काठमाडौं । न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभले नेपाली बजारमा अर्थाेडक्स चियाको बिक्री सुरु गरेको छ ।
सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । विश्वका विभिन्न देशमा बिक्री हुँदै आएको सो चिया कम्पनीले नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
ललितपुरको जावलाखेलमा कार्यालय नै राखेर कम्पनीले सुरुवाती चरणमा अनलाईनबाट चियाको बिक्री सुरु गरेको हो ।
सात वर्षको अबधिमा नेपाल टि कलेक्टिभले ४२ भन्दा बढी देशमा १ करोड कप चिया बिक्री गरेको दाबी गरेको छ । विश्वका अन्य देशले रुचायको चिया नेपाली बजारमा बिक्री गर्दा निकै उत्साहित भएको कम्पनीका सहसंस्थापक निश्चल बाँस्कोटा बताउँछन् ।
चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधि निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृतवमा नेपाल टि कलेक्टिभ उद्योग स्थापना भएको हो ।
हजारौँ विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गर्न पाएका भएपनि नेपालका धेरै चिया प्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर नपाएको कम्पनीको भनाई छ ।
‘नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ’, सहसंस्थापक निश्चल बाँस्कोटा भन्छन् ‘विशिष्ट गुणस्तरको प्रमाण स्वरुप हाम्रा लुज–लिफ चिया र अर्गानिक मिश्रणले बाह्र वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्, न्यु योर्क टाइम्स र फोर्ब्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौँ ।’
सहसंस्थापक अमिगो खड्का नेपाली अर्थाेडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट चियाका पारखीहरु टाढा भएको भन्दै नेपाल टि कलेक्टिभले नजिक ल्याउने बताउँछन् ।

‘हामी नेपाली चिया प्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौँ, हाम्रो संस्कृतिमा सिटिसि चिया हावी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन्, अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको छ’, उनले भने ।
नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । कम्पनीसँग कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।