फिफिया एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडीबनाउन र फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए । रासस
नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।
सुनको आयात कोटा दोब्बरले बढाइयो, अब दैनिक २० केजी
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । स्रोतका अनुसार बैंकहरुले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको हो । राष्ट्र बैंकको सो निर्णय गरेसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने छन् । यसअघि वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गरिरहेका थिए । नेपाल सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन दैनिक आयात हुने सुनको कोटा बढाउने निर्णय गरिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो । राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्नु पर्ने हुन्छ । तर, राष्ट्र बैंकले हालसम्म परिपत्र गरेको जारी गरेको छैन । यसअघि वि.सं. २०७८ फागुनमा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।
वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ : वनमन्त्री डा महतो
काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन जङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धि हासिल गरिसकेको बताउँदै अब यसलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउँछन् । मुलुकमा हाल वन जङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ । वन्यजन्तुको सङ्ख्या पनि निकै बढेको छ । यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव–वन्यजन्तु द्वन्द्व बढेको छ भने अर्कोतिर वन्यजन्तुबाट कृषकका बानीनाली सखाप हुने गरेको छ । यस्तो अवस्थामा संरक्षणको क्षेत्रमा व्यावसायिक र नयाँ सोचका साथ अघि बढ्नुपर्ने संरक्षण क्षेत्रका यी उपलब्धिलाई अब जनताको आर्यआर्जनसँग जोड्नुपर्ने मन्त्री डा महतोको धारणा छ । विसं २०७९ मा सम्पन्न निर्वाचनमा सिराहा–४ मा जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ मन्त्री भएदेखि नै प्राकृतिक स्रोत साधनलाई जनताको जीविकोपाजर्नसँग जोड्न, काठमा मुलुकलाई आत्मनिर्भर बनाउन, विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेलगायत अभियानका साथ अघि बढेका छन् । प्रस्तुत छ मन्त्री डा महतोसँग गरेको कुराकानीको अंश : नेपालले संरक्षणका क्षेत्र धेरै उपलब्धि हासिल गरेको छ, तर पछिल्लो पटक यसको व्यवस्थापनमा निकै चुनौती थपिएको भन्ने विषय चर्चामा आएको छ, यस बारेमा यहाँ भनाइ के हो ? हामीले संरक्षण क्षेत्र बढाउन त बढायौँ, एउटा चरण हो, यसमा नेपालले राम्रै काम गरेको छ । यसमा व्यवस्थापनको चुनौती पनि थपिएको छ । केही दिनअघि मात्र गोही र भालुको आक्रमणबाट एक/एक जना स्थानीय जनताले ज्यान गुमाउनुपरेको दुःखद् घटना भएको छ । यस्तो घट्ना हरेक महिनाजसो हुने गरेको छ । स्थानीय जनता जीविकोपार्जनका लागि घाँस दाउरा ल्याउन जङ्गल जाने र त्यहाँ वन्यजन्तुको आक्रमणमा पर्ने क्रम बढेको छ । अब वन्यजन्तु जङ्गल बाहिर नआउने वातावरण बनाउन र स्थानीयलाई पनि जीविकोपार्जनको वैकल्पिक उपायको योजनाका साथ जङ्गल जानुनपर्ने अवस्था बनाउन लागिपरेका छौँ । यसमा बृहत् परियोजनाका लागि सोच्नुपर्ने बेला आएको छ । वन जङ्गलमा कुनै ‘फेन्सी बार’ लगाएर हुन्छ कि स्थानीयको बसोबास व्यवस्थापनको लागि केही राम्रो व्यवस्था हुन्छ कि भनेर हामी यसमा लागिपरेका छौँ । यसमा लागि कार्ययोजना बनाउने तयारीमा छौ । वन जङ्गलको क्षेत्रफल र वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको अवस्थामा यसको व्यवसायीकरण पालन र शिकार गर्न सकिन्छ भन्नेबारेमा नयाँ बहस सुरु भएको छ, यसमा यहाँको धारणा के हो ? यस सम्बन्धमा मेरो धारणा के हो भने वन्यजन्तु पालन र शिकारका सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भइरहेका राम्रा र सफल अभ्यासलाई हेरेर मुलुकमा सुहाउँदो उदाहरणबाट सिक्नुपर्छ भन्ने हो । विश्वमा धेरै मुलुकले वन र वन्यजन्तुको व्यवसायीकरण गरेर तथा व्यवस्थापनमा निजी क्षेत्रलाई पनि संलग्न गराएर मनग्य आयआर्जन गरेका छन् । हामीले पनि त्यस्तो गर्नसके यसले एकातिर आम्दानीको स्रोत पनि हुने र अर्कोतिर व्यवस्थापनमा पनि सहजता हुनेछ । हाम्रो संरक्षण क्षेत्रमा देखिएको चुनौतीको समाधानका लागि हामीले निजी क्षेत्रलाई वन व्यवस्थापन, पालन र शिकारका लागि अनुमति दिन सकिने विषयमा चालु आर्थिक वर्षको बजेटमा पनि केही कुरा आएको छ । यसमा कानुन बनाएर अघि बढ्छौँ । हामीसँग जुन स्रोत साधन छ र हामी जुन काम गर्न सक्छाँै, त्यो काम गरेर नै मुलुकको समृद्धि हासिल गर्नुपर्छ । जस्तै ः हरिण, चित्तलजस्ता वन्यजन्तुको निजी क्षेत्रलाई फार्ममा पालन गर्न दियौँ । यसमा धेरै कडा हुनु जरुरी छैन । यसमा हामी ‘व्यावसायिक रुपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८०’ बनाएर अघि बढेका छौँ । नेपालले बाघको सङ्ख्या बढाउन अन्तराष्ट्रियस्तरमा गरेको दोब्बरको प्रतिबद्धताभन्दा पनि बढेर झण्डै तेब्बर पुगेको छ, हाल यसको व्यवस्थापनमा समस्या देखिएको हो ? नेपालले बाघ संरक्षणमा गरेको प्रगतिका कारण अन्तर्राष्ट्रिय रुपमा नै प्रशंसा पाएको छ । तर पछिल्लो समय यसको व्यवस्थापनमा निकै चुनौती देखिएको छ । अहिले हामीले बाघलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ । मानवसँग द्वन्द्व बढिरहेको छ । कतिपय घटना के भइरहेको छ भने जङ्गलबाट बाघ बाहिर निस्केर गाउँ बस्ती पसेको बेला बाघलाई स्थानीयले घेरेर मारेको अवस्था पनि छ । अर्कोतिर मानिसलाई आक्रमण गर्ने वा मार्ने बाघलाई हामी खोरमा राख्छौँ । तर खोरको पूर्वाधार हेर्ने हो भने कहालीलाग्दो छ । न्यूनतम पनि पूर्वाधारको व्यवस्था गर्न सकिरहेका छैनौँ । यतिसम्म भइसक्यो कि बर्दिया, पर्सालगायत स्थानमा नरभक्षी बाघलाई राख्न बनाइएका पूर्वाधार भरिसकेका छन् । अब कहाँ राख्ने भन्ने