नवलपुरमा उठ्यो २६ अर्ब रुपैयाँ बढी राजस्व
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए । उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार रुपैयाँ, ब्याज छ करोड १३ लाख ७३ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर चार करोड ३० लाख २० हजार रुपैयाँ, घर बहाल कर एक करोड ५३ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए । आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कूल ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम९रु२६ अर्ब ३१ करोड १२ लाख ७४हजार ९८१ दशमलब ८९ प्रतिशत० राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए । कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । ‘अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ’, प्रमुख कर अधिकृत पन्थीले भने । लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब ११ करोड १२ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा दुई अर्ब २० करोड ७२ हजार रुपैयाँ राजस्व बढी सङ्कलन भएको थियो । रासस
प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले साउन २ गते उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको हो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहको जिम्मेवारी लिइ अनुभव हासिल गरेकी छिन् । असार २९ गतेबाट एकिकृत कारोबार शुरु गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय संचालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । यता स्वतन्त्र संचालक भने मनोनयन हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।
कांग्रेसको रूपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन
काठमाडौं । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहनुभएका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जीत कर्णले जानकारी दिए । अभियानअन्तर्गत नेताहरुले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्नुभएको थियो । प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ । यसैगरी पार्टीका मूल्यमान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि शर्तमा कहिले पनि कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् । पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सो अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत थिए ।
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्यो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए । प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गरे । उनले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताए । ’सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्’, प्रधानमन्त्री दाहालले भने । उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उनले बताए । नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले बताए । ’शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ’, उनले भने, ’कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।’ उनले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गरे । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।
विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको एक सय रुपैयाँ दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ । रासस
अधिकमास अर्थात् मलमास सुरु : के गर्ने, के नगर्ने ?
काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन् । चान्द्र मासमा दुईवटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासका बारेमा गरेकाे चर्चामा भनिएको छ– ‘असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् । द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।’ अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेकाँही मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलको भनाइ छ । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरे पनि प्रायः मङ्सिर र पुसमै पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । क्षयमास हुने वर्षमा दुई अधिकमास नियमित पर्छ । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासका देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । सो गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ । अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ? मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने परम्परा छ । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता कर्म गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन । मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासको अवधिभर मच्छेनारायणमा टाढाटाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी बताउँछन् । यो महिनामा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ । भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ । यसअघि २०७७ साल असोज महिनामा अधिकमास परेको थियो । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्दै आएका छन् । रासस
न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभ अब नेपाली बजारमा
काठमाडौं । न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभले नेपाली बजारमा अर्थाेडक्स चियाको बिक्री सुरु गरेको छ । सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । विश्वका विभिन्न देशमा बिक्री हुँदै आएको सो चिया कम्पनीले नेपाली बजारमा बिक्री सुरु गरेको हो । ललितपुरको जावलाखेलमा कार्यालय नै राखेर कम्पनीले सुरुवाती चरणमा अनलाईनबाट चियाको बिक्री सुरु गरेको हो । सात वर्षको अबधिमा नेपाल टि कलेक्टिभले ४२ भन्दा बढी देशमा १ करोड कप चिया बिक्री गरेको दाबी गरेको छ । विश्वका अन्य देशले रुचायको चिया नेपाली बजारमा बिक्री गर्दा निकै उत्साहित भएको कम्पनीका सहसंस्थापक निश्चल बाँस्कोटा बताउँछन् । चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधि निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृतवमा नेपाल टि कलेक्टिभ उद्योग स्थापना भएको हो । हजारौँ विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गर्न पाएका भएपनि नेपालका धेरै चिया प्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर नपाएको कम्पनीको भनाई छ । ‘नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ’, सहसंस्थापक निश्चल बाँस्कोटा भन्छन् ‘विशिष्ट गुणस्तरको प्रमाण स्वरुप हाम्रा लुज–लिफ चिया र अर्गानिक मिश्रणले बाह्र वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्, न्यु योर्क टाइम्स र फोर्ब्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौँ ।’ सहसंस्थापक अमिगो खड्का नेपाली अर्थाेडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट चियाका पारखीहरु टाढा भएको भन्दै नेपाल टि कलेक्टिभले नजिक ल्याउने बताउँछन् । ‘हामी नेपाली चिया प्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौँ, हाम्रो संस्कृतिमा सिटिसि चिया हावी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन्, अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको छ’, उनले भने । नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । कम्पनीसँग कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।
अब कुकुर पाल्न दर्ता अनिवार्य
बागलुङ । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो । नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ । कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । उनकाअनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ । पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि एक सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए । ‘घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं’, प्रमुख सापकोटाले भने, ‘नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।’ घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उनले बताए । सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उनको भनाइ थियो । जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ । कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरबासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो’, उनले भने, ‘घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।’ उनले यसरी घरपालुवा कुकुर छाडा भएमा कुकुरधनीसँग जानकारी लिन सहज हुने बताए । नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ । रासस