विकासन्युज

हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी १५० करोड रूपैयाँ तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँका दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरिसकिएको छ । भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।  

सानिमा बैंकको सेवा मुल्याङ्कन क्युआर कोडबाट हुने

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ । उक्त क्युआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

‘पर्याप्त गृहकार्य नगरी शिक्षा विधेयक ल्याइयो’

काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा सरकारले शिक्षा क्षेत्रका सरोकार भएका पक्षसँग पर्याप्त गृहकार्य नगरी विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याएकामा टिप्पणी गरिएको छ । आजको बैठकमा समितिका सभापति प्रकाश पन्थले शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग छलफलसहित सार्वजनिक शिक्षाको गुणस्तरवृद्धि र संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए । उनले कानुन बनाउनुअघि पर्याप्त गृहकार्य गर्न सरकारसँग आग्रह गरे । सदस्य नारायणप्रसाद दाहालले विगतमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घसँग विभिन्न सहमति भएकामा त्यसको सम्बोधन नगरी विधेयकको मस्यौदा ल्याइएकाले शिक्षकले सडक आन्दोलन गर्नुपरेको बताए। ‘सरकार सहमति गर्न अगाडि छ, तर कार्यान्वयनमा भने पछाडि देखिन्छ । कतिपय विधेयकमा के के विषय समावेश हुँदैछ भन्ने कुरा सम्बन्धित मन्त्रीलाई पनि थाहानै हुँदैन । राज्य सञ्चालनको प्रक्रियामै कतै कमी रहेको देखिन्छ ।’ नेपाली कांग्रेसका सांसद् अनिता देवकोटाले सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी विधेयक ल्याउनुपर्ने बताए । समितिमा आमन्त्रित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’ का अध्यक्ष डिके ढुङ्गानाले गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको पनि योगदान रहेकाले अभिभावकको रोजाइमा राज्यले हस्तक्षेप गर्न नमिल्ने तर्क गरे । सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज मुक्तानले नीति, निर्माणका तहमा आफ्नो महासङ्घलाई एक हिस्सेदारका रुपमा राख्न माग गरे। नेपाल अभिभावक सङ्घका अध्यक्ष केशव पुरीले राज्यले पूर्णतः निःशुल्क शिक्षा दिन नसक्ने हो भने सामुदायिक विद्यालयले निश्चित शुल्क लिन पाउने प्रबन्ध हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्रिय अभिभावक सङ्घका रामप्रसाद न्यौपानेले राज्यको उच्च तहमा रहेका र कर्मचारीका छोरीछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा प्रस्ताव गरे । उच्चमाध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) का अध्यक्ष टीकाप्रसाद न्यौपानले उच्चमावि तहका शिक्षकको दरबन्दी कायम गर्न माग गरे । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेपछि असोज ५ गते नेपाल सरकार र आन्दोलनरत महासङ्घबीच छ बुँदे सहमति भएको थियो ।

माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३.३० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २६३.६० रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २३२.६६ रुपैयाँलाई आधार मानेर हुने छ ।

ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक महिला फुटसलको उपाधि

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २-१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो । त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् । बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।  

