सेयर बजारमा सामान्य सुधार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार तीन सय चार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार तीन सय ३३ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ११ करोड ६६ लाख ११ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार नौ सय ७३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् । नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।
संघीय संसद सचिवालयलाई चीनद्वारा ८ वटा विद्युतीय सवारी साधन सहयोग
काठमाडौं । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो । अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए । करिब तीन करोड रुपैयाँ मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो । हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो । विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो । रासस
राहदानी बनाउनेको सङ्ख्या बढ्यो
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ । उक्त सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको थापामगर बताउछन् । आव २०७९/८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मङ्सिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ । यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, वैशाखमा सात सय ६७ महिला र एक हजार दुई सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्याङ्क छ । आव २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झण्डै दोब्बर राजस्व सङ्कलन भएको थियो । आव २०७९/८० मा आठ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आव २०७८/७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस
सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।
म्याग्दीमा केराखेती फस्टाउँदै, वार्षिक १३ लाख आम्दानी
गलेश्वर । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताए । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा १० लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् । सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । ‘उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन’, सापकोटा बताउछन् । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन् । खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका हुन् । दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन् । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन् । खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन् । “धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ”, कार्कीले भने। उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए । ‘केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ’, उनले भने । खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताए । बेनी–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । बेनी–२ खबरा र बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ । रासस
नागढुङ्गा सुरुङमार्ग ब्रेक-थ्रुकाे ब्यग्रता, पाँच सय २५ मिटर सुरुङ मात्रै खन्न बाँकी
काठमाडौं । मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपत्कालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर रहेकामा पूर्वतर्फबाट नौ सय ६९ मिटर र पश्चिमतर्फबाट एक हजार एक सय ९३ मिटर गरी कूल दुई हजार एक सय ६३ मिटर बराबर सुरुङ निर्माण भइसकेको छ । यसैगरी आकस्मिक उद्धारका निर्माण गर्न लागिएको ‘रेस्क्यू टनेल’को कुल दुई हजार पाँच सय ७५ मिटरमध्ये हालसम्म पूर्वतर्फबाट एक हजार तीन सय एक मिटर र पश्चिमतर्फबाट एक हजार दुई सय मिटर सुरुङ खनिएको छ । यस्तै मुख्य र सहायक सुरुङ जोड्ने क्रस प्यासेज एक सय १५ मिटर खनिएको छ । त्यसको लम्बाइ एक सय २८ मिटर बराबर छ । हालसम्म सुरुङ निर्माणको भौतिक प्रगति ८९ दशमलव २० प्रतिशत बराबर छ । समग्रमा आयोजनाको कूल भौतिक प्रगतिक ५५ दशमलव १३ प्रतिशत र वित्तीय प्रगति ५८ दशमलव ७० प्रतिशत बराबर छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री गङ्गालाल तुलाधर, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत उच्चस्तरीय टोलीले आज आयोजना स्थल निरीक्षण गरेको हो । स्थलगत निरीक्षणपछि मन्त्री ज्वालाले आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै सानाभन्दा साना समस्या समाधानका लागि मन्त्रालयले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे । आयोजनाका अनुसार अबको केही दिनमा ‘रेस्क्यु टनेल’ निर्माण सम्पन्न गर्ने र निकट भविष्यमै मुख्य सुरुङसमेत खनिसक्ने तयारी छ । आगामी एक वर्षभित्रमा सवारी साधन नै चलाउन सकिने गरी तीव्ररूपमा काम अगाडि बढेको सम्बद्ध अधिकारीले जनाएका छन् । सुरुङमार्ग विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि थप गरिएको छ । पछिल्लो पटक थपिएको समयअनुसार विसं २०८१ को असोजसम्म पूरा गर्नुपर्ने छ । मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ । आयोजनाको कूल लागत २० अर्ब ६० करोड बराबर छ । त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट ( १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट ( चार अर्ब ८० करोड बराबर उपलब्ध गराइएको छ । जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनामा हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण भइरहेको छ । साथै पूर्व र पश्चिमतर्फको पहुँच सडक निर्माण भइरहेको छ । पश्चिमतर्फको पहुँच सडकमा हेवा पर्खाल निर्माण र अन्य काम जारी छ । आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएकाले स्थानीयले पटक पटक काममा अवरोध गर्ने गरेका छन् । सो समस्या समाधानका लागि भवन विभागले आवश्यक अध्ययन सुरु गरेको छ । विभागले दिने प्रतिवेदनका आधारमा क्षतिपूर्तिको रकम निश्चित गरी समााधान गर्ने तयारी छ । यसैगरी आयोजनाको पश्चिमतर्फ पहिरो रोकथामका लागि केही स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्नेछ । सो कार्यका लागि स्थानीयवासीले पटक पटक आग्रह गर्दै आएका छन् । पहिरो नियन्त्रणका लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । मुआब्जा वितरणका लागि आयोजनाले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ । त्यस्तै, बलम्बुमा एउटा घर भत्काउने विषयमा सहमति हुन सकेको छैन । घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको छ । नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ । जग्गा सडक र राजकुलोको मापदण्डमा परेकाले थोरै मात्र जग्गा बाँकी रहने भएकाले स्थानीयले पूरै जग्गाको मुआब्जा माग गरेको अवस्था छ । सरकारले आयोजनालाई प्रमुख प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री ज्वालाले आवातजावतमा सहजताका निम्ति कुनै पनि कसर बाँकी नराखिने बताए । सो आयोजनाले नेपालको समृद्धिमा योगदान पुर्याउने र सुरुङ युगमा लगेको समेत उनको भनाइ छ । रासस
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ। नेपाल एयरलाइन्सको ९एन-एकेडब्लू न्यारोवडी जहाज मंगलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ। क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ । जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ । निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान सुरु गरेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक सुरू
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि कार्यसूची तय गरेको थियो । केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीमाथि छलफल हुनेछ । यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको महामन्त्री शर्माले बताए । त्यसपछि बैठकमा अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।