विकासन्युज

संसदीय समितिको सभापति छिटो चयन गर्ने ३ दलबीच सहमति

काठमाडौं । शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए । संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको उनले बताए । ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारेमा छलफल भयो । त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने । त्यसको लागि हो । मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ’ उनले भने । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए ।

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे । ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ’, उनले भने । राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे । देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर गरे । ‘अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो’, उनले भने । उनले आवश्यकताको तुलनामा सम्बोधन गर्न सकिने विषय अन्त्यन्त कम रहेको उल्लेख गरे । ‘आवश्यकता र माग ठूलो छ, त्यसमा असन्तुष्टि आउनु स्वभाविक हो । धेरै विषय निर्णायकरुपमा सुधार गर्दै जानुपर्छ’, उनले भने । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र राजस्व सङ्कलन र बजेट खर्च स्थिति प्रस्तुत गरे । उनले पेन्सन, सामाजिक सुरक्षा, तलबलगायतमा बर्सेनि दायित्व बढ्दै गएकाले स्रोत व्यवस्थापन चुनौती बन्दै गएको बताए । उनले चालु आर्थिक वर्ष अनिवार्य दायित्वको भुक्तानीका लागि यही असार २५ गतेभित्र करिब २५ अर्ब रुपैयाँको थप स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । ‘स्रोत सङ्कलनको अवस्था हेर्दा खर्चलाई मितव्ययी बनाउन जरुरी छ, पुँजीगत खर्चतर्फ विगतमा सिर्जित दायित्व भुक्तानी, स्रोत सहमति प्रदान गरिएका रकमका लागि ठूलो रकमको स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था छ’, उनले भने । आजको बैठकमा समिति सदस्यहरुले वार्षिक लक्ष्यको तुलनामा राजस्व सङ्कलन कम भएकाले आर्थिक गतिविधि चलायमान गर्न चुनौती खडा गरेको तथा उद्योग प्रवद्र्धनमा लगानी गर्न गाह्रो भएको भनाइ राखेका थिए । विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भन्दै उनीहरुले यसमा आउने उतारचढावले उब्जन सक्ने चुनौती र वैकल्पिक मार्गबारे सरकारको धारणा माग समेत गरे । उनीहरुले रासायनिक मल, कृषि क्षेत्र र रणनीतिक सडकलाई पनि आवश्यक बजेट विनियोजन किन नभएको भन्ने विषयमा जिज्ञासा राखे । विदेशी मुद्रा सञ्चिति विप्रेषण मात्र वा अन्य स्रोत पनि छन् भन्ने प्रश्न गर्दै समिति सदस्यहरुले ससाना आयोजनामा बजेट छरेका कारण प्रतिफल प्राप्तिमा कठिनाइ हुने धारणा राखे ।

‘हनुमानढोका परिसरमा सवारीसाधन निषेध’

  काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले भने– ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’ वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको बताए ।

व्यास गुफामा नेपाल एसबिआई बैंकको सहयोग

काठमाडौं। नेपाल एसबीआई बैंक, दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालयमार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए । बैंक दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । सहयोग स्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबाले बताए । बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार

काठमाडाैं। नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बिच “जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसंग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परिक्षण गर्नेछ । महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र । उक्त सम्झौैता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दिर्घकालसम्म चलिरहने समेत बताए । त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोहि पनि नागरिकहरु पहँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनिकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपुर्ण भुमिकाका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरुसंग सहकार्य र समन्वय गरि अगाडी बढ्ने समेत बताए । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका कोषाध्यक्ष द्रोणप्रसाद गुराँगाई, महानगरका विभिन्न वडाका वडाध्यक्ष एबं विभिन्न संघ संख्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

सिटिजन्स बैंकले एकैचोटी संचालनमा ल्यायो थप ५ शाखाहरु

काठमाडौं । सिटिजन्स बैंकले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा थप ५ शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ संचालनमा ल्याएको छ । यो संगै बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा प्लास्टिकका बोतल निषेध गरिएको छ । समितिको बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि समितिले स्टील तथा सीसाको भाडाँ प्रयोगमा ल्याएको हो । बुधबार बिहान बसेको समितिको बैठकमा प्लास्टिकका बोतल हटाएर पुनः प्रयोग गर्न मिल्ने स्टील तथा सीसाका भाडाँ सञ्चालनमा ल्याईएको समितिका सदस्य विराजभक्त श्रेष्ठले जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सो कुरा जनाएका हुन् । ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि । अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसा को भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद । सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ । नेपालको जय होस्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

११ महिनामा भित्रियो ४३ अर्बभन्दा बढीको सुन

काठमाडौं । सुनको आयात ४३ अर्बभन्दा बढी भएको छ । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ । गत वर्ष ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । बजारमा सुनको मूल्य सामान्य घटेर एक लाख १० हजार रुपियाँमा कारोबार भइरहेको छ । गत जेठ महिनामा एक लाख १२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो समय सामान्य घटेर एक लाख १० हजार रुपियाँमा झरेको छ । सुनको मूल्य बढ्दै गएकाले कारोबारमा गिरावट आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार हाल दैनिक १० देखि १५ किलो सुन मात्र कारोबार हुने गरेको छ ।