विकासन्युज

कम्पनी दर्ता गर्दा पैसा नलाग्ने व्यवस्था आजदेखि कार्यान्वयन हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलिने गरेको व्यवस्था आजदेखि कार्यान्वयन हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कम्पनी दर्ता गर्दा शुल्क पूर्ण छुट हुने जनाएको छ । ‘नेपाल सरकारले खण्ड ५७, संख्या ७, मिति २०६४/०२/१४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरी तोकिएको कम्पनी ऐन, २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा, दर्ता भैसकेको कम्पनीले पुँजी वृद्धि गर्दा, दफा ५६ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमके कार्य गर्दा, दफा १५४ को उपदफा (२) र (३) बमोजिम विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा तथा दफा १६६ बमोजिम मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर आर्थिक ऐन, २०८० को दफा १८ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ । [pdf id=438135]

श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सिंह नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशील कुमार सिंह नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सिंहलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए । प्रदेशस्तरीय बैंक रहेको सो बैंकको केन्द्रीय कार्यालय बाहेक चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

नेपाल युवा उद्यमी मञ्चले मनायो २०औं वार्षिकोत्सव, यस्ता छन् उपलब्धिहरु

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्धनमा दुई दशक समर्पित सेवाको अवसरमा २० औं वार्षिकोत्सव मनाएको छ । २००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्धमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्धमीसहित सुरु भएको नेपाली युवा उद्धमी मञ्चले २० वर्ष पार गरी २१ वर्षमा प्रवेश गरेकोमा खुशी साटासाट गरेको हो । मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली युवा उद्यमी मञ्चले उद्यमीहरुलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ । २०-वर्षको यात्रामा एनवाईईएफको मुख्य उपलब्धिहरु युवा सशक्तिकरण : नेपाली युवा उद्यमी मञ्च अनगिन्ती युवा उद्यमीहरूलाई सशक्तिकरण गर्न, मार्गदर्शन दिन, स्रोत र नेटवर्किङका अवसरहरू प्रदान गर्नका साथै उनीहरूका नवीन विचारहरूलाई सफल उद्यमहरूमा परिणत गर्न मद्दत गर्न अग्रपङ्क्तिमा रहेको छ । नीति एड्भोकेसी : नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरूका लागि निरन्तर आवाजको रूपमा रहेको छ, जसले उद्यमशीलता र आर्थिक वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरि, नीति सुधारको वकालत गर्दै आएको छ । मेन्टरशिप कार्यक्रम : मञ्चले उद्धमशीलता सिक्न इच्छुक विद्यार्थीहरुसँग अनुभवी व्यवसायीहरूलाई जोड्दै धेरै मेन्टरशिप कार्यक्रमहरू आयोजना गरेको छ । च्याप्टर विस्तार : नेपाली युवा उद्यमी मञ्च ले नेपालभर आफ्नो च्याप्टर विस्तार गरेको छ । लुम्बिनी प्रदेशमा हालै स्थापना भएको १३औं नेपालगन्ज च्याप्टर सहित सबै ७ प्रदेशमा च्याप्टरहरू स्थापना गरेको छ । उद्यमशीलाता शिक्षा : मञ्चले लीडर्स प्रोजेक्ट, उद्यमशीलता बुटक्याम्प, युवा उद्यमशीलता सम्मेलन तथा युवा उद्यमशीलता सम्मेलन-महिला जस्ता विभिन्न कार्यक्रमहरू मार्फत उद्यमशीलता शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । मेड इन नेपाल अभियान : मञ्चले २००६ देखि ‘मेड इन नेपाल’ अभियानलाई गर्वका साथ मनाउँदै आएको छ, जसको मुख्य उद्देश्य स्थानीय उद्यमशीलता र उत्पादनहरूलाई प्रवर्द्धन र समर्थन गर्ने, उपभोक्ताहरूलाई स्वदेशी उत्पादनहरु उपभोग गर्न र समर्थन गर्न प्रोत्साहित गर्ने रहेको छ । नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले २० वर्षको अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने हाम्रो प्रतिवद्धतालाई सुदृढ पार्न तत्पर रहेको बताइन् । मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ ।

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री

विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए । गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएको बताए । उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाए ।

राष्ट्र बैंकका गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालबीच भेटवार्ता भएको छ । राष्ट्र बैंकका अधिकारी र सेबोन अध्यक्ष्य हमालबीच सोमबार भेटवार्ता भएको हो । गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको हो । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

एक महिनामा एक अर्ब नाफा गर्दै ग्लोबल आईएमई बन्यो नम्बर वान, एनआईसी एशिया नवौंमा झर्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पहिलो महिनामा सो नाफा गरेका हुन् । साउनमा सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी ९९ करोड २० लाख रुपैयाँ नाफा गर्दै नम्बर वान बनेको छ । नबिल बैंकले साउनमा ७५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले ७४ करोड ६० लाख, ६३ करोड १० लाख, कुमारीले ५७ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, प्राइम कमर्सियलले ४२ करोड ४० लाख, लक्ष्मी सनराइजले ४१ करोड ५० लाख र एनआईसी एशिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एशिया साउनमा नाफा गर्ने बैंकको नवौं नम्बरमा झरेको छ । यसअघि बैंक उत्कृष्ट चारमा आउँथ्यो ।

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने बताएका छन् । सो पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे । एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद् चल्न नदिइएको आरोप लगाइएको उल्लेख गर्दै उनले अहिले लामो समयसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताए । प्रमुख दलबीच सुन तस्करीको घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने सहमति भए पनि कार्यक्षेत्रमा विवाद कायम छ । सो अवसरमा उनले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित जनहितलाई सफलीभूत पार्ने सङ्कल्प लिएर अघि बढ्न निर्देशन दिए । अधिवेशनले पार्टीका विरुद्ध भइरहेको षड्यन्त्र र घेराबन्दीको समीक्षासहित त्यसलाई तोड्दै आगामी २०८४ सालको निर्वाचनको सामना गर्न सक्ने परिपक्व नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना दिए । शिक्षा, ज्ञान, विज्ञान र प्रविधिको सुरुवात भएको नेपाली भूमि आज पछाडि परेको मुलुकमा रहनु आफ्नो पार्टीका लागि स्वीकार्य नभएको भन्दै अध्यक्ष ओलीले मुलुकको पछ्यौटेपन र गरिबीलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । आफू सरकारमा हुँदा विप्लव र सिके राउतको समूहलाई शान्तिपूर्ण गतिविधिमा ल्याएको उनले स्मरण गरे । अध्यक्ष ओलीले विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई सम्बोधन गर्न सरकारसँग माग गरे । प्रदेश अध्यक्ष केशवराज पाण्डेका अध्यक्षतामा भएको उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, सो प्रदेश कमिटीका इञ्चार्ज गुरु बरालले सफलताको शुभकामना दिए । उनीहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरे । करिब एक हजार दुई सय प्रतिनिधि रहेको अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।