समस्या छ । मेरो विचारमा (यो बहसको विषय हुनसक्छ) हामीले आफूसँग व्यवस्थापन गर्न चुनौती थपिएका वन्यजन्तु विदेशी मित्र राष्ट्रहरुलाई उपहारस्वरुप प्रदान गर्ने र त्यहाँबाट हामीसँग नभएका वन्यजन्तु ल्याउन सक्छौँ । बाघ व्यवस्थापनमा यसो गर्दा कस्तो होला, भन्ने मेरो विचार हो । हालै मात्र युनाइटेड अरब इमिरेट्सले हामीसँग हात्ती उपहार स्वरुप सहयोग मागेको छ भने कम्बोडियाले चित्तल मागेको छ । साथै ती देशबाट हामीसँग नभएका वन्यजन्तु पाउने अपेक्षा पनि हामी गर्छौं । पछिल्लो समय पहाडमा बाँदरले र तराईमा बँदेल, हात्तीलगायत वन्यजन्तुले बालीनालीमा गर्ने ठूलो क्षतिका कारण किसानहरु विस्थापित हुनुपर्ने अवस्था छ, यसको रोकथामका लागि यहाँको मन्त्रालयले के गर्दैछ ? यस विषयमा हाम्रो मन्त्रालय मात्र होइन तीनै तहका सरकारका नै गम्भीर छन् । पछिल्लो समयमा बसाइँसराइ, गाउँबाट युवाको पलायनसँगै कृषि क्षेत्रमा बुट्यान र झाडीको मात्रामा वृद्धि तथा वन्यजन्तुको समेत बढोत्तरी भएको देखिएको छ । यसले वरपरका कृषि क्षेत्रमा वन्यजन्तुबाट हुने विनास बढेको यथार्थ हो । यसमा सबैभन्दा बढी बाँदरको समस्या छ, यसको व्यवस्थापनका लागि विभिन्न विकल्पका बारेमा योजना बनाउने गरी अघि बढेका छौँ । बँदेललाई शिकार गर्न सकिने वन्यजन्तको सूचीमा राख्ने तयारी छ । यस सम्बन्धमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दिएका सुझावलाई पनि कार्यान्वयनका लागि योजना बनाइरहेका छौँ । संरक्षण क्षेत्रमा हासिल भएका उपलब्धिसँगै वन जङ्गलको क्षेत्रफल पनि बढेको छ, अब यसलाई जनताको आयआर्जन र मुलुकको समृद्धिसँग कसरी जोडने योजना छ ? म मन्त्रालयमा आएदेखि नै यो विषयमा बढी केन्द्रित भएर काम गरिरहेको छु । विश्वमा जुन देशमा प्रकृतिले जे स्रोत साधन दिएको छ, त्यसैबाट नै ती देशले समृद्धि हासिल गरेका छन् । उदाहरणका लागि, अरब तथा खाडीका मुलुकले पेट्रोलियम पदार्थ बेचेर ठूलो प्रगति गरेका छन् । तर उनीहरुले त्यो साधन उत्खनन गर्दा जमिन भासिन्छ, स्रोत समाप्त हुन्छ, विपद् आउँछ, बर्बाद हुन्छ भनेको भए के ती देशले कसरी प्रगति गर्न सक्थे होलान् । तर स्रोत साधनको उपयोग दिगो हुने गरी गर्नुपर्छ । त्यस्तै हामीलाई प्रकृतिले दिएको ठूलो स्रोत वन जङ्गल, जलस्रोत, हिमाल, यहाँको उपयुक्त हावापानी हो । तर हामीकहाँ कुनै प्राकृतिक स्रोत संरक्षण क्षेत्रमा प¥यो भने त्यहाँ छुन पनि नसकिने हाम्रो नियम कानुन छ । कर्मचारीको धारणा पनि त्यस्तै देखिएको छ । मेरो विचारमा व्यवस्थापन एउटा पक्ष हो । तर मुलुक समृद्धिका लागि उपलब्ध स्रोत साधनलाई व्यवस्थापन गरेर अधिकतम परिचालन गर्नैपर्छ । अहिले आरक्षको नामका कस्तोसम्म भएको छ कि मध्यवर्ती क्षेत्रलाई पनि आरक्ष भनेको छ, वनलाई पनि कति ठाउँमा आरक्ष भनेको छ । हामीले कुनै उपयोग गर्न पाएनौँ भने आज ४५ प्रतिशत क्षेत्रफल रहेको वन भोलि ५० प्रतिशत होला तर उपयोग गर्न सकेनौँ भने त्यसको उपादेयता के होला ? वन