विकासन्युज

बेलायतका विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीलाई घरभाडा भारी पर्दै

काठमाडौं । पछिल्लो समयमा बेलायतका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले महंगो घरभाडाको सामना गरिरहेका छन् । जसकारणले अनुमान गरिएको भन्दा बढी खर्च गर्नुपर्ने अवस्था आइपरेको रिपोर्टमा उल्लेख गरिएको छ । रियल स्टेट फर्म कुशम्यान एन्ड वेकफिल्डको सर्वेक्षण अनुसार सन् २०२२/२३ को तुलनामा घरभाडामा ८ प्रतिशतले वृद्धि भएको छ । धेरै विद्यार्थीहरुले सुहाउँदो मूल्यको कोठा पाउन निकै संघर्ष गरिरहेका छन् । कतिपय स्थानहरुमा घरभाडामा २७ प्रतिशत सम्म वृद्धि भएको जनाइएको छ । बेलायतमा पछिल्लो दशकमा आवास व्यवस्था गरेर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ३ लाख ९० हजारले वृद्धि भएको छ । आवासहरुको विकास तथा संचालन खर्चमा भएको वृद्धिको कारण र उच्च मुद्रस्फितिको कारणले भाडामा वृद्धि भइरहेको जनाइएको छ । राजधानी लन्डन भन्दा बाहिर एक वर्षको घरभाढा ७६०० पाउन्डस्टर्लिङ सम्म पुगेको छ । जुन विद्यार्थीले प्राप्त गर्ने ऋणको ७७ प्रतिशत हो । कुशम्यान एन्ड वेकफिल्डका अनुसार विश्वविद्यालय भएका प्रमुख शहरहरुमा प्रत्येक १० मा एकवटा बेड मात्रै विद्यार्थीहरुले मर्मत ऋण तथा अनुदानका आधारमा प्राप्त गर्ने सम्भावना छ । नेशनल युनियन अफ स्टुडेन्टले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा बेलायतमा अध्ययन गर्ने ६९ प्रतिशत विद्यार्थीहरुले पार्ट टाइम काम गर्ने गर्छन्, जसले उनीहरुको खर्चलाई न्यूनिकरण गर्न सहयोग पुर्याएको छ । तर, अधिकांश विद्यार्थीहरुले कामको कारणले आफ्नो अध्ययनमा बाधा पुगेको प्रतिक्रिया दिएका छन् । नेशनल युनियन अफ स्टुडेन्टका उपाध्यक्ष क्लो फिल्डले मुद्रास्फितिको आधारमा मर्मत ऋणको व्यवस्था हुनुपर्ने र घरभाडालाई नियन्त्रण गर्न आवश्यक भएको प्रतिक्रिया दिएका छन् । एजेन्सीको सहयोगमा ।

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी

काठमाडौं ।  सूर्य नेपालको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकहरुको आवश्यकताहरुलाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा उपलब्ध छन् । यी उत्कृष्ट उत्पादनहरुलाई सशक्त रुपमा ग्राहकहरुमाझ पुर्याउन तथा आफ्नो उत्पादनहरुको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले बताएको छ । नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनय गरिसकेकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायका साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ । अभिनेत्री सिवाकोटीले आफूपनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा औधी खुशी लागेको बताइन् । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

दीपेन्द्रसिंह ऐरीका बुवा भन्छन् : छोराकाे कीर्तिमानले देश खुसी भएको छ

महेन्द्रनगर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनी बताउँछन् । ‘घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे’, छोराको सफलताले हर्षित गगनसिंह भन्छन्, ‘चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।’ एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झिए । ‘चार छोरामध्ये साइँलो हो, दीपेन्द्र’, उनले भने, ‘छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।’ विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । ‘स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो’, उनले भने, ‘खेलप्रतिको लगाव र महेनतकै कारण आज उ सफलतातर्फ लम्किँदैछ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।’ सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उनी बताउँछन् । करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सरेका थिए । नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् । ‘छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थे’, उनी भन्छन्, ‘समयअनुसार परिपक्क हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो ।’ बुवा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी थिए भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए । ‘छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपीएफ क्लबमा क्रिकेट नै खेल्छिन्’, उनी भन्छन्, ‘छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ । क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ ।’ एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन् । महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताउँछन् । ‘निकै मेहनती र क्रिकेटलाई नै जीन्दगी ठानेर उ अघि बढिरह्यो’, उनी भन्छन्, ‘क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ ।’ दीपेन्द्रले पढाइभन्दा पनि त्यो बेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उनको भनाइ छ । ‘म प्याब्सनको अध्यक्ष हुँदा दीपेन्द्र सुकासालको विद्यालयमा पढ्थ्यो’, नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष एवं महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूलका सञ्चालक दीपकराज चालिसे भन्छन्, ‘प्याब्सनको खेल हुँदा उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाए । स्कूलस्तरमा खेल्ने शैली र मेहनतबाट प्रभावित भएरै क्रिकेटमा ल्याउन पहल गरिएको हो ।’ ‘हामीकहाँ नै भर्ना भएपछि सन् २०१४ देखि नै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा उ सहभागी हुन थाल्यो’, उनी भन्छन्, ‘त्यो बेलादेखि अध्ययनभन्दा पनि खेलमै दीपेन्द्रको बढी जोड थियो ।’ रासस

एलिकाको दसैँ तिहार अफर सार्वजनिक

काठमाडौं ।  नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रा. लिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याइएको हो । जसअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भाद्र २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो । जसले किचन हुड, इन्डक्शन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।

इन्द्रजात्राका कारण आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौं । (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको जनाइएको छ । महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदलयात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउनसमेत सबैमा आग्रह गरेको छ ।

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

काठमाडौं। ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कूल क्षमता एक सय छ मेगावाट छ । स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै छ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए । उनले हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारी समेत अन्तिम चरणमा रहेको उनको भनाइ थियो । कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ । आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ । आयोजनाबाट वार्षिक रुपमा छ सय २३ दशमलव ४७ गिगावाट घण्टा बराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजना अर्धजलाशय प्रकृतिको हो । यसको डिजाइन बहाव १६ दशमलव सात घनमिटर प्रतिसेकेण्ड छ । यस्तै कूल ग्रस हेड सात सय ८९ दशमलब ६० रहेको छ । आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बाँया किनारामा छ । पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटर बराबर निर्माण गरिनेछ । ‘क्रङ्क्रिट ग्राभिटी टाइप’ को बाँध निर्माण हुने र समुद्री सतहबाट दुई हजार छ सय ९६ मिटरमा रहनेछ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेशनमा जोडिनेछ । सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएलल) ले चार अर्ब बराबरको लगानी गर्ने भएको छ । गत भदौ ९ गते एचआइडिसिएल र प्रवद्र्धक कम्पनीकाबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए। सो आयोजना निर्माणका लागि करिब रु २३ अर्ब लाग्ने अनुमान छ । सबै खालका अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले लगानी गर्ने तयारी गरिएको छ । आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार उपलब्ध गराइसकेको छ । त्यस्तै दोस्रो चरणमा रु छ करोड चालु आवमा नै भुक्तानी गरिसकेको छ । आयोजनाको कूल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ । विद्युत् खरिदबिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने सुुरु हुनेछ । आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत रु सात सात अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ । सोही कम्पनीले नै ८२ दशमलब तीन मेगावाट क्षमताको को जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ । आयोजनाको प्रवद्र्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत बराबरको शेयर स्वामित्व छ । यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत शेयर स्वामित्व छ । बाँकी रहने ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । हाल पहुँचमार्ग निर्माणको काम जारी छ । आयोजनाको विस्तृत इञ्जिनीयररिङ अध्ययन सम्पन्न भइसकेको छ । आयोजनाका लागि दुई सय दुई सय ६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण भइसकेको छ । रासस

विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

काठमाडौं । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ । त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पु¥याउनु पर्ने मांसपेशीमा रगत पु¥याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो । यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ । अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ । मानवताका लागि मुटु संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ । यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो । त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ । मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ । हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन । धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ । यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ । प्रकृतिका लागि मुटु मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ । आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ । मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ । यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो । प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ । यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ । आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन् । कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ । मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ । समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ । आफ्नै लागि मुटु अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ । पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ । आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि ? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि ? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ । रोग लागिहाल्यो भने पनि चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ । मुटु के हो त ? मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो । यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ । मुटु दिनको एक लाख १५ हजारपटक धड्किन्छ । दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ । हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पु¥याउँछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ । बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ? मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ । जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छम् । के गर्न उचित होला ? विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ । तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल ग¥यौँ त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफैँ नियन्त्रण गर्न सकिन्छ । वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ । चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं । (लेखक वरिष्ठ मुटु रोग विशेषज्ञ हुन्)

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

काठमाडौं  । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरिसकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरिसकिएको उनले बताए । गृह मन्त्रालयले भनेको छ, “अतः स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।” साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले  अनुरोध गरेको छ । मन्त्रालयका अनुसार देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । उक्त ऐनमा व्यवस्था भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय पनि भएको गृह प्रवक्ता शर्माले जानकारी दिए । रासस