विकासन्युज

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

बागलुङ । गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ । चार वर्ष अगाडिसम्म सुनसान देखिने टेउवा विसं २०७६ मा स्थापना भएसँगै आन्तरिक पर्यटकको आवागमन हुन थालेको स्थानीय बताउँछन् । टेउवामा मूर्तिकला निर्माण भएसँगै अहिलेसम्म हजारौँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि यहाँ आउने गरेका स्थानीयको भनाइ थियो । मूर्तिकला गलकोटको पहिचान बन्दै गएको उनीहरु बताउँछन् । टेउवाको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि सरकारले पनि बर्सेनि लगानी गर्दै आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उनका अनुसार यहाँ बनेका मूर्तिकला अवलोकन गर्न आउने आगन्तुकलाई लक्षित गरी नगरपालिका र केन्द्र सरकारले दुई वर्ष अगाडिदेखि सडक स्तरोन्नति र पार्क निर्माण थालेका छन् । हरिचौर बजारदेखि करिब छ किलोमिटर सडक स्तरोन्नति गर्न र पार्क निर्माणका लागि नगरपालिका र केन्द्र सरकारले बहुवर्षे योजनाअन्तर्गत रू ६ करोड विनियोजन गरेको भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ को योजनाअन्तर्गत अहिले टेउवामा संरचना निर्माण भइरहेका छन् । ‘समुद्री सतहदेखि १९८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारले शीलामा कुँदेर मूर्ति बनाएका छन्’, प्रवक्ता भण्डारीले भन्नुभयो, “मूर्तिको संरक्षणसँगै बाह्य पर्यटकलाई आकर्षण गर्न यहाँ पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको छ ।’ मूर्ति निर्माण भएको क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले प्रचारप्रसार र भौतिक संरचना निर्माणमा जोड दिएको उहाँको भनाइ थियो । अन्य पर्यटकीय क्षेत्रभन्दा टेउवामा पर्यटकले अवलोकन गर्ने पृथक वस्तु र मनमोहक प्रकृति रहेकाले आकर्षण बढेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार यस क्षेत्रको विकासका लागि नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको छ । ‘गलकोटलाई थप चर्चित बनाउन टेउवामा निर्मित मूर्तिकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस क्षेत्रको प्रचारप्रचार भयो भने यहाँ घुम्न आउनेको कमी हुदैन । पहिले सडकको अवस्था खराब थियो, अहिले स्तरोन्नति भइसकेको छ,’ प्रवक्ता भण्डारीले भने, ‘यहाँबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ, मूर्तिकलाको सेरोफेरोमै पार्क पनि बन्दै छ, सडकको स्तरोन्नति र पार्क निर्माणपछि यहाँ अझै धेरै पर्यटक आउने हामीले अपेक्षा गरेका छौँ, पर्यटकका लागि शौचालय, खानेपानी र विश्रामस्थल पनि बन्दैछन्, त्यसले आगन्तुकलाई थप सहज हुनेछ ।’ मूर्तिकलासम्म पुग्ने सडक र पार्क निर्माणका लागि विसं २०७८ को भदौमा रू चार करोडमा सम्झौता गरी काम थालिएको निर्माण कम्पनीका प्रमुख योगेश भण्डारीले बताए ।२०७९ साल फागुनसम्म सक्ने गरी जिम्मा लिएकामा विविध कारणले ढिलाइ भएको बताउँदै उनले हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सडकको सबै काम सकिएको भन्दै भण्डारीले पार्क र घेराबारको केही काम बाँकी रहेको बताए । काम गरेको भुक्तानी नहुँदा बाँकी काम गर्न समस्या भएको उनको भनाइ थियो । ‘योजना नगरपालिका र केन्द्र सरकारको लगानीमा भएकाले नगरपालिकाले भुक्तानी दिए पनि केन्द्रबाट भुक्तानी आएको छैन । काम सकिन लाग्दासम्म रकम पाउन बाँकी छ’, भण्डारीले भने, ‘सडकको सबै काम सकिएको छ, मूर्तिको संरक्षणका लागि घेराबार र र्पाक निर्माणको केही काम बाँकी छ । यसका लागि धेरै समय लाग्दैन ।’ ऐतिहासिक गलकोट दरबारको शिरमा रहेको मूर्तिकला अवलोकन गर्न आउने पर्यटकले अन्य पर्यटकीय क्षेत्रको सहज रुपमा अवलोकन गर्न सक्छन् । छेउमै गाईघाट झरना र बाटैमा गलकोट दरबार रहेको हुँदा यहाँ पनि पर्यटक घुम्न आउने गरेका छन् । हरिचौरदेखि मूर्तिकलासम्मको सडक स्तरोन्नति भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या दैनिक बढिरहेको वडा नं ५ का वडाध्यक्ष पवन हमालले बताए । बर्खाको समयमा पनि टेउवामा आउने पर्यटकको कमी नभएको उनको भनाइ थियो । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको उनले बताए । ‘पहिला टेउवाको डाँडा खुल्ला र खाली थियो, अहिले मूर्ति र विभिन्न संरचनाले भरिएको छ, ठाउँ सुन्दर भए नि ओझेलमा परेको थियो । अहिले पर्यटक घुम्न आउने ठाउँ बन्यो,’ अध्यक्ष हमालले भने, ‘यहाँ पर्यटक घुम्न आउने दिन खाली हुँदैन, चाडवाड सुरु भयो, अब झन् धेरै पर्यटक यहाँ आउँछन्, अहिले मूर्तिकला वरपर घाँस पलाएको छ, त्यसलाई सरसफाइ गरेर व्यवस्थित बनाउँछौँ ।’ उनका अनुसार टेउवामा २०७६ साल फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । रासस

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पुल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक दिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो । तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला काम चलाउका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा यहाँ आवतजावत गर्ने मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।  रासस

भृकुटीमण्डपमा दसैं जुत्ता मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दसैं जुत्ता मेला सञ्चालन भइरहेको छ । विभिन्न १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । दशैंलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने उनले बताए । मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको छ। असोज २ गते सुरु भएको दशैं मेला कात्तिक ४ गतेसम्म चल्नेछ । मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ । पुरुष, महिला र बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा पाइने उनले बताए  ।

सुप विश्वविद्यालयको केन्द्रीय कार्यालय दुई महिनादेखि बन्द

कञ्चनपुर । सुदूरपश्चिम (सुप) विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन । दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागमा रिक्त रहेका क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । केन्द्रीय कार्यालयमा गत साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर ताला खुले पनि नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनको ताला खुल्न सकेको छैन । समाजवादी निकट अनेरास्ववियूले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । केन्द्रीय कार्यालयमा दुई सङ्गठनले लगाएको ताला खुले पनि समाजवादी निकट अनेरास्ववियूको ताला खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । उनले भने, ‘विश्वविद्यालयले प्रशासनले ताला खुलाउन छलफल गरिरहेको छ ।’ विश्वविद्यालयमा भएको तालाबन्दी दुई महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले विश्वविद्यालयले ताला खुलाउन छलफल नै नगरेको बताए । ‘विश्वविद्यालयका उपकुलपति र रजिष्टारले हामीसँग छलफलका लागि कुनै चासो नै दिएका छैनन्’, उनले भने, ‘विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने हाम्रो माग हो ।’ रासस

नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता गर्दै

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसर पारेर मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो । असोज १८, १९ र २० गतेका दिन विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुका बीचमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता गरिने संघले जनाएको छ । संघका अनुसार उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत १० हजार निर्धारण गरिएको छ । प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ। जस अनुसार प्रथम हुने टोलीको लागि १ लाख, दोस्रो हुने टोलीको लागि ५० हजार तृतिय हुनेको लागि २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि २०८० असोज १२ गते भित्र संघमा वा संघको इमेल ठेगानामा प्रतियोगी टोलीको नामावली पठाउनु पर्ने संघले जनाएको छ । संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाडौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको छ भने विस्तृत जानकारीको लागि ९८६०१०३२१५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

आन्दोलनकारीलाई बालेनको प्रश्न : के तपाईंहरुको नेतासँग वार्ता गर्नुपर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरका प्रमुख तथा मेयर बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौंमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई वार्ता बोलाउँदा नआएको बताएका छन् । फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीहरु वार्तामा बोलाउँदा पनि नआएको उनको भनाई छ । संवादमा बोलाउदा पनि नआएपछि मेयर बालेनले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै उक्त आन्दोलनकारीहरुलाई के तपाईंहरुको नेतासँग वार्ता गर्नुपर्ने हो ? भनेर समेत प्रश्न गरेका छन् । मेयर बालेन लेख्छन् : विगत केही दिनदेखि केही अभियानताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

मनहरी । बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा चार करोड लागतमा विद्युतीय सवारी उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जानकारी दिए । विद्युतीय सवारी साधन चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले चार्जिङ उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जनाउँदै उहाँले यसको उचित व्यवस्थापनले विद्युतीय सवारी सञ्चालनमा सहज हुने बताए । पछिल्लो समयमा विद्युतीय गाडी धेरै भित्रन थालेपछि पेट्रोल पम्प जस्तैगरी चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने भएको बताउँदै मन्त्री लम्सालले भने, ’नेपालमा भित्रिएका विद्युतीय सवारीसाधन चल्नका लागि चार्जिङ स्टेशन तयार गर्ने काममा तदारुपताका साथ लागेका छौँ । यो काममा नेपाल विद्युत् प्राधिकरण, सङ्घीय सरकार, निजी क्षेत्र समेतको पहलमा निर्माण गर्नेछौँ । यसका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ ।’ विद्युतीय सवारी वातावरण मैत्री र कम खर्चिलो हुने भएकाले स्टेशन निर्माणलाई तीव्रता दिन लागिपरेको मन्त्री लम्सालको भनाइ थियो । ’डिजेलका गाडीले जस्तो वायु तथा ध्वनी प्रदूषण विद्युतीय गाडीले फैलाउँदैनन्’, उनले भने, ’त्यसैले काठमाडौँ जस्तो प्रदूषित सहरका लागि विद्युतीय सवारीसाधन निकै फाइदाजनक हुने देखिन्छ ।’ रासस

नेपाल र चीनबीच १३ बुँदे समझदारी, विभिन्न परियोजना बनाउनेदेखि न्यून-कार्बोन विकास गर्नेसम्म

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका हुन् । उक्त सम्झौता तथा समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेको बताइएको छ । यस्ता छन् सम्झौता र सहमतिहरू : राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर भएको छ । चीन र नेपाल सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण भएको छ । डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबीच हरित र न्यून-कार्बोन विकाससम्बन्धी एमओयू भएको छ । सिजाली विद्यालय परियोजनाबारे सम्झौता भएको छ । कृषि, पशुपालन र मत्स्यपालनमा सहकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ। सन् १९८१ नेपाल-चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । चीनको नेशनल एडमिनिस्ट्रसन एण्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर भएको छ । त्यस्तै, मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान र हिल्सा-सिमिकोट सडक परियोजनाबारे सम्झौता भएको जनाइएको छ ।