धौलागिरिमा चालु वर्षको ९२ प्रतिशत योजना सम्पन्न
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९–८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिए । ‘एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ’, उनले भने, ‘ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।’ लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल ४७ करोड ४१ लाख बजेट विनियोजन भएकोमा बिहीबारसम्म ३३ करोड ४४ लाख खर्च भइसकेको बताए । ‘बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ’, उनले भने, ‘बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति ८० प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।’ पूर्वाधार विकास शीर्षकको १० करोड १० लाखमध्ये ५८ दशमलवले ६४ प्रतिशत अर्थात् पाँच करोड ९२ लाख खर्च भएको छ । यातायात पूर्वाधारमा चार करोड ४४ लाख विनियोजन भएकोमा ६३ दशमलव ७७ प्रतिशत अर्थात् दुई करोड ८३ लाख खर्च भएको छ । पाँच करोड २३ लाख ८३ हजार सात सय २१ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अर्थात् दुई करोड ८३ लाख खर्च भएको छ । पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताए । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताए । रासस
आज भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित वर्षा हुनेछ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज, बचतकर्तालाई १५ दिनभित्र सम्पर्क आउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ । ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ । संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखि लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने महानगरको भनाइ ।
मर्जर प्रस्तावसहित जानकी फाइनान्सले बोलायो साधारण सभा
काठमाडौं । जानकी फाइनान्सले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको असार २१ गते बसेको सञ्चालक समितिको बैठकले साउन १३ गते बिहान ९ बजे मसाला कटेज, तिरहुतिया गाछी ४ जनकपुरधाममा बोलाएको हो । फाइनान्सको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ । फाइनन्सले साधारण सभा प्रयोजनको लागि साउन २ गतेदेखि साधारण सभासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन १ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।
खल्तीबाट बिजुलीको बिल भुक्तानी गर्दा धितालले पाए मोटरसाइकल उपहार
काठमाडौं । सिन्धुपाल्चोक चौताराका प्रदिप धिताल विगत लामो समयदेखि डिजिटल वालेट खल्ती प्रयोग गर्दै आएका छन् । उनले आफ्नो अधिकांश कारोबार खल्तीको माध्यमबाट गर्दै आएका छन् । उनले बिगेस्ट पेमेन्ट जात्रा अफरमा कारोबार गर्दा भने पल्सर एन१६० मोटरसाइकल उपहार पाएका छन् । उनले खल्ती वालेट मार्फत् बिजुलीको भुक्तानी गर्दा मोटरसाइकल उपहार पाएको बताए । ‘म लामो समयदेखि खल्ती वालेट प्रयोग गर्दै आएको थिए । कहिल्यै पनि यस्तो उपहार पाईन्, पाउने अपेक्षा पनि गरेको थिएन । कहिलेकाँही क्यास ब्याक आउँथ्यो,’ उनले भने, ‘तर, गत महिना घरको विजुलीको बिल खल्ती मार्फत् भुक्तानी गरेको थिए । अहिले मोटरसाइकल उपहार पाउँदा अचम्मित भएको छुँ । खुशी लागेको छ ।’ खल्ती डिजिटल वालेटले बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत बिजेता धिताललाई शुक्रबार मोटरसाइकल हस्तान्तरण गरेको हो । शुक्रबार बजाजको टेकु शाखामा धिताललाई पल्सर एन १६० मोडलको मोटरसाइकल हस्तान्तरण गरेको खल्तीले जनाएको छ । खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको बिगेस्ट पेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । जसमध्ये जेठ १६ गतेदेखि जेठ ३२ गतेसम्मको दोस्रो राउण्डका बिजेता धिताललाई खल्तीले उपहारस्वरुप मोटरसाइकल हस्तान्तरण गरेको हो । यसअघि जेठ १ गतेदेखि जेठ १५ गतेसम्म पहिलो राउण्डका बिजेता सर्लाहीका बिटु कुमार साह कलवारलाई खल्तीले मोटरसाइकल हस्तान्तरण गरिसकेको छ । खल्ती मार्फत् भुक्तानी गर्दा मोटरसाइकल बिजेता हुँदा खुसी लागेको बिजेता धिताल बताउँछन् । मोटरसाइकल उपहार पाएपछि पहिलो यात्रा जन्मभूमि चौतारा सिन्धुपाल्चोक गर्ने उनले बताए । ‘पहिलो यात्रा गाउँ (सिन्धुपाल्चोक) गर्छु । गाउँमा गएर सबै साथीभाई, आफन्तहरुलाई खल्ती एप प्रयोग गर्न भन्छु । खल्तीले यस्तो उपहार दिन्छ भनेर जानकारी गराउँछु,’ उनले खुशी हुँदै भने, ‘मैले पनि खल्तीले आफ्नै कर्मचारी र आफन्तहरुलाई मात्रै अफर र स्किम पार्छ होला भन्ने सोच बनाएको थिएँ । तर, आफूले मोटरसाइकल लक्कि ड्र मार्फत् उपहार पाउँदा गलत भ्रमलाई हटाएर विश्वास गर्न थालेको छु । हामी जस्ता सर्वसाधारण ब्यक्तिलाई पनि दिने रहेछ भन्ने विश्वास लागेको छ ।’ खल्तीका ब्राण्डिङ्ग म्यानेजर सागर श्रेष्ठले असार १६ गतेदेखि असार ३१ गतेसम्म चौंथो राउण्ड बाँकी नै रहेकाले अझै २ वटा मोटरसाइकल जित्न सकिने बताए । उनले जतिसक्दो खल्तीमार्फत् धेरै कारोबार गर्न आग्रह गरे । ‘प्रत्येक राउण्डको अन्त्यमा एक जना भाग्यमानी प्रयोगकर्तालाई लक्की ड्र मार्फत् उपहार स्वरुप पल्सर एन १६० मोटरसाइकल बिजेताका लागि छनोट गरिनेछ, आज हामीले दोस्रो राउण्डका बिजेता धितालजीलाई मोटरसाइकल हस्तान्तरण गर्यौ,’ उनले भने, ‘अझै एउटा राउण्ड बाँकी छ, तपाईहरुले पनि २ वटा कारोबार गर्नु भयो भने पल्सर मोटरसाइकल जित्न सक्ने मौका रहेको छ ।’ साथै, अन्तिममा २ वटा बोनस राउण्डमा पनि बम्पर योजना अन्तर्गत मोटरसाइकल उपहाररहेको उनको भनाइ छ । समग्रमा कम्पनीले द बिगेस्ट पेमेन्ट जात्रा अवधिमा ५ वटा मोटरसाइकल उपहारस्वरुप प्रयोगकर्तालाई प्रदान गर्ने श्रेष्ठको भनाइ छ । कसरी हुने सहभागी ? कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि द बिगेस्ट पेमेन्ट जात्रा अवधि भरी प्रत्येक दिन खल्ती एपभित्र जात्रा सेक्सन हुने छन् । जसको भित्र एउटा खुत्रुके देखिनेछ । प्रत्येक दिन खुत्रुकेलाई फुटाएर अन्य थप उपहार पनि प्राप्त गर्न सकिनेछ । साथै, नेपालमै पहिलो पटक खल्तीले डिजिटल स्क्र्याच कार्ड ल्याएको छ । प्रयोगकर्ताले १ सय रुपैयाँभन्दा बढी भुक्तानी गरेवापत एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिने खल्तीले जनाएको छ । द बिगेस्ट पेमेन्ट जात्रा अवधिभरी ३ करोड स्क्र्याच कार्ड हुनेछन् । जसले जति धेरै भुक्तानी गर्यो सो प्रयोगकर्ताले धेरै स्क्र्याच कार्ड मार्फत् धेरै उपहार जित्न सक्ने खल्तीले बताएको छ । यदि १ सय रुपैयाँ भुक्तानीमा फण्ड लोड र बैंक ट्रान्सफर भने मान्य नहुने बताइएको छ । साथै, खल्तीबाट वल्र्डलिंकको बिल भुक्तानी गर्ने १ जना र हवाई टिकट खरिद गर्ने १ जना प्रयोगकर्ताले १/१ वटा आइफोन १४ विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, विशेष उपहारमा खल्तीबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक जनालाई स्मार्ट टिभी प्रदान गर्नेछ । यो अफर प्रत्येक हप्ता लागू भइरहेको कम्पनीको भनाइ छ । बिगेस्ट पेमेन्ट जात्रा अवधि भर खल्तीले ८ जना प्रयोगकर्तालाई ८ वटा स्मार्ट टिभी प्रदान गर्नेछ । साथै बम्फर प्राइजमा वनप्लस ११ पनि जित्ने मौका रहेको छ । साथै, अन्य बम्फर उपहारहरु आइफोन १४, वान प्लस ११, स्मार्ट टिभि जित्नका लागि सर्भिसको भुक्तानी २ महिनामा अफर अवधि भर कारोबार गरेको हुनु पर्नेछ । खल्तीको द बिगेस्ट जात्राको सबै अफर प्राप्त गर्न खल्ती आइडी केवासी भेरिफाइड भएको हुनु पर्नेछ । यदि केवाइसी भेरिफाइड भएको छैन भने मान्य नहुने खल्तीले बताएको छ । खल्तीले हरेक राउण्डको अन्त्यमा लाइभ मार्फत विजेता घोषणा गर्नेछ । खल्ती प्रतिनिधिले विजेतालाई कलमार्फत् पुरस्कार दाबी गर्ने प्रक्रियाका साथै आवश्यक कागजात, पुरस्कारमा लाग्ने कर र हस्तान्तरणको जानकारी गराउने छ । जानकारी पाएपश्चात् विजेताले खल्तीको प्रमुख कार्यलय बखुण्डोल वा अन्य खल्ती हबमा गई हस्तान्तरणको कानूनी प्रक्रिया पुरा गर्नु पर्नेछ । सो प्रक्रिया खल्तीको सबै अफरमा लागू हुनेछ । हालसम्म के कति उपहार दियो ? खल्तीले हालसम्म ३ जना भाग्यशाली बिजेतालाई ३ वटा पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण गरिसकेको छ । जसमध्ये २ जना खल्ती प्रयोगकर्ता सर्लाहीका बिटु कुमार साह कलवार र सिन्धुपाल्चोकका प्रदिप धिताल रहेका छन् । तेस्रो राउण्डको बिजेता घोषणा भएपनि मोटरसाइकल भने हस्तान्तरण गरिएको छैन । तेस्रो राउण्डका बिजेतालाई पनि केही दिनभित्रै मोटरसाइकल हस्तान्तरण गरिने ब्राण्डिङ्ग हेड श्रेष्ठले बताए ।
अविरल वर्षापछि मेलम्चीमा बाढी, २ पुलमा क्षति
काठमाडौं । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको २ पुलमा क्षति पुर्याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।
घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओ आजदेखि पुनः बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सिटिजन लाइफले असार ३१ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, कति छ मूल्य ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री खुला गर्नेछ । कम्पनीले ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कर्मचारीका लागि र बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।