
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाको लागि पाँच बुँदे निर्देशन जारी गरेर सहकारीका ऋणीहरुलाई ब्याज तिर्ने समयमा सहुलियत दिएको छ ।
विभागले बिहीबार जारी गरेको निर्देशनअनुसार, असार मसान्तसम्ममा तिर्नुपर्ने साउन १५ सम्म बुझाए पनि यही आर्थिक वर्षमा गणना हुने गरी छुट दिन सहकारी संस्थालाई निर्देशन दिएको छ ।
सहकारीका सदस्यहरुको वित्तीय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पुनरूत्थानको लागि निर्देशन जारी गरिएको विभागले बताएको छ ।
सदस्यहरुसँग नियमति समन्वय कायम गरेर सदस्य केन्द्रित सेवा प्रवाह गरेर विश्वास आर्जनमा सहकारी संस्था केन्द्रित हुुनुपर्ने, भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्ने निर्देशन विभागले दिएको छ ।
त्यसैगरी, गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा साँवालाई ३ महिनाको अवधिको लागि मात्रै पुर्नतालिकीकरणको व्यवस्था गर्न विभागले निर्देशन दिएको छ ।
त्यस्तै, कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ/संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवद्र्धन, उत्पादनको बजारीकरण गरी कृषिको व्यवसायीकरणमा प्रेरित गर्नुपर्ने विभागले भनेको छ ।
आर्थिक वर्ष ०७९/८० को ब्याज आगामी साउन १५ भित्रमा भुक्तानी प्राप्त भएका त्यसलाई यसै आर्थिक वर्षको आयकोरुपमा गणना गर्नुपर्ने विभागले बताएको छ ।
