कोशी प्रदेशमा उद्धव थापा मुख्यमन्त्री नियुक्त
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । उनले प्रदेशसभाका ४७ सदस्यको समर्थन रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
औषधिय गुण भएको कुरिलो खेतीप्रति आकर्षण बढ्दो, प्रति किलो ३ हजार पर्ने
गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उनको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आएका छन् । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताए । ’सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ’, उनले भने, ’अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको छु ।’ रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा ८० लाख रुपैयाँ बराबर खर्च गरिसकेको जानकारी दिए । ’चितवनमा साथीले कु्रिलो खेतीबाट मनग्ये आम्दानी गरेको देखेपछि यहाँ व्यावसायिक खेती सुरु गरेको छु’, उनले भने, ’उत्पादन राम्रो भइरहेको छ, बजार पनि फराकिलो बन्दै गएकाले अर्को वर्ष दैनिक ४० किलो उत्पादन गर्ने लक्ष्यका साथ काम गरिहेको छु ।’ हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । ’उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ’, उनले थपे, ’कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।’ दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीले जिकिर गरे । पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आएकी छिन् । नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायिक खेती सुरु गरेको उनले बताइन् । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहेकी भएको छ । पहिलो र दोस्रो वर्ष आम्दानी लिन नसके पनि तेस्रो वर्षबाट मनग्ये आम्दानी लिन थालेको उनले बताइन् । ’खडेरीका कारण यस वर्ष उत्पादन ढिला भयो, हेरचाहा पुराउन सक्दा उत्पादन पनि राम्रो भएको छ’, ढकालले भने, ’स्थानीय बजारमा कुरिलोको महत्व नबुझेर अथवा महँगो भएर खासै बिक्री हुँदैन ।’ बजारिकणमा समस्या नभए अर्को वर्ष मकै लगाउन छोडेर कुरिलो खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो । गल्याङ नगरपालिका–७ स्थित मझुवा नमुना कृषि उत्पादन केन्द्रले पनि एक वर्षदेखि कुरिलो खेतीलाई जोड दिँदै आएको छ । केन्द्रले दुई रोपनी क्षेत्रफलमा करिब दुई हजार कुरिलोका बोट लगाएको छ । यस वर्षदेखि उत्पादन लिन सुरु गरिएको केन्द्रका अध्यक्ष ललित थापाले जानकारी दिइन् । उनले परीक्षणका लागि लगाएको भए पनि उत्पादन राम्रो देखिएकाले खेतीलाई विस्तार गर्दै लैजाने बताइन् । उनका अनुसार केन्द्रले कुरिलोसहित अन्य मौसम अनुसार विभिन्न तरकारीबाली उत्पादन गर्दै आएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा व्यावसायिक कुरिलो खेती गर्ने कम भए पनि घरमा खानका लागि कुरिलो लगाउने किसान धेरै भएको बताए । उनले तीन वर्षयता कुरिलो खेती गर्ने किसानको सङ्ख्या जिल्लामा नै बढ्दै गइरहेको बताइन् । ’कुरिलो औषधिय गुण भएको तरकारी भएकाले पछिल्लो समय माग बढेको छ’, प्रमुख हमालले भने, ’व्यावसायिक रुपमा कुरिलो खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रमार्फत सहयोग गर्दै आएका छौँ ।’ नयाँ आर्थिक वर्षमा कुरिलो खेतीप्रति कृषिकको आकर्षण बढाउने खालका उत्प्रेरणा मुलक कार्यक्रम गर्ने उनको भनाइ थियो । रासस
नेपालका वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडामा
काठमाडौं । वित्तीय क्षेत्रका नियामक प्रमुखहरु क्यानडा गएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा गएका हुन् । जसमा राष्ट्र बैंकका गभर्नर अधिकारी, बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल रहेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, सहसचिव, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली, अर्थ मन्त्रालयका सहसचिव, महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि रहेका छन् । त्यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि उक्त टोलीमा छन् । श्रोतका अनुसार नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा पर्नबाट बचाउन उक्त टोली क्यानडा गएको हो । जहाँ फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को मूल्यांकन समूहसँग छलफल हुने छ । उक्त टोली एक साताको लागि क्यानडा गएको हो ।
असार २८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २८ गतेका लागि तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक मनिस थापाले दुई बैंकबीच असार २८ गते एकीकृत कारोबार हुने जानकारी दिए । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गतेको प्रस्ताव गरिएको बैंकका अधिकारीहरुले बताएका छन् । सरकारलाई तिर्ने कर असार २५ गतेभित्रमा तिर्नुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि दुई दिनभित्र अन्तिम स्वीकृति दिने तयारी गरिरहेको बताएको छ । राष्ट्र बैंकको स्वीकृति पाउने बित्तिकै एकीकृत कारोबार गर्ने सञ्चालक थापाले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने भनिए पनि राष्ट्र बैंकले हस्तक्षेप गरेर लक्ष्मी बैंककै नाम राख्न लगाउने बलियाे सम्भावना छ । यसअघि दुवै बैंकबीच लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबरा गर्ने सम्झौता भएकाे थियाे । स्रोतका अनुसार मर्जरपश्चात् बैंकको नाम लक्ष्मी बैंक नै रहने छ । ‘नामको विषयमा राष्ट्र बैंकले हस्तक्षेप गरेर पठाउने संकेत गरेको छ, हस्तक्षेप गरेपछि लक्ष्मी बैंक नै तोकर पठाउँछ,’ स्रोतले भन्यो, ‘किनभने सनराइज बैंकको कुनै पनि चर्चा छैन, सनराइज बैंक भर्खरको बैंक हो र पर्फमेन्सका हिसाबले पनि बजारमा कमजाेर देखिन्छ ।’ केही दिन अघि दुवै बैंकका सञ्चालकलाई राष्ट्र बैंकले बोलाएर मर्जरपछि बन्ने बैककाे नाम के राख्नुहुन्छ ? भनेर सोधेको थियो । त्यसबेला दुवै बैंकका सञ्चालकले आआफ्नो बैंककै नाम नै हुनुपर्ने दावी गरेका थिए । नाममा दुवै बैंकका सञ्चालकबीच विवाद हुने देखिएपछि राष्ट्र बैंकले नै बैककाे नाम तोकेर पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । मर्जपश्चात् लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्ष चयन गर्नेछ । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
