काभ्रे । चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलाञ्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् ।
यो अवधिमा १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधा हाराहारी हो ।
वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि जिल्लाबाट नौ हजार तीन सय ६७ जनाले अनुमति लिए पनि राहदानी प्राप्त गरेकामध्ये १३ हजार सात सय ७६ लाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको कार्यक्रम निर्देशक वसन्त कुँवरले बताए ।
जिल्लास्थित सिविक फोरम नामक संस्थाद्वारा सञ्चालित सामी कार्यक्रमले स्थानीय सरकारसँगको समन्वयमा चार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम लागू गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी सेवा लिने नागरिकलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ ।
कार्यक्रम काभ्रेपलाञ्चोकलगायत नेपालका ३९ जिल्लामा सुरु गरिएको हो । नेपालबाट दैनिक सरदर दुई हजार दुई सय वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । ‘सकेसम्म स्वरोजगार बनी वैदेशिक रोजगारमा नजाने, जानैपरे सीप सिकेरमात्रै जानुपर्ने व्यवस्थाका लागि सेवाग्राहीलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको छ’, उनले भने ।
कार्यक्रम निर्देशक कुँबरका अनुसार सामी परियोजनाले जिल्लाका नागरिकका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेकालाई अभिमुखीकरण गर्दै आएको छ ।
सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने, जाँदा लाग्ने रकम कम हुने तथा सुरक्षित काम गर्ने अवसर पाइने भएकाले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने कार्यक्रमको प्रमुख विषय रहेको जनाइएको छ । उक्त सुरक्षित आप्रवासन कार्यक्रम जिल्लाको धुलिखेल नगर, मण्डनदेउपुर नगर, रोशी र भुम्लु गाउँपालिकामा लागू गरिएको हो ।
स्थानीय तहमा उक्त कार्यक्रमले पारेको प्रभाव तथा निरन्तरताबारे सुधार्नुपर्ने विषयमा भएको छलफलमा सहभागीले पनि स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ भन्ने विषयमा जोड दिएका थिए ।
मण्डनदेउपुर नगरका दुई हजार दुई सय ९१ नागरिक हाल वैदेशिक रोजगारमा रहेको जनाइएको छ । सामी परियोजनाको स्थानीय जनप्रतिनिधिसँग एकवर्षे समीक्षामा वैदेशिक रोजगारमा रहेका र फर्केकाको सङ्ख्या सार्वजनिक गरिएको थियो । उक्त नगरमा वैदेशिक रोजगारबाट फर्केकाको सङ्ख्या दुई हजार एक सय २४ रहेकामा अधिकांशले कृषि पेसा अपनाएका थिए । रासस