विकासन्युज

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि-निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा बुधबार एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि-निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे । रि-निकोला मलेसियाको कम्पनी हो । लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो । सम्झौताअनुसार रि-निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ । सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि-निकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० गते बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रि–निकोलासँग हुने समझदारीपत्र को मस्यौदा गत भदौ ८ गते बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो । रासस

शिखरलाई उछिन्दै अघि बढे सलिको र सिद्धार्थ प्रिमियर, एनएलजी र प्रभुबीच टक्कर

काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु बिजनेसमा एग्रेसिभ देखिएका छन् । भदौसम्मको तथ्यांकअनुसार मर्जरमा गएका कम्पनीहरुले बीमाशुल्क आर्जन अर्थात प्रिमियम संकलनमा एग्रेसिभ देखिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अधिकांश सूचकमा नम्बर वान स्थानमा रहेको शिखर इन्स्योरेन्सलाई मर्जरमा गएका कम्पनीले उछिनेका छन् । सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शिखर इन्स्योरेन्सको पहिलो स्थान खोस्दै प्रिमियम संकलनमा क्रमशः पहिलो र दोश्रो स्थानमा प्रवेश गरेका छन् । १४ कम्पनीमध्ये सलिकोले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । भदौ महिनासम्ममा कम्पनीले ९१ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ७३ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जारी बीमालेखमा भने सलिकोलाई सिद्धार्थ प्रिमियरले उछिनेको छ । सिद्धार्थ प्रिमियरले ५० हजार ८६१ वटा बीमालेख जारी गर्दा सलिको ४६ हजार ९५८ वटा बीमा पोलिसी जारी गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स तेश्रो स्थानमा झरेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ४३ हजार १८६ वटा बीमालेख जारी गरी ६६ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो अवधिमा कम्पनीले ३७ हजार ३८७ वटा बीमा पोलिसी जारी गरेको छ । पाँचौं स्थानमा आईजीआई प्रुडेन्सियल र छैटौंमा नेको इन्स्योरेन्स रहेका छन् । भदौसम्ममा आईजीआई प्रुडेन्सियलले ५५ करोड र नेकोले ५२ करोड ६४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । यी दुई कम्पनीले क्रमशः ३६ हजार २६३ वटा र ४५ हजार ३१५ वटा बीमा पोलिसी बिक्री गरेका छन् । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले ६ हजार ४८९ वटा बीमा पोलिसी जारी गरी ५१ करोड २९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । युनाइटेड इन्स्योरेन्सले ३१ हजार ९५९ वटा बीमा पोलिसी बिक्री गरी ४५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । एनएलजी र प्रभु इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । एनएलजीले ४२ करोड ८९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्दा प्रभुले ४१ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जारी बीमालेखको आधारमा भने एनएलजीभन्दा प्रभु इन्स्योरेन्स धेरै पछाडी छ । एनएलजीले ३१ हजार ५९ वटा बीमालेख जारी गर्दा प्रभुले १५ हजार २८६ वटा पोलिसी बिक्री गरेको छ । मर्जरमा गएका सानिमा जिआईसीले समीक्षा अवधिमा २४ हजार ९२ वटा बीमा पोलिसी बिक्री गरी ४१ करोड ४३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । त्यस्तै, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ । जारी बीमालेखमा भने नेशनललाई नेपाल इन्स्योरेन्सले उछिनेको छ । दुई महिनामा नेपाल इन्स्योरेन्सले २७ हजार २२ वटा र नेशनले ६ हजार ४८० वटा पोलिसी बीमितहरुलाई बिक्री गरेका छन् । समग्रमा निर्जीवन बीमा क्षेत्रबाट ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । कम्पनीहरुले साउन र भदौमा कूल ४ लाख ८ हजार ९७३ वटा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।

विदेशीहरू कर्णाली र सुदूरपश्चिममा लगानी गर्नै मान्दैनन्, कुन प्रदेशमा कति ?

काठमाडौं । कर्णाली प्रदेशमा वैदेशिक लगानीमा सञ्चालित उद्योग तथा सेवा क्षेत्र शून्य जस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९ मा कर्णाली प्रदेशमा ०.०२ प्रतिशत मात्रै वैदेशिक लगानी रहेको छ । नेपालमा ५७ देशको कूल २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । कूल वैदेशिक लगानीको कर्णाली प्रदेशमा भने ०.०२ प्रतिशत अर्थात् ४ करोड ७८ लाख रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी विदेशी लगानी रहेको छ । बागमती प्रदेशमा ५५ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोशी प्रदेशमा १७ प्रतिशत अर्थात् ४५ अर्ब ५ करोड रुपैयाँ, गण्डकी प्रदेशमा १६.८ प्रतिशत अर्थात् ४४ अर्ब ४३ करोड रुपैयाँ र मधेश प्रदेशमा ८.८ प्रतिशत अर्थात् २३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सुदूरपश्चिम प्रदेशमा ०.९ प्रतिशत अर्थात् २ अर्ब ३२ करोड रुपैयाँ र लुम्बिनी प्रदेशमा १ प्रतिशत अर्थात् २ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने भएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै : कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ । अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नेछन् । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सकिने बैंकले जनाएको छ । साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिनु समेत बैंकले अनुरोध गर्दछ ।

विदेशी लगानीका कम्पनीको लाभांश निरन्तर घट्दै, कुन क्षेत्रबाट कति बाहिरियो ?

काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले प्राप्त गर्ने लाभांश वर्षेनी घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी लगानी रहेका कम्पनीहरुले लिने लाभांश घट्दै गइरहेको तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लिएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका कम्पनीले लिने लाभांश ३९.८८ प्रतिशतले घटेको हो । यस्तै, आथिृक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को लाभांश भने सार्वजनिक गरेको छैन । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीका कम्पनीले कुल कुल १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले कम हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी लाभांश उत्पादनमुलक उद्योगबाट फिर्ता गएको छ । सो क्षेत्रबाट ७ अर्ब ३१ करोड ५० लाख, सुचना प्रविधि क्षेत्रबाट ५ अर्ब ४० करोड २० लाख, विद्युतीय क्षेत्रबाट १ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लाभांश बाहिरिएको तथ्यांकले देखाउँछ । यस्तै, बैंक, बीमा तथा वित्तीय क्षेत्रबाट अघिल्लो वर्ष १ अर्ब ८ करोड ९० लाख रुपैयाँ लाभांश बाहिरिएको छ । कुन क्षेत्रबाट कति लाभांश ?  

डिशहोमका ग्राहक भुपाजित राईले जिते एक लाख रुपैयाँ

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज ८ गते सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन् । डिशहोमका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउँनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा ५७ देशको लगानी, कुन देशको कति ?

काठमाडौं । नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ मा नेपालमा ५७ देशको प्रत्यक्ष लगानी रहेको तथ्याङ्क छ । भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सनराइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटलको १३ औं (तेह्रौ) वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराइज क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा बुधवार आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न गरेको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ । साथै, यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित् भएको छ । उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सनराईज क्यापिटल र लक्ष्मी क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको संचालक समितिलाई अख्तिियारी दिने निर्णय गरियो ।