विकासन्युज

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’ पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’ स्थानीय तहमा साधनस्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको उनको भनाइ छ । उनले भने, ‘पब्लिक क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्ने सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त धेरे छ ।’ मन्त्री डा. महतले भने,  ‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ । यसलाई ‘रिर्भस’ गर्नुपर्ने आजको आवश्यकता छ ।’ मानिसले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्णरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा आफूहरुले विश्वास गर्ने उनको भनाइ छ ।

हामी जति पनि लगानी गर्न तयार छौं, पूर्वाधार निर्माणमा सरकार चुक्यो : अध्यक्ष शाह

काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष हुन् विनायक शाह । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रहेको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले अनुशासित व्यवसायीको छवि पनि बनाएका छन् । १६ वर्षसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका शाह जागिर छाडेर २०५० सालदेखि होटल क्षेत्रमा होमिए । हानको महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षमा निर्वाचित भएका छन् । उनी अध्यक्ष बन्दै गर्दा होटल व्यवसाय क्षेत्र एक किसिमको सकसमा छ । यो सकसको अन्त्य गर्न शाहमाथि ठूलो चुनौति छ । यो चुनौतिलाई पार गर्न र व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न शाहले बनाएका योजना र वर्तमान होटल व्यवसाय क्षेत्र लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् । हामीले लामो समय कोरोना भाइरसको सन्त्रास भोग्यौं, पछिल्लो समय भने केही सुधार भएको कुरा सुनिन्छ, होटल व्यवसाय सुधारको गतिमा हो ? कोभिड-१९ पछि पर्यटकको आवागमनको तथ्याङक हेर्दा एकदमै उत्साहप्रद छ । विभिन्न देशबाट नेपालमा करिब ९० हजार पर्यटक आइरहेका छन् । पर्यटक आउँदा होटल व्यवसायमा केही सुधार अवश्य भएको हो । यसले पनि अगाडि बढ्ने साहस दिलाएको हो । दैनिक पर्यटकको संख्या बढिरहेको छ । बुकिङ बढेको छ । कोभिडको बेला अन्य क्षेत्रमा लगानी आएन । बन्द हुने अवस्थाको सिर्जना भयो । काम पनि धेरैको रोकियो । तर, होटल उद्योगमा आउने लगानी रोकिएन । होटलका पूर्वाधारका कामहरू निरन्तर भइ रहे । नेपालमा २० वटा पाँच तारे होटल छन् । जसमध्ये २ वटा बन्द भएका छन् भने १८ वटा होटलहरु सञ्चालनमा छन् । अबको एक/डेढ वर्षभित्रमा २० वटा पाँच तारे होटल थपिँदै छन् । सात प्रदेशमा करिब एक सय वटा पर्यटकीय स्तरका होटलहरु बन्दैछन् । ती होटलमध्ये केही सञ्चालनमा आउने तयारीमा छन् । एकपछि अर्को गरेर होटल क्षेत्रमा लगानी बढिरहेको छ । त्यसले गर्दा आज हामी स्वदेशी तथा विदेशी पर्यटक गरेर ३५ लाख ग्राहकलाई सेवा दिन सक्ने स्थितिमा छौं । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका देशैभरका होटलबाट दैनिक १० हजार ग्राहकलाई मनोरञ्जन, खाने बस्ने, सभासम्मेलन गर्न सक्ने सेवा दिन सक्छौं । वर्षमा ३६ लाख ५७ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा हामी छौं । नेपालमा सन् २०१९ मा १२ लाख पर्यटक आएका थिए । महिनामा एक लाख पर्यटक आए पनि वर्षमा १२ लाखभन्दा बढी पर्यटक आउने भएनन् । सोही संख्यामा पर्यटक आउँदा पनि हाम्रो क्षमता एक तिहाइ मात्र प्रयोग भयो । होटलको सञ्चालन खर्च २५ देखि ४० प्रतिशत अकुपेन्सी भयो भने मात्र धानिन्छ । सोही अनुरूपको अकुपेन्सी भएन भने सञ्चालन खर्च पनि उठ्दैन । अहिले औसत २०/२२ प्रतिशतको हाराहारीमा सञ्चालनमा छन् । हुन त काठमाडौंका केही ठूला होटल राम्रोसँग सञ्चालन भइरहेका छन् । तर, सबै होटल त्यही स्तरले सञ्चालन भइरहेका छैनन् । कतिपय होटलहरु घाटामा सञ्चालन भइरहेको अवस्था छ । घाटा खाएर पनि होटल सञ्चालन गर्नु पर्ने बाध्यता छ । बिजनेसमा जोखिम लिनु पर्छ । भोलिको दिन राम्रो हुन्छ, अर्थतन्त्रमा सुधार आउँछ, पर्यटन पूर्वाधारको विकास हुन्छ भनेर होटल सञ्चालन गरिरहेका छौं । यति हुँदाहुँदै पनि पूर्वाधारमा समस्या छ । हामीलाई हाम्रो विमानस्थल तथा सडक लगायतका पूर्वाधारले साथ दिइरहेको अवस्था छैन । अर्बौं रुपैयाँको लगानीमा पोखरा र भैरहवाको एयरपोर्ट बन्यो । सो एयरपोर्टलाई सञ्चालन गर्नको साटो त्यसलाई घाममा सुकाएर राखिरहेका छौं ।नेपालमा भारत र चीनबाट सडकबाट पनि पर्यटक भित्र्याउन सकिन्छ । तर, पर्यटक भित्र्याउन सक्ने स्तरका सडक छैनन् । काठमाडौंबाट पोखरा जान आज १२ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा होलिडे मनाउन को पर्यटन आउँछ ? हामीले क्षमता र लगानी दुवै विस्तार गर्यौं । त्यो सँगसँगै पूर्वाधार विकास नहुनाले हामी ठूलो मारमा परेका छौं । होटल उद्योग सामान्य अवस्थामा छैन । हामी असामान्य अवस्थामा सञ्चालन भइरहेका छौं । यस क्षेत्रको लागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि केही कुरा समेटिएन । आगामी मौद्रिक नीतिमा होटल क्षेत्रका कुराहरू समेटियोस् भनेर लागि रहेका छौं । होटल व्यवसायीहरू बैंकबाट लिएको ऋण तथा त्यसको ब्याज तिर्न सक्ने क्षमतामा छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशनले पछिल्लो मौद्रिक नीतिको समीक्षाले असार मसान्तसम्म ब्याज तिर्न नसक्नेले पुनतालिकीकरण गर्न सक्ने सुविधा दिएको थियो । अब त्यसले निरन्तरता पाउँछ कि पाउँदैन थाहा छैन । जनताको पैसा व्यवस्थापन गर्ने संस्था हो ‘बैंक’ । बिजनेस घाटामा जानु हुँदैन, त्यो पनि हाम्रौ पैसा हो । ऋण लिएपछि तिर्नुपर्ने दायित्व पनि हाम्रो हो । तर, लिएको ऋण तिर्न नसक्ने अवस्था भएपछि बैंकहरुले होटल व्यवसायीलाई कालोसूचिमा राखिदिने तथा लिलाममा चढाइदिने अवस्थाको सिर्जना भइरहेको छ । यसले गर्दा अहिले होटल व्यवसायीहरू तनावको अवस्था छन् । बैंकको उच्च ब्याजदरका कारण व्यवसायीहरूले सञ्चालन गर्दै आएका होटल बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो, कतिपयले होटल नै बेचेको खबर पनि सुनिन्छ, आफ्नो व्यवसाय नै बेच्ने अवस्थामा व्यवसायी पुगेका हुन् ? हामीले अध्ययन गर्दा कोभिडपछि झण्डै १८ प्रतिशत साना तथा मझौला होटलहरु विस्थापित भएका छन् । बैंकको उच्च ब्याजदर, होटलमा ग्राहकको कमि लगायतका कारणले व्यवसायीहरु विस्थापित भएको हुन सक्छन् । एक पटक विस्थापित भएको होटल अर्को पटक स्थापित हुन गाह्रो हुन्छ । हामी चीन र भारतको बिचमा छौं । हामीले ती दुई देशबाट जति पनि पर्यटक ल्याउन सक्छौं । तर, पर्यटक ल्याउने कसरी ? कोभिड अघि चीनबाट दैनिक ६ पटक हवाई उडान भरिन्थ्यो । भारतबाट ५ वटासम्म नेपाल उडानमा हुन्थ्यो । अहिले पहिलाको तुलनामा उडान पनि घटेको छ । अहिले हप्ताको ६ पटक मात्र विमान आउन मुस्किल पर्छ । कोभिड अवस्था सामान्य भएसँगै चीन सरकारले चिनियाँहरुलाई बाहिर जान छुट दिएको छ । छुट दिएसँगै त्यहाँबाट धेरै पर्यटकहरू नेपाल ल्याउन सक्छौं । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर विभिन्न ठाउँमा घुमेपछि भारतीयहरू यहाँ आउन तत्पर छन् । भारतमा अहिले गर्मी छ । नेपालमा खासै गर्मी छैन । त्यहाँ गर्मी हुँदा यहाँ पर्यटक भित्र्याउन सक्ने वातावरण मिलाउनु पर्छ । यसैलाई मध्येनजर गर्दै हामीले विभिन्न क्याम्पहरु पनि चलाइरहेका छौं । भारतबाट पर्यटकलाई नेपाल आउँदा नजिक पर्छ । यहाँ आउनको लागि उनीहरू इच्छुक पनि छन् । तर, यहाँसम्म सहज तरिकाले आउने सिस्टम सहज छैन । हामीसँग पूर्वाधारको अभाव छ । भारतबाट कुनै परिवारले गाडी लिएर नेपाल भिजिट गर्न आयो भने आवश्यक फाराम भन्सारमा भर्नु पर्छ । त्यो फाराम समेत सहज तरिकाले भर्ने वातावरण/ठाउँ छैन । हाम्रो नीति पर्यटनमैत्री छैन । यो असहजताका बीच पनि लगानी थपिरहेको छ, त्यो लगानी पुरानै व्यवसायीको होकि नयाँ लगानीकर्ताको ? एकपछि अर्को गरेर अन्तर्राष्ट्रिय चेन होटल नेपाल भित्रिरहेका छन् । २० वटा पाँच तारे होटल सञ्चालनमा आउन तयारीमा छन् । आज गाह्रो अवस्था भएपनि सधैँ यस्तै अवस्था नहोला । सन् २०२० को तथ्याङ्क हेर्दा २० करोड चाइनिज र १० करोड भारतीयहरू विभिन्न देशमा होलिडे मनाउन गएको देखिन्छ । उक्त संख्याको दुई प्रतिशत मात्र पर्यटक नेपाल भित्र्याउन सकियो भने ठूलो उपलब्धि हुन्छ । निजी क्षेत्रले द्रुत गतिमा काम गर्याे । एकपछि अर्को होटल खोल्दै सञ्चालनमा ल्यायो । तर, सरकारले गर्नुपर्ने पूर्वाधारको विकास गरेन । सरकार राजनीति लगायत विविध पक्षमा अल्झियो । सरकार कहाँ-कहाँ अल्झियो भन्ने कुरा तपाईंहरुलाई पनि थाहा होला । सरकारले भैरहवा र पोखरामा एयरपोर्ट बनायो । तर, सञ्चालनमा ल्याउन सकस पर्याे । हामी त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्नको लागि तयार छौं । सरकार, मन्त्रालय र त्यो मातहतको विभागले एयरपोर्ट सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन । त्यसको वैकल्पिक उपाय पनि खोजेको देखिँदैन भने निजी क्षेत्रसँग सल्लाह पनि गरेको छैन । नेपाली होटल व्यवसायीले विदेशी ठूला चेन होटलहरु नेपालमा भित्र्याए । ती होटलहरुमा विदेशी परिकार नै बढी पाइन्छ । तपाईंहरुले नेपाली मालिक प्रकृतिको होटल र यतैको परिकारहरुमा जोड नदिएको गुनासो पनि सुनिन्छ नी ? गुनासो र वास्तविकता फरक हुन्छ । यस्ता गुनासोहरू आइरहेका हुन्छन् । नेपालले सन् २००४ मा डब्लुटीओको सदस्यता लिइसकेपछि २००७ मा नेपाल खुल्ला भयो । खुल्ला भएपछि हामी संकुचनमा बस्न सक्छौं ? व्यवसायीले आफ्नो क्षमता अनुसारको काम गरिरहेका छन् । नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु आउन चाहन्छन् । सञ्चालनमा पनि आएका छन् भने कतिपय सञ्चालनमा आउने चरणमा छन् । अमेरिकाको कुनै नागरिक अमेरिकमै हायातमा बसको छ भने नेपालमा आएर पनि उसले हायातमा नै बस्न खोज्छ । किनभने उसले त्यो नाम सुनिरहेको छ । हरेक कुरामा फाइदा बेफाइदा भन्ने कुरा भइहाल्छ । अन्तर्राष्ट्रिय चेन होटल नेपाल आउनु भनेको उनीहरूले नेपाल र नेपालीलाई विश्वास गर्नु हो । उनीहरूले नेपालको समग्र सिनारियोलाई हरेर यहाँ लगानी विस्तार गरेका हुन् । त्यो राम्रो पक्ष हो । त्यसलाई म्यानेज गर्नु पर्छ, हाम्रा नीति नियमले त्यसलाई समेट्नु पर्याे । तपाईंहरु समस्यामा छौं भन्नुहुन्छ, बैंकले कत्तिको पत्याइरहेका छन् ? हामीले बैंकबाट लिएको ऋणको सावाँ ब्याज नै तिर्न नसकेपछि बैंकले पत्याउने कुरै भएन । हामीलाई बैंकले कालोसूचिमा राखिरहेका छन् । हाम्रो सम्बन्ध बैंकसँग राम्रो छैन । हामी होटल बैंकलाई बुझाउन तयार छौं । अहिलेको अवस्थामा होटलको स्थिति राम्रो छैन । यति बेला व्यवसायीलाई सरकारको सहयोग चाहिएको छ । सरकारले त्यसलाई सहजीकरण गरिदिनु पर्याे । होटल बन्द गर्दैमा समस्याको समाधान हुने होइन । टिक्यो भने मात्र भोलिका दिनमा त्यसले प्रतिफल दिन्छ । आजै रुख काट्दियो भने त्यसले के फल दिन्छ ? नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको निर्माणमा व्यस्त छ । यो समस्याको समाधानका लागि केही समन्वय गर्नु भएको छ ? यस विषयमा हामी प्रत्येक दिन राष्ट्र बैंकसँग समन्वय गरिरहेका छौं । म राष्ट्र बैंक दिनहुँ धाइरहेको छु । हामीले हाम्रो कुरा अर्थमन्त्री, गभर्नरज्यूहरूसँग राखिरहेका छौं । सरकारले बजेट व्यक्तव्यमा पर्यटन दशक मनाउने भनेको छ । मौद्रिक नीतिले हाम्रो समस्या समाधान गर्न सकेन भने गाह्रो नै हुन्छ । होटल क्षेत्र थप समस्यामा पर्न सक्छ । आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट हो ? आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी सकारात्मक छैनन् । यस क्षेत्रको समस्या सम्बोधन गर्ने प्रयास बजेटले गर्न सकेको छैन । हामीलाई उल्टै कर लगाइएको छ । आलु प्याजमा समेत कर लगाइ्एको छ । अहिले कर लगाउने बेला होइन । पहिला त यो क्षेत्रलाई टिकाउनु पर्याे । हाम्रो सप्लाईको एक तिहाइ पनि माग छैन । मौद्रिक नीतिले विद्यमान समस्यालाई समाधान गर्याे भने त्यो सफल हुने हो । हाम्रा कुनै पनि समस्या समाधान हुने खालका विषय बजेटमा उल्लेख छैन । पछिल्लो समय होटल व्यवसायीहरु शहरभन्दा पनि डाँडाकाँडामा व्यवसाय गर्न इच्छुक देखिएका छन् । तपाईंको विचारमा एउटा राम्रो होटल सञ्चालन गर्नको लागि कस्तो ठाउँ उपयुक्त हुँदो रहेछ ? यो व्यवसायीको बिजनेस प्लानमा भर पर्छ । आज जोमसोम जस्तो ठाउँमा होटल खुलेको छ । कुनै पनि काम अरू भन्दा पृथक हुनु पर्याे । आज लक्जरियस होटल जोमसोममा खुलेको छ । त्यहाँ पुग्न सक्ने बाटो पनि छैन । आवश्यक पूर्वाधारको पनि विकास भइसकेको छैन । मेरो विचारमा जोमसोमको होटल नेपालकै महँगो होला । राम्रो घर बनाएर मात्र होटल चल्दैन । होटल सेवा हो । होटलले कुन लेभलको सेवा दिएको हो त्यो सेवाले पनि महत्व राख्छ । तपाईंको कार्यकालमा होटलका यी विविध समस्याहरुको समाधानका लागि के कस्तो पहल गर्नु हुन्छ ? यी समस्याहरु समाधान हुन सक्छन् ? अहिले चाहिनेभन्दा बढी होटल छन् । सप्लाई हाइ छ, डिमान्ड पूर्वाधारले गर्दा संकूचित छ । अहिलेको अवस्थामा होटललाई बचाउनु नै मेरो पहिलो प्राथमिकता हो । सरकारी नीति नियमका कुरा छन् । मेरो नेतृत्वमा हामी भर्खरै मात्र बंगलादेश र श्रीलंका पुगेर आयौं । हामी बंगलादेश गएका थियौं भने भैरहवाका साथीहरु श्रीलंका जानु भएको थियो । हामीले त्यहाँ गएर हाम्रो सेल्स प्रमोसन गर्यौं । त्यहाँबाट पनि धेरै नेपाल घुम्न आउन तयार हुनुहुन्छ । तर, उहाँहरूलाई यहाँसम्म ल्याउने वातावरण बनाउन नै गाह्रो भयो । किनभने सम्बन्ध बढाउने कुरा हाम्रो हातको भन्दा बाहिरको कुरा भयो । संस्थाको जिम्मेवारीसँगै व्यक्तिगत व्यवसायलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, व्यवसाय विस्तारको योजना के छ ? संस्थाको जिम्मेवारी लिइसकेपछि आफ्नो कामलाई छाडेर पनि समय दिनुपर्ने हुन्छ । समय मिलाएर व्यक्तिगत व्यवसाय र संस्थालाई अगाडि बढाउँछु । समयसँगै व्यवसाय विस्तार गर्ने लक्ष्य सबैको हुन्छ । हामीलाई समयले कुर्दैन, समयमा काम गरिएन भने त्यसले प्रतिफल दिँदैन । लगानी विस्तारको कुरा सरकारको नीति नियममा पनि भर पर्छ । समयको अनुकुलता बनाएर लगानी विस्तार गर्ने योजना छ । होटल व्यवसायलाई सरकारले प्राथमिकता नदिएको देखियो नि है ? सरकारले होटललाई सेवा व्यवसायको रूपमा वर्गीकरण गरेको छ । होटल मन्त्रालय तथा कम्पनी रजिष्टार कार्यालयमा उद्योगको रूपमा दर्ता भएको छ । सरकारको नीति नियमले यस क्षेत्रलाई गर्ने व्यवहार सेवा व्यवसायमा मात्र हो उद्योग होइन । यो क्षेत्र उद्योग नभएका कारण बैंकले पनि ऋण दिन गाह्रो मानेको हो । सरकारले यस क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योग रूपमा वर्गीकरण गरिइदिनु पर्याे भन्ने हाम्रो माग हो । होल व्यवसायमा खर्बौंको हानी भइसकेको छ । होटलमा गरेको लगानी उठ्न २०/३० वर्ष लाग्छ । नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनमा खपत भएको विद्युत प्रतियुनिट १७ /१८ रुपैयाँले लिन्छ । उद्योगले त्यो विद्युत ७/८ रुपैयाँमा पाउँछन् । हामीले पनि लाखौं रुपैयाँ विद्युतको रकम भुक्तानी गर्छौं । तर, हामीले त्यो सुविधा पाउँदैनौं ।

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्यमा भने बृद्धि भएको छ । विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता सेयर तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्य रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२ रुपैयाँ, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार पाँच सय रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार छ सय १८ रुपैयाँ र सिटी होटल नौ करोड एक लाख ६२ हजार सात सय ६२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ । आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ ।

विद्यार्थीको चासो : एसइईपछि विषय रोजाइमा अन्योलता, जुनसुकै विषयमा मन लगाएर पढेमा सफलता हुने

टीकापुर । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा छन् । परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ । ’घरमा बुबाआमाले विज्ञान विषय पढ्नुपर्छ भन्नुभएको छ, मलाई सक्दिनकी भन्ने डर छ’, उनले भने, ’मलाई लेखा÷अर्थशास्त्र विषय पढ्न मन छ, परिवारले भनेको कुरा सुन्ने कि, मनको कुरा सुन्ने दोधारमा छु ।’ एसइईको नतिजा पश्चात् अहिले विद्यार्थीबीच कुन विषय लिएर पढ्ने भनेर सबैतिर छलफल हुने गरेको छ । बालबालिकाको भोलिको भविष्य कता लैजाने हो भन्ने कुरा पनि उसले अध्ययन गर्ने विषय र क्षेत्रले निर्धारण गर्ने गर्छ । गाउँघरमा राम्रो ग्रेड प्राप्त गर्न नसके र साथीले अध्ययन गरिरहेको विषय आफुले अध्ययन गर्न नपाए अध्ययन नै छाड्ने गरेको पनि देखिन्छ । एसइईको नतिजापछि अभिभावक र विद्यार्थीमा कुन विषय पढ्ने, पढ्नलाई कहाँ जाने भन्ने कुराको चर्चा प्रायःसबै परिवारमा चलेको छ । कतिपय अवस्थामा भोलिका दिनमा के बन्ने भन्ने कुराको निक्र्यौल पनि कक्षा १० पछिको अध्ययनले नै निर्धारित गर्ने भएकाले छलफल हुनु सकारात्मक भएको अभिभावक बताउँछन् । टीकापुरका रवीन्द्र चौधरीका छोरालाई पनि के पढाउने भन्ने विषयमा परिवार छलफलमा छ । नतिजा राम्र्रो ल्याएका रवीन्द्रका छोरा सुदिप घरबाहिर गएर पढ्ने आँटमा छैनन् । ’म भर्खर १५ वर्ष पूरा भए, बुबाआमाले काठमाडौं जान भन्नुभएको छ’, सुदिप भन्छन्, ’तर मलाई बुबाआमासँगै बसेर यही पढ्न मन छ, जुन विषय पढे पनि मन लगाएर पढ्छु, घर छििाड्दन भनेको छु ।’ धेरै विद्यार्थी र अभिभावकको सोँचाइ विज्ञान, इञ्जीनीयर, ओभरसियर तथा प्राविधिक विषय पढ्ने हुन्छ तर कतिपय अभिभावक र जानकार भने जुनसुकै विषय अध्ययन गर्ने तथा अब्बल विद्यार्थी बन्ने भएकाले त्यही राम्रो हुने बताउँछन् । सगुन विद्या निकेतन टीकापुरका प्रधानाध्यापक अशोक पाण्डे विषय कुनै ठुलो सानो नहुने बताउँछन् । उनले भने, ’साधारण विषय अध्ययन गरेर विज्ञता प्राप्त गर्न सके भोलिको भविष्य सुनिश्चित हुन्छ’, उनी भन्छन्, ’आफूले पढ्नसक्ने विषय छनोट गर्नुपर्छ, नेपाली, अङ्ग्रेजी, गणित, शिक्षाजस्ता जुनसुकै विषयमा मन लगाएर पढेमा सफलता पाउन सकिन्छ ।’ पछिल्लो समय प्राविधिक विषयको माग र आवश्यकता बढी देखिन्छ । रोजगारका दृष्टिकोणले पनि प्राविधिक विषयमा मानिसको आकर्षण बढ्दो छ । प्राविधिक विषय बाहेकका साधारण विषय पढेर पनि उत्कृष्टता हासिल गर्न सकिने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतले बताए । ’एसइईको नतिजापछि विद्यार्थीमा साथीभाइले नै पढेको विषय पढ्न चाहने र त्यो विषय अध्ययन गर्न नपाए पढाइ नै छाड्ने प्रवृत्ति देखिनु गलत हो’, उनी भन्छन्, ’विषय सबै एकै हुन्, साधारण विषय अध्ययन गरेर पनि दखल राख्न सके त्यही राम्रो हुन्छ, प्राविधिक विषय पढ्दा रोजगारीका अवसर सहज पाइन्छन् ।’ उनले भनेजस्तै खासमा विषय राम्रो र नराम्रो हुँदैन । सबै विषयको उत्तिकै महत्व र आवश्यकता छ । समाजमा साधारण विषय लिएर पनि सरकारी जागिर खाएका थुप्रै उदाहरण रहेकाले कम ग्रेड आउने बित्तिकै आत्तिनुपर्ने र आगामी योजना नै त्याग्नु गलत भएको विज्ञहरुको सुझाव छ । ’जुनसुकै विषय अध्ययन गरे पनि दक्षता हासिल गर्ने हो भने भोलिको भविष्य सुनौलो हुन्छ’, शैक्षिक क्षेत्रका जानकार तथा पूर्व शिक्षक भक्तिराम कोइराला भन्छन्, ’कमजोर विद्यार्थीले जटिल विषय अध्ययन गर्दा उसको पढाइमा समस्या हुनसक्छ, विद्यार्थीले सक्ने र उसको रुचि अनुसारको जुनसुकै विषय पढ्दा पनि हुन्छ, विषय कुनै कम महत्वको हुँदैन, राम्रो गरेमा जुन विषयमा पनि सफलता पाउन सकिन्छ ।’ रासस

६५ करोड बिगो दावी गर्दै बल्छी धुर्बे र राजु पौडेलसहित १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर)सहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार उनीहरुविरूद्ध अभियोगपत्र दायर गरेको हो । उनीहरुले वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । श्रेष्ठ र पौडेलसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि सट्टेबाजी वेभसाइट प्रचार गरेको अभियोग लागेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

स्याङ्जाबाट चार लाख लिटर दूध निर्यात, किसान दूध उत्पादनतर्फ आकर्षित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९र८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुुन् । पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताए । उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ । नगरप्रमुख गुुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुुध उत्पादक किसानलाई ५९ लाख ६१ हजार २२ रुपैयाँ अनुदान वितरण गरिएको जानकारी दिए । उनले सहकारी, दूध सङ्कलन केन्द्र तथा फार्म गरी १९ वटा समूहमा आबद्ध किसानलाई प्रतिलिटर १५ रुपैयाँका दरले खनुदान रकम वितरण गरिएको बताए । ’कृषि र पशुुपालनले देशको आर्थिक अवस्था सुुधार गर्नसक्ने भएकाले यसमा प्राथमिकता दिएका छौँ’, नगरप्रमुख भट्टराईले भने, ’गल्याङमा कृषि तथा पशुपालनको सम्भावना राम्रो भएकाले दूधसँगै कृषि कार्यमा लागेका अरु किसानलाई पनि प्राथमिकता दिएर काम गरिहेका छौँ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले यस वर्ष फार्मतर्फ वडा नं १ खाडास्थित विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मले दुुई हजार आठ सय ८२ लिटर दूध उत्पादन गरेर ४३ हजार दुुई सय ३७ रुपैयाँ र वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुुग्ध उत्पादक सहकारीले ६१ हजार दुुई सय ९६ लिटर दूध उत्पादन गरेर नौ लाख १९ हजार चार सय ४७ रुपैयाँ अनुदान पाएका जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र सबैभन्दा धेरै दूध उत्पादन गर्ने उक्त दुई फार्म र सहकारी हुन् । विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ईश्वर बस्यालले नगरपालिकाले प्रतिलिटर १५ रुपैयाँका दरले दिँदै आएको अनुुदानले आफूहरुलाई निक्कै राहत मिलेको बताए । उनले पाँच वर्षदेखि भैँसी पाल्दै आएको जनाउँदै उनले यसरी अनुदा प्राप्त गर्दा थप उत्हास जगाएको बताए । ’काम गर्ने किसानका लागि दिइएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ’, बस्यालले भने, ’नगरपालिकाले दिँदै आएको निःशुल्क पशु उपचार तथा प्राविधिक सहयोग पाएको छु । दूधमा अझ पाँच÷दश रुपैयाँ बढाइदिए राम्रो हुन्थ्यो ।’ उनले पशुपालनका क्रममा जटिल समस्याको सामाना गर्नु नपरे पनि दुुई महिनायता ‘लम्की स्कीन’ रोगले दूध उत्पादन घटेको गुुनासो गरे । उनले दूध बिक्रीबाट २०७९ साउनदेखि २०८० असार १५ गतेसम्ममा छ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुुग्ध उत्पादक सहकारीका अध्यक्ष ज्ञानप्रसाद अधिकारीले १५ रुपैयाँ अनुदान कार्यक्रम राम्रो भए पनि पछिल्लो समय देखा परेको रोगका कारण गाईपालनतर्फ रुचि घट्न थालेको बताए । ’गाईपालनमा धेरै समस्या आउने भएकाले भैँसी पालेर उत्पादनलाई दोब्बर बनाउने धेरै किसानको सोंच छ’, उनले भने, ’नगरपालिकाले तीन÷तीन महिना किसानको गोठसम्मै पुगेर पशुस्वास्थ्य सचेतनासहित उपचार शिविर सञ्चालन गरिदिए आभारी हुनेछौँ ।’ रासस

हुलाक बचत बैंकमा रहेका ५७ हजार खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । हुलाक बचत बैंकमा रहेका खाता र बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटले व्यवस्था गरेअनुसार, नेपाल सरकारले हुलाक बचत बैंक खारेज गर्ने र खाता राष्ट्रिय बाणिज्य बैंकमा सार्ने निर्णय गरेको थियो । सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु असार २८ गतेभित्र राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण हुने भएको छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले राष्ट्रिय वाणिज्य बैंकको नजिकको शाखा कार्यलयमा गएर खाता अद्यावधिक गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसरी, अद्यावधिक हुने सम्पूर्ण खातावालाहरुलाई चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व. ०३२/०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएको छ ।

संसद सुचारु गर्न ३ दलका शीर्ष नेता सहमत, एमाले आन्तरिक छलफलमा

काठमाडौं । तीन दलका शीर्ष नेताले संसद खुलाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको छलफलमा उनीहरुले संसदको अवरोध खुलाउने सहमति गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले संसदको अवरोध खोल्न नेताहरु सहमत भएको जानकारी दिएको छ । तर, शीर्ष नेताहरुले भने छलफलको विषयमा केही बताएका छैनन् । बालुवाटारबाट फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमाले संसदीय दलको बैठक बोलाएका छन् । संसद भवनमा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संसद बैठक भने दिउँसो ३ बजेका लागि बोलाइएको छ ।