पूर्वको बाढीपहिराेबाट जलविद्युतमा ९ अर्बभन्दा बढीको क्षति
काठमाडौं । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाँको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोड रुपैयाँको क्षति पुगेको बताएको हो । इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराेबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताए । त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ । तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले बताए । इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैँकबाट पुनर्कर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पाटपुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । यस्तै क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न, आयोजना पुनर्निर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्न समेत माग गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएको इपानले जनाएको छ । सरकारले विद्युत्को विकासमा तीव्र गति लिनका लागि ऊर्जा विकास दशक घोषणा गर्नुपर्ने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बनाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता तत्काल गरिदिन, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न एक नियमावली बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने, वन क्षेत्रको जग्गा उपयोग र रूख कटानमा नियमावली बनाई तत्काल सहजीकरण गर्ने, विस्फोटक पदार्थको अभावलाई तत्काल सहजीकरण गर्ने, विद्युत् ऐन तत्काल पारित गर्न इपानले माग गरेको छ । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले इपानले राखेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो । ‘तपाइँहरुले गम्भीर प्रकृतिका उचित विषय उठाउनुभएको छ, सम्बन्धित निकायसँग बसेर जलविद्युत् क्षेत्रका समस्या समाधान गर्न सरकार लाग्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । उनले असाधारण ढङ्गले आएको विपद्का बारेमा गम्भीर अध्ययन गरी आगामी दिनमा हुनसक्ने क्षतिबारे चनाखो हुनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा निर्माण गरिने जलविद्युत् आयोजनाका संरचनाबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले इपानको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए । रासस
एलओडी क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठ पनि पक्राउ
काठमाडौं । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार सोही मुद्दाका अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिए । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।
असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै प्रभु महालक्ष्मी लाइफ
काठमाडौं । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न लागेका हुन् । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब १९ करोड (बोनसपछि) रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । तेश्रो त्रैमासको रिपोर्ट अनुसार प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा गीतकार एवं पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अधिकारीसहितका चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ललिता निवास जग्गा प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । फाइल टिप्पणी उठाउने र सदर गर्ने कार्यमा जोडिएको आशंकामा अधिकारीसँगै सचिवहरु दीप बस्न्यात, छविराज पन्त र नारायणगोपाल मलेगोविरुद्ध पनि पूर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । टिकिन्छा गुठीमा जग्गा लैजान उठाइएको टिप्पणी आदेश सदर गरेका अधिकारी २०६८ माघ २३ देखि २०६९ कात्तिक १४ सम्म भूमिसुधार मन्त्रालयको सचिव थिए । पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ ।
युनिभर्सल डेन्टल हस्पीटलमा सिटिजन्स बैंकका ग्राहकलाई २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी भएको छ । बैंक र स्युच्टार, काठमाडौं स्थित युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
असुरक्षित भएको भन्दै गृहमन्त्रीको निवासमा बैंकर्स, डिनर पनि खुवाइने
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेठले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई शुक्रबार रात्रीभोजका लागि आफ्नै निवासमा बोलाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीमाथि कुटपिट र कालोमोसो दल्ने जस्ता अराजक घटनाहरु बढेपछि गृहमन्त्री श्रेठले बैंकका सीईओहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्ने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, वित्त नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्सले पटक पटक सरकारसँग सुरक्षाको माग गरिरहेका छन् । त्यसको सम्बोधनका लागि र बैंकरका कुरा सुन्नका लागि गृहमन्त्री श्रेष्ठले आफ्नै निवासमा बोलाएका हुन् । ‘बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौति र समस्याहरुका बारेमा छलफल गर्नका लागि शुक्रबार साँझ ७ बजे गृहमन्त्री श्रेष्ठज्यूले बोलाउनु भएको छ,’ एक बैंकका सीईओले भने ।
४३ तोला सुन भेटियो पशुपतिको जलहरीमुनी
काठमाडौं । पशुपतिनाथको मन्दिरमा ४३ तोला सुन फेला परेको छ । मन्दिरको जलहरी नजिकै शुक्रबार बिहान ४३ तोला सुन फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा पशुपतिनाथको मन्दिरको जलहरीमा राखिएको सुनको परिमाण घटेको पाइएको थियो । यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता भएको भन्दै त्यसको खोजबिन भइरहँदा एकाएक ४३ तोला सुन फेला परेको घटना बाहिर ल्याइएको हो । आज बिहान कम भएको सुन मन्दिरमै हुनुपर्छ भन्दै जलहरि मुन्तिर खोतल्ने काम भएको थियो । सोही क्रममा ४३ तोला सुन फेला परेको स्रोतले बताएको छ । यो घटनालाई स्रोतहरुले नाटकीय प्रकरणको रुपमा लिएका छन् । कम भएको सुनलाई दुरुस्त देखाई सम्भावित कारबाहीबाट जोगिन पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुको मिलेमतोमा ४३ तोला सुन त्यहाँ लगिएको स्रोतहरुको दाबी छ ।
मन्त्रालय भित्रै मन्त्रीको छड्के अनुगमन
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार बिहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद शर्मालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिए । राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने मान्यताका साथ आफु अघि बढेको भन्दै उनले सुधारको काम गर्न आफु कटीबद्ध रहेको दाबी गरे । त्यसैगरी, समयमा नै कार्यालयमा उपस्थित हुने कर्तब्य राष्ट्रसेवक कर्मचारीहरुको भएको बताउँदै मन्त्री रिजालले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा समेत व्यक्त गरे । मन्त्री रिजालले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गरेका छन् ।