विकासन्युज

लघुवित्तको वित्तीय सेवा डिजिटल प्रणालीमा लैजानुपर्छ : डा. ढुङ्गाना

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नर डा. निलम ढुङ्गानाले लघुवित्तले गरिबी न्यूनिकरण र महिला उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएकी छिन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ढुङ्गानाले लघु वित्तहरुको वित्तीय सेवा डिजिटलाइज्ड गर्दै जानुपर्ने बताइन् । अबको दिनमा वित्तीय सेवा डिजिटल प्रणालीमा हुने भएकाले संस्थाहरुले आइटी क्षमताको विकास गर्नु पर्ने डा. ढुङ्गानाले बताएकी हुन् । कतिपय विषयमा राष्ट्र बैंकले दिँदै आएको नियामकीय सुबिधा र छुट सधै दिन नसक्ने भएकाले संस्थाहरूले आफ्नै सक्षमता विकास गर्दै जानुपर्ने उनले बताइन् । संस्थाहरु एक आपसमा मर्जरमा जादा संस्थाको जोखिम कम हुने, पुँजी वृद्धी भई खर्च समेत घट्ने भएकाले लघुवित्तहरुले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन्  । इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले ईक्यान कसरी विकास गर्छ र हामी कहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।’ उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् । आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले भनेका छन्,‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’ केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरि घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ । पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष  पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको निर्वाचन आगामी असार ३० मा हुँदैछ ।

एसईई पछि पढ्ने विषय कसरी छनोट गर्ने, कसको सहयोग लिन सकिन्छ ?

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय माध्यमिक शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गरेको पनि पाइन्छ । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आँफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोसिस गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सहि सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईई पछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । त्यस्तै, प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुलको पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आँफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुले पढ्ने विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्ने र उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको आचार्य बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सिमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर पढ्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै ऐच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न पनि सक्छन् । युवा राजनीतिकर्मी तथा शिक्षा क्षेत्रका अभियन्ता प्रदिप पाण्डेले विद्यार्थीहरुले विषय छनोट गर्दा मुख्यकुरा आफ्नो रुचीको विषयालाई ख्याल गर्नुपर्ने बताउँछन् । ‘पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा मज्जा आउँछ ? के काम गर्दा सामाजिक सञ्जाल चलाउन पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षकको र अभिभावकको सहयोग लिन पनि सक्नुहुन्छ’, पाण्डेको सुझाव छ ।

ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत विमानस्थलबाट पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राउत तत्कालिन समयमा भूमि सुधार मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । उक्त जग्गा प्रकरणमा तत्कालिन समयमा राउतको संलग्नता देखिएको छ । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन्

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित, ४५ लाखको क्षति

बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पु¥याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए । ‘बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको’, उनले  भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ । ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट  ४५ लाख बराबरको क्षति पु¥याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ । बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए । हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत तीन अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ । रासस

गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर

काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी  राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे कायम भएका छन् । यस्तै सञ्चालकहरुमा माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी भएका छन् भने स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।

वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर गएकाले समस्या आयो : अर्थमन्त्री महत

फाइल तस्वीर काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको ऋण दायित्व बढेको र खर्च गर्ने क्षमता घटेको बताएका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सर्वसाधारणमा पुँजी प्रवाह बढाउन सरकारले काम गरिरहेको बताए । ‘धेरै माध्यमबाट सर्वसाधारणमा पुजि प्रवाह गर्न सरकारले काम गरिरहेको छ । अब कागजका आधारमा भन्दा उत्पादननको आधारमा कृषि कर्जा प्रदान गर्नेतर्फ ध्यान दिइने छ’, उनले भने । संस्थाको मर्जरले खर्च घटाएर फाइदा बढाउन सहयोग गर्ने भन्दै मर्जभएको लघुवित्त आगामी दिनमा ७७ जिल्लामै पुग्ने र ग्रामीण क्षेत्रमा गरिबी घटाउन योगदान गर्ने अपेक्षा अर्थमन्त्रीले व्यक्त गरेका छन् । पछिल्ला दिनमा वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर जान थालेपछि समस्या देखिएको अर्थमन्त्री महतले बताए । ‘वित्तीय अवस्था कमजोर भएका व्यक्तिलाई कर्जा वा ऋण प्रवाह गर्दा ब्याज महङ्गो हुन थालेको छ । एउटा तहबाट लक्षित बर्गमा कर्जा पुग्दा ब्याज महङ्गो हुन पुगेको छ । अब यसलाई समाधान गर्नु पर्छ’, मन्त्री महतले भने ।

अदालतबाट आरोप प्रमाणित नहुँदासम्म पक्राउ नगर्न व्यवसायीको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठनले अदालतले आरोप प्रमाणित गरेपछि मात्रै व्यवसायीलाई पक्राउ गर्न माग गरेको छ । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र त्रसित भएको बताएको छ । मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहेको र व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ । कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने उद्योगी व्यवसायीका छाता संगठनको भनाइ छ । ‘कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ । आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्रले आग्रह गरेको छ ।