रास्वपाद्धारा मूल्यवृद्धिको विरोध, बहिस्कार गर्यो प्रधानमन्त्रीसँगको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले गरेको मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीका सभापति रवि रामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै चर्को मूल्यवृद्धिको विरोध गरेका हुन् । साथै, यसको विरोधस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका बैठक बहिस्कार गर्ने रास्वपाको निर्णय छ । ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दिप्रति हाम्रो गम्भीर आपत्ति छ, यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौं, थप कार्यक्रम बारे जानकारी दिनेछौं,’ उनले लेखेका छन् ।
नेपाल राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ । विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ । यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुने राष्ट्र बैंकले जनाएको छ ।
सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरु सकारात्मक
फाइल तस्बिर काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो । आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरु सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।
कतिमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?
काठमाडौं । आइतबारदेखि दोश्रो बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको तुलनामा करिब अधिकतम मूल्य हो । नेप्सेले सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको सेयर ‘सीएलआई’ सिम्बोलबाट किनबेच भइरहेको छ । कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले घटेर प्रतिकित्ता ४६४.५० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ८.५६ प्रतिशतले घटी हो ।
पर्यटकको गन्तव्य बन्दै नवलपरासीकाे ‘कुमसोत’
नवलपरासी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ । देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए। ‘विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमशः सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो’, उनले भने । आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्यरूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताए। आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उनले बताए। कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुनसक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताए । पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकासलगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए। कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताए।
सेयरभन्दा घरजग्गा किन्न सस्तो
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थासँगै उद्योगी व्यवसायीले पनि लगानी गर्न रुचाउने क्षेत्र हुन् घरजग्गा र सेयर बजार । पछिल्लो केही वर्षयता यी दुवै क्षेत्रमा ठूलो समस्या सिर्जना भएपछि अर्थतन्त्रमै त्यसको प्रभाव पर्यो । अर्थतन्त्र सुस्त बन्यो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सकेनन् भने उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नयाँ व्यवसाय तथा भएका व्यवसाय पनि विस्तार गर्न चाहेनन् । तर, पछिल्लो केही महिना यता भने बैंकहरुमार्फत् ऋण लिएर व्यवसाय गर्ने अवस्थामा व्यवसायी देखिएका छन् । विशेष गरेर गत असारसम्म घरजग्गा र सेयर बजारमा कमै मात्र कर्जा लगानी गरेका बैंकहरुले साउन महिना लागेसँगै कर्जाको भोलुम बढाएर कम ब्याजमै ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले सेयरधितो कर्जाको तुलनामा घरजग्गा क्षेत्रमा सस्तो ब्याजमा कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांक अनुसार बैंकहरुले घरजग्गामा औसत १२.४७ प्रतिशत ब्याजमा लगानी गरेका छन् भने सेयरधितो कर्जामा १२.९७ प्रतिशत ब्याजमा लगानी गरेका छन् । कुनै लगानीकर्ताले सेयरधितो राखेर १ करोड रुपैयाँ कर्जा लिन चाहन्छ भने उसले १ करोड कर्जाको वार्षिक १२ लाख ९७ हजार रुपैयाँ ब्याज रकम नै तिर्नु पर्ने हुन्छ । तर, लगानीकर्ताले सेयर नकिनेर १ करोडको कर्जा लिएर घरजग्गामा लगानी गर्छ भने उसलाई बैंकहरुले १२.४७ प्रतिशत मात्रै ब्याज लिएको देखिन्छ । त्यो भनेको १ करोड रुपैयाँ कर्जाको वार्षिक १२ लाख ४७ हजार रुपैयाँ हुन जान्छ । यहाँ व्यवसायीलाई सेयरभन्दा घरजग्गा क्षेत्रमा लगानी गर्नका लागि ५० हजार रुपैयाँ सस्तो पर्न जान्छ । गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले १२.८९ प्रतिशत ब्याजमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । गत बैशाखसम्म औसत १४ प्रतिशतको हाराहारीमा रहेको सेयर धितो कर्जाको ब्याज जेठ र असारमा १३ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, साउनमा ब्याज घटेर १२ प्रतिशतको हाराहारीमा झरेको हो । बैंकरहरुका अनुसार पछिल्लो समय ठूलो रकमको सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि सेयरधितो कर्जाको माग बढेको एक बैंकरले बताए । यस्तै, विगत एक वर्षको तथ्यांक हेर्दा सेयर कर्जाभन्दा घरजग्गा कर्जाको ब्याज सस्तो नै देखिन्छ । गत आर्थिक वर्षको साउनमा घरजग्गा कर्जामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका थिए । गत वर्षको भदौमा औसत ११.८५ प्रतिशत, असोजमा १२.५ प्रतिशत ब्याजमा बैंकहरुले घरजग्गा कर्जा लगानी गरेको देखिन्छ । बैसाखयता घरजग्गा कर्जाको ब्याज निरन्तर घट्दै गइरहेको छ । ब्याज घटाएसँगै कर्जा रकम पनि बढ्न थाले राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउनमा बैंकहरुले २ खर्ब ८ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको देखिन्छ भने असारमा २ खर्ब २ अर्ब, जेठमा २ खर्ब १४ अर्ब, बैशाखमा २ खर्ब ११ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेको देखिन्छ । कतिपयले भने घरजग्गा र सेयर बजारलाई बन्देज गर्ने किसिमका नीति बनाउन नहुने बताउँछन् । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा सेयर लगानीकर्ता अम्बिका पौडेलले सेयर बजार र घरजग्गा क्षेत्रलाई बन्देजको नीति अघि सार्दा समस्या भएको धारणा राखेका थिए । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो, हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा सेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ, घरजग्गा र सेयर कर्जामा पनि सधँै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो,’ पौडेलले भनेका थिए ।
एनएमबि बैंकले १ अर्ब २१ करोडमा किन्यो काठमाडौंमा जