विकासन्युज

वेस्टर्न युनियनबाट एक लाख बढीको कारोबार गर्दा १० लाख पाइने

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट एक लाख बढीको कारोबार गर्दा १० लाख रुपैयाँ पाइने भएको छ । वेस्टर्न युनियनले दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याएको नयाँ योजना अन्तर्गत उक्त रकम पाइने भएको हो । संस्थाले नेपाली चाडपर्वको अवसरमा ग्राहकहरूको खुशी गुणा गर्ने लक्ष्यसहित ‘दशैंमा दश गुणा’ योजना ल्याएको छ । जुन असोज ८ गतेदेखि मंसिर १० गतेसम्म देशभर लागू हुने बताइएको छ । वेस्टर्न युनियनका अनुसार यो अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । उक्त योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पाउने छन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यदि विजेताको कारोबार एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले नेपालका सबै जिल्लाहरूमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरमध्ये जुनसुकैबाट आफ्नो रेमिटेन्स प्राप्त सक्ने संस्थाले जानकारी गराएको छ ।

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

काठमाडौं । आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु गरेको छ । आइएमईले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको हो । कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो  रेमिटेन्स कम्पनी बनेको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहनुभएका  नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् । यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।

आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार, यस्तो छ कारण

काठमाडौं । आइतबारको सेयर बजारमा माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका २८५ वटा स्क्रीप्समध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको हो । बैंकको एकैदिन १३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको बजारमा अन्य कुनै पनि कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छैन । बढी कित्ता सेयर किनबेच गर्नेको सूचीमा भने बैंक दोश्रो स्थानमा छ । एकैदिन बैंकको ५ लाख ६९३ कित्ता सेयर किनबेच भएको छ । बैंकले घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएसँगै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । जसले गर्दा सेयर कारोबार बढी हुन पुगेको जानकारहरु बताउँछन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसको लागि बैंकले भोलि अर्थात असोज ८ गते बुक क्लोज गर्दै छ । बैंकको सेयर कारोबार बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको तुलनामा बैंकको सेयर मूल्य ४.३० रुपैयाँले घटेर प्रतिकित्ता २६३.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.६१ प्रतिशतले घटी हो । त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा सूर्य नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ९७ करोड रुपैयाँले घटी हो । गत बिहीबारको बजारमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबारसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । दिनभरको कारोबारमा परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा झरेको छ । जुन ०.९५ प्रतिशतले घटी हो । आइतबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंक, हिमालयन लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले र थ्री स्टार हाइड्रोवारको सेयर मूल्य ९.७३ प्रतिशतले बढेको छ ।

स्पष्टीकरणको नाममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक हटाउने स्वास्थ्यमन्त्रीको कसरत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामाेदर बसौलालाई हटाउने कसरत गरेका छन् । निर्देशक बसौलाले काम गर्न नसकेको आरोप लगाउँदै मन्त्री बस्ननेतले निर्देशक बसौलालाई असोज ४ गते ११ बुँदे स्पष्टीकरण सोधेका थिए । निर्देशक बसौलाले आफूलाई तोकिएको काम गर्न नसकेको भन्दै ११ बुँदे स्पष्टीकरण सोधिएको र त्यसको जवाफ पठाउने तयारी गरेको विकासन्युजलाई बताए । बोर्डले दुई वर्ष अगाडि आवश्यक कर्मचारीको दरबन्दी पठाएको तर, त्यसको कार्यान्वयन नभएको र पछिल्लो समयमा काजका कर्मचारी समेत फिर्ता पठाउने काम भएकाले ठूलो संख्यामा कर्मचारीको अभावमा पनि बोर्डले काम गरिरहँदा पनि आफूलाई काम काम नगरेको भनेर आरोप लगाइएको उनको भनाइ छ । डा. बसौलाका अनुसार बोर्डले दुईवर्ष अगाडि ७७ जिल्लामा काम गर्न ९ सय भन्दा धेरै कर्मचारी चाहिने भनेर ओएनएम प्रस्ताव गरेको थियो । तर, मन्त्रालयले त्यसलाई स्वीकृत नगरेपछि अहिले अस्थायी, काज र करारमा साढे दुई सय जना जति कर्मचारीहरुले काम गरिरहेका छन् । उनले उपलब्ध जनशक्तिका आधारमा आफूले सक्दो काम गरिहेको बताउँछन् । ‘९ महिनादेखि बोर्डको अध्यक्ष पद खाली छ, जम्मा साढे दुई सय जना कर्मचारीहरुले काम गरेका छौं, यसबीचमा पनि पाँच वर्षमा ७२ लाख जना व्यक्तिहरु बीमा सेवामा आवद्ध भएका छन्’, उनले भन्छन्, ‘जर्मनमा ७५ प्रतिशत बिमित आवद्ध हुन एक सय वर्ष लागेको थियो ।’

राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनावर गाईको चित्र अड्ढित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का २०८० असोज ७ गते टकमरी गरी बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको १ हजार ६सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

दुई महिनामा भित्रिए ९ सय ईभी, नाडा अटो शोकाे प्रभाव

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ९ सय विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांक अनुसार ८ सय ९८ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौ महिनामा मात्रै नेपाल भित्रिएको छ । गाडी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको अटोशो लक्षीत गर्दै उक्त संख्याका गाडीहरु नेपाल भित्रिएका हुन् । तीन वर्षपछि आयोजना भएको अटोशोमा उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको र पछिल्लो समय बढ्ने व्यवसायीहरुले बताएका छन् । तथ्यांक अनुसार दुई महिनाको अबधिमा ५१ देखि १ सय किलोवाटसम्मका गाडीहरु धेरै भित्रिएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत उक्त किलोवाटका गाडी आयातमा छुट दिएपछि आयात बढ्दै आएको हो । साउन र भदौमा ५० किलोवाटसम्मका २ सय ५५ वटा, ५१ देखि १०० किलोवाटसम्मका ६ सय ३१, १०१ देखि २०० किलोवाटसम्मका ९ र २०१ देखि ३ सय किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको तथ्यांकमा उल्लेख छ । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

भारतमा सिमेन्ट निर्यात बढ्न थाल्यो, कसमस सिमेन्टले पनि निर्यात गर्दै

काठमाडौं । पछिल्लो समय नेपाली सिमेन्टको भारतीय बजारमा माग बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपाली सिमेन्टको माग भारतीय बजारमा बढ्दो अवस्थामा देखिएको हो । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ४२ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको छ । तथ्यांक अनुसार २५ करोड ३६ लाख ४३ हजार रुपैयाँ बराबरको १ लाख ११ हजार १०६ टन क्लिंकर र १६ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख २७ हजार ३०२ टन सिमेन्ट निर्यात गरेको हो । नेपालले साउनमा १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७ सय ४२ टन क्लिंकर र ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५ सय ७३ टन तयारी सिमेन्ट निर्यात गरेको हो । गत आर्थिक वर्षमा ७७ करोड ९३ लाख ६ हजार बराबरको १० लाख ४ हजार २३ टन सिमेन्ट निर्यात भएको थियो । जसमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार बराबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको थियो । गत २०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घाखाँची ब्राण्डको सिमेन्ट र २०८० को जेठ २९ गतेदेखि बालाजी सिमेन्टले बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए । यस्तै, पछिल्लो समय भदौ २१ गतेदेखि सिजी सिमेन्टले समेत नेपाली सिमेन्ट भारत निर्यात सुरू गरिसकेको छ । सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक दश करोडबढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका थिए । उनीहरुका अनुसार २०७९ को असारबाट निर्यात सुरु भएको नेपाली सिमेन्टको माग भारतका विभिन्न शहरमा बढ्दो क्रममा रहेको छ । पाल्पा सिमेन्टका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल भारतीय बजारमा माग बढ्दो रहेको बताउँछन् । ‘अहिले वर्षातको सिजन केही कम निर्यात भएको छ, अब विस्तारै बढ्दै जान्छ’, उनले भने, ‘भारतीय बजारमा नेपाली सिमेन्टको माग राम्रो भएर अहिले अरु उद्योगले पनि निर्यातको तयारी गरिरहेका छन् ।’ सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा नेपाली सिमेन्ट उद्योगीहरु निर्यातमा हौसिएको बताउँछन् । हाल चार वटा उद्योगले निर्यात सुरु गरिरहेका छन्, अब छिट्टै नयाँ उद्योगहरु थपिने क्रममा छन्’, उनले भने । उनको कम्पनी कसमस सिमेन्टले निर्यातका लागि भारतसँग अनुमति माग गरिसकेको छ । ‘हामीले अनुमति माग गरेका थियौँ, हामीलाई अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ, अनुमति पाएसँगै निर्यातको तयारी थालिहाल्छौँ’, उनले भने ।

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न दुई देशबीच भयो समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्धिपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको अवसरमा सिएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका हुन् । यस समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुबैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ । काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन-सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिबृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ । यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन् । नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् । परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यवसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यवसायिक परिषद महत्वपूर्ण माध्यम बन्ने बताए । उनले परिषद्ले देखिने गरी प्रभावकारी रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे । उक्त समझदारी हस्ताक्षर कार्यक्रममा परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, भीम घिमिरे समेत सहभागी थिए ।