विकासन्युज

जहाज खरिद पारदर्शी हुने पर्यटनमन्त्रीको दाबी

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औं विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए । मन्त्री किरातीले भने, ‘जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।’ निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् । पर्यटनमा नीतिगत सुधार अपरिहार्य पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताए । पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्ययअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गरे । ‘पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्’, उनले भने, ‘हामीले पर्यटक ल्याउने मात्रै नभइ उनीहरुको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।’ उनले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे । सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोडर लैजानुपर्ने धारणा राखिन् । राष्ट्रिय एकतालाई बलियो बनाउन पनि विविध संस्कृति र सम्पदाको जगेर्ना गर्न जरुरी रहेको उनको भनाइ छ । ‘पर्यावरणमैत्री पर्यटन विकासमार्फत मुलुकको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ । दिगो पर्यटन विकासका लागि नेपालको प्रकृति, संस्कृति, सम्पदा, पर्यावरण, परम्परा, भाषा, जातजातिको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने आवश्यकता छ’, उनले भनिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, नयाँ गन्तव्यको अध्ययन र खोज गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिरहेको बताए । उनले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा पर्यटन क्षेत्रमार्फत सबैभन्दा धेरै विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो । सोही अवसरमा पर्यटनमन्त्री किरातीले ललितपुर महानगरपालिकाले महानगरपभित्रको पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरेको नक्शा सार्वजनिक गरे । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । दिवसका अवसरमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका थिए । यस्तै ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि आयोजना गरिएको छ । संस्था र व्यक्ति सम्मानित सरकारले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सेभेन समिट ट्रेक्स प्रालि, सिता वल्र्ड ट्राभल प्रालि, एभरेष्ट हस्पिटालिटी एन्ड होटल तथा रिसोर्ट, पोखरा अष्ट्रालाई प्रालि छन् । साथै, नेपाल वायुसेवा निगम, कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, नवलपरासीको अमलटारी होमस्टे पनि सम्मानित भएका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पन सो अवसरमा सम्मान गरिएको छ । रासस

बुधबार नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबार

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र सेयर कारोबार दुबै घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो । २८२ वटा स्क्रीप्सको एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोडले घटी हो । मंगलबारको बजारमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबारभ भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो सूचीमा एनआईसी एशिया बैंक, तेश्रोमा रिलायबल नेपाल लाइफ, चौथोमा शिवम् सिमेन्ट र पाँचौंमा नागरिक लगानी कोष रहेका छन् । घटेको बजारमा पनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ । यता लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य १० प्रतिशत र शुवम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १००.६८ अंकले घटेको छ ।

पत्रकारलाई पनि पेन्सन, कति पाउँछन् पैसा ?

काठमाडौं । सूचना तथा प्रसारण विभागले जेष्ठ पत्रकारहरुलाई वृत्ति सेवाका लागि आवेदन आह्वान गरेको छ । विभागले पत्रकार वृति कोष तथा तथा सञ्चालन निर्देशिका बमोजिम विभिन्न सञ्चार माध्यममा आवद्ध जेष्ठ पत्रकारहरुका लागि  आवेदन आह्वान गरेको हाे । ३० वर्षदेखि पत्रकारिता पेसामा आवद्ध पत्रकारले सरकारबाट पेन्सनको सुविधा पाउने भएका हुन् । विभागले पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारहरूलाई वृत्ति प्रदान गर्न सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र कागजातसहित निवेदन दिन  आग्रह गरेको छ । विभागका सूचना अधिकारी मीनकुमार शर्माले गत वर्षदेखि पत्रकारलाई पेन्सन प्रदान गरिरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष ३ जना पत्रकारले यो सुविधा पाएका थिए । उनीहरुले मासिक अधिकतम् १० हजार रुपैयाँ पेन्सन पाएको उनको भनाइ छ । यो सुविधा पाउने पत्रकारले विभागबाट प्रदान गर्ने पत्रकार परिचयपत्र निरन्तर ३० वर्षसम्म नवीकरण गरेको हुनु पर्नेछ । विभागले सूचना मार्फत् निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र (नागरिकताको प्रमाणपत्रमा स्पष्ट जन्म मिति नखुलेको हकमा), तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको पुष्टि हुने कागजात र सङ्घीय एकाइका तीन तहबाट कुनै पनि प्रकारको आर्थिक तथा भौतिक सहयोग प्राप्त नगरेको भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको कागजात पेश गर्नु पर्ने जनाएकाे छ । यस्तै, पत्रकार वृत्तिका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय वा जिल्ला शाखाको सिफारिस पत्र, नेपालको सरकारी पदबाट निवृत्त भई वा हाल कुनै लाभको पदमा नेपाल सरकारद्वारा नियुक्त भई कुनै प्रकारको सेवा सुविधा प्राप्त नगरेको भनी स्वघोषणा र सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।’ प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित सूचना अनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् । साथै प्रहरी जवानहरुमा निवास चौधरी, पूर्णबहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह विक, सुरेन्द्रबहादुर शाही र सन्तोष सुनार छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको लागि सिट निर्धारण, कुन कलेजले कति कोटा पाए ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगको परीक्षा निर्देशनालयले असोज ९ गते एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि सिट निर्धारण गरेको हो । आयोगले एमबीबीएसमा १९२५, बिडिएसतर्फ ५४५, बिएससी नर्सिङतर्फ १७२०, बिएनएसतर्फ ११३० र बिएससी एमएलटी ३२५ सिट निर्धारण गरेको छ । आयोगले विभिन्न २१ वटा कलेजलाई एमबिबिएस, १४ वटा कलेजलाई बिडिएस र ५६ वटा कलेजलाई बिएससी नर्सिङको कोटा बाँडेको छ । आयोगले यी बाहेक पनि चिकित्सा शिक्षा अन्तर्गतका अन्य विषयहरुको समेत सिट निर्धारण गरेको छ । हेर्नुहोस, कुन कलेजले कति विषय सञ्चालन गर्नका लागि कति सिट प्राप्त गरे ?

खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौं । खल्ती लिंक गरि बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती  प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्ने कम्पनीले जनाएकाे छ। यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ । खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन् । साथै बैंक लिंक  खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समयमै  बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन् । यति मात्र नभएर खल्तीमा बैंक लिंक गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्ने कम्पनीले जनाएकाे छ। यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , ‘अहिले दसैँ नजिकिँदै गरेको माहौलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियतलाई मध्यनजर गर्दै  हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौँ । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी विश्वस्त छौँ।’

डलर भित्र्याउन मेरियट होटल र निगमबीच प्रतिस्पर्धा, यी हुन् बढी डलर ल्याउने उत्कृष्ट ८ कम्पनी

काठमाडौं । काठमाडौंको पाँचतारे होटल मेरियटले एक वर्षमा करिब साढे ५० लाख अमेरिकी डलर भित्र्याएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मेरियटले सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्ममा ५० लाख ४१ हजार २ सय ३७ डलर आर्जन गरेको हो । जुन होटल क्षेत्रमै सबैभन्दा बढी हो । सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेसँगै मेरियटलाई पर्यटन मन्त्रालयले सम्मान गरेको छ । मन्त्रालयले ४४ औं विश्व पर्यटन दिवसको अवसरमा मेरियटसहित सबैभन्दा विदेशी मुद्रा आर्जन गर्ने ८ वटा क्षेत्रलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रमको अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पर्यटनमार्फत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मान गरेका हुन् । ८ वटा क्षेत्रमध्ये सबैभन्दा बढी अमेरिकी डलर आर्जन गर्नेमा सरकार स्वामित्वको नेपाल वायुसेवा निगम रहेको छ । जसले समीक्षा अवधिमा ८ करोड ४५ लाख डलर आर्जन गरेको छ । त्यस्तै, मेरियट होटल सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउनेको दोश्रो सूचीमा परेको छ । मन्त्रालयको विवरणअनुसार ट्रेकिङ र पर्वतारोहणतर्फको साहसिक खेलतर्फ पोखरा अल्ट्राले ४४ हजार ३ सय ८८ डलर, सेभेन समिटले ४३ लाख २२ हजार ६४ डलर र ट्राभल एण्ड टुर्सतर्फ सीता वल्र्डले ३३ लाख ६१ हजार १ सय ३६ डलर आर्जन गरेका छन् । यस्तै, कृषि फार्ममा कपिलवस्तको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज पनि सम्मानित भएको छ । ३ बिगामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाईसमेत विकास गरेको भन्दै मन्त्रालयले कपिलवस्तुको उक्त रिसोर्टलाई सम्मान गरेको हो । सरकारले होमस्टेमा अमलटारी मध्यवर्ती सामुदायिक कावासोती र पर्वतारोहीतर्फ तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलालाई सम्मान गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु ९२ दिनभित्र आरोहण गरी कीर्तिमान कायम गरेको भन्दै लामा र नर्वेकी हेरिलालाई सम्मान गरिएको हो ।

हिमालय एयरलाइन्सले जहाजभित्रै पसल चलाउँदा आम्दानी बढ्यो, निगमले पनि सुरू गर्दै

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले जहाजभित्रै ‘अनबोर्ड ड्युटी पेड स्टोर’ अर्थात् पसल सञ्चालन गर्न थालेको लामो समय भएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई जहाजभित्रै पसल राख्न पाउने व्यवस्था गरेसँगै हिमालयले पनि याे सो सेवा सुरु गरेको थियाे । मन्त्रालयले २०७९ को भदौ २० गते ‘अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । मन्त्रालयले स्वीकृत दिएसँगै हिमालय एयरले हाल उडान गर्दै आएको सबै गन्तव्यमा पे सप सञ्चालन गर्दै आएको छ । हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले हाल उडान गर्दै आएको सबै गन्तव्यमा खानाका परिकारहरु बिक्री गर्दै आएको जानकारी दिए । ‘विदेशका सबै एयरलाइन्सले लामो समयदेखि जहाजमा सामानहरु बिक्रीको काम गर्दै आएका छन्, हामीकहाँ अहिले वायुसेवा कम्पनीले दिने मात्र खानेकुराहरु उडानमा पाइन्छ, थप खानका लागि उडान नसक्दासम्म विकल्प नै थिएन्, सरकारको निर्णय अनुसार हामीले नियमित दिने बाहेक पेडमा खानाका परिकार बिक्री केही समय अघिदेखि सुरु गरेका हौँ’, उनले भने, ‘खाने कुरामात्र (खानाका परिकार) बिक्री हुँदै आएको छ, हाम्रो उद्देश्य भनेको समयमै सस्तो र सुलभ रुपमा गन्तव्यमा पुर्याउने हो ।’ उनले एयरलाइन्स कम्पनीले उडानका क्रममा दिने बाहेकका परिकार आफ्नो आवश्यकता जहाजमा नै पाइएपछि यात्रुहरुले दिने प्रतिक्रिया सकारात्मक हुने गरेको बताए । जहाजभित्र पे सप सञ्चालन हुँदा आम्दानी राम्रो रहेको भन्दै उनले विस्तारै आम्दानी बढ्ने अनुमान गरिएको बताए । एयरलाइन्सले हाल बंगलादेश, मलेसिया, कतार, कुवेत, साउदी अरब, दुबई र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । निगम पनि तयारी थाल्दै  नेपाल वायुसेवा निगमले २०६४ सालसम्म उडान गर्ने सबै गन्तव्यमा पे सप सञ्चालन गर्ने गरेको थियो । निगमले ड्युटी फ्री सपबाट विभिन्न सामग्री खरिद गरेर जहाजमा सस्तो मूल्यमा बिक्री गर्ने गरेको थियो । २०६४ सालसम्म निगमको एउटा मुख्य आम्दानीको स्रोत नै ड्युटी फ्री सप बनेको थियो । तर, सरकारले २०६४ सालमा भन्सार ऐन जारी गरेपछि निगमको व्यवसाय खोसिएको थियो । भन्सार ऐनले जहाजभित्र ड्युटी फ्री सप सञ्चालन गर्न कडाइ गरेपछि निगमले पे सप बन्द गरेको थियो । पे सप बन्द भएको झन्डै १६ वर्षपछि निगमले पे सप सञ्चालनका लागि २०८० को साउन पहिलो साता मन्त्रालयसँग अनुमति माग गरेको छ । निगम अन्तर्गतको कर्पाेरेट विभागले पे सप सञ्चालनका लागि अनुमति माग गरेसँगै मन्त्रालयले सञ्चालनको अनुमति समेत दिइसकेको छ । मन्त्रालयबाट पे सप सञ्चालनको अनुमति पाएसँगै आवश्यक तयारी थालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा संस्थाहरुलाई उडानका बखत जहाजभित्र पसल सञ्चालन गर्न सहजीकरण गर्दै नेपाली वायुसेवा कम्पनीको अतिरिक्त आम्दानीमा वृद्धि गराई वायुसेवालाई थप सबल, सुदृढ र दीगो बनाउनका लागि राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पु¥याउने उद्देश्यले पसल सञ्चालनका लागि आवश्यक अनुमति प्रदान र सञ्चालन कार्य व्यवस्थित गर्न आवश्यकता भएको कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार जहाजभित्र पसल सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर सुनिश्चित हुनुपर्ने, बिक्रीपछि यात्रुलाई आधिकारिक बिल जारी गर्नुपर्ने, प्रचलित कानुनको पूर्ण पालना गर्नु पर्ने, विवरण अद्यावधिक राख्नु पर्ने, सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रूपमा मन्त्रालयमा पेस गर्नुपर्ने उल्लेख छ । विमानस्थल सेवा शुल्क नियमावली २०७८ को पूर्ण पालना गर्नु पर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सेक्युरिटी म्यानुअल, फ्लाइट अप्रेसन र क्याबिन क्रु म्यानुअल पूर्ण पालना गर्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ ।