मक भएपनि तलब कार्यान्वयन भने गर्न नसकिने बताउँछनन् । उनले निजी विद्यालयले शिक्षकहरुलाई सरकारी विद्यालय सरहको सुविधा दिनको लागि एउटा विद्यालयमा ४२९ जना विद्यार्थी हुनुपर्ने र तिनीहरुसँग कम्तिमा ५ हजार भन्दा बढी शुल्क लिनु पर्ने बताए । तर, सो विषयको कार्यान्वयन भने अहिलेको अवस्थामा सम्भव नभएको उनको भनाइ छ । ‘बालेनजीले अगाडि बढाएका अन्य राम्रा कुराहरुमा हाम्रो पनि समर्थन छ, तर तलबको विषय चाहिँ सम्भव छैन’, उनले भने । यदि बालेनले भने जस्तै निजी स्कुलहरुले पनि शिक्षकहरुलाई तलब दिनुपर्ने बाध्यता आउने हो भने थोरै विद्यार्थी भएका र थोरै शुल्क लिने स्कुलहरु संकटमा पुग्ने उनले बताए । प्याब्सनका महासचिव आरबी कटवालले काठमाडौं महानगरले शिक्षकको तलबको विषयमा आधिकारिक रुपमा आफूहरुलाई केही नभनेको तर, बालेनले भनेको विषय कार्यान्वयन हुने हो भने काठमाडौं महानगर भित्र सञ्चालनमा रहेका २७५ भन्दा धेरै स्कुलहरु बन्द हुने बताए । सोही नीति देशैभरीका स्कुलमा लागू गर्ने हो भने ७० प्रतिशत निजी स्कुलहरु बन्द हुने उनको भनाइ छ । ‘काठमाडौंमा विद्यार्थी संख्या बढी भएपनि शुल्क कम लिने स्कुलहरु २७५ वटा बन्द हुन्छ भने देशैभरी हेर्ने हो भने त्यस्ता ७० प्रतिशत स्कुलहरु बन्द हुन्छन्’, महासचिव कटवालले बताए । उनले शिक्षकहरुको तलबको विषय विद्यार्थीसँग लिइने शुल्कसँग सम्बन्धित भएको र सो शुल्क पनि स्कुलले मात्रै निर्णय गरेर बढाउन नसक्ने बताए । सरकारले शुल्क उठाउनको लागि दिएको आधार अनुसार नै निजी स्कुलहरुले शुल्क उठाउन नसकेको उनकाे भनाइ छ । ‘सरकारले शुल्क उठाउन दिएकाे आधारलाई हेर्ने हो भने अहिलेको अवस्थामा ‘ग’ वर्गको स्कुलले नै ५५ सय देखि ६ हजार शुल्क उठाउनु पर्ने हुन्छ, त्यो पैसा त अभिभावकले तिर्न सक्दैन’, उनले भने, ‘तिर्न नसक्ने वित्तिकै समस्या हुन्छ र अधिकांश स्कुलहरु बन्द हुन्छन् ।’ सरकारले नै शिक्षा नियमावलीमार्फत् स्कुलहरुलाई वर्गिकरण गरेर विद्यार्थीसँग लिन सकिने शुल्क तोकिदिएको भन्दै कटवालले त्यसकै आधारमा स्कुलहरुले शिक्षक कर्मचारीलाई सेवा सुविधा दिन सक्ने बताए । विशिष्ट श्रेणीका स्कुलहरुले शिक्षक कर्मचारीहरलाई सरकारी भन्दा पनि धेरै सुविधा दिएको भन्दै महासचिव कटवालले तल्लो श्रेणीका स्कुलहरुमा नै समस्या रहेको बताउँछन् । उनले अहिलेको अवस्थामा सबै बर्गका अभिभावकहरुले निजी स्कुलमा पढाउन सक्ने अवस्था रहेको तर, बालेनले भनेको विषय कार्यान्वयन हुने हो भने अधिकांश अभिभावकहरुले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन सक्ने अवस्था समेत नहुने बताउँछन् । बालेनले निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि सरकारी वा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले सरह तलब सुविधा पाउनुपर्छ भनेपछि निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरु भने खुसी भएका छन् । निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको छाता संस्था ‘संस्थागत विद्यालय शिक्षक युनियन’ (इस्टु)ले प्रेस विज्ञप्ति जारी गर्दै बालेनको अभिव्यक्तिलाई स्वागतयोग्य भएको जनाएको छ । आफ्ना समस्याहरुलाई लामो समयदेखि विभिन्न निकायहरुमा राख्दै आएकोमा कुनै प्रतिक्रिया नआएकोमा बालेनले दिएको अभिव्यक्ति स्वागतयोग्य भएको इस्टुले आफ्नो विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

पहिरो पन्छाउन नसक्दा ५ दिनदेखि यातायात ठप्प

नवलपरासी । पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए। अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग  नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुनसकेका छैनन् । पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। ‘पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छ’, उनले भने। दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उनले बताए । पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेका छैनन् । पहाडी क्षेत्रको मुख्य मार्गका रूपमा सडकखण्ड बन्दा भएसँगै पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको छ । पहिराले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ–भिमाद–खैरेनी–मुग्लिङ–नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको बौदीकाली–५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताए । पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ । जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे कावासोती आउने बाटो बन्द हुने हुँदा भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ । नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिराले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन् । जिल्लाको सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैँ उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताए । रासस

आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज रातिको समयमा पनि कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।