काठमाडौं । बैंकहरुलाई असार मसान्तसम्म ऋण तिरिसक्ने भाखा दिएका फुलबारी रिसोर्टका अध्यक्ष पियुसबहादुर अमात्यले ऋण तिर्न पुनः अटेर गरेका छन् । नेपाल बैंकले ऋण नतिरेको भन्दै रिसोर्टको जग्गा लिलामीको प्रक्रिया अगाडि बढाएपछि उनले नेपाल बैंकमा पुगेर असारसम्म ऋण तिरिसक्ने भन्दै लिलामीमा नचढाउन बैंकलाई आग्रह गरेका थिए । उनको आग्रहमा बैंकले लिलामी प्रक्रिया रोकेको थियो । तर, असारसम्म पनि उनले सावाँ–ब्याज नतिरेको बैंकले बताएको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले असारसम्म सावाँ–ब्याज तिरिसक्ने प्रतिवद्धता जनाएपनि अमात्यले हालसम्म ऋण नतिरेको जानकारी दिए । सीईओ अधिकारीका अनुसार उनले प्रतिवद्धता जनाए अनुसार बैंकको किस्ता तिरेका छैनन् ।
‘हामीले यसअघि नै लिलामीको प्रक्रिया अगाडि बढाउँदा उहाँ बैंकमै आएर अहिले लिलाम नगर्नुस्, म असारभित्रै सावाँ–ब्याज चुक्ता गर्छु भन्नु भएको थियो । तर, उहाँ त्यसपछि सम्पर्कमा आउनु भएन, अब हामी साउनदेखि कसरी अगाडि बढ्ने भनेर लाग्छौं, अहिले असार मसान्त भएर हामी रिकभरीमै केन्द्रित छौं,’ उनले विकासन्युजसँग भने ।
अध्यक्ष अमात्य बैंकको ऋण नतिर्ने भन्दै यसअघि अदालत समेत पुगेका थिए । तर, उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएको थियो । उच्च अदालतका न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र नारायणप्रसाद पौडेलको इजालासले गत साउन १७ गते अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि नेपाल बैंकलाई ऋण असुलीका लागि बाटो खुलेको थियो । त्यसपछि अमात्य बैंकको शरणमा पुगेका थिए ।
फुलाबारी रिसोर्ट निर्माणका लागि लिएको ऋणको सावाँ-ब्याज गरेर झण्डै चार अर्ब रुपैयाँ अमात्यले तिर्नु पर्ने देखिएको छ । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए । सो रिसोर्टमा नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी गरेको थियो ।
नेपाल बैंकले असार ३ मा फूलबारी रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमती गंगा अमात्यले लिखतनामा गरेको धितो लिलामीको सूचना समेत प्रकाशित गरेको थियो । बैंकको लिलामी प्रक्रियामा तीन/चार वटा ठूला व्यवसायिक घरानाले सहभागिता समेत जनाएका थिए । तर, अमात्यको आग्रहमा बैंक लिलाम गर्नबाट पछि हटेको थियो ।
बैंकको ऋण तिर्न नसकेका अमात्यले हालसम्म आयकर समेत नतिरेको बुझिएको छ ।
रिसोर्ट पुनः सञ्चालनको हल्ला
फुलबारी रिसोर्टका अध्यक्ष अमात्यले आफुले बैंकको ऋण तिरेर होटललाई पुनः सञ्चालनको तयारी गरेको हल्ला पनि फैलाइरहेका छन् । उनले आफु निकटका होटल व्यवसायीहरुलाई अब चाँडै ऋण चुक्ता गरेर होटल पुनः सञ्चालनको सन्देश दिइरहेका छन् ।
‘अमात्यजीले ऋण तिरिरहेको छु, अब छिट्टै होटल पनि सञ्चालन गर्छु भनिरहनु भएको छ,’उनी निकट एक होटल व्यवसायीले भने ।
फूलबारी रिसोर्ट अहिले बन्द छ । यसका संरचना खण्डहर अवस्थामा छन् । अब त्यसको पुननिर्माण गरेर होटललाई पुनः सञ्चालनको तयारी गरिरहेको स्रोतको दाबी छ । होटललाई पुननिर्माण गरेर सञ्चालन गर्न पनि उनले करोडौं खर्चिनु पर्ने देखिन्छ ।
सीईओ अधिकारीले भने अहिले होटल सञ्चालन गर्न सक्ने स्थिती नै नरहेको बताए । बैंकहरुका अनुसार २०५९ सालदेखिकै हिसावमा फर्किए सावाँ-ब्याजसहित अमात्यले २० अर्ब रुपैयाँ तिर्नु पर्ने हुन सक्छ ।
सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्षको घोषणा गरेको थियो । त्यसको अवसर पार्दै व्यवसायी अमात्यले पोखरामा ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वर्ल्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको थियो । रिसोर्टमा १ सय ६५ कोठा थिए । तर, लगानी तथा सञ्चालन खर्च नै उठान नसकेपछि उनको डाउनफल सुरु भएको हो ।
होटल पूर्ण रुपमा बनेर सञ्चालन भए लगत्तै नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्र रुप लिएको थियो । द्वन्द्वको बेलामा विदेशी पर्यटकको आगमन नाजुक भएपछि यो होटल आर्थिक संकटमा परेको हो । होटलले विगत दुई दशकदेखि आर्थिक संकट झेल्दै आएको छ ।