डिशहोम टिभी अब सिधै मोबाइलमा हेर्न मिल्ने
काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ । डिशहोमले आफ्ना ग्राहकलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ । ‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
सबैभन्दा कमजोर नतिजा कर्णालीकाे, बागमती अगाडि
काठमाडौं । एसईईको नतिजालाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको नतिजाको प्रदेशगत आधारलाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका हुन् । बोर्डले आज प्रकाशित गरेको एसईईको नतिजा अनुसार कर्णाली प्रदेशबाट परीक्षामा सहभागी भएका ३५ हजार आठसय ६८ जना विद्यार्थी मध्ये जम्मा ०.६६ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस जिपिए ल्याएका छन् । त्यस्तै, बोर्डको नतिजाको आधारलाई हेर्दा बागमती प्रदेशका विद्यार्थी सबैभन्दा अब्बल देखिएका छन् । एसईईको परीक्षामा सो प्रदेशबाट सहभागी भएका ९७ हजार चारसय २७ जना विद्यार्थीमध्ये ११.७८ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् । गण्डकी प्रदेशका विद्यार्थी अब्बलताको दोस्रो स्थानमा देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका गण्डकी प्रदेशका ४१ हजार दुईसय ७४ जना विद्यार्थी मध्ये ३.९९ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् । त्यस्तै, तेस्रो स्थानमा कोशी प्रदेशका विद्यार्थी देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका ७४ हजार पाँचसय ७४ जना विद्यार्थी मध्ये ३.६२ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशका विद्यार्थी अब्बलताको हिसाबले चौथो स्थानमा देखिएका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा ८० हजार चारसय ९० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३.४७ प्रतिशत विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन् । मधेस प्रदेशका विद्यार्थी एसईईको नतिजाको आधारमा पाँचौ स्थानमा रहन पुगेका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा सहभागी भएका ७४ हजार दुईसय ६९ जना विद्यार्थीमध्ये २.२४ प्रतिशत विद्यार्थीले ए प्लस ल्याएका छन् । एसईईको नतिजाको आधारमा सुदुरपश्चिम प्रदेशका विद्यार्थी कमजोरको हिसाबले दोस्रो स्थानमा देखिएका छन् । सो प्रदशबाट ५१ हजार नौसय ३८ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी भएकोमा जम्मा ०.७७ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस नतिजा ल्याउन सफल भएका छन् ।
एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए । जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए । जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए । जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए । जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए । जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए । जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारिन् । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यसवर्षको नतिजा सकारात्मक रहेको बताएका हुन् । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ । रासस
सहकारी संस्थालाई विभागको पाँच बुँदे निर्देशन, ब्याज तिर्न साउन १५ सम्मको समय
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाको लागि पाँच बुँदे निर्देशन जारी गरेर सहकारीका ऋणीहरुलाई ब्याज तिर्ने समयमा सहुलियत दिएको छ । विभागले बिहीबार जारी गरेको निर्देशनअनुसार, असार मसान्तसम्ममा तिर्नुपर्ने साउन १५ सम्म बुझाए पनि यही आर्थिक वर्षमा गणना हुने गरी छुट दिन सहकारी संस्थालाई निर्देशन दिएको छ । सहकारीका सदस्यहरुको वित्तीय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पुनरूत्थानको लागि निर्देशन जारी गरिएको विभागले बताएको छ । सदस्यहरुसँग नियमति समन्वय कायम गरेर सदस्य केन्द्रित सेवा प्रवाह गरेर विश्वास आर्जनमा सहकारी संस्था केन्द्रित हुुनुपर्ने, भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्ने निर्देशन विभागले दिएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा साँवालाई ३ महिनाको अवधिको लागि मात्रै पुर्नतालिकीकरणको व्यवस्था गर्न विभागले निर्देशन दिएको छ । त्यस्तै, कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ/संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवद्र्धन, उत्पादनको बजारीकरण गरी कृषिको व्यवसायीकरणमा प्रेरित गर्नुपर्ने विभागले भनेको छ । आर्थिक वर्ष ०७९/८० को ब्याज आगामी साउन १५ भित्रमा भुक्तानी प्राप्त भएका त्यसलाई यसै आर्थिक वर्षको आयकोरुपमा गणना गर्नुपर्ने विभागले बताएको छ ।