अपि पावरले असोज १७ गतेदेखि १२ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । अपि पावर कम्पनीले असोज १७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ११ लाख ९४ हजार ९३४ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस हुने
काठमाडौं । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिए । उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।
डेढ सय वर्ष अगाडि बनेको पुलको लक भाँच्चिएपछि अनिश्चित कालका लागि नाका बन्द
काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । पुलको भारतीय सिमानातर्फ बेस (काठ)लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मङ्गलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए । अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो । तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ । राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो । विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घको तर्फबाट यस किसिमको घातक हतियार नष्ट गरेसँगै विश्वमा आणविक हतियारको सङ्ख्या उल्लेखनीय मात्रामा कमी भएको छ । राष्ट्रसङ्घका अनुसार अहिले पनि विश्वभर करिब १२ हजार पाँच सय १३ आणविक हतियार रहेका छन् । यसैगरी विश्वका करिब आधा जनसङ्ख्या आणविक हतियार भएका मुलुक र हतियार हुने देशको मोर्चासम्बद्ध देशमा बसोबास गर्दछन् । आणविक हतियारका कारण अकल्पनीय धनजनको क्षति हुनबाट जोगाउन र वातावरणसहित पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने मूल उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा आणविक हतियार उन्मूलनका सन्दर्भमा विश्वभर व्यापक प्रचारप्रसारसहित प्रतिबद्धता जनाउने गरिन्छ ।
प्रधानमन्त्री दाहाल ल्हासा जाँदै, जोखाङ मन्दिरको भ्रमण गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् । यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।
चन्दा र अनुदानको खर्च पारित गर्न सानिमा हाइड्रोले डाक्यो साधारण सभा
काठमाडौं । सानिमा हाइड्रोपावरले १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले विभिन्न प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २ गते धुम्बाराही काठमाडौंमा अपरान्ह ४ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असारसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूसमेत छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने छ भने सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्नेछ । कम्पनीको सभाले चन्दा, अनुदानबापतको खर्च रकम अनुमोदन गर्नेछ ।
एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण गरिने भएको छ । बैंकको गोदावरी किटिनी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकका अनुसार गोदावरी नगरपालिका ३ किटिनीमा सञ्चालनमा रहेको शाखा असोज १० गतेदेखि महालक्ष्मी नगरपालिका ४ ललितपुरमा स्थानान्तरण गरिएको हो । उक्त शाखा अब महालक्ष्मी शाखाको रुपमा रुपान्तरण भई बैंकिङ्ग कारोबार सञ्चालन हुने बैंकले जनाएको छ । अत्यावश्यक जानकारीका लागि महालक्ष्मी शाखाका एक्सपेरियन्स म्यानेजर उमेश कटुवाललाई सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई २ हजार १ सय रुपैयाँका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि न्यूनतम जरिवाना ५ हजार रुपैयाँ पुर्याउने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उनले बताए । मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताए । “ट्याक्सी मिटरमा सञ्चालन भए÷नभएकाबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ, कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ,” उनले भने । हालसम्म मिटरमा सञ्चालन हुन नमान्ने ११७ वटा ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताए । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो । विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । २ वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ । पन्ध्र किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् । भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताए । उनले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गरे ।