बैंकका सञ्चालक भुक्तानी प्रदायक कम्पनीको सञ्चालक बस्न नपाउने
काठमाडौं । एकैपटक दुई वटा संस्थाको सञ्चालक बस्न नपाइने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीतिको प्रथम संशोधन गर्दै राष्ट्र बैंकले एकैपटक भुक्तानी प्रदायक कम्पनी र अन्य संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको ब्यक्ति भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक बन्न पाउने छैन । संवैधानिक पद धारण गरेको व्यक्ति वा संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति पदमा बहाल रहुञ्जेलसम्म भुक्तानी प्रदायक कम्नीको सञ्चालक बन्न नपाउने राष्ट्र बैंकले जनाएको छ । ‘बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक तथा पदाधिकारी रहेको व्यक्ति एकै पटक अन्य भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकले भनेको छ । तर कुनै अनुमतिपत्र प्राप्त संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारी, सरकारले नियुक्त गरेको अवस्थामा वाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।
मूल्य वृद्धि ओरालो लाग्दै, ६.८३ प्रतिशतमा झर्याे
काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा मूल्य वृद्धि ओरालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मूल्य वृद्धि अर्थात् उपभोक्ता मुद्रास्फीति झण्डै २ प्रतिशतले घटेर ६.८३ प्रतिशतमा झरेको हो । यसअघि गत वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । यस्तै, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ । जेठमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो । राष्ट्र बैंकका अनुसार जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.७७ प्रतिशत थियो । यसैगरी उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.०३ प्रतिशत, ४.०९ प्रतिशत र ४.१५ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि १.०४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.१४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा १३ खर्ब ३७ अर्बमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वस्तु आयात र निर्यात दुबै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार वस्तु निर्यात २२.७ प्रतिशत र आयात १६ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । राष्ट्र बैंकका अनुसार निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड रुपैयाँ बराबरको भएको थियो ।
विदेशी मुद्राको सञ्चिति बढेको बढ्यै, शोधनान्तर स्थिति २ खर्ब २८ अर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्राको सञ्चिति २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी मुद्राको सञ्चिति २१.८ प्रतिशतले बढेको हो । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा रु.१४८० अर्ब ८७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई रु.१३२१ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति २२८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई रु.७ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ३५ करोड रहेको थियो ।
११ खर्ब नाघ्यो रेमिट्यान्स, विदेश जाने पनि ४६.६ प्रतिशतले बढे
काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्सले ११ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।
कक्षा ११ मा के–के विषय पढ्न पाइन्छ ?
काठमाडौं । विद्यालय शिक्षा अन्तर्गत कक्षा १० को (एसईई) परीक्षा पछि कक्षा ११/१२ मा के पढ्ने भन्ने विषयमा विद्यार्थीहरु यतिबेला छलफलमा केन्द्रित छन् । सामान्यतया भोलिको करिअरको शुरुवातको रुपमा मानिने कक्षा ११/१२ आफ्ना नानीबाबुहरुलाई के विषय पढाउने भन्ने विषयमा अभिभावहरुले पनि सोचिरहेका छन् । पाठ्यक्रम विकास केन्द्रले विद्यालय स्तरको शिक्षामा कुन–कुन विषय पढाउने भनेर पाठ्यक्रमको विकास गर्ने गर्छ । अनुसन्धान र मागका आधारमा केन्द्रले पाठ्यक्रमको विकास गर्ने कार्य गर्दै आएको छ । खासगरी विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ लाई लक्षित गरेर हालसम्म केन्द्रले झण्डै एससय जति पाठ्यक्रमको विकास गरेको छ । केन्द्रले विकास गरेको पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक बन्ने र तीनै पाठ्यपुस्तक विद्यार्थीले पढ्न पाउने गर्छन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन भएका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले विकास गरेको पाठ्यक्रममा आधारित विषयलाई नै पढाउनुपर्ने हुन्छ । त्यसमध्ये चालु शैक्षिक शत्रमा विद्यालयहरुले ८३ वटा विषय पढाएका थिए । सबै विद्यालयहरुले जनशक्ति, आवश्यकता र मागको आधारमा सबै विषय पढाउँदैनन् । तर, पछिल्लो समयमा एकै स्थानमा रहेका फरक–फरक विद्यालयहरुले पनि विद्यार्थी रुची र आवश्यकतालाई हेरेर फरक–फरक विषय पढाउने गरेको पाइन्छ । जसले गर्दा विद्यार्थीहरुलाई पनि आफ्नो रुचीअनुसारको विषय पढाइ हुने विद्यालय रोजेर पढ्न सजिलो भएको छ । कक्षा ११/१२ मा पढ्न पाइने कुन–कुन विषय छन् ? पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को लागि ९३ वटा विषयको पाठ्यक्रम र नमूना पाठ्यपुस्तकको विकास गरेको छ । जसमा, अनिवार्य तीनवटा विषय छन् भने बाँकी ऐच्छिक विषय रहेका छन् । विद्यार्थीहरुले अनिवार्य विषय पढ्नै पर्ने हुन्छ भने ऐच्छिक विषय आफ्नो इच्छा र क्षमता अनुसार रोजेर पढ्न पाइन्छ । तर, सबै स्कुलहरुमा भने विद्यार्थीले रोजेको विषय पढाइ नहुनसक्छ । जनशक्ति, विद्यार्थी संख्या र आवश्यकता जस्ता विषयहरुलाई हेरेर पनि स्कुलहरुले पढाउने विषयको व्यवस्था गरेका हुन्छन् । त्यसैले, विद्यार्थीहरुले केही विषय नजिकैको स्कुलमा प्राप्त गर्नसक्छन भने कतिपय ऐच्छिक विषयको लागि अन्यत्रको स्कुलमा पनि जानुपर्ने हुनसक्छ । मुख्य कुरा कक्षा ११ र १२ मा भर्ना हुन भन्दा अगाडि कुन–कुन विषय पढ्न पाइन्छ भनेर बुझ्दा विद्यार्थीको लागि राम्रो भने अवश्य हुन्छ । पाठ्यक्रम विकास केन्द्रले ९३ वटा विषयको विकास गरेको भएपनि ती विषयहरु विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून, पत्रकारिता र प्राविधिक जस्ता संरचनामा जोडिएर विभाजन गरिएका हुन्छन् । के–के छन् अनिवार्य विषयहरु : कक्षा ११ को अनिवार्य विषयमा नेपाली, सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा र अंग्रेजी रहेको छ । जुन विषय विद्यार्थीले अनिवार्य रुपमा पढ्नैपर्ने हुन्छ । त्यस्तै, ऐच्छिक विषय विद्यार्थीको करिअर अर्थात भोलि कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भन्नेसँग महत्वपूर्ण ढंगले जोडिएको हुन्छ । त्यसैले स्कुलमा उपलब्ध धेरै विषयमध्ये विद्यार्थीले भोलि आफूले शिक्षक, डाक्टर, इन्जिनियर, कृषि, प्रविधि, व्यवस्थापन, मानविकी लगायतको संकाय मध्ये कुनमा अगाडि बढ्ने भनेर सोसँग सम्बन्धित ऐच्छिक विषय रोज्नुपर्ने हुन्छ । कुन ऐच्छिक विषय रोजेर पढ्ने ? विद्यार्थीले इच्छा लागेकै विषय पनि पढ्न सक्दैनन् । किनकी कतिपय विषय पढ्नको लागि एसईई परीक्षामा उत्तिर्ण हुँदा निश्चित प्रतिशत जिपिए ल्याएको हुनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ मा गणित, रसायन विज्ञान, भौतिक विज्ञान र जीव विज्ञान पढ्नको लागि विद्यार्थीले कक्षा १० मा अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी प्लस’ सहित एसईईमा १.६ जीपिए ल्याउनुपर्छ । विद्यार्थीले कक्षा ११/१२ बाट नै प्राविधिक विषय अध्ययन गर्ने हो भने अर्थात प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी) तर्फको कक्षा १२ बराबरको मान्यता पाउने १० वटा विभिन्न विषय पढ्न सक्छन् भने इन्जिनियरिङ तर्फ पनि एक दर्जन बढी विषय रोजेर पढ्न सक्छन् । अहिले धेरै जिल्ला र पालिकासम्मका धेरै स्कुलहरुले कक्षा ११÷१२ मा इन्जिनियरिङ, फार्मेसी, कृषि लगायतका धेरै प्राविधिक विषय र प्रि डिप्लोमा कोर्षहरु पनि सञ्चालन गरेका छन् । विद्यार्थीहरुले आफ्नो जातिगत तथा संस्कृत लगायतको भाषा पनि ऐच्छिक विषयको रुपमा अध्ययन गर्न सक्छन् । जसको बारेमा विद्यार्थीहरुले शिक्षक, साथीसँगी र अभिभावकहरुमार्फत पनि बुझ्न सक्छन् । कक्षा ११/१२ को लागि पाठ्यक्रम केन्द्रले विकास गरेका विषयहरु ऐच्छिक विषयहरु : १. भौतिक विज्ञान २. लेखाविधि ३. ग्रामीण विकास ४. विधिशास्त्र तथा कानुनी सिद्धान्त ५. नेपाली कानुनी प्रणाली ६. स्वास्थ्य तथा शारीरिक शिक्षा ७. खेलकुद विज्ञान ८. बाल विकास तथा सिकाइ ९. निर्देशनात्मक शिक्षाशास्त्र र मूल्यांकन १०. मनोविज्ञान ११. इतिहास १२. लैङ्गिक अध्ययन १३. हस्पिटालिटी व्यवस्थापन १४. प्राकृतिक चिकित्सा १६. मानवमूल्य शिक्षा १७. जीव विज्ञान १८. शिक्षा र विकास १९. भूगोल २०. प्रकृयागत कानून २१. कानुनी मस्यौदा २२. समाजशास्त्र २३. आयुर्वेद २४. व्यवसाय अध्ययन २५. भाषा विज्ञान २५. दर्शनशास्त्र २६. जनसङ्ख्या अध्ययन २७. खाद्य तथा पोषण २८. नृत्य २९. कम्प्युटर विज्ञान ३०. रसायन शास्त्र ३१. अर्थशास्त्र ३२. पर्यटन तथा पर्वतारोहण अध्ययन ३३. बजारीकरण ३४. बुढ्यौली तथा स्याहार शिक्षा ३५. योग ३६. वाद्यवादन ३७. संवैधानिक कानून ३८. नागरिक र फौजदारी कानून तथा न्याय ३९. पाककला ४०. संस्कृति ४१. फेसन डिजाइनिङ ४१. पशु, पंक्षी तथा माछापालन ४२. नेपाली (ऐच्छिक) ४३. अंग्रेजी (ऐच्छिक) ४४. गणित ४५. प्रयोगिक ४६. व्यवसायिक गणित ४७. पुस्तकालय तथा सूचना विज्ञान ४८. गृह विज्ञान ४८. वातावरणीय विज्ञान ४९. साधारण कानून ५०. वित्त ५१. बौद्ध अध्ययन ५२. प्रायोगिक कला ५३. गायन ५४. मौरीपालन तथा रेशमखेती ५५. सौन्दर्य तथा केशकला शिक्षा ५६. जडीबुटी ५७. प्लम्बिङ तथा वाइरिङ ५८. होटल व्यवस्थापन ५९. आमसञ्चार ६०। संस्कृतरचना ६१। संस्कृतभाषाव्याकरणम् ६२। शुक्लयजुर्वेदः ६३। सामवेदः ६४। ऋग्वेदः ६५. अथर्ववेदः ६६। संस्कृतव्याकरणम् ६७। सिद्धान्तज्योतिषम् ६८। न्यायः ६९। संस्कृतसाहित्यम् ७०। इतिहासपुराणम् ७१। नीतिशास्त्रम् ७२। कर्मकाण्डः ७३। फलितज्योतिषम् ७४। वास्तुशास्त्रम् ७५. नेपाल भाषा ७६. मैथली भाषा ७७. राजनीतिशास्त्र ७८. कोरियन भाषा ७९. चिनिया भाषा ८०. हिन्दी भाषा ८१. संस्कृत भाषा ८२. उर्दु भाषा ८३. जापानिज भाषा ८४. पाली भाषा ८५. सिलाई बुनाई ८६. अतिरिक्त गणित ८७. आन्तरिक सजावट ८८. सहकारी व्यवस्थापन ८९. प्राणी विज्ञान ९०. सिभिल इन्जिनियरिङ ९१. कम्प्युटर इन्जिनियरिङ ९२. इलेक्ट्रिकल इन्जिनियरिङ ९३. वनस्पति विज्ञान कसरी बनाउँछ केन्द्रले पाठ्यक्रम ? पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय तहको पाठ्यक्रम प्रारुप २०७६’ का आधारमा पाठ्यक्रम निर्माण गर्छ । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाका अनुसार प्रारुपले पाठ्यक्रमको विकास कसरी गर्ने भनेर स्पष्ट दिशानिर्देश गरेको छ । तर, केन्द्रले कतिपय अवस्थामा माग र अनुसन्धानका आधारमा पनि नयाँ–नयाँ पाठ्यक्रम विकास गर्ने कार्य गर्दै आएको उनी बताउँछन् । ‘ज्ञानको बजारले नयाँ पाठ्यक्रमको लागि माग गर्यो भने नयाँ पनि आइहाल्छ, पुराना विषयहरु विस्थापित हुँदै जान्छन्, नयाँ विषयहरु स्थापित हुँदै जान्छन्’, उनले भने, ‘पाठ्यक्रम प्रारुपले पनि स–साना परिमार्जन गर्नुपर्ने विषयहरु तुरुन्तै गर्न भनेको छ, त्यसपछि साना किसिमका सुधाररु हरेक ५/५ वर्षमा गरिरहन पर्छ भनेर भन्छ भने पाठ्यक्रमको परिवर्तन चाहिँ १० वर्षमा गर्नुपर्छ भनेर भन्छ ।’ केन्द्रले राष्ट्रिय स्तरका शैक्षिक आयोग, कार्यदल र समितिबाट दिइएका सुझाव, पाठ्यक्रम प्रयोगकर्ताको सुझाव र शिक्षक, अभिभावक, सामाजिक कार्यकर्ता र बुद्धिजीवीहरुबाट प्राप्त सुझावहरुलाई पाठ्यक्रम विकास तथा परिमार्जनको प्रकृयामा लिने काम गर्छ । त्यस्तै, अनुसन्धान तथा विकास र प्रवर्तनात्मक कार्यक्रम, नागरिक समाज र राजनीतिक दलबाट प्राप्त हुने सुझावहरुलाई पनि पाठयक्रमको विकास तथा परिमार्जनमा लिने गर्छ । विश्वमा पाठ्यक्रमको विकासमा भएको प्रयोग, श्रमबजारले गरेको माग र विज्ञान प्रविधिको विकासलाई पनि पाठ्यक्रम विकासको आधारको रुपमा लिने गरिएको डा. ढुंगानाको भनाइ छ । त्यसरी विभिन्न क्षेत्रबाट प्राप्त सुझाव सल्लाहको संकलन गर्ने, वक्र्स सप गर्ने, अनुसन्धान, विज्ञ तथा प्राध्यापकहरुको सुझाव लिने र विषयगत समितिहरुमा छलफल गरेर मन्त्रालयको मन्त्रीको आवश्यक निर्देशन पश्चात पाठ्यक्रमलाई आकार दिने गरिने उनले बताए । केन्द्रका सूचना अधिकारी डा. ढुंगानाका अनुसार प्रारुपका आधारमा प्रत्येक १० वर्षमा हरेक पाठ्यक्रम पूर्ण रुपमा परिमार्जन हुँदै आएको छ भने, विकसित राजनीतिक, सामाजिक र प्रविधिसँग जोडिएर पनि पाठ्यक्रम विकास हुँदै आएको छ । पछिल्लो १० वर्षमा धेरै नै नयाँ पाठ्यक्रम केन्द्रले विकास गरेको उनको भनाइ छ ।
मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीलाई लागेपछि…
भोजपुर । भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ, हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं, पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौं, थप अनुसन्धान जारी छ ।’ मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो । रासस
आईएमई पे, खल्ती र प्रभु पे पनि नेपाल पेमा आवद्ध
काठमाडौं । नेपालका डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे नेपाल पेमा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको उपस्थितिमा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे मा इस्युङ्गि एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् । नेपालपेको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्युआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाखभन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओइस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल वा डाइनामिकको रुपमा उक्त नेपाल पे क्युआर उपलब्ध रहेका छन् । आईएमई पे, खल्ती र प्रभुपे नेपाल पेसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