पुर्ख्यौली पेसालाई विश्वबजारमा ब्राण्डिङ गर्न कस्सिएका तीन युवा

काठमाडौं । सामान्यतया अमेरिका, यूरोप, अष्ट्रेलिया लगायत विकशित देशमा पुगेका नेपालीहरु उतै बस्ने चाजोपाँजो मिलाउँछन् । उनीहरु उतै सेटल हुने प्रयत्न गर्छन् । कतिपयका लागि विदेश सोख र सपना बनिरहेको छ । स्वदेशमा काम पाइएन, पाइए पनि भनेअनुसारको तलब पाइएन लगायतका समस्याहरु देखाउँदै युवाहरु विदेशिरहेका छन् । तर, विदेशी रहनसहन, विदेशी सपना र त्यो शोख छोडेर आफ्नै देशमा रमाउने र कमाउने योजनाका साथ सुरु भएको छ ‘नेपाल टि कलेक्टीभ’ । तीन जना युवाको सक्रियतामा नेपाल टि कलेक्टीभ काठमाडौंको ठमेलमा सुरु भएको छ । अमेरिकाको न्यूयोर्कमा व्यवसाय गर्दै आएका तीन युवाहरुले अहिले आफ्नो भविश्य नेपालमै देखेका छन् । अमेरिकाको न्यूयोकर्मा अमेजन मार्फत् नेपाली चियालाई बिक्री गर्दै आएका निश्चल बास्कोटा, प्रतिक रिजाल र अमिगो खडका स्वदेशमा नै चियाको ब्राण्ड गर्न कस्सिएका छन् । नेपाली चियालाई अमेजन मार्फत् बिक्री सुरु गरेका उनीहरुले विगत ४ वर्षदेखि ‘नेपाल टि कलेक्टीभ’ नाम मार्फत ब्राण्डीङ गरेर बिक्री गरेका हुन् । उनीहरुले हाल नेपालका विभिन्न स्थानका ८ वटा चिया उद्योगसँग समन्वय गरेर चिया खरिद÷बिक्री गर्दै आएका छन् । हाल नेपालमा उत्पादन भएका चियामध्ये ९६ प्रतिशत चिया भारत निर्यात हुँदै भारतीय ब्राण्ड मार्फत् बिक्री हुने गरेको नेपाल टि कलेक्टीभका सञ्चालक अमिगो खड्का बताउँछन् । ‘अहिले भारतमा मात्रै ९६ प्रतिशतको हाराहारीमा नेपाली चिया निर्यात हुने गरेको छ, तर, नेपाली चिया भनेर आइडन्टिफाइड नै हुँदैन, यसलाई नै परिवर्तन गर्न हामीले नेपाली ब्राण्ड स्थापना गरेका हौं,’ उनले भने । भारत लगायतका देशमा निर्यात भएको चिया नेपाली भएपनि नेपाली ब्राण्डलाई स्थापित गराउन नै अमेरिकाबाट नेपाल फर्किएको उनको भनाइ छ । ‘अहिले नेपालमा किसानले राम्रो उत्पादन गर्छन, तर बजारीकरणमा समस्या झेल्नु परेको छ, चियामा पनि समस्या उस्तै हो’, उनले भने, ‘बजारीकरण गर्न नसकेपछि भारतबाट आएका व्यवसायीहरुलाई सस्तो मूल्यमा दिनुपर्ने जुन बाध्यता छ, त्यही बाध्यताको अन्त्य गर्न नै हामी लागि परेका हौं ।’ उनले विभिन्न देशमा चिया खाँदा भारतीय कम्पनीले ब्राण्डिङ गरेको चियाको लेबलमा मात्र नेपाली चिया उल्लेख हुने गरेको बताए । ‘चियाको ब्राण्डिङ गर्न होलसेलमार्फत् सहज हुने भएपछि साथीहरुले नेपालबाट बोराका बोरा चिया अमेरिका लगेर बिक्री सुरु गर्नुभएको थियो, तर उहाँहरुले आफ्नो ब्राण्ड मार्फत् बिक्री गर्ने भएपछि हामीले नेपाली ब्राण्ड मार्फत बिक्री सुरु गरेका हौं,’ उनले भने । नेपालकोे विभिन्न फार्महरुको चिया कलेक्सन गरेर हामीले बिक्री गछौँ भन्ने जानकारी दिनकै लागि ‘नेपाली टि कलेक्टीभ’ नाम राखिएको उनको भनाइ छ । होलसेल मार्फत चिया बिक्री गर्दा कम्पनीले विभिन्न १२ वटा अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेको छ । नेपाल टि कलेक्टीभको चिया खरिद गर्ने ग्राहक १० हजारभन्दा बढी पुगिसकेका छन् भने ४.८ रेटिङ पुगेको छ । पुर्ख्यौली व्यवसायलाई ब्राण्ड गर्न स्वदेश फर्कियौं नेपाल टि कलेक्टीभका तीन लगानीकर्तामध्ये निश्चल बास्कोटा र प्रतिक रिजालको पुर्खाेली पेशा नै चिया हो । रिजालका हजुरबुबाले ४० वर्षदेखि पाँचथरको फिदिममा ‘कञ्चनजंघा टी स्टेट’ सञ्चालन गर्दै आएका छन् । हजुरबुबाले सञ्चालन सुरु गरेको टी स्टेटमा उत्पादित चिया अमेरिकामा निर्यात गरेर बिक्री सुरु गरेका उनी अहिले नेपाली चियाको ब्राण्डिङ गर्नकै लागि स्वदेशी फर्किएका हुन् । ‘मेरो हजुरबुबाले १९९० मा फिदिममा पहिलो पटक चिया बगान स्थापना गरेर सञ्चालनमा ल्याउनु भएको हो, त्यो बेलामा फिदिममा न सडक पुगेको थियो न त विद्यालय र विद्युत पुगेको थियो, उनी भन्छन्, ‘४० वर्षमा त्यहाँ धेरै परिवर्तन आयो, त्यसको मुख्य कारण नै हजुरबुबाको कञ्चनजंघा टी स्टेट नै हो ।’ सानो हुँदा बुबाआमाले चिया उद्योगमा काम गरेको देखेका उनले फिदिमबाट न्यूयोर्क लगेर बिक्री गर्ने गरेका थिए । करिब ४ वर्ष अमेजन मार्फत् चिया बिक्री गरेका उनले २ वर्षदेखि ‘नेपाली टि कलेक्टीभ’ नेपाली ब्राण्ड स्थापना गरी बिक्री गर्दै आएका छन् । लामो समयसम्म अमेजन मार्फत् चिया बिक्री गर्दा आफ्नै ब्राण्ड बनाउन मन लागेपनि नेपाल टि कलेक्टीभ मार्फत् नेपाली चियाको ब्राण्डिङ गरेको उनी बताउँछन् । ‘मैले नेपालबाट बोराका बोरा चिया लगेर न्यूर्याकमा बिक्री गरें, मैले बिक्री गरेको नेपाली चिया उनीहरुले आफ्नो ब्राण्ड मार्फत बिक्री गर्ने गर्थे, नेपाली चिया तर भारत र दार्जिलिङको ब्राण्ड मार्फत बिक्री भएको देखेपछि हामीले आफ्नै ब्राण्ड बनाएका हौं,’ उनल भने । कम्पनीले चिया बिक्री मार्फत गरेको नाफाको १ प्रतिशत रकम सिधै चिया उत्पादन किसानलाई समेत दिने गरेको छ । नाफाबाट सीमित रकम किसानलाई वितरण गर्दा उनीहरुको मनोबल वृद्धि तथा चिया उत्पादनमा प्रोत्साहन थपिएको उनको भनाइ छ । उनीहरुले चालू आर्थिक बर्षमात्र १३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेका छन् । चिया पारखीलाई फाममै लगिने कम्पनीले चिया पारखीहरुलाई बगान देखाउने गरेको छ । विश्वका चिया पारखीको अनुभव सेयरीङ गर्न तथा उनीहरुलाई नेपालको चिया बगान देखाउनका लागि गत वर्ष मात्रै २६ जना अमेरिकीलाई नेपाल ल्याइएको थियो । भिसा र एयर टिकट बाहेक कम्पनीले प्रतिव्यक्ति ३३ सय अमेरिकी डलरमा १० दिनका लागि नेपाला ल्याएर बगानसम्म पुर्याउने गरेको छ । ‘चिया कसरी उत्पादन हुन्छ र कसले उत्पादन गर्छन् भन्ने देखाउन हामीले उनीहरुलाई नेपाल ल्याउँछौँ, यसबाट नेपाली चियाको प्रवद्र्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो’, सञ्चालक रिजालले भने । सन् २०१६ देखि अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई अर्थोडक्स चिया बिक्री वापत् उनीहरुले हालसम्म १ करोड कप चिया बिक्री दावी गर्छन् । नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । गत शनिबारदेखि कम्पनीले ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा चिया बार सञ्चालनमा ल्याएको छ । दराज अनलाइन मार्फत विभिन्न प्रकारका चिया बिक्री गर्दै आएका उनीहरुले पहिलो पटक ठमेलमा चिया बार सञ्चालनमा ल्याएका हुन् ।

