
काठमाडौं । उमेर बढेसँगै कपाल सेतो बन्ने विषय हामी सबैका लागि सामान्य विषय हो । हरेक १० वर्षमा ३० वर्ष उमेर पुगेपछि कपाल सेतो हुने प्रकृया १० देखि २० प्रतिशतले बढ्दै गएको छ । बर्मिघम विश्वविद्यालयकी प्राध्यापक मेलिसा ह्यारिसले ६० वर्ष नाघेका ९१ प्रतिशत मानिसको कपाल सेतो हुने गरेको बताएकी छन् ।
मान्छेको उमेर बढ्दै गएपछि कपाल सेतो हुने विषय सामान्य मानिएपनि कपाल किन सेतो हुन्छ भन्ने जिज्ञासा पनि धेरै मानिसहरुको रहेको पाइन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार हाम्रो कपाल, आँखा र छालामा मेलानिन नामक पिग्मेन्ट हुन्छ । जसले कपालको रङ निर्धारण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ ।
मेलानिन दुई प्रकारका हुन्छन् । पहिलो – कालो, खैरो र सुनौलो कपालमा पाइने युमेलेनिन र दोस्रो – रातो कपालमा पाइने फेओमेलानिन ।
कोशिकाहरुमा मेलानिनको कमिले कपाल सेतो हुन्छ
सोधकर्ताहरुका अनुसार जुन कोशिकाहरद्वारा मेलानिन बन्ने काम गर्छ, त्यो कपालको कपालको जरासँग टाँसिएको हुन्छ । मेलानिन पिग्मेन्ट कपालको फोलिकलको आधारमा हुन्छ । कपालको फोलिकल छालाको दुई माथिल्लो भागमा रहेको हुन्छ । जसले कपाललाई वृद्धि गर्न मद्दत पुर्याउँछ ।
मेलानिन पिग्मेन्ट मेलानोसाइट्स भनिने कोशिकाहरुले बनाउने काम गर्छ । जसले कपालमा पिग्मेन्ट पुर्याउने काम गर्छ । मेलानोसाइट्स कोशीकाहरु उमेरको वृद्धिसँगै घट्न थाल्छन् । जसले गर्दा मेलानिन पिग्मेन्ट कम हुन्छ र कपाल सेतो हुन थाल्छ । किनकी पिग्मेन्टको अभावकै कारणले कपाल सेतो हुन्छ ।
कपाल सेतो हुनुको कारण सिडिके प्रोटिन
मानिसमा हुने तनावको असर छाला तथा कपालमा पनि पर्ने गर्छ । न्युयोर्कको कोलम्बिया युनिभर्सिटी इरविंग मेडिकल सेन्टरले पहिलो पटक यो विषयलाई पुष्टि गरेको छ । अनुसन्धानका अनुसार साइक्लिन डिपेन्डेन्ट किनेसेस (सिडिके) नामक विशेष प्रोटिनले कोशिकालाई नोक्सान गर्न थाल्छ । मानिस तनावमा भएको बेला यो प्रोटिन तिव्र गतिमा बन्ने काम गर्छ । त्यसैले, तनाव धेरै लिने मान्छेको कपाल सेतो हुन्छ ।
तनावका कारण मानिसको कोशिकाको पावर हाउस भनेर चिनिने माइटोकन्ड्रियामा परिवर्तन हुने गर्छ । जसका कारण कपालमा पाइने धेरै प्रोटिन परिवर्तन हुन्छ र कालो कपालको रंग सेतो हुन्छ । सोधकर्ताहरुका अनुसार कपालको रंग परिवर्तन हुँदा करिब तीनसय प्रकारका प्रोटिनमा पनि परिवर्तन हुन्छ ।
बेलायतको म्यानचेस्टरमा गरिएको एक अनुसन्धानमा पुरुषहरुको तुलनामा महिलाहरुको कपाल तिव्र गतिमा सेतो हुने पाइएको छ । जसका कारणले महिलाहरु पुरुषहरुको तुलनामा ६ वर्ष बढी वृद्ध देखिने गर्छन् । अनुसन्धानका अनुसार महिलाहरुमा ३४ वर्षपछि कपाल सेतो हुने प्रकृया शुरु हुने गर्दछ भने पुरुषहरुमा ३३ वर्षपछि कपाल सेतो हुन शुरु गर्छ ।