जङ्गलको क्षेत्रफल बढेको भएपनि स्वदेशी काठको सहज आपूर्ति हुन नसक्दा एकातिर वनमा काठ कुहिएर जाने अवस्था छ, अर्कोतिर वर्षेनी अर्बौको काठ विभिन्न मुलुकबाट आयात भइरहेको छ, यसमा के भन्नुहुन्छ ? यहाँको भनेको कुरा सही हो र यो मुलुकका लागि विडम्बना पनि हो । म मन्त्रालयमा आउने वित्तिकै यसमा काम गर्न खोजेको हो र संसद्मा पनि पटकपटक कुरा उठेको छ । यो समस्या समाधानका लागि केही दिनअघि मात्र सबै प्रदेशका मन्त्री र सचिवसहितको बैठक राखी छलफल गरेका छौँ । उहाँहरुको पनि सुझाव आएको छ । काठको मूल्य बढेर बजारमा आउन नसकेको कुरा आयो । यसमा अहिले हामीले आपूर्ति सहज बनाउन नियमावली संशोधन गर्न लागिरहेका छौँ । त्यसपछि काठको आपूर्ति बढाएर काठको आयात रोकिनेमा विश्वस्त छौँ । भविष्यमा काठको निर्यात गर्नेसम्मको दीर्घकालीन सोचका साथ अघि बढेका छौँ । वन मन्त्रालय विकास पूर्वाधारको बाधक बनेको टिप्पणी छ, यसमा के भन्नुहुन्छ ? यो आरोप लागेको सही कुरा हो । लगानी गर्नेले सधैँ छिटोछरितो र सहजता खोज्छ त्यस्तो भए मात्र लगानीकर्तालाई प्रोत्साहन पनि हुन्छ । तर हामी कहाँ भने लगानीकर्तालाई वाक्क लाग्ने कानुनी प्रक्रिया र झण्झट छन् । यो कुरा मैले यहाँ आएपछि अझ बुझ्न पाएँ । म मन्त्रालयमा आएदेखि यसमा सहज बनाउन लागेको छु । कुनै परियोजना अघि बढाउन चाहिने वातावरणीय प्रभाव मूल्याङ्कन अनुमतिका लागि नै एउटा फाइल वर्षांै घुमेको देखिन्छ । कहिले के नपुगेको भनेको छ । यो बिडम्बना हो । यस्ता विषयमा सरलीकरण गर्नै जिम्मेवारी यो मन्त्रालयको मात्र होइन, यो समग्र राज्यको पनि दायित्व हो । हामीले कानुन संशोधन गरेर सहज बनाउने प्रयास गरेका छौँ । वातावरण संरक्षणसँगै विकासलाई पनि अघि लैजानुपर्छ । अन्त्यमा यस वर्षको जलवायु सम्मेलन (कोप–२८) मा नेपालको तयारी कस्तो छ ? हामीले आफ्नो तयारी तीव्रताका साथ अघि बढाएका छौँ । तयारीका लागि वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठक पनि सम्पन्न भएको छ । नेपाललगायतका अल्पविकसित मुलुकले जलवायु अनुकूलनको विश्वव्यापी लक्ष्यमा देखिने गरी प्रगति र सोहीअनुसार प्रतिफल सुनिश्चित गर्ने, अनुकूलनको लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह सार्वजनिक माध्यमद्वारा अनुदानस्वरूप प्रदान गर्ने, पर्वतीय राष्ट्रहरुको मागलाई जोडदार रुपमा उठाउन सरकारले तयारी गर्नुपर्ने र हानी तथा नोक्सानी वित्तलाई पिछडिएका र अल्पसङ्ख्यक समुदायको क्षतिपूर्तिको मागलाई जोडदार रूपमा उठाउन सम्मेलनमा नेपालले नेतृत्व लिनेछ । कोप–२८ मा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानी र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भएर मुद्दा उठाउने तयारी गरेका छौँ । सम्मेलनमा हाम्रा सफल अभ्यास पनि विश्वलाई देखाउने छौँ भने हामीले अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिबद्धता पूरा गरेका छाँै । अब हामीले पाउनुपर्ने दाबी र क्षतिपूर्तिका लागि दृढताका साथ अन्तर्राष्ट्रिय मञ्चमा आवाज बुलन्द गर्छौं । यस पटकको सम्मेलन पक्कै पनि केही फरक हुन्छ र सार्थक उपलब्धि पनि हासिल हुने विश्वास गरेको छु । अर्को कुरा यस सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति वा प्रधानमन्त्री तहको उच्चस्तरको सहभागिता हुनेसमेत अपेक्षाका साथ तयारी गरेका छौँ । रासस
एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालेका विशाल उप्रेतीको राजिनामा स्वीकृत भएसँगै पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी पाएका हुन् । पौडेल यसअघि संस्थाको प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए ।
स्टार हस्पिटलले सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । स्टार हस्पिटलद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटलले ४० करोड रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार शेयर सहित ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ भन्दा माथि हुने जानकारी गराईएको छ । यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, क्ष्ख्ँ सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँक संग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसंग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने यो हस्पिटल सर्वसाधारणहरुलाई शेयर जारी गर्ने पहिलो संस्था हुने जानकारी गराईएको छ ।
एलआईसी नेपालका डीसीईओको कार्यकाल सकियो
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)का नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल सकिएको छ । वर्णवालको कार्यकाल गत सेप्टेम्बर ११ मा सकिएको हो ।
एम्पियर इलेक्ट्रिक स्कुटरका लागि बुकिङ खुला
काठमाडौं । सन् १८५९ मा स्थापित ग्रिभ्स कपास एन्ड कम्पनीको छाताअन्तर्गत रहेको एम्पियर एक प्रतिष्ठित उपब्रान्डले भारतभरि १ लाखभन्दा बढी सन्तुष्ट ग्राहकसँग प्रभावशाली फलोअर्स प्राप्त गरेको छ । इलेक्ट्रिक मोबिलिटीमा आफ्नो प्रतिबद्धताका लागि प्रख्यात एम्पियरले अब नेपालमा आफ्नो पहिचान बनाइरहेको छ। केडिया इन्टरनेसनलले नेपालमा एम्पियर (बाई ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी) इलेक्ट्रिक स्कुटरका लागि आधिकारिक वितरकको भूमिका गर्वका साथ ग्रहण गरेको छ। यो साझेदारीले नेपाली बजारमा एम्पियरको आगमनलाई चिह्न लगाउँछ। यससँग आकर्षक डिजाइन, उल्लेखनीय दायरा र आकर्षक सुविधाहरुको एर्रे सबै किफायती मूल्यहरुमा प्रस्तावित र पकेट–मैत्री वित्तिय विकल्पहरुद्वारा पूरक छन्। ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली दर्शकका लागि दुई असाधारण इलेक्ट्रिक स्कुटर मोडलहरु एम्पियर प्राइमस र एम्पियर म्याग्नस ईएक्स प्रस्तुत गर्ने तयारी गरेको छ। नेपालमा विद्युतीय गतिशीलताको भविष्यको अनुभव गर्न उत्साही र पर्यावरण सचेत उपभोक्ताहरुलाई निमन्त्रणा गर्दै आधिकारिक बुकिंगहरु अब खुला छन्। एम्पियरका साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु गर्न तयार हुनुहोस् । किनकि यसले नेपालमा विद्युतीय सवारीसाधनको नयाँ युगको सुरुआत गरेको छ। प्राइमस प्राइमसको मुटुमा मिड–माउन्ट गरिएको मोटर छ। जसले ४ किलोवाटको शक्तिशाली पीक पावर र १५७ एनएमको प्रभावशाली अधिकतम टर्क दिन्छ। यस विद्युतीय आश्चर्यलाई पावर गर्ने एक बलियो ३केडब्ल्यू (४८ भी/६०एएच) एलएफपी ब्याट्री हो। जुन अनबोर्ड स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) सँग सुसज्जित छ। १०० प्रतिशत क्षमतामा पुग्नका लागि द्रुत ५–घण्टा चार्ज समय र द्रुत चार्जिङका लागि समर्थनका साथ यात्रामा कहिल्यै अवरोध हुँदैन। प्राइमसले पावर मोडमा एकल चार्जमा १०७* किलोमिटरको प्रभावशाली एआरएआई प्रमाणित दायराको साथ बेन्चमार्क सेट गर्दछ। जसले ७७ किलोमिटर प्रतिघन्टाको उच्च गति र ४.२ सेकेन्डमा लाइटनिङ–क्विक ०–४० किलोमिटर प्रतिघन्टा एक्सेलेरेसन प्रदान गर्दछ। स्कुटरको बलियो चेसिसले २२–लिटरको फराकिलो बुट स्पेस र सवारका लागि पर्याप्त लेग्रुम प्रदान गर्दछ। १४–डिग्री ग्रेडेबिलिटी (एकल राइडर) र १५५ मिमी ग्राउन्ड क्लियरेन्सका साथ प्राइमसले पहाडी भू–भाग र अफ–रोड ट्रेलहरु सजिलैसँग नेभिगेट गर्दछ, यसलाई साहसिक खोज्नेहरुको लागि एक आदर्श साथी बनाउँछ। प्राइमसले तीनवटा छुट्टै सवारी मोडहरुः इको, सिटी र पावरका साथ तपाइँको आवश्यकतालाई अनुकूल बनाउँछ। यसले टाइट स्पेसहरुमा सहज अभ्यासका लागि रिभर्स मोड पनि प्रदान गर्दछ। मोटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार* किलोमिटर वारेन्टीको थप आश्वासनका साथ तपाइँ मानसिक शान्तिका साथ जीवनभरको सवारीमा लाग्न सकिनेछ। नेपालमा यो उल्लेखनीय स्कुटरको मूल्य रु. ३ लाख ५९ हजार ९९९ रहेको छ। म्याग्नस ईएक्स एम्पियर म्याग्नस ईएक्स प्रस्तुत गर्दै एक शक्तिशाली शहरी इलेक्ट्रिक स्कूटर। यसमा १.८ किलोवाट पीक पावर र ८६ एनएम अधिकतम टर्क भएको हब–माउन्टेड (बीएलडीसी) मोटर रहेको छ। २.३ केडब्ल्यू सीएएन–सक्षम लिथियम–आयन ब्याट्री मात्र ६ घन्टामा पूर्ण रुपमा चार्ज हुन्छ र ५५* किलोमिटर प्रतिघन्टाको उच्च गतिको साथ १००८ किलोमिटरको एआरएआई प्रमाणित दायरा प्रदान गर्दछ। म्याग्नस ईएक्सले थप सुविधाका लागि दुई मोडहरु (उच्च र निम्न) र रिभर्स मोड प्रदान गर्दछ। यसमा सुरक्षा र सुविधाको लागि एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र एलईडी हेडल्याम्प समावेश छ। गाडि दोहोरो हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र समायोज्य रियर सस्पेन्सनको साथ सुरक्षालाई प्राथमिकता दिइन्छ। बलियो चेसिसले २२–लिटर बुट स्पेस र सहर आवागमनको लागि पर्याप्त लेग्रुम प्रदान गर्दछ। मोटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार* किलोमिटर वारेन्टीका साथ म्याग्नस ईएक्सले पावर, आराम र दक्षताको संयोजन गर्दछ। यो आकर्षक मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ।