विकासन्युज

६ बुँदे सहमति गरेर चिकित्सकहरुले फिर्ता लिए आन्दोलन

काठमाडौं । नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाहीका गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुव्र्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग सङ्घर्ष समितिले राखेको थियो । सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ । सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८ हजार ९९९ कित्ता सयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीलाई प्राथमिकता राखेर बिक्री गरिएकोमा कसैको पनि दाबी नपरेपछि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन पेश गर्न आग्रह बैंकले गरेको छ ।

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २६ गते अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यस्तै, बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कुशलकी आमा भन्छिन् – आक्रामक खेल्ने भएकाले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ तर, अस्तिको खेल पूरै हेरेँ

काठमाडौं । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई २७३ रनको भारी अन्तरले पराजित गरेपछि उनमा कुनै खुसीको कुनै सीमा रहेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेरिन् । उनले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाइन् । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उनले भनिन्, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।” कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन् । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहेका बाबु रोमन्त झनै खुसी छन् । उनी खुसी हुनुको कारण पनि आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी छन् । कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन छन् । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछन् । “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उनले भनिन्, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।” कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताइन् । क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको बताउँछन् । “क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, उनले भनिन्, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।” प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ । कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भनिन्, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।” कुशलको कीर्तिमानी शतक एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ । यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएइविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।रासस

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क

काठमाडौं । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू एजेन्टबाट ठगिने गर्छन् । उपत्यकामा कोठा भाडामा पाउन त्यति सहज छैन । एजेन्टकै कारण अचेल कोठा खोज्न घरघरमा जानु पर्दैन । कम्पनी र व्यक्तले नै चाहिएका स्थान र मूल्यका कोठा खोजिदिन्छन् । खाली कोठा देखाएबापत कोठा खोजिदिने कम्पनीले ग्राहकसँग एक हजार रुपियाँ असुल्ने गरेका छन् । कम्पनीले सो काम स्थानीय दलाललाई सुम्पिन्छन् । दलालले थप रकम असुल्ने गरेका छन् । दलालले लिने गरेको शुल्कको बिल दिने चलन हुँदैन । पाल्पा रैनादेवी गाउँपालिकाका रामजी शाहीले बसुन्धारा, गोंगबु र चक्रपथ क्षेत्रमा एउटा कोठा खोज्न बिचौलियालाई पहिले तीन हजार रुपियाँ दिएको बताए । उनले भने, “एक महिना खोज्दा पनि कोठा नपाएपछि फेसबुकमा आएको नम्बरमा कोठा भाडा मिलाइदिने अफिसमा सम्पर्क गरेँ । त्यसपछि हेरेको कोठा ठिकैका रहेछन् । पहिलाको अफिसलाई हजार रुपियाँ दिनुपर्ने रहेछ । त्यसपछि कोठा देखाउने दलाललाई दुई हजार दिएपछि बल्ल कोठा पाइयो ।” तीनकुने सुविधानगरस्थित होम रेन्टल सर्भिसका प्रमुख कमला थापाले प्रतिकोठाको एक हजार पाँच सय रुपियाँ लिने गरेको बताबताइन् । उनले भनिन्, “दैनिक २० देखि २५ जनासम्म कोठा मिलाइदिनुर्पयो भनेर आउनुहुन्छ । घरधनी पनि कोठा भाडामा लगाइदिनु र्पयो भनेर भन्न आउनुहुन्छ । रजिस्ट्रेसन शुल्क लिएपछि कोठा नपाउँदासम्म वा एक महिनासम्म काम गरिदिन्छौँ ।” कोठाभाडा लिने र दिनेलाई सुविधा भएको घरधनीको दाबी छ । टोखा ग्रिनल्यान्डका एक घरधनीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एजेन्टलाई जिम्मा दिँदा घरभाडा दिन सजिलो भएको तर्क गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सोनापुर मिनरल्सको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता खरिद गर्न कति चाहियो ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आज असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता बिक्री गरेको थियो । रीतपूर्वक आवेदन परेको १ लाख ३४ हजार ५२० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख १६ हजार ५६८ कित्ता र सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । क र्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । दोस्रो चरणमा अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता आवेदन दिन मिल्ने भएकाले लगानीकर्ताले उक्त सेयर खरिद गर्न २ हजार ३७५.८० रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।

दशैंको मुखमै सरकारको महँगी उपहार

काठमाडौं । नेपालीहरुको महान पर्व आउन अब एक महिना पनि बाँकी छैन। सर्वसाधारणहरु दशैंका लागि किनमेलमा व्यस्त भइसकेका छन् । मुख्य बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालिसकेको छ । कतिपय मानिसहरु दशैंलाई विशेष बनाउन विदेशबाट घर फर्किरहेका छन् भने कतिपय शहरबाट गाउँ फर्किने तयारी गरिरहेका छन् । यही बीचमा सरकारले नागरिकलाई विशेष उहार दिएको छ । नेपाल सरकारको मातहतमा रहेको नेपाल आयल निगमले सार्वजनिक विदाको दिन अर्थात् शनिबार पनि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य बढाएर जनतालाई उपहार प्रदान गरेको छ । सरकारले दशैंको मुखमै महँगी उपहार दिएको छ । चाडपर्वको समयमा बढाएको २१५ रुपैयाँ सर्वसाधारणका लागि धेरै हो । यस्तै, पेट्रोल र डिजेलको मूल्य पनि लिटरमा दुई रुपैयाँले बढेको छ भने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ८ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ पर्ने भएको छ भने डिजेलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ पर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १.०९५ डलर पर्ने भएको छ भने आन्तिरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ । निगमले भारतले मूल्य बढाएर पठाएकोले नेपालमा पनि बढाएको बताएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य बढाएसँगै अब बजारमा पनि विभिन्न वस्तुको मूल्य बढ्ने भएको छ । सार्वजनिक सवारी र हवाई भाडा पनि बढ्ने निश्चित छ ।

खाना पकाउने ग्यासको मूल्य २१ सय १० पुग्यो, पेट्रोल/डिजेलको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । अब खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ भने प्रतिलिटर पेट्रोलको १८५ र डिजलेको मूल्य १७९ रुपैयाँ कायम गरिएको छ ।