विकासन्युज

मंगोलिया विरुद्ध नेपालको किर्तिमानी जित, बने तीन रेकर्ड

काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

वीरगन्जमा अवैधानिक रुपमा ९ वटा कलेज सञ्चालनमा, महानगरले अगाडि बढायो कारबाही प्रकृया

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अवैध रूपमा सञ्चालित नौ वटा शैक्षिक संस्थालाई कारबाही गरेको छ । महानगरले अवैध कलेजलाई एक/एक लाख रुपियाँका दरले जरिबाना गरेको छ । महानगरपालिकाको अनुमति नलिई विभिन्न कलेज अवैध रूपमा सञ्चालन हुँदै आएका थिए । महानगर शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले भदौ १३ देखि गरेको अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइएपछि ती शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै कुनै पनि शैक्षिक कार्यव्रmम नगर्न रोक लगाएको र व्यवसाय दर्ता गरेको भए खारेज गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । जरिबानामा परेका शैक्षिक संस्थाहरूमध्ये वीरगन्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्णा पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल प्लस टु कलेज, सत्यम् पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेसनल कलेज रहेका छन् । यी सबैलाई जनही एक लाख रुपियाँ जरिबाना गरिएको छ भने बिजीबिज किड्स प्री स्कुललाई ५० हजार रुपियाँ जरिबाना गरिएको छ । यस्तै आफूले लिएको अनुमतिपत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने पिस जोन एकेडमी, ओसिस मावि, ग्रिनल्यान्ड मावि, गेल्डेन वाटिका, ज्ञान निकेतन मावि, न्यु वेभ एकेडेमी, एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगन्ज सेन्ट्रल स्कुललाई ५० हजार रुपियाँका दरले जरिबाना गरी नसिहतसमेत दिइएको छ । शैक्षिक महाशाखा प्रमुख कर्णले सिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि र प्रव्रिmया अनुसार अनुमति माग गर्न आएमा नियमानुसार अनुमति प्रदान गर्ने प्रक्रियाको थालनी भएकोसमेत बताए । आजको गोरखापत्रबाट ।

बिहीबार सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ । सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको हो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइदै आईएको छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ । जात्राका अवसरमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।  

इन्जिनियरिङको लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्रै उत्तिर्ण, विदेश पढ्ने अधिकांश फेल

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो । परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । त्यतिबेला आवेदन दिएका मध्ये त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका ४६ प्रतिशत, पूर्वाअञ्चल विश्वविद्यालयका २९.९४ प्रतिशत, पोखरा विश्वविद्यालयका ३०.९० प्रतिशत, मध्यपश्चिम विश्वविद्यालयका १७.७ प्रतिशत, काठमाडौँ विश्वविद्यालयका १५.३४ प्रतिशत र सुदूरपश्चिम विश्वविद्यालयका एक जना मात्रै उत्तीर्ण भएका थिए । परिषद्ले दोस्रो पटक गत असारमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा सहभागी दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण हुन सके । स्नातक तहको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, अटोमोबाइललगायत इन्जिनियरिङका २२ वटा विधाका लागि इन्जिनियरहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए । उत्तीर्णमध्ये काठमाडौँ विश्वविद्यालयका ६७.६८ प्रतिशत, त्रिभुवन विश्वविद्यालयका ४१.५८ प्रतिशत, पोखरा विश्वविद्यालयका ३४.९ प्रतिशत, पूर्वाञ्चलका २५.४९ प्रतिशत र मध्यपश्चिम विद्यालयका ११.६३ प्रतिशत उत्तीर्ण भएका थिए । परिषद्ले तेस्रो पटकको परीक्षा आगामी मङ्सिरमा सञ्चालन गर्दै छ । त्यसका लागि सोमबारसम्ममा दुई हजार चार सय जनाले फाराम भरिसकेका छन् । परिषद्का रजिस्ट्रार शिवमङ्गल गिरीले विगतका दुई परीक्षामा पूरक परीक्षाबाट उत्तीर्ण भएकाहरू सम्मिलित भएकाले नतिजा खस्किएको हुन सक्ने तर्क गरे । इन्जिनियरिङ कलेजका सञ्चालकहरूको संस्था एसोसिएसन अफ इन्जिनियरिङ कलेजेज अफ नेपाल (एकोन) का सदस्य किशोर गौतमले विगतमा ‘ब्याक पेपर’ दिएर उत्तीर्ण गरेका मात्र लाइसेन्स परीक्षामा सम्मिलित भएको र अब चारवर्षे कोर्स पूरा गरेका नियमित विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागिता जनाउने भएकाले उत्तीर्ण दर झन्डै दोब्बर बढ्न सक्ने दाबी गरे । ‘परीक्षाका लागि परीक्षा सञ्चालन गर्ने नभई बजारको आवश्यकतासँग पनि परीक्षालाई जोड्न सक्नु पर्छ । प्रश्नमा पनि एकरूपता हुन नसकेको देखिएको छ । समस्या विद्यार्थीमा मात्र नभई परीक्षा पद्धतिमा पनि हुन सक्छ । परीक्षामा सुधार गर्न परिषद्लाई आग्रह गरेका छौँ’, उनले भने । इन्जिनियरिङ परिषद्ले एक सय पूर्णङ्कमा कम्तीमा ५० अङ्क प्राप्त गर्नेलाई लाइसेन्स प्रदान गर्ने गरेको छ । परीक्षामा सबै प्रश्न वस्तुगत मात्रै हुने गरेका छन् । परीक्षमा गलत उत्तर दिएमा अङ्क घटाउने प्रावधान छैन । हाल नेपालमा ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । गोरखापत्रबाट ।

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको  नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ । गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो । सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए । केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको बताइएको छ । गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् । बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए । रासस

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक समूहको उक्त सेयरको मूल्य तोकिएको छैन । कम्पनीको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

२२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले ७ दिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । कार्यालयका अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि सम्पर्कविहीन भएका हुन् । गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् । यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मत खड्का, दिपक राई, केवोङलिङ आङदेम्बे रहेका छन् । यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन भनेको हो ।