नेपाल-चीन बिजनेस समिट : लगानी अभिवृद्धि र निर्यात सहजीकरणका लागि चीनको निजी क्षेत्र तयार

काठमाडौं । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा दुवैतर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले उक्त धारणा राखेका हुन् । द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको स्पष्ट पार्दै चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गरे । प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने पनि बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले निजी क्षेत्रको प्रवर्धनमा सरकार सधैं तत्पर रहेको स्पष्ट पारे । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देश-विदेशमा पहल गरिरहेको भन्दै उनले महासंघको सराहना पनि गरे । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्रीले बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । सिसिपिआइटीको मुख्यालय बेइजिंगमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । यसैगरि उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए । समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको उनले बताए । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए । नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए । अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैंकको आवश्यकता रहेको बताए । चिनिया बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए । सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्धिपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास दिलाए । महासंघको वैदेशिक लगानी एवं अन्तराष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पुर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसंगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्टिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ । यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्धिपक्षीय छलफल समेत भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो । यसैगरि महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम वहादुर शाहीले पनि वैठकमा सहभागिता थियो । यसैगरि कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र सोभा ज्ञवालीको पनि कार्यक्रम एवं वैठकमा सहभागिता थियो । समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसंग लगानी विस्तारको समझदारी गरेको छ । यसै गरि चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससंग पनि सम्झौता गरेको छ । महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

वेस्टर्न युनियनबाट एक लाख बढीको कारोबार गर्दा १० लाख पाइने

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट एक लाख बढीको कारोबार गर्दा १० लाख रुपैयाँ पाइने भएको छ । वेस्टर्न युनियनले दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याएको नयाँ योजना अन्तर्गत उक्त रकम पाइने भएको हो । संस्थाले नेपाली चाडपर्वको अवसरमा ग्राहकहरूको खुशी गुणा गर्ने लक्ष्यसहित ‘दशैंमा दश गुणा’ योजना ल्याएको छ । जुन असोज ८ गतेदेखि मंसिर १० गतेसम्म देशभर लागू हुने बताइएको छ । वेस्टर्न युनियनका अनुसार यो अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । उक्त योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पाउने छन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यदि विजेताको कारोबार एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले नेपालका सबै जिल्लाहरूमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरमध्ये जुनसुकैबाट आफ्नो रेमिटेन्स प्राप्त सक्ने संस्थाले जानकारी गराएको छ ।