काठमाडौं । सरकारले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने करिब दुई दर्जन निर्माण कम्पनीलाई स्पष्टिकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दे २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भनेर ७ दिनको स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि नै सूचना जारी गर्दै उक्त २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई ३० दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । तर तोकिएको समयभित्र जवाफ नआएपछि कार्यालयले आइतबार पुनः सूचना जारी गरेको हो ।
७ दिनभित्र सूचनाअनुसार लिखित स्पष्टीकरण पेश नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।
समयका काम नगर्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न ठेक्का लगाउने निकायले सिफारिस गर्ने पर्छ । सोही सिफारिसका आधारमा कार्यालयले अन्तिम मौका स्वरुप स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएपछि कालोसूचीमा राख्ने गरेको छ ।
