एभरेष्ट बैंकले बोलायो २९ औं वार्षिक साधारण सभा, २०.५३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान
काठमाडौं । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै थिए । उनले भने, “मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ ।” यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राखेका थिए । नयाँदिल्लीमा आयोजित नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका थिए । चिनियाँजस्तै भारतीय उद्योगीलाई पनि नेपालमा लगानीका लागि उनले अपिल गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गरेका हुन् । प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त ? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए । ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त छन् । उनले भने, “म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।” चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनको भनाइ छ । नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ । बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित विजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य रहेको बताए । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उनको धारणा थियो । नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए । “यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमै आएका छन् । पछिल्लो समय नेपालमा पर्यटक आगमनमा सकारात्मक मात्रामा वृद्धि भएको छ र त्यसमा पनि चिनियाँ पर्यटक बढेका छन् । हामी अबका दिनमा थप प्रगतिका साथ अघि बढ्न विदेशी लगानीलाई प्रवद्र्धन गर्न चाहन्छौँ”, अध्यक्ष ढकालले भने । सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो । सोही समिटमा आइएमइ ग्रुपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्मेलनमा नै नेपालको सिजी मोटर्स र चीनको जिएसी मोटर्सका बीचमा पनि आगामी दिनको संयुक्त लगानी एवं सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चीनका कम्तीमा पनि एक सय २० उद्योगी व्यवसायीको उपस्थिति रहेको सो संयुक्त लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि नेपालमा चिनियाँ लगानी आकर्षित गर्न गरिएको सामान्य सुरुआतका रुपमा लिन सकिने सम्मेलनमा उपस्थित नेपाली र चिनियाँ व्यवसायीले बताएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घको लगानी तथा वैदेशिक मामिला फोरमका सभापति मनोज पौडेलले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, स्टार्टपलगायतमा अहिले लगानीका अधिक सम्भावना रहेकाले नेपालमा लगानी गर्ने जुनसुकै विदेशी लगानीकर्ताले पनि राम्रो प्रतिफल लिन सक्ने बताए । महासङ्घले पनि प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यक परेका ठाउँमा सहजीकरण एवं सहायता गर्न एफडिआइ हेल्प डेस्क स्थापना गरेर काम गरिरहेको जानकारी दिँदै आर्थिक कूटनीतिका माध्यमबाट नेपाल सरकार र यसका सबै विदेशी नियोगले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणका लागि काम गर्नुपर्ने सुझाव सो सम्मेलनमा उनले दिए । सम्मेलनमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतका उद्योगी व्यवसायीले नेपालमा वैदेशिक लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेर नेपाल सरकारले आफ्ना निकाय एवं नियोगलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सो सम्मेलनमा नेपालका करिब ५० जना उद्योगी व्यवसायीको सहभागिता रहेको छ । सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताए । उनले सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए । नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा छ । उत्तरी चीन र दक्षिणी भारतको जनसङ्ख्या झण्डै पौने तीन अर्ब छ । यो जनसङ्ख्या पनि नेपालमा हुने कुनै पनि लगानीको बजार हो । त्यस्तै उनीहरु बाह्य मुलुकमा पर्यटक भएर पुग्दा यता नेपालका विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य छानिदिए भने हामी केही लाख पर्यटक खोज्न अरु देशतिर धाउनै पर्दैन । नेपालमा लुम्बिनी, पोखरा, मनाङ, मुस्ताङजस्ता विश्वका उत्कृष्ट गन्तव्य छन् र पछिल्लो समयमा पर्यटन पूर्वाधार पनि निर्मण भइरहेका छन् । त्यसैले पर्यटन क्षेत्रमा भित्र्याउन सक्ने वैदेशिक लगानीले पनि हाम्रो समृद्धिको यात्रा धेरै छोट्याउने छ । त्यसैले लगानी या विजनेस सम्मेलन गरी लागनीका लागि आह्वान गर्नुको साथसाथै अपेक्षितरुपमा नेपालमा वैदेशिक लगानी किन आउन सकेको छैन भन्ने बारेमा पनि खोज्नुपर्छ । हामीलाई लगानीका लागि बाचा दिएका विदेशी लगानीकर्ता अन्तिममा किन नेपालप्रति आकर्षित हुन सकिरहेका छैनन् भन्ने विषयको खोजीका लागि आर्थिक कूटनीतिको औजार प्रयोग गर्नसके त्यसको जवाफ भेटिन सक्छ । रासस
नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज ८ गतेदेखि असोज १४ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
१३.१६ प्रतिशत लाभांश बाँड्ने आरविविको घोषणा
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न ८औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २९ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा काठमाडौंमा साँझको ४ बजे हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
१४.७० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सानिमा बैंकले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
कञ्चनपुर । काठ तस्करीको आरोपमा कञ्चनपुरका एक जिम्मेवार जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका एमाले नेता भोजराज चौधरी पक्राउ परेका हुन । वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ । बेलौरी नगरपालीकाका एमालेबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरी भन्सारको रुख काटेको आरोपमा जिल्ला वन टोलीले पक्राऊ परेको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाले जानकारी दिएका हुन्। जिल्लाको डिभिजन वन कार्यालय सम्भु प्रसाद कोइरालाका अनुसार उजुरी आएपछि संयुक्त वन टोलीले उनीहरूलाई आईतबार पक्राउ गरेको हो। उनले भन्सारका ठूला रूखहरु अबैध रुपमा काटेको वन कार्यालयले जनाएको छ । काठसहित उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाका जानकारी दिए । ‘काठ तस्करी भइरहेको उजुरी सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ ।त्यही आधारमा अध्यक्षलाई पक्राउ परेका हौं । अध्यक्षलाई थप अनुसन्धानका लागि वन कार्यालयको हिरासतमा राखिएको उनले बताए । उनी गत ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचनमा एमाले पार्टी बाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरीले सरसफाई भन्दै आफुलाई समेत भन्सार क्षेत्रमा बोलाएको तर आफुले काठ नकाट् सम्झाई बुझाई गर्दा उल्टै आफुसंग वडाध्यक्ष सहितका स्थानीय रिसाएको बताए । ‘केही दिन पहिला वडाले बेलौरी भन्सार क्षेत्रमा सरसफाई राखेको थियो, त्यहाँ मलाई पनि बोलाइयो, ‘उनले भने, ‘मैले रुख काट्दा फसिन्छ, भने कसैले मानेन, आज यो गति भोग्नुप¥यो ।’
आमाको नामबाट गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्यो
काठमाडौं । संशोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ। गृहमन्त्रालयले असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता लिने बाटो खुलेको हो । यसअघिको व्यवस्थामा नागरिकता लिनको लागि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सक्छन् । संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नु पर्छ भने विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नु पर्छ । नियमावली राजपत्रमा प्रकाशन भएसँगै विदेशमा बसोबास गर्दै आएका नेपालीले समेत गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त संशोधित व्यवस्थाअनुसार नागरिकता प्राप्त गर्ने व्यक्ति आफू वा आफ्नो बुबा, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो, त्यही नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्छ । अथवा हाल आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुकसमेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दूतावास वा वाणिज्य दूतावासमा निवेदन दिएर नागरिकता प्राप्त गर्ने प्रकृया अगाडि बढाउन सकिन्छ । गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिएपछि त्यहाँका कर्मचारीले १५ दिनभित्र आवश्यक रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ । त्यसपछि परराष्ट्रमार्फत आएको रायमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी निवेदन दिने व्यक्ति गैरआवासीय नागरिकता प्राप्त गर्न योग्य देखिएमा अनुसूची ८ (ङ) बमोजिम गैरआवासीय नेपाली नागरिकता जारी गर्न सक्ने छन् । गैर आवासीय नागरिकता प्रदान गर्नको लागि विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक प्रविधिको विकास गर्ने जनाइएको छ । [pdf id=437917]