विकासन्युज

३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । असार १९ गते बसेको मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै बिहीवार सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सरकारले भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूणर् ऋण स्वीकार गर्ने निणर्य गरेको बताइन् । उनले शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूणर् ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताइन् । सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरुको सरुवा गर्ने निणर्य गरेको छ । त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने, पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने, थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेशन कार्यक्रम र सेभेन्थ इन्टरनेशनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेशन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने र निजामति सेवाको राजपत्राङ्कित विशष्टि श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निणर्य गरेको छ ।

नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने

काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।

ग्लोबल आइएमईले ल्यायो वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजारसम्मको कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेकोछ । बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

घुस लिएको अभियोगमा टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ । रासस

मध्य भोटेकोसी जलविद्युत कम्पनीकाे दुई साधारणसभा एकै दिन, चार सञ्चालक निर्वाचित

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीले २ वटा साधारण सभा एकै पटक सम्पन्न गरेको छ । कम्पनीको दशौ र एघारौ साधारण सभा एकै दिन बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । साधारण सभाबाट सर्वसाधारण समूहको शेयरवालाहरुकोतर्फबाट ४ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा रामकुमार थेबे (ताप्लेजुङ), रमा खड्का (काठमाडौ), भूमिनन्द अर्याल (नुवाकोट) र गोविन्दप्रसाद पराजुली (सिन्धुपाल्चोक) निर्वाचित भएका छन् ।  

‘आयात गरिएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । उनले रासयनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए । ‘कृषकले मल नपाइरहेको कारण एउटा विचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गर्नेकुरालाई कसरी न्युनिकरण गर्ने भन्नेकुराहरु केही पनि छैन । अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो । दिगो विकास लक्ष्यको मापनहरु प्यारामिटरअनुसार भएको छ की छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बच्चाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ’, उनले भने । सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए ।

लक्ष्मी सनराइजले दुई दिन भित्रै अन्तिम स्वीकृति पाउने, राष्ट्र बैंक भन्छ : सञ्चालकमाथि सोधखोज गर्दैछौं

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई चाँडै अन्तिम स्वीकृति दिने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असार मसान्तभित्रै एकीकृत कारोबार सम्पन्न गर्ने गरी दुवै बैंकलाई अन्तिम स्वीकृति दिने  तयारी भइरहेको बताए । उनका अनुसार लक्ष्मी सनराइज बैंकलाई एक/दुई दिन भित्र अन्तिम स्वीकृति दिने तयारी भइरहेको छ । उनले अन्तिम स्वीकृति रोक्नुको कुनै कारण नभएको समेत बताए । दुवै बैंकको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना सफल हुने उनकाे भनाइ छ । ‘हालसम्म लक्ष्मी र सनराइज बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिइएको छैन, त्यो प्रक्रियामा छ, अन्तिम स्वीकृति रोक्नुको कुनै कारण छैन, उहाँहरुका डकुमेन्ट आएका छन्, हामीहरुले  अध्ययन गर्दैछाैं,’ उनले भने, ‘उनीहरुको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना हो, त्योभित्र सायद भ्याउँछन् होला, उनीहरुले आफ्नो योजना बनाइरहेका छन्, चाँडै स्वीकृति पाउँछन, अबको एक/दुई दिनभित्र अन्तिम स्वीकृति पाउँछन् ।’ असार २४ गतेभित्र एकीकृत कारोबार गर्नका लागि भने तयारी नपुगेको उनको भनाइ छ । अन्तिम स्वीकृति दिँदा सञ्चालकमाथि सोधखोज हुनु सामान्य विषय रहेको उनले बताए । ‘उनीहरुले अस्ति मात्रै कागजात पेश गरेका हुन्, सञ्चालकमाथि सोधखोज हुनु त सामान्य विषय हो, अन्तिम स्वीकृति दिन सम्भवतः ढिला हुँदैन,’ उनले भने । दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले असार २४ गते एकीकृत कारोबार गर्ने गरी मिति तय गरेका थिए । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिला गरेपछि एकीकृत कारोबार मिति सर्ने हाेकि भन्ने शंसय पैदा भएकाे छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्ष नियुक्त गर्नेछ । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुनेछन् । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् ।

एसईईमा २२ हजार चारसय ७५ जना विद्यार्थीले ल्याए ए प्लस, कति विद्यार्थीको जिपिए कति ?

काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय ३९ विद्यार्थी मध्ये जम्मा २२ हजार चार सय ७५ जनाले मात्रै ए प्लस ल्याएको जनाएको छ । बोर्डका अनुसार जिपिएको आधारमा २२ सय जना विद्यार्थीले ०.८० देखि १.२० जिपिए, ३८ हजार ७७० जनाले १.२० देखि १.६० र ८८ हजार चारसय ४७ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए अंक ल्याएका छन् । त्यस्तै, एक लाख दुई हजार दुईसय ९३ जना विद्यार्थीले २.०० देखि २.४०, ८९ हजार तीनसय ३१ जना विद्यार्थीले २.४० देखि २.८०, ७२ हजार तीनसय ६२ जना विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ६९ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए अंक ल्याएको बोर्डले जानकारी दिएको छ ।