सबैको लघुवित्त सातौं वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा दिँदै
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश गरेको छ । तनहुँको बन्दीपुरमा केन्द्रिय कार्यालय रहेको लघुवित्त आजदेखि ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको हो । लघुवित्त संस्थाले सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरेको छ । वि.सं. २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न लघुवित्त संस्थाले अनुमति पाएको थियो । साथै, असार ३० गतेदेखि बन्दिपुर १ डुम्रेबजारमा आफ्नो कार्य सुभारम्भ गरेको लघुवित्तले जनाएको छ । बढ्दो प्रतिष्पर्धा, बैकिङ बजारमा देखिएको तरलता अभावमा पनि उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको लघुवित्तले बताएको छ । हाल यस लघुवित्तको अध्यक्षको जिम्मेवारीमा नारायण प्रसाद जोशी रहेका छन् । यस्तै, सञ्चालकहरुमा जीवमुर्ती पन्त, प्रदिप सिग्देल, सुश्मा द्विवेदी र श्याम प्रसाद श्रेष्ठ छन् । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी भने केशव कुमार पौडेलले सम्हालिरहेका छन् । ग्रामीण नेपालको उत्पादन र उत्पादकत्वमा बृद्धि गरी समग्र गरिबी न्यूनीकरण गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । लघुवित्त संस्थाले सातै प्रदेशका ४३ जिल्लामा ९० शाखा कार्यालय मार्फत् आफ्नो सेवा प्रवाह गरिरहेको छ । लघुवित्तका अनुसार ७६ हजार ६३२ ग्राहक सदस्य छन् भने ३१४ जना कर्मचारी संस्थामा कार्यरत छन् । ३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्त संस्थासँग १ अर्ब २२ करोड रुपैयाँ बचत छ ।
धौलीगङ्गा बाँध खोलिने : सतर्कता अपनाउन आग्रह
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्सातको बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।
चीन–इयू व्यापार असहमति बढ्दो
काठमाडौं । चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न भोलि असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् । चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए । चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली सङ्घले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन । चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको सङ्घका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् । यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयुसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट गरेका छन् । इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे । युरोपेली सङ्घका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीन बाहेक अन्य स्रोतबाट महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ । चिनियाँ व्यापार र आपूर्ति शृङ्खलामा निर्भरता कम गर्ने युरोपेली सङ्घको निर्णयप्रति पनि उसको विमति छ । जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन् । इयुले ताइवान मामिलाप्रति बेइजिङको रवैयालाई लिएर असहमति जनाउँदै आएको छ । बेजिङले बल प्रयोग गरेर भएपनि ताइपेइलाई तह लगाउने धम्की दिँदै आएको छ । इयूले युक्रेनबाट तत्काल र बिनाशर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनलाई आग्रह गर्दैआएको छ । चीन भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले त्यस्तै अनुरोध गरेका थिए ।
आजदेखि साउने सोमबारको व्रत सुरु
काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार २ वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए । धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।
‘नियामकीय भूमिकामा राष्ट्र बैंक कमजोर भयो, सेयर र घरजग्गामा गरेको कडाई खुकुलो गर्नु पर्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै मुख्यगरी २ वटा विषयलाई केन्द्रमा राखेर मौद्रिक नीति आउनेछ । मुद्रास्फीति नियन्त्रणमा राख्ने र वित्तीय स्थायित्व कायम गर्ने कुरा मुख्य हुन्,’ उनले भने । सरकारी राजस्व बढाउने, रोजगारी बढाउने जस्ता विषय मौद्रिक नीतिले प्रत्यक्षरूपमा नहेर्ने भए पनि केही वित्तीय व्यवस्थामार्फत ती क्षेत्रलाई सम्बोधन गर्न सकिने शिवाकोटीको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले राखेको लक्ष्यअनुसार अहिले राजस्व उठ्न सकेको छैन । तर, अहिले देखिएका मुख्य समस्याहरू न्यून राजस्व उठ्नु र सहकारी क्षेत्रमा देखिएको सङ्कट पनि राष्ट्र बैंक नहेर्ने उनले बताए । सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि र रोजगारी सिर्जनाका लागि कुन क्षेत्रमा कर्जा विस्तार बढाउने भनेर हेरिने शिवाकोटीको भनाइ छ । त्यस्तै, नियामकीय भूमिकामा नेपाल राष्ट्र बैंक कमजोर भएको पनि उनले स्वीकार गरे । बैंकहरूले हाउजिङ क्षेत्रमा काठमाडौँ उपत्यकाभित्रका लागि मूल्याङ्कनको ३० प्रतिशत र उपत्यका बाहिरका लागि ४० प्रतिशत कर्जा दिइरहेकामा त्यसलाई बढाउन सकिने पनि उनको भनाइ छ । त्यस्तै, पूँजी बजारका क्षेत्रमा यसअघि लिइएका नीतिको समीक्षा र नतिजा हेरेर अघि बढ्नुपर्ने बेला आएको उनले बताए । त्यस्तै, पुनरकर्जा थप दिन सकिने अवस्थामा राष्ट्र बैंक नरहेको पनि शिवाकोटीले स्पष्ट पारे । आगामी आर्थिक वर्षको मौद्रिक नीति धेरै कडा वा लचिलो नभई सन्तुलितरूपमा मध्यस्थ खालको आउनेतर्फ पनि उनले सङ्केत गरे । ‘मौद्रिक नीतिले डिजिटल इकोनोमी, इनोभेसनका कुरामा लगानी बढाउने विषयलाई केन्द्रमा राख्छ । काउन्टर साइक्लिङ बफर लागू गर्ने समय अझै एक वर्ष पर सार्नुपर्ने हो कि भनेर विचार गर्नुपर्ने बेला आएको छ । चालु पूँजी कर्जा कार्यविधि कार्यान्वयनको विषयलाई पनि केही समय थाँती राखेर यसको सम्बोधन गर्न सकिन्छ,’ शिवाकोटीले भने, ‘मौद्रिक नीतिले ठूला ऋणीलाई कसरी नियमन गर्ने भन्नेबारे पनि सोच्नुपर्ने बेला भइसकेको छ । पुनरकर्जा, पुनर्तालिकीकरण, वैदेशिक मुद्रा सटहीमा दिइरहेको सुविधा लगायतका विषयमा राष्ट्र बैंकले आवश्यक र उपयुक्त निर्णय लिन्छ ।’ त्यस्तै, हरेक वर्ष मौद्रिक नीति ल्याउनका लागि निश्चित समय तोकेर नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने निर्णय सञ्चालक समितिबाट भएको पनि उनले बताए । सरकारले सङ्घीय बजेट ल्याएको ७ कार्य दिनभित्रमा मौद्रिक नीति जारी गर्ने व्यवस्थासहित कानून संशोधन प्रस्ताव गरिएको शिवाकोटीको भनाइ छ ।
किरा परेको मिठाइ बेच्ने आकाश फुड्सलाई डेढ लाख जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ । कारबाही स्वरुपको उक्त रकम सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैङ्क भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ । तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ । यसैबीच आइतबार नै कामपाले वडा नं ६ बौद्धस्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा स्थानमा जथाभावी फोहर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ । सोही अनुसार कामपाले बुढाथोकीलाई जरिवाना तिराएको हो । चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्दै आएको कामपाले पछिल्लो समय बजार व्यवस्थापन गर्नका लागि नियमित रुपमा अनुगमन गरिरहेको छ । कामपाले आगामी वर्षका लागि व्यक्तिगत तथा संस्थागत भान्सालाई स्वास्थ्यकर बनाइराख्न आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । कामपाले समग्र स्वास्थ्यको क्षेत्रका लागि भने करिब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन जिल्लाका ४ वटा ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ । साविक काठमाडौं महानगरपालिका २३, न्यूरोडस्थित कित्ता नम्बर १३५ मा रहेको ५७.६३ वर्गमिटर क्षेत्रफलमा बनेको ५ तले घर बिक्री गर्ने छ । यस्तै, मोरङ्गको साविक बिराटनगर उपमहानगरपालिका ११ स्थित कित्ता नम्बर ९ मा रहेको १ हजार ७६०.८० वर्गमिटर क्षेत्रफल जग्गा, पर्साको साविक बिरगन्ज उपमहानगरपालिका १४ स्थित कित्ता नं. ६५ मा रहेको १ हजार २५.२० वर्गमिटर क्षेत्रफलमा बनेको ३ तले पक्की घर र ट्रष्टको घर बिक्री गर्नेछ । यस्तै, चितवनको साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नम्बर ४२३५ को १ हजार ३०३.७० वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ । कम्पनीले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी २१ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
हिमाल दोलखाको हकप्रद सेयर खरिद गर्ने आज आन्तिम दिन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताले आज असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीका लगानीकर्ताले हाल कायम १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयर आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते सेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।