विकासन्युज

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन

काठमाडौं स उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रालय र उपत्यकाअन्तर्गतका विभाग कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट योगाभ्यासरध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनेको छ । साथै, अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रीको सचिवालयका उपसचिव भीमकान्त शर्माले आज एक सूचना जारी गरी उक्त जानकारी दिए । अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य तहका कर्मचारीका लागिसमेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । यसअघि गृहमन्त्री श्रेष्ठले सबै कार्यालय र प्रहरी युनिटमा योगाभ्यास सुरु गर्ने बताइसकेका थिए । उनले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन पनि नियमित योगाभ्यास जरुरी रहेको बताउँदै आएका छन् ।

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच ४ बुँदे सहमति

काठमाडौं । धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच आज बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ‘ईः’ ले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले आन्दोलन गरेका थिए । फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ‘ईः’ अनवरत एक सय ९९ घन्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिँदै आएका थिए । बुधबार भएको दुई पक्षबीचको सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ । फुटपाथ÷सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने एक सय १९ घन्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ईः र सहभागी साथीहरूको स्वास्थ्यलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने सहमति भएको छ । त्यसैगरी फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्ने सहमति भएको छ । महानगरपालिकाले तोकेका तीन जना, अभियानकर्ता ईः को तर्फबाट तोकिएका प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयको प्रतिनिधि एक जना, ट्राफिक प्रहरीको प्रतिनिधि एक जना तथा साविकमा फुटपाथ÷सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानूनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ ।

कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए । बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान र कानुनको संरक्षण र पालना गर्ने विषयमा ध्यानकर्षण पत्र बुझाउने निर्णय गरेको छ । “विशेष अवस्थामा कैद माफी दिन सकिने प्रावधानको गलत प्रयोग गर्दै सरकारले संविधान दिवसका दिन थुप्रै कैदीको कैद मिनाहाका लागि सिफारिस गरेको तथा कानुनका बर्खिपाल हुने गरी जघन्य अपराधमा मुछिएका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको विषयमा बैठकले भत्र्सना गरेको छ”, उनले भने । राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा भीमबहादुर खवाससमेतका ४९७, हर्कबहादुर लिम्बुसमेतका १७० र ज्येष्ठ नागरिक समदिन मियाँसमेतका ३ गरी कूल ६७० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए । गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले ती कैदीको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले कारागारमा बस्दा आचरण सुध्रिएका, ५० प्रतिशत कैद भुक्तान गरेका र निश्चित उमेर कटेका कैदीको कैद मिनाहा गर्ने व्यवस्था छ । बैठकले सरकारले प्रारम्भमा भ्रष्टाचारको नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सकारात्मक सुरुआतको सङ्केत गरेपनि पछिल्ला गतिविधिले संशय पैदा गरेको निष्कर्ष निकालेको छ । “ललिता निवास, नक्कली भूटानी शरणार्थी र सुन काण्डको अनुसन्धान र अभियोजनप्रति जनस्तरमा प्रश्न उठ्न थालेको छ, घटनामा संलग्नप्रति सरकारले नरम नीति लिएको विषयले त्यसको पुष्टि गरेको छ”, प्रवक्ता ढकालले भने । रास्वपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी भएको घटनाको छानबिन गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच यही असोज ५ गते उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएकामा सरकारले समिति गठन नगरेर सहमति उल्लङ्घन गरेको ठहर गरेको छ । “भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नुपर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप प्रत्यारोपमा उत्रिदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ”, उनले भने, “बैठकले सो सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै तत्काल उच्चस्तरीय समिति गठन गरी कार्यादेश तोक्न माग गरेको छ ।” पछिल्ला दिनमा उपचारका क्रममा लापरबाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्दै बैठकले चिकित्सकमाथि आक्रमण गर्ने कानुनअनुसार तत्काल कारबाही गर्न पनि माग गरेको छ । सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति रहेको जनाउँदै बैठकले उक्त अहसमतिलाई संसदीय प्रक्रियामा दर्ता गराउने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए । बैठकले मुलुकका विभिन्न स्थानमा धार्मिक, जातीय तथा साम्प्रदायिक सुसम्बन्ध खलल पुर्याउन स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकाल्दै सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसङ्ख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल गरेको छ । रास्वपाले जुनसुकै धर्मावलम्बी तथा समुदायलाई लक्षित गरी जुनसकै आवरणमा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । नेपालीका ठूला चाडपर्व नजिकिएको समयमा बजार थप अनियन्त्रित भएको ठहर गर्दै बैठकले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न र देशभरका उपभोक्तालाई राहत दिन सहुलियतपूर्ण बजार सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बैठकले पार्टीका तर्फबाट निर्वाचित भएको सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रका मतदातासँग सार्वजनिक सुनुवाई कार्यक्रम गर्न निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

लुम्बिनी विकास बैंकका संस्थापक गुरुङ्ग र थापाले २ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

अब दैनिक २० केजी सुन आयात गर्न पाउने

काठमाडौं । दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रधानमन्त्री दाहाल मानसरोवर जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने छन् । र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहेका छन् । बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

कामना सेवा र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता भएको छ । दुई संस्थाबीच असोज १० गते बुधबार सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका-०७ देवदहस्थित एनएस यूनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।