विकासन्युज

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद पारित, नयाँ आयोजनामा लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो । कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ । यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए । सभामा बोल्ने सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए । भव्य र सभ्यरुपले सम्पन्न भएको साधारणसभालाई कम्पनी सचिव शम्भु तिमल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

कुमारी बैंकले ल्यायो ११.११ प्रतिशत ब्याजदरमा उद्यमी कर्जा

काठमाडौं । कुमारी बैंकले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा बैंक विश्वस्त छ । अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्शाहन गर्नका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेछ । यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

काठमाडौं । ‘आइएमई पे’ ले ग्राहकलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ । शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले शनिबार गर्न पाउने छन् ।

३ सातादेखि ताप्लेजुङमा मोबाइल सेवा अवरुद्ध, सूचना आदन–प्रदान ठप्प

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो । मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए । ‘अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ’, उनले भने । उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ । ‘साँझ बिहान पानी परिहेको छ । बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ’, उनले भने । फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । ‘ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन् । फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ’, उनले भने । उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ । हेवाखोलामा कहिले बन्छ बेलीब्रिज ? पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो । जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन । पुल बगाएकै दिन सरकारले तत्काल बेलीब्रिज हाल्ने निर्णय गरेको थियो । पुल नहुँदा ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायका सामग्री अभाव हुन सुरु गरेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको सङ्घले जानएको छ । रासस

वैदेशिक रोजगारी : सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने

काभ्रे । चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलाञ्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् । यो अवधिमा १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधा हाराहारी हो । वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि जिल्लाबाट नौ हजार तीन सय ६७ जनाले अनुमति लिए पनि राहदानी प्राप्त गरेकामध्ये १३ हजार सात सय ७६ लाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको कार्यक्रम निर्देशक वसन्त कुँवरले बताए । जिल्लास्थित सिविक फोरम नामक संस्थाद्वारा सञ्चालित सामी कार्यक्रमले स्थानीय सरकारसँगको समन्वयमा चार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम लागू गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी सेवा लिने नागरिकलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ । कार्यक्रम काभ्रेपलाञ्चोकलगायत नेपालका ३९ जिल्लामा सुरु गरिएको हो । नेपालबाट दैनिक सरदर दुई हजार दुई सय वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । ‘सकेसम्म स्वरोजगार बनी वैदेशिक रोजगारमा नजाने, जानैपरे सीप सिकेरमात्रै जानुपर्ने व्यवस्थाका लागि सेवाग्राहीलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको छ’, उनले भने । कार्यक्रम निर्देशक कुँबरका अनुसार सामी परियोजनाले जिल्लाका नागरिकका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेकालाई अभिमुखीकरण गर्दै आएको छ । सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने, जाँदा लाग्ने रकम कम हुने तथा सुरक्षित काम गर्ने अवसर पाइने भएकाले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने कार्यक्रमको प्रमुख विषय रहेको जनाइएको छ । उक्त सुरक्षित आप्रवासन कार्यक्रम जिल्लाको धुलिखेल नगर, मण्डनदेउपुर नगर, रोशी र भुम्लु गाउँपालिकामा लागू गरिएको हो । स्थानीय तहमा उक्त कार्यक्रमले पारेको प्रभाव तथा निरन्तरताबारे सुधार्नुपर्ने विषयमा भएको छलफलमा सहभागीले पनि स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ भन्ने विषयमा जोड दिएका थिए । मण्डनदेउपुर नगरका दुई हजार दुई सय ९१ नागरिक हाल वैदेशिक रोजगारमा रहेको जनाइएको छ । सामी परियोजनाको स्थानीय जनप्रतिनिधिसँग एकवर्षे समीक्षामा वैदेशिक रोजगारमा रहेका र फर्केकाको सङ्ख्या सार्वजनिक गरिएको थियो । उक्त नगरमा वैदेशिक रोजगारबाट फर्केकाको सङ्ख्या दुई हजार एक सय २४ रहेकामा अधिकांशले कृषि पेसा अपनाएका थिए । रासस

भायानेटले ल्यायो नयाँ अफर : वार्षिक सदस्यतामा २ महिना निशुल्क

काठमाडौं । भायानेटले नवीकरण अफर ल्याएको छ । भायानेट कम्युनिकेसनले ग्राहकका लागि नवीकरण अफर ल्याएको हो । भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् । यो अफर असार सम्ममात्र उपलब्ध छ। नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ । यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्वाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् । भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताए । ‘राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन’, उनले भने, ‘अब नयाँ ढाँचाको समृद्धि र विकास होस्, जनताले अनुभूति गर्न सक्ने खालको आर्थिक सामाजिक परिवर्तन होस् भन्ने छ, त्यसैले सरकार सामाजिक, आर्थिक रुपान्तरणमा केन्द्रित भएको छ ।’ जनताको सङ्घर्षका बलमा राजनीतिक उपलब्धि हासिल भए पनि जनताको आर्थिक सामाजिक अवस्थामा सुधार आउन नसक्दा परिवर्तनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले विकास र समृद्धि सरकारको मुख्य लक्ष्य भएको बताए । ‘राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्नुपर्छ, राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्छ’, उनले भने । समृद्धिको यात्राको मात्रात्मक गतिलाई परिवर्तन गरेर गुणात्मक फड्कोमा पु¥याउनुपर्ने अवस्था रहेको भन्दै उनले राजनीतिक परिवर्तनले निर्देश गरेअनुसारको सामाजिक आर्थिक रुपान्तरण हुनुपर्ने बताए । ‘हाम्रो समृद्धिको यात्राले गति प्राप्त गर्न सकेको छैन, सन्तुष्ट हुने ठाउँमा छैनौँ’, उनले भने, ‘समृद्धिको यात्रालाई तीव्र बनाएर जनआकाङ्क्षा पूरा गर्नु सरकारको पहिलो कार्यभार हो ।’ सरकारले सुशासनलाई पहिलो सर्त मानेर आफ्नो ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ । भ्रष्टाचार र कमिसनले देश धेरै जर्जर भएको उल्लेख गर्दै उनले भ्रष्टाचारको प्रभावकारी ढङ्गले नियन्त्रण गर्ने नसके परिवर्तन पछाडि पनि देश जुन हालतमा छ, त्यस्तै भइरहने खतरा रहेको बताए । ‘ठूलो सम्भावना भएको मुलुकमा किन गुणात्मक विकास गर्न सकेनौँ, जनताको जीवन फेर्न सकेनौँ, आधारभूत आवश्यकता पूरा गर्न सकेनौं? यसले राजनीतिक परवर्तनको औचित्यमाथि नै प्रश्न उठेको छ’, उनले भने । ‘कमिसन’ र भ्रष्टाचारको जालो कुनै न कुनै रुपले राजनीतिक नेतृत्वबाट संरक्षित रहेको उल्लेख गर्दै उनले राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचारको निमूल गर्न नसकिने बताए । ‘यसका लागि राजनीतिलाई सफा गर्नुपर्छ । किनभने कमिसन र भ्रष्टाचार जालो कुनै न कुनै रुपमा राजनीतिक नेतृत्वबाट संरक्षित छ वा उनीहरुकै संलग्नता छ । त्यसकारण विकास र समृद्धिले फड्को मार्न सकेन’, उनले भने । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनमा दृढतापूर्वक कदम चाल्न खोजिएको उल्लेख गर्दै उनले परिवर्तनपछाडि जनताले अपेक्षा गरेका विषय प्राप्त नहुनुको कारणको समाधान गर्न खोजिएको बताए । नक्कली शरणार्थी प्रकरण पीडादायी उनले नक्कली भूटानी शरणार्थी बनाएर राज्यलाई नै अपमानित गर्ने राज्यकै मुख्य ठाउँमा बसेर जुन घटना भयो त्यो लज्जास्पद भएको बताए । ‘यो पीडादायी घटना हो । सो प्रकरणमा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढेको छ’, उनले भने । भूटानी शरणार्थी प्रकरणमा जनताको मनमा उब्जेका प्रश्नलाई गम्भीरताका साथ लिएर थप अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘एउटा–एउटा ‘केस’ वा व्यक्तिका बारेमा हामी निर्देशन दिँदैनौँ । कुनै व्यक्तिलाई पक्रने कि नपक्रने, कुनै मुद्दामा अगाडि बढ्ने कि नबढ्ने भनेर हामीले निर्देशन नपर्खनु भनेको छौँ ।’ सरकारको ध्यान अब ललितानिवास जग्गा प्रकरणमा केन्द्रित भएको उल्लेख गर्दै उनले प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले प्रस्ट निर्देशन दिएका छौँ, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नू’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नूस् भन्ने प्रहरीलाई निर्देशन छ ।’ ललिता निवासको जग्गा सरकारकै भएको दाबी गर्दै उनले विभिन्न समयमा भएका छानबिन र प्रहरी अनुसन्धानले पनि प्रस्ट्याएको बताए । प्रहरीको सरुवा/बढुवामा आर्थिक चलखेल शून्य उपप्रधानमन्त्री श्रेष्ठले प्रहरीको सरुवा र बढुवामा हुँदै आएको भनसुन र आर्थिक चलखेललाई शून्यमा झारिएको दाबी गरे । ‘राजनीतिक दबाब र हस्तक्षेप तथा अवाञ्छित आर्थिक गतिविधिका आधारमा प्रहरीको सरुवा र बढुवा हुँदैन’, उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रहरी तथा निजामती कर्मचारीको सरुवा तथा बढुवामा आफूलाई दबाब नदिएको उनको भनाइ छ ।

डा. रुइतलाई ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गर्ने

काठमाडौं । ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयले आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान गरेको छ। आउँदो साता आयोजना हुने एक समारोहमा डा. रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गरिने भएको हो । डा. रुइतले यसअघि बहराइनबाट चर्चित अन्तर्राष्ट्रिय इसा पुरस्कार पाइसकेका छन् । डा. रुइत आँखा उपचारको क्षेत्रमा नेपाल सहित विश्वभरीका विभिन्न मुलुकमा प्रशिद्ध रहेका छन् । मोतियाविन्दुको उपचारको लागि उनले विकास गरेको इन्ट्राकुलर लेन्स विश्वमै प्रशिद्ध रहेको छ । जुन नेपालमा निर्माण भएर विश्वका विभिन्न मुलुकमा निर्यात हुने गर्छ ।