चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।’ गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे । उनले थपे, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।’ शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उनको भनाइ थियो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताए । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पु¥याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनले बताए। मन्त्री बस्नेतले भने, ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।’ यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उनले बताए । फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राखे। यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैँले यसलाई हेरिरहेको उनको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उनले बताए । ‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताएका हुन्। मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गरे । उनले भने, ‘७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।’ उनले थपे ‘आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।’ आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उनले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताए। अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, ‘लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।’ सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । रासस
एकैदिन ८ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकैदिन ८ सयले घटेको हो । बुधबार छापावाल सुनको मूल्य ८ सयले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् । साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
स्वास्थ्य सेवा सुचारु गर्न चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रालयले गर्यो अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सुचार गर्न चिकित्सकहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही गराउन सरकार पूर्ण प्रतिबद्ध भएको भन्दै स्वास्थ्य उपचार जस्तो संवेदनशील सेवालाई सुचारु राख्न चिकित्सकहरुलाई अनुरोध गरेको हाे । साथै, उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हातपात तथा कुटपिट गरी घाइते बनाएको घट्नाप्रति ध्यानआकर्षण भएको भन्दै मन्त्रालयले खेद प्रकट गरेको छ ।
साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै
काठमाडौं । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।
बिक्नै छाड्यो हकप्रद सेयर, दशैं खर्च जुटाउन तर्फ लागे लगानीकर्ता
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म चुक्ता पूँजी १ अर्ब ६० करोडको ७५ प्रतिशत अर्थात् १ः०.७५ सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्याे । कम्पनीले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । तर, कम्पनीले बिक्री गरेको हकप्रद सेयरमा लगानीकर्ताले पूर्ण आवेदन दिएनन् । लगानीकर्ताले पूर्ण आवेदन नदिएपछि कम्पनीले गत साउन २२ गतेदेखि १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत् बिक्रीमा राखेको थियो । यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गर्याे । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । तर, कम्पनीको सो हकप्रद सेयरमा पनि लगानीकर्ताले पूर्ण आवेदन दिएनन् । त्यसपछि कम्पनीले गत भदौ १३ गतेदेखि १३ लाख ३६ हजार ७४२.७१ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्यो । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयरमा पूर्ण आवेदन नपरेपछि आवेदन दिने समय थप गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता सेयर बिक्री गरेको थियो । तर, सो अवधिमा पूर्ण आवेदन नपरेपछि कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिने समय थप गरेको हो । कम्पनीले हाल १ कित्ता सेयर भएका सेयरधनीहरुलाई नयाँ १ कित्ता सेयर पाउने गरी हकप्रद सेयर जारी गरेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार २ लाख २४ हजार ७५५ जना आवेदकले २ करोड ४९ लाख ४३ हजार २६५ कित्ता सेयरका लागि मात्रै आवेदन परेको छ । सो आधारमा कम्पनीको हकप्रद सेयरमा अन्तिम दिनसम्म पूर्ण आवेदन पर्ने कठिन देखिन्छ । अपि पावर कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गर्याे । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीको हकप्रद सेयरमा अन्तिम दिनसम्म १ लाख ७ हजार ९७८ जना आवेदकले १ करोड १८ लाख २१ हजार ३६६ कित्ता सेयरका लागि आवेदन दिएका थिए । जबकी कम्पनीले पनि बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्नु पर्ने देखिन्छ । सिडिएस एण्ड क्लिरिङ्गको तथ्याङ्क अनुसार कम्पनीले ४७ लाख कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गर्नु पर्ने देखिन्छ । मल्टीपर्पस फाइनान्सले आज भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री खुला गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ४ हजार ६६ जना आवेदकले ५ लाख ३६ हजार ४६३ कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको १० लाख कित्ता सेयर बिक्री हुन बाँकी छ । त्यसैले उक्त सेयर लिलाम बढाबढका माध्यमबाट बिक्री गर्नु पर्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सबै लगानीकर्ता हकप्रद सेयर भर्न इच्छुक नहुने भएकाले कुनै पनि कम्पनीको हकप्रद सेयरमा पूर्ण रुपमा बिक्री हुँदैन । सेयर बजार घटेको र लगानीकर्ताको मनोबल कमजोर बनेका कारण हकप्रद सेयरमा पूर्ण आवेदन नपरेको हुन सक्ने क्यापिटलको भनाइ छ । त्यस्तै, अरुण काबेली पावर कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ७७ हजार ७०२ जना आवेदकले १ करोड ३४ लाख ८८ हजार कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको ५० लाख कित्ता सेयर बिक्री हुन बाँकी छ । त्यसैले उक्त सेयर लिलाम बढाबढका माध्यमबाट बिक्री गर्नु पर्नेछ । सिनर्जी पावर डेभलपमेन्टले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद बिक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा ४४ हजार २ सय जना आवेदकले २८ लाख ३३ हजार ९०२ कित्ताका लागि आवेदन दिएका छन् । सो तथ्याङ्कका आधारमा कम्पनीको १२ लाख कित्ता सेयर बिक्री हुन बाँकी छ । हालै हकप्रद सेयर बिक्री गरेका यी कम्पनीमा पूर्ण आवेदन परेन । पछिल्लो समय सेयर बजार ओरालो लागेकाले लगानीकर्ताको मनोबल पनि खस्किएको हुँदा हकप्रद सेयरमा आवेदन नदिएको हुन सक्ने लगानीकर्ता राधा पोखरेल बताउँछिन् । हकप्रद सेयर भन्दा सस्तो मूल्य भएका कम्पनीको सेयर पुँजी बजारमा उपलब्ध भएकाले लगानीकर्ताले चासो नदिएको हुन सक्ने उनको भनाइ छ । ‘सेयर बजार राम्रो भएको बेलामा हकप्रद सेयर जारी गरेपछि त्यसको महत्व हुन्छ, अहिले हकप्रद सेयरभन्दा सस्ता कम्पनी सेयर बजारमा फालाफाल छन्, ती कम्पनीको सेयर छानीछानी किन्न पाइन्छ,’ उनले भनिन्, ‘लगानीकर्ताहरुसँग हकप्रद सेयर खरिद गर्ने रकम पनि नभएको हुन सक्छ, भएको रकम सेयर बजारमा डुबिसकेको छ, बैंकबाट कर्जा लिएर हकप्रद सेयर भरौं भन्दा बैंकले ऋण नै दिँदैन ।’ बैंकले सेयर खरिद गर्न ऋण नदिएका कारण पनि हकप्रद सेयर बिक्री हुन छाडेको उनको भनाइ छ । बजार घटेका कारण पनि लगानीकर्ताले आवेदन नदिएको उनले बताइन् । ‘म आफैंले पनि हकप्रद सेयर किन्न छाडिसकें, बजार घट्दै गएपछि लगानीकर्तामा उत्साह छैन, सेयर खरिद गर्ने बित्तिकै बजार घट्न थाल्छ,’ उनले भनिन्, ‘यस्तो संकटमा लगानी डुब्न थालेपछि किन्न किन्ने ? दशैं नजिक आइसकेको छ, तीज पनि लगत्तै सकियो, त्यसैले पनि हकप्रद सेयर नकिनेको हो ।’ लगानीकर्ता राजु पौडेल हकप्रद सेयर मात्रै बिक्री गर्न दिएर सप्लाइ भर्ने काम मात्रै भएको बताउँछन् । साथै, अहिले हकप्रद सेयर जारी गरेका कम्पनीले सर्वसाधारणबाट रकम संकलन गरेर बैंकको ऋण तिर्ने गरेको उनको भनाइ छ । ‘पछिल्लो समय बैंकको ऋण तिर्नका लागि धमाधम हकप्रद सेयर निष्काशन गर्न दिएको छ, अपर तामाकोशीको हकप्रद सेयर आउने भनेर सेयर मूल्य १ हजार रुपैयाँ पुर्याइयो, अब हकप्रद निष्काशनपछि कम्पनीको सेयर मूल्य १ सय रुपैयाँभन्दा तल झर्ने देखिन्छ,’ उनले भने, ‘धितोपत्र बोर्डले सप्लाइ मात्रै दिइरहेको छ तर, डिमाण्ड सिर्जना गर्न सकिरहेको छैन, यदि यो सप्लाइलाई खरिद गर्ने हो भने नियामकले गरेका कडाइ हटाउनु पर्छ ।’
९ बलमा अर्धशतक, दिपेन्द्र सिंह ऐरीले रचे इतिहास
काठमाडौं । ९ बलमा अर्धशतक हान्दै दिपेन्द्र सिंह ऐरीले विश्व किर्तिमानी कायम गरेका छन् । चीनमा जारी १९औँ एसियाली खेलको बुधबार भएको खेलमा मंगोलियाविरुद्दको खेलमा उनले ९ बलमा ५० रन पुरा गरेका हुन् । ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले विश्वकिर्तिमानी कायम गरेका छन् । नेपालले मंगोलिया विरुद्द २ सय ७३ रनको कीर्तिमानी जित निकालेको छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले ३१५ रनको लक्ष्य दिएको थियो । कुशल मल्लले पनि विश्वकिर्तिमानी गरेका छन् । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।
टोखामा एक साता राजस्व सप्ताह मनाइने
काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिए । गत आवमा जम्मा २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उनको भनाइ थियो । टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उनले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको उल्लेख गरे । राजस्व सप्ताहसम्बन्धी मङ्गलबार बसेको तयारी बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा. डा. डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गरे । राजस्वले नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उनको भनाइ थियो । करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताए । करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए । नगरपालिकाले राजस्वलाई फराकिलो बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो
म्याग्दी । ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बनाएको छ । तर व्यवसायीले सो कानुनी व्यवस्थाविपरीत म्याग्दी नदीबाट बर्खायाममा बालुवा उत्खनन गरेर थुपारेका थिए । तोलावाङ, पतेनी, शिवरात्रिखोला, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताबिनै बालुवा उत्खनन भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । ‘अनुगमन गर्ने क्रममा सात ठाउँमा बालुवा निकालेर थुपारेको भेटिएको थियो’, उनले भने, ‘उनीहरूलाई गत भदौ ११ गते रु नौ लाख ५० हजार जरिवाना तोकिएकामा एक जनाले मात्र तिरेका छन् । अरुले जरिवाना तिर्न आनाकानी गरेका छन् ।’ उत्खननमा संलग्नहरूले भण्डारण गरेको ठाउँबाट बालुवा बिक्री गर्ने र अन्यत्र सारेका छन् । उत्खननमा प्रयोग भएका उपकरणलाई जरिवाना र बालुवा जफत गरेर लिलामी गर्नुपर्नेमा गाउँपालिकाले अवैध काम गर्नेहरूलाई अनुकूल हुने गरी जरिवानामात्र तिराउने नीति लिँदा लाखौँ राजस्व गुमाएको हो । प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले ठेक्का सम्झौताबिना बालुवा उत्खनन गर्नेहरूसँग गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिले गरेको अनौपचारिक सहमतिअनुसार जरिवाना तिराउन ताकेता गरिएको बताए । ‘लिखित निर्णय नभएकाले हामीले मौखिकरूपमा जरिवाना बुझाउन ताकेता गरिरहेका छौँ’, उनले भने, ‘लिखित र औपचारिक निर्णय नभएकाले जरिवाना तिर्न आनाकानी गर्नुभएको छ ।’ रानीवासाको बगरमा राजु मगर, पवैतीमा अनिल रोका, टङ्कलाल पौडेलले भारवाङमा, दोरण शेरचनले कमेरेमा, बलसिंह मगरले इल्पुमा, रातोढुङ्गामा सन्तनाथ सुवेदी र तिलक ढकालले बालुवा निकालेका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए । सुवेदी पूर्ववडाध्यक्ष र शेरचन पूर्व कार्यपालिका सदस्य हुनुहुन्छ । भारवाङमा बालुवा निकालेका पौडेलले मात्र रु एक लाख ७० हजार जरिवाना तिर्नुभएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बताए । रानीवासामा दुई लाख २५ हजार, पतेनीमा दुई लाख, कमेरेमा एक लाख २५ हजार, इल्पुमा एक लाख २५ हजार, रातोढुङ्गामा ५० हजार रुपैयाँ जरिवाना तोकिएको गाउँपालिकाले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका अध्यक्ष लेकबहादुुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुुनुवाइमा ठेक्का सम्झौताबिनै उत्खनन गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाउनुभएको थियो । अवैध हिसाबले बालुवा उत्खनन गरेर बर्खामा थुपार्ने र हिउँदमा गाउँपालिकाले ठेक्का आह्वान गर्दा ठेक्का नै नपर्ने समस्या देखिएको हो । गत वर्ष मालिका गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का लगाउन चार पटकसम्म सूचना प्रकाशन गरेको थियो । २० लाख बढीमा छ वटा बगर ठेक्का लागेको थियो । बर्खामा बाढीले बगाएर ल्याएको बालुवा थुपार्न नदीभित्र खाडल बनाएका छन् । छोटो समयमा धेरै, कम लागतमा बढी गहिराइमा पुगेर बालुवा निकाल्न पाइने लोभले कानुनले नदिए पनि डोजर प्रयोग गरेका छन् । हिउँदमा ठेक्का लिँदा बगरमा बालुवा कम हुने हुँदा ‘सेटिङ’ मिलाएर बर्खामा डोजर प्रयोग गरेर निकाल्ने, जरिवाना तिर्ने र लिलामीको प्रक्रियाबाट सकार्ने घुमाउरो विधि प्रयोग गरेको पाइएको छ । बालुवा निकाल्नेहरूले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग ‘सेटिङ’ गरेको स्थानीयको गुुनासो छ । ठेक्का सम्झौतामा मजदुर परिचालन गरेर उत्खनन गर्ने भनिए पनि व्यवहारमा डोजरको प्रयोग हुने गरेको छ । रासस