विकासन्युज

छुट्ला है ! आईएमई लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारणले आज असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि पुनः बिक्री खुला गरेको आईपीओमा आज असार २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग बीच सहकार्यको सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेकाे छ । आइतबार उनीहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउन सहमत कामना सेवा विकास बैंक सहमत भएको छ । त्यसैगरी, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ । उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ । बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसीप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीहरुलाई दुई सोधकार्य गर्ने छात्रवृत्ति प्रदान गर्नेछ ।

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरु, लघुवित्त क्षेत्रकै ठूलो संस्था बन्यो

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरू भएको छ । आइतबार (असार २४ गते) एक कार्यक्रमको आयोजना गरी साना किसान लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै लघुवित्त संस्था १००:८७ सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा मर्ज भएका हुन् । अर्थात् आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर प्राप्त गर्ने छन् । मर्जरपश्चात् लघुवित्तको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । यस्तै, लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा.बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) रहेका छन् । साथै, सर्वसाधारण समूहबाट उमेश लम्साल र भीमप्रसाद तिमल्सिना सञ्चालक चयन भएका छन् । पश्चात लघुवित्तको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सीईओ कोइरालाले जानकारी दिए । उनका अनुसार लघुवित्तको कूल पूँजी ८ अर्ब १२ करोड पुगेको छ । उनले पूँजी र कारोबारका आधारमा लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो लघुवित्त संस्था बनेको दाबी गरे । लघुवित्त संस्थाले ७६ जिल्लाका ५५२ स्थानीय तहका लघुवित्त संस्था, साना किसान सहकारी र अन्य सहकारी गरी १ हजार ५७० साझेदार संस्थाहरुमा ४५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । दुवै लघुवित्तको गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए । गत भदौ ३१ गते दुवै लघुवित्तबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताए । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनेछ ।’ मन्त्री डा. महतले भने,  ‘नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ, एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने मलाई विश्वास छ ।’ ‘१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन् । यो ठूलो संख्या हो । ४५ अर्ब र सहकारी आफैले सञ्चालन गरेको स्थानीय वित्तीय श्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ । ८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत रहेको तथ्यांक सुनाउँदै मन्त्री महतले भने, ‘समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको छ, यो एकदमै खुशीको कुरा हो ।’ ‘सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने भनिरहेका छौं, त्यसका धेरै सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई यो साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ’ मन्त्री महतले भने । ‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ । स्थानीय सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीका सञ्चालकहरु हुन् । सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो’, उनले भने । यो साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुनेछ र देशकै उदारणीय रुपमा यो प्रस्तुत हुनेछ विश्वास व्यक्त गर्दै मन्त्री डा. महतले स्वभाविक रुपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौति भनेको यसको ब्याज रहेको बताए । मन्त्री डा. महतकाअनुसार, साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।

आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को पाँच प्रतिशत अर्थात छ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो। आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।

लघुवित्त फेजआउट गरौं, विकास बैंकको संख्या बढाऔं– पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विकास बैंकको संख्या बढाएर लघुवित्त संस्थाहरुलाई फेज आउट गर्नुपर्ने बताएका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै डा. खतिवडाले लघुवित्त संस्थाहरुलाई ख वर्गमा स्तरोन्नति गर्नुपर्ने बताए । बैंक र लघु वित्तको अवस्था हात्ती र कुखुराको जस्तो भएको भन्दै आगामी दिन लघुवित्तलाई फेजआउट गर्दै जानुपर्ने खतिवडाले बताए । गाउँमा लघुवित्त भनेर कामै गर्न नसक्ने अवस्था भएकाले उनले स्मरण गरे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गरेर भए पनि लघुवित्तलाई स्तरोन्नति गर्नुपर्ने उनको भनाई छ । त्यसैगरी, लघुवित्तमा लगाईएको क्याप आगामी मौद्रिक नीतिबाट हटाउनुपर्ने पनि खतिवडाले बताए । लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा आगामी दिनमा ध्यान दिनुपर्ने खतिवडाले बताए । बैंकले लघुवित्तमा दिने कर्जा बढाउन नहुने पनि खतिवडाले बताए । पूर्वगभर्नरसमेत रहेका खतिवडाले नेपालमा लघुवित्तमार्फत कृषिमा भएको लगानी बालुवामा पानी सरह भएको टिप्पणी गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट

काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका ग्राहकले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।