विकासन्युज

नेपाल बैंकबाट बाहिरिँदै सीईओ अधिकारी, नयाँ सीईओ छनोट गर्न समिति गठन

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । स्रोतका अनुसार अधिकारीको सीईओको रुपमा दोहोरिने सम्भावना न्यून छ । वि.सं. २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी असोज १४ गते बैंकबाट बाहिरिन लागेका हुन् । बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ । बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ । २०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।

एमपीआईएको पुरानै कार्यसमितिले पायो निरन्तरता

काठमाडौं । मोबाइल फोन इम्पोर्टस् एशोसिएसन (एमपीआईए) को पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । असोज २ गते सम्पन्न संस्थाको साँतौ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा ९ सदस्य रहेको कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभामा समितिका महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए । त्यस्तै, कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

होण्डाले ल्यायो दशैंमा दश लाख योजना

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् । साथै, कम्पनीले ग्राहकहरुलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु १ फाइनान्स योजना’ मा पनि यो ‘दशैमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कूटरको हकमा आएको यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

वनका कारण ऊर्जाका आयोजना समस्यामा परे तत्काल समाधान गरिदिनुस् : मन्त्री बस्नेत

काठमाडौं । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री विरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ । वन तथा वातावरण मन्त्रालयमा आइतबार भएको छलफलमा वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा सहमति प्राप्त हुन नसक्दा जलविद्युत् र सिँचाइ आयोजनाको काम लामो समयदेखि अगाडि बढ्न नसकेको पाइएकाले तत्काल समस्या समाधान गरिदिन ऊर्जामन्त्री बस्नेतले आग्रह गरे । अधिकांश प्रसारण लाइनका आयोजनामा समस्या देखिएको र वन क्षेत्रको जग्गा प्रयोगको अनुमति पाउन नसक्दा आयोजनाको लागत बढेको तथा समय समेत बढ्न जाँदा राष्ट्रिय रुपमा नै जटिलता पैदा भएको मन्त्री बस्नेतको भनाइ थियो । मन्त्री बस्नेतले समस्या मात्रै देखाउने र समाधानको उपाय नखोज्ने प्रवृत्ति मौलाएको भन्दै तत्काल निरुपणको उपाय खोजिदिन वन मन्त्रालय र सम्वद्ध अधिकारीलाई आग्रह गरे । ‘यो ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको मात्रै समस्या होइन, राष्ट्रिय समस्या हो । कानुनी रुपमा नै समाधान गर्नुपर्ने भए कानुनमा सुधार गरौं, मन्त्रिपरिषद्बाट समाधान हुने भए मन्त्रिपरिषद्मा लैजाऔं’ मन्त्री बस्नेतले भने- ‘व्यवहारिक रुपमा मिलाउन सकिने अवस्था भए तल नै मिलाऔं । तर लामो समयसम्म आयोजना अल्झाएर राख्दा मुलुकले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई विशेष ख्याल गरौं।’ आफूले पनि विगतमा वन तथा वातावरण मन्त्रालय सम्हालेको दृष्टान्त पेश गर्दै मन्त्री बस्नेतले हरित ऊर्जा उत्पादनमा बढावा दिनका लागि पनि यस मन्त्रालयले ऊर्जा मन्त्रालयलाई केही सहजीकरण गरिनुपर्ने बताए । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानको अनुमति नपाउने हो भने काठमाडौँ उपत्यकामा नै थप बिजुली ल्याउन नसकिने अवस्थाको सिर्जना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यस विषयलाई गम्भीरताका साथ लिइदिन आग्रह गरे । मन्त्री बस्नेतले कानुनको दफा मात्रै समात्ने प्रवृत्ति बढेको, कर्मचारीतन्त्रले फुकाउन सक्ने कतिपय विषयमा समेत निर्णय हुन नसक्दा पूर्वाधारका आयोजनामा समस्या पैदा भएको स्पष्ट पारे । अधिकांश प्रसारण लाइनमा समस्या देखिएको र अब त्यस्ता आयोजना अगाडि बढाउनै नसकिने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई राष्ट्रिय दायित्व ठानेर समाधानको प्रयास गर्न वन मन्त्रालयलाई आग्रह गरे । मन्त्री बस्नेतले समस्या लामो समयसम्म राख्न सकिने अवस्था नरहेको उल्लेख गर्दै कोहलपुर-सुर्खेत प्रसारण लाइनका कारण समग्र कर्णाली प्रदेश नै अध्यारो हुने अवस्था आएकाले तत्काल अगाडि बढाइदिन अनुरोध गरे । राष्ट्रिय निकुञ्ज भित्र काम गर्न नपाएका कारण एक सय ३२ केभी क्षमताको सो प्रसारण लाइन लामो समयदेखि अगाडि बढ्न सकेको छैन । यस्तै, कोशी करिडोर, मस्र्याङदी करिडारेलगायतका आयोजनामा पनि वनकै कारण समस्या पैदा भएको छ । यसैगरी, तनहुँ सेती जलविद्युत् आयोजनाको बाँधस्थल र प्रसारण लाइन निर्माणमा पनि जटिलता पैदा भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा पनि वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा समस्या देखिएको छ । सो अवसरमा वन तथा वातावरण मन्त्री महतोले स्वच्छ ऊर्जा उत्पादनमा सरकारकोतर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न पनि जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गर्नुैपर्ने बताए । उहाँले भौतिक पूर्वाधार निर्माणको काम राष्ट्रिय आवश्यकता र महत्वका भएकाले असाध्यै रुढीवादी तरिकाले सोच्न नहुने उल्लेख गरे । ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार स्तम्भका रुपमा लिइएकाले पनि यसमा सहजीकरण गर्नु हामी सबैको दायित्व भएकाले सोही अनुसार व्यवहार गर्न मातहतका सबै अधिकारीलाई मन्त्री महतोले निर्देशन दिए । वातावरण संरक्षणका दृष्टिले पनि जलविद्युत् आयोजनालाई सहजीकरण गर्नैपर्ने दायित्वलाई आत्मसात गर्न मन्त्री महत्तोले आग्रह गरे । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्दलले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आयोजनाहरुलाई अगाडि बढाउन सहजीकरण गरिदिन आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मातहतका आयोजना वन मन्त्रालयको समेत आयोजना भएकाले आवश्यक सहयोग, समन्वय हुने बताए । उनले विदेशी स्टिलका पोल छाडेर स्वदेशी वनको पोल प्रयोग गरिदिन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा निर्णय हुन नसक्दा अधिकांश आयोजना चपेटामा परेकाले समय र लागत दुवै बढेको बताए । उनले समस्या समाधानमा तदारुकता देखाइदिन र आफ्नै समस्या हो भन्ने ठानेर सहजीकरण गरिदिन आग्रह गरे । छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरषण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगाना, वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेलगायतको उपस्थिति थियो ।

जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै

काठमाडौं । ललितपुरको जावलाखेलमा  असोजको १० गतेदेखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना हुने भएको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समुहले आइतबार एक कार्यक्रमको आयोजना गर्दै दशैं लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना हुन लागेको जानकारी दिएको हो । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना हुन लागेको सो मेला असोजको १० गतेदेखि  कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना हुने भएको मेला संयोजक होमनाथ उपाध्यायले बताए । वडादशैं पर्व लक्षित यो मेलामा नयाँ/नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ । उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए । आयोजक टिमले मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा निःशुल्क प्रवेश  गर्न सकिने छ । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहने छ । मेलामा रोयल शु इण्डष्ट्रिजको रोयल शुज, वेश फुटवेयरको वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको- क्रस रोड शुज, शुभकामना फुटवेयरको -फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर।डि।कलेक्सनको – हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. शुज कम्पनीको- डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।

ग्लोबल आइएमई क्यापिटलबाट बाहिरिए सीईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् । विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर काम गरेका ढकालको २ कार्यकाल सकिए पछि क्यापिटलबाट बाहिरिएका हुन् । ढकालसँग बैंकिङ्ग तथा लेखा परिक्षणको क्षेत्रमा १४ वर्ष भन्दा बढिको कार्य अनुभव छ । साथै, बिबिए तथा एमबिएमा फाईनान्सियल एकाउन्टिङ्ग, कर्पोरेट फाईनान्स, इन्भेष्टमेण्ट तथा ट्याक्सेसन विषयको अध्यापन उनले गरेका छन् ।

नेपाल बैंकको सेवा चाहिएको छ ? अब यो नम्बरमा कल गर्नुहोस्

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवाको उद्घाटन गरेको हो । बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले उक्त सेवा सुचारु गर्न लागेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । यसै गरि कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । ०१-५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ । हाल बैंकले २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ । साथै, बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छः काँग्रेस महामन्त्री थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन काँग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए । उनले काँग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । पार्टी निकट नेपाल मुस्लिम संघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई काँग्रेसले आवश्यक्ताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । ‘नेपाली काँग्रेस संसदको ठूलो पार्टी हो । त्यो भएको हिसावमा नेपाली काँग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरु छन, जुन जायज छन । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । काँग्रेसका सांसदहरु, काँग्रेसका केन्दिय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गर्छौं । मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबैभन्दा ठूलो पार्टी हो । हामीले सच्याउन चाहँदा यो सच्चिन्छ । यसलाई हामीले सच्याउनु पर्दछ । निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ । हामीले बनाउनु पर्नेछ । हामी बनाउँछौं ।’ उनले भने । महामन्त्री थापाले मुलुकमा नियोजित रुपमा सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने बताए ।