विकासन्युज

अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राखिएकोमा असार १८ गतेसम्म आठ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब पाँच खर्ब रुपैयाँ उठाउनुपर्ने हुन्छ । आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन कठिनाइ परेको मन्त्रालयको भनाइ छ । सो अवधिमा आयात घटेको, रेमिट्यान्स र पर्यटक आगमनमा सुधार भएकाले व्यापार घाटा कम भएको मन्त्रालयको भनाइ छ । भन्सारतर्फ राजस्व असुली लक्ष्य छ खर्ब नौ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य रहेकामा जेठ मसान्तसम्ममा तीन खर्ब ४८ अर्ब १८ करोड रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यको ६१ दशमलव २९ प्रतिशत मात्र हो । आन्तरिक राजस्व विभागतर्फ पाँच खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएकामा उक्त अवधिसम्म चार खर्ब १० अर्ब ८२ करोड रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यको ७० दशमलव १५ प्रतिशत हो । आन्तरिक उत्पादन र व्यापार घट्न गई आन्तरिक राजस्व अपेक्षित बढन नसकेको मन्त्रालयको भनाइ छ । गैर कर सङ्कलनतर्फ भने अघिल्लो वर्षको तुलनामा ११ दशमलव ८८ प्रतिशत बढी अर्थात ७७ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसअवधिमा सङ्घीय सरकारको खर्च भने १२ खर्ब ५४ अर्ब रुपैयाँ भएको छ । मन्त्रालयका अनुसार चालुतर्फ नौ खर्ब २९ करोड रुपैयाँ, पुँजीगततर्फ एक खर्ब ६८ अर्ब रुपैयाँ, वित्तिय व्यवस्थापतर्फ एक खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा राजस्वतर्फ १२ खर्ब ४० अर्ब रुपैयाँ तथा अनुदान प्राप्ति ५५ अर्ब, वैदेशिक ऋण, दुई खर्ब ४२ अर्ब रुपैयाँ र आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब रुपैयाँ रहेकामा चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ पुँजीगतर्फ तीन खर्ब ८० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब रुपैयाँ छ । समितिको बैठकमा बैंक तथा वित्तीय संस्थामा हाल निक्षेप ५४ खर्ब ५३ अर्ब ४४ करोड रुपैयाँ सङ्कलन भएको जानकारी दिइयो । चालु खर्चभित्र प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने चार खर्ब २९ अर्ब रुपैयाँ छ । आगामी आर्थिक वर्षका लागि विनियोजन बजेट अधिकतम सदुपयोग गर्न राज्य संयन्त्र र अन्य सरोकार निकायबीच क्रियाशील, सक्रियता र समर्पण भएमा लक्ष्य हासिल गर्न सकिने जनाउँदै अर्थमन्त्री डा प्रकाशरण महतले सरकार बजेट कार्यान्वयनमा गम्भीर भएर लाग्ने भएकाले सहयोग र समन्वयनका लागि समितिसँग आग्रह गरे । उनले भने, ‘स्थानीयवासीलाई रोजगारी दिने नाममा नचाहिने ठाउँमा पनि सडक पुर्‍याउने होडबाजीलाई रोक्नुपर्छ, आवश्यकताका आधारमा बजेट सदुपयोग हुने ढङ्गले खर्च गर्ने परिपाटी विकास गर्न आवश्यक ।’ चालु खर्चको वृद्धि राजस्व असुलीको दरभन्दा बढी रहेको तथा बर्सेनि १० खर्बभन्दाबढी अनिवार्य दायित्वमा खर्च हुने गरेकाले आन्तरिक स्रोतले धान्नसमेत धौधौ परेको मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले बताए । चालु आर्थिक वर्षमा आन्तरिक ऋणको साँवा तथा ब्याजमा भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रासायनिक मल खरिदमा सात अर्ब रुपैयाँ, कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको वृद्धि भएको तलबभत्तामा ३० अर्ब रुपैयाँ र सामाजिक भत्तामा ६ अर्ब रुपैयाँ थप बजेट व्यवस्था गर्नुपरेको थियो । चालु खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनःप्राथमिकिकरण गरी बजेट कार्यान्वयन गरिएको तथा केही खर्च शीर्षकमा बजेट रोक्का र केही खर्च शीर्षकको बजेट कटौती गरी कार्यान्वयन गरिएको जानकारी अर्थमन्त्रालयको भनाइ छ । सुरक्षाकर्मीको रासन र कैदीबन्दीको सिदाका लागि दुई अर्ब रुपैयाँ थप स्रोत व्यवस्थापन गर्नेपर्ने अवस्था छ । स्रोतमा परेको दबाबका कारण स्रोत सहमतिलाई कडाइ गरिएको छ ।

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कहाँको रूटमा कति ?

काठमाडौं । हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गरेर हवाई भाडा घटाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि लागू हुने प्राधिकरणले बताएको छ । नयाँ भाडादर अनुसार, यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ८५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ । काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ । निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिकिलो लिटर ११५ अमेरिकी डलर (प्रतिलिटर करिब १५ रुपैयाँ)ले घटाएको छ । कहाँकाे रूटमा कति ?

सिटिजन र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता कसको कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार १९ गते एकैदिन दुबै जीवन बीमा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । दुई कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात २ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १४४ प्रिमियममा (अर्थात प्रतिकित्ता २४४ रुपैयाँमा) एक करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीको कर्मचारीलाई छुट्याइएको छ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कूल कित्तामध्ये सन नेपालले ४ लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । सिटिजन लाइफको तुलनामा सन नेपाल लाइफको आईपीओ सस्तो देखिएको छ । सन नेपालको आईपीओ प्रतिकित्ता ५ रुपैयाँले सस्तो छ ।

चेपाङको अनौठो चलन : छोरीलाई दाइजो चिउरीको बोट

हेटौँडा । छोरीको विवाहमा दाइजोका रुपमा पैसाका अतिरिक्त सुन, सवारी साधन, भाँडाकुँडा आदि दिने गरिएका प्रचलनका बारेमा त सुनिएकै थियो । तर विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने गरेको प्रचलनका बारेमा भने कमै मात्र सुन्ने गरिएको छ । यो प्रचलन अहिले पनि कायम छ चेपाङ समुदायमा । उनीहरु छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने गरेका छन् । त्यो प्रथा अहिले पनि कायमै छ । मानव विकास सूचकाङ्कमा पछि परेको तथा वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी मानिने यो समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ । धेरैलाई अनौठो लाग्न सक्छ, नेपालमा आजभन्दा ३७ वर्षअघि नै देशका आदिवासी चेपाङ समुदायका लागि चिउरीको रूख दर्ता गरेर लालपुर्जा नै वितरण गरिएको थियो । जन्मेदेखि मृत्युसम्मका हरेक कर्मसँग जोडिएको चिउरीसँग चेपाङ जातिको अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई आत्मसात् गर्दै सरकारले सरकारी तथा निजी वनमा रहेका चिउरीका रूख सम्बन्धित चेपाङका नाममा दर्ता गरेर बोटको लालपुर्जा नै दिएको थियो । त्यसरी लालपुर्जा वितरण गरिएकामध्ये करिब दुई सय रूख फेला परेको सिलिङ्गे सामुदायिक वनले जानकारी दिएको छ । मकवानपुरको राक्सिराँग, कैलाश र मनहरि गाउँपालिकामा बसोबास रहेको उक्त समुदायका अनुसार छोरीको बिहेमा चिउरीको रूख दाइजो दिने प्रथा अहिले पनि कायम रहेको छ । संविधानसभा सदस्य गोविन्दराम चेपाङले आयआर्जका लागि आफ्नो समुदायले पहिलेदेखि नै चिउरीलाई महत्वका साथ हेर्ने गरेको बताउछन् । उनले चेपाङ समुदायले चिउरीलाई सम्पत्तिका रुपमा हेरेकाले दाइजो दिने प्रथा बसेको जानकारी उ्नले दिए । समुदायले चिउरीको फूलको रस खान आउने चमेराको मासु पनि विशेष परिकार मान्ने गरेको उनको भनाइ छ । चेपाङ समुदायले परम्परागत कृषि कार्य नगर्ने हुनाले वनजङ्गल नजिकको खोरिया फँडानी क्षेत्रमा भरपर्ने परम्परा रहेको भए पनि हाल आएर मौरीपालन र पशुपालनमा लाग्न थालेको उ्नले बताए । आफ्ना पूर्वजहरु जीवनयापन सहजताका लागि खोलानजिक छरिएर रहेको तथ्याङ्क रहेको उ्नले जनाए । उनका अनुसार उक्त समुदाय निर्वाहमुखी जीवनयापनका लागि वन पैदावार चिउरी र सोबाट बनेका खाद्यपदार्थ, कन्दमूल, गिठ्ठा, भ्याकुर, वनतरुल, सिस्नो र फलफूल खाने र पहिलेजस्तै खोरिया खनेर खेती अहिले पनि गर्ने गर्दछन् । साथै यो समुदायले परम्परागत पेसाका रुपमा माछा मार्ने, चराचमेरा तथा साना जङ्गली जनावरको सिकार गर्ने गर्दछ । परम्परागत सीपबाट डोको, डालो, नाम्लो, अम्रिसोको कुचो, जाबी बुनेर त्यसबाट आम्दानी पनि उनीहरु गर्ने गर्दछन् । अहिले बिस्तारै जीवनशैली परिवर्तन गर्दै गरेका चेपाङ समुदायले चिउरीको मह बनाउन लागि मौरीपालन पनि सुरु गरेका छन् । अहिले चिउरीको खेती गरेर मौरीपालन गरी मह उत्पादन गरेर राक्सिराँग गाउँपालिकाको विकट क्षेत्र मानिने सिलिङ्गेका आइतसिंह प्रजा व्यवसायी नै बनेको बताए । उनले अहिले पनि मौरीपालन गरिरहेका छन् । उनी भन्छन्, ‘चिउरीको बोट भिरालो पाखा, बारी नजिकको खुल्ला स्थान, चरन क्षेत्र र खोरियामा पनि हुन्छ यसमा मौरी चराएर मह उत्पादन बढाउन सकिन्छ । केही वर्षयतादेखि मैले यही व्यवसाय गरिरहेको छु ।’ सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसमेत रहनुभएका प्रजाले आफ्नो बिहेमा पनि चिउरीको बोट दाइजो आएको स्मरण गर्छन् । आफ्नो समुदायमा चिउरीसँगै मासुका लागि चमेरो प्रयोग गरिने परम्परा रहेको उनको भनाइ छ । पहिले तरकारीमा भुटन हाल्नका लागि र बसोबास क्षेत्रमा सहज पाइने उपयोगी रूख भएकाले पनि स्थानीय चेपाङले उक्त रूखलाई खास मान्ने गरेको मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले बताए । उनका अनुसार राक्सिराँग, खैराङ्ग, कैलाश, सरिखेत, पलासे, नामटार, कालिकाटार, भैँसे, मकवानपुरगढी, बकैयामा चिउरीका रूख पाउने गरेको छ । चिउरीका लागि चितवनको सिद्धि, कोराक, लोथर, शक्तिखोर, काहुले, दारेचोक, चण्डीभञ्ज्याङ, इच्छाकामनामा मकवानपुरको मनहरि खोलादेखि चितवनको कयर खोलाका बीचमा पर्ने चुरे र महाभारतको तल्लो भेग उपयुक्त क्षेत्र रहेको उ्नले जानकारी दिए । धादिङको रोराँग, धुषाक्षेत्र चिउरी पाइने मुख्य क्षेत्र थियो तर ग्रामीण क्षेत्रमा सडक पुगेसँगै त्यहाँका अधिकांश चिउरीका रूख रोग लागेर मरेका छन् भने चेपाङ समुदायले दाउराका लागि बिक्री गर्ने गरेका कारण पनि त्यो क्षेत्रमा चिउरीका बोट कम भएका छन् । पहिलेदेखि नै चिउरीको रूखबाट आम्दानी हुने र हाल आएर पनि चिउरीको घीउ बहुउपयोगी औषधि मानिने भएकाले चेपाङ समुदायमा चिउरीको महत्व कम नभएको बताइन्छ । परम्परागत रुपमा कृषि नगर्ने चेपाङ समुदायका महिलाहरुले अहिले भने जीवनयापनको विकल्प खोज्न थालेका छन् । उनीहरुले कतिपय ठाउँमा वन तथा कृषिमा आधारित उद्यम पनि सुरु गरेका छन् । उनीहरुले मौरीपालन गरी मह बेचेर घरखर्च टार्ने, पाडो पालेर बच्चा पढाउने गरेका छन् । साथै उनीहरु समुदयामा आउने र चाडपर्व मनाउन पनि सुरु गरेका छन् । राक्सिराँग गाउँपालिकामा रहेको जनएकता सामुदायिक वन उपभोक्ता समूहमा रहेका चेपाङ समुदायका महिलाहरुले केही वर्षदेखि सुरु गरेको मौरीपालनबाट राम्रो आम्दानी पनि गरेका छन् । यो क्षेत्र अति विकट र समुदायमा गरिबी भए पनि यस गाउँका युवा रोजगारीका लागि विदेश भने गएका छैनन् । चेपाङ महिलाहरुलाई लक्षित गरेर गठन गरेको देवीटार महिला कृषक समूहमार्फत नै मौरी पालन गर्दै आइरहेका छन् । केही वर्षपहिला जीविकोपार्जनका लागि वनमा रहेको गिठ्ठा सङ्कलनसँगै ज्यालादारी गर्दै आइरहेका चेपाङ समुदायमा कृषक समूह गठन भइसकेपछि समूहमा रहेर काम गनुपर्छ भन्ने चेतनाको विकाससमेत भएको बताउछिन् समूहकी सचिव सबिता प्रजा । उनी भन्छिन्, ‘हामीलाई समूहमा मौरी पाल्दा बैच्न लान पनि सजिलो भएको छ ।’ राक्सिराँगकी ६० वर्षीया सानुमाया अहिले अर्काको मजदुरी वा गिठ्ठाको खोजीमा समय बिताउन नपर्ने र सबै बालबालिका विद्यालय जान पाउने बताउछन् । उनले मौरीपालनमात्र नभएर यस क्षेत्रमा बाख्रा तथा भैँसीका पाडापाडी पालन गर्ने कामलाई गाउँपालिकाले सहयोग दिएमा आम्दानीको थप स्रोत हुने बताउँदै सामुदायिक वन उपभोक्ता महासङ्घले यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । त्यस्तै रामबहादुर प्रजाले यस ठाउँमा माछापालनको सम्भावना रहेको भन्दै यसका लागि सहयोग पाएमा आर्थिक रुपले यहाँको चेपाङ समुदाय बलियो हुने बताए । उनले सामुदायिक वनले वनसँगै कृषिलाई पनि जोडेर आयआर्जनका कार्यक्रमहरु ल्याउन सुझाए । तीन सन्तानकी आमा ३० वर्षीया जुनिमायाले पनि बच्चाकै लागि पाडो पालेको बताउछिन् । ‘मौरीपालनले थोरै खर्च चल्छ तर पाडोले बच्चाहरु पढाउनुपर्छ’, उनले बताए । उनीहरु आफूले पढ्न पाएनन् । तर अहिले समुदायिक क्रियाकलापमा घुलमिल हुन थालेका उनीहरुमा पढ्नुपर्छ भन्ने चेतना जागृत भएको छ । पहिले आफूले पढ्न नपाएको भए पनि छोराछोरी पढाउनुपर्छ भन्ने सोच पलाएपछि अहिले उनीहरु पाडापाडी पाल्न थालेका र कृषिका माध्यमबाट केही आयआर्जनको काम गर्न थालेका छन् । विकासमा पछि परेको चेपाङ समुदायका नागरिक अधिकांश विपन्न छन् । उनीहरुमध्ये धेरैलाई त बिहान–बेलुका छाक टार्नका लागि पनि समस्या हुने गरेको छ । तत्कालका लागि उनीहरुले मौरीपालन गर्ने तथा पाडापाडी हुर्काउने काम गरिरहेको भए पनि उनीहरुका लागि यसका अतिरिक्त आयआर्जनका ठोस योजना ल्याउन आवश्यक छ । यसका लागि प्रदेश सरकार तथा स्थानीय तहको ध्यान पुग्नु जरुरी छ । रासस

सेयर बजारमा असार मसान्तको प्रभाव मात्रै कि बुलिस ट्रेण्डको संकेत ?

काठमाडौं । लामो समयदेखि ओरालो लाग्दै तल्लाे विन्दुमा कारोबार भइरहेको सेयर बजारमा पछिल्लो एक महिनामा भने हरियाली नै देखिएकाे छ । एक महिनाको अवधिमा सेयर बजार साढे २ सय अंकले बढ्याे भने कारोबार रकम पनि ह्वात्तै वृद्धि भयाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कअनुसार कारोबारकाे एक महिनामा नेप्से परिसूचक २५४ अंकले बढेको छ । २०८० जेठ ४ गतेदेखि असार १८ गते सोमबारसम्म ३० दिन सेयर कारोबार भएको छ । सो अवधिमा पूँजी बजार २५४ अंकले बढेको छ भने ९७ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् । साथै, बैंकको ब्याजदर पनि घट‍्न थालेकाले त्यसकाे प्रभाव समेत सेयर बजारमा पर्दा काराेबारकाे आकार बढ्न थालेकाे लगानीकर्ताहरुकाे विश्लेषण छ । पछिल्ला दिनमा ठूला लगानीकर्ता सेयर बजार प्रवेश गरेपछि कारोबार रकम बढेको कतिपय लगानीकर्ताहरुको दावी छ । लगानीकर्ता तारा फुलेल सेयर बजारले वियरिस ट्रेण्ड पार गरेर बुलिस ट्रेण्डको बाटोमा अघि बढीरहेको बताउँछन् । असार मसान्त नजिक आएकाले बजार तलमाथि हुनु स्वभाविक रहे पनि बजारकाे नेचर भने अन्ततः बुलको तयारीमा रहेको उनी बताउँछन् । ‘बैंकको ब्याजदर घट्दोक्रममा छ । ब्रोकरको दायरा फराकिलो हुँदैछ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम गर्दै आएको छ’, उनले भने । ‘बजारमा लगानीकर्तालाई चाहिने कतिपय विषयमा बोर्डले देखिने गरी काम गरिरहेको छ,’ फुलेलले भने, ‘बैंकहरुले ब्रोकर कारोबार सुरु गर्न थालेपछि देशको दूरदराजसम्म वा बैंकको शाखा कार्यालय पुगेको ठाउँसम्म ब्रोकरको सेवा पुग्नेछ । हरेक स्थानीय तहसम्म ब्रोकर सेवा पुग्छ । लगानीकर्ताले यी विषय बुझेकाले पनि बजारमा सकरात्मक उर्जा थपिइरहेकाे छ ।’ उनकाअनुसार केन्द्रीय बै‌क मार्जिन लेण्डिङकाे विषयमा पनि नरम हुने संकेत देखिएकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको हुँदा सेयर बजारका सन्दर्भमा सकारात्मक नीति आउन सक्ने उनको भनाइ छ । बजारमा काल्पनिक भन्दा पनि फण्डामेन्टलका आधारमा घटबढ हुने उनले बताए । ‘सेयर बजारमा नकारात्मक हिट गर्ने गरी राष्ट्र बैंकले यो भन्दा बढी गर्ने कुनै पनि ठाउँ बाँकी छैन । सेयर बजारलाई कस्नुसम्म कसिसकेको छ । लगानीकर्तालाई जतिसम्म अफ्ठ्यारो पार्नु पर्ने हो राष्ट्र बैंकका नीतिहरुले पारिसकेको छ । अब खुकुलो बनाउने मात्रै विकल्प छ । तरलता सहज भएर ब्याजदर घट्दैछ,’ उनले भने । इन्ट्रा डेमा तलमाथि भइरहेकाले बजारका लागि याे सुन्दर पक्ष भएकाे उनी बताउँछन् । तर, डे वाइज तलमाथि हुनु असार मसान्तको असर हुनसक्ने फुलेलले बताए । उनले भने ‘हिजो १ अर्ब कारोबार हुन धौंधौं परिरहेको अवस्थामा अहिले ५/६ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ, यो भनेको बजारमा लगानीकर्ता भित्रिए भन्ने संकेत हो । बजारमा पालैपालो सबै सेक्टरले लिड गर्छ ।’ ब्रोकर सञ्चालक अतित लाल श्रेष्ठ करेक्सन भएर बजार बाउन्स ब्याक हुँदै उच्च बिन्दुमा पुग्ने बताउँछन् । बैंकहरुले सेयर कर्जा प्रवाहमा जोड दिइरहेकाले अझै बढ्ने उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीहरुको पनि पूँजी परिचालन हुने भएकाले बजारमा पूँजी परिचालन हुने उनले बताए । ‘नयाँ ब्रोकर कम्पनीको १२ अर्ब रुपैयाँ फ्रिज (जाम) भएर बसेको छ। बैंकमा निक्षेप मात्रै थप्रिएको छ । यदि नयाँ ब्रोकर कम्पनीले काम गर्न सुरु गरेपछि जाम भएर बसेको पैसा परिचालन हुन्छ । बजारमा तरलता बढ्छ । लगानीकर्ताहरुले त्यसमै रमाइलो गर्न पाउँछन्,’ उनले भने, ‘नयाँ ब्रोकर कम्पनीहरुले बजार चलायमान गर्छन् । अहिले बजार तलमाथि हुँदा लगानीकर्ताहरुले नाफा बुक गरेका हुन सक्छन् ।’ अर्का लगानीकर्ता अम्मर डंगोलकाअनुसार बजार अलिकति करेक्सन हुँदै माथि जाने हो । बैंकको सेयर बढ्दा बजार बढ्ने र घट्दा पुरै घट्ने भइरहेको उनले बताए । अबको बुलमा बीमा कम्पनीहरुले लिड गर्ने उनले बताए । ‘बीमा, होटल कम्पनीहरु बढ्न थालेको छ, बैंक पनि केही दिनअघिसम्म बढेको थियो, बैंक बढ्दा बजार बढेको थियो, फेरी बैंकको सेयर घट्न थालेपछि बजार घटेको देखिन्छ,’ उनले भने, ‘बीमा सेक्टर जति बढेको छ त्यति घटेको देखिँदैन, अब बुल आयो भने बीमाले लिड गर्ने संकेत गरिरहेको छ, बीमा कम्पनी बजारमा बलियो देखिएको छ ।’ बैंकहरुमा तरलता उच्च भए पनि लगानी शुन्य हुँदा बजारलाई फाइदा पुगेको उनले बर्ता । बैंकहरु लगानी गर्न डराइरहेकाले सीडी रेसियो पनि ८३ प्रतिशतमा झरेको उनले बताए । यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनले बताए । मौद्रिक नीति खुकुलो आएपछि बजारलाई सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । उनका अनुसार बैंकको ब्याज र किस्ता तिर्नु पर्ने भएकाले असार २२ गतेसम्म बजार करेक्सन हुन सक्ने उनको भनाइ छ । ‘बैंकको ब्याज तिर्नका लागि बजार घटिरहेको छ, बैंकहरुले कर्जा लिएका ऋणीहरुलाई असार २५ गतेभित्र तिर्नु भनेर फोन गरिरहेका छन्, मलाई पनि फोन गरेर २५/२६ गतेभित्र ब्याज तिर्नु भनेको छ,’ उनले भने, ‘पहिला ३० गतेसम्म तिर्न पाइन्थ्यो, अहिले २५/२६ गतेभित्र भुक्तानी गर भनेर बैंकबाट फोन आइरहेको छ, जसको दबावले बजार घटेको हुन सक्छ ।’

कैलालीको कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख, अब कसैले अकालमा ज्यान गुमाउनु पर्दैन

कैलाली । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे । आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ’, भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो ।’ विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए । प्रत्येक वर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो । यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उनको अनुभव छ । ‘पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो’, स्थानीय प्रकाश चौधरीले भने, ‘निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो ।’ स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भने । ‘भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो’, उनले भने, ‘यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो ।’ भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए । ‘पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ । यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ’, उनले भने, ‘पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ । यो भजनीको विकासमा ठूलो फड्को हो ।’ एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो । तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवारलामारशेर्पा साल्पा जेभीको दाबी छ । कम्पनीले तीन करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो । ‘पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ’, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, ‘पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ ।’ रासस

नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारी लिन डिजिटल प्रणाली सञ्चालनमा

जानकी । बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो । नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिने छ । प्रवक्ता निरौलाले भने, ‘अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।’ नेपालगञ्ज विमानस्थलमा प्राधिकरणले थप दुई हजार पाँच सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको छ । करिब रु तीन अर्बको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ । हाल धावनमार्गको लम्बाइ एक हजार पाँच सय मिटर रहेको छ । रासस

संसदीय समितिको सभापति छिटो चयन गर्ने ३ दलबीच सहमति

काठमाडौं । शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए । संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको उनले बताए । ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारेमा छलफल भयो । त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने । त्यसको लागि हो । मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ’ उनले भने । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए ।