मूल्य वृद्धि ओरालो लाग्दै, ६.८३ प्रतिशतमा झर्याे

<p>काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा मूल्य वृद्धि ओरालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मूल्य वृद्धि अर्थात् उपभोक्ता मुद्रास्फीति झण्डै २ प्रतिशतले घटेर ६.८३ प्रतिशतमा झरेको हो । यसअघि गत वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा मूल्य वृद्धि ओरालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मूल्य वृद्धि अर्थात् उपभोक्ता मुद्रास्फीति झण्डै २ प्रतिशतले घटेर ६.८३ प्रतिशतमा झरेको हो । यसअघि गत वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । यस्तै, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।

जेठमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

राष्ट्र बैंकका अनुसार जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.७७ प्रतिशत थियो । यसैगरी उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.०३ प्रतिशत, ४.०९ प्रतिशत र ४.१५ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि १.०४ प्रतिशत रहेको छ ।

वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.१४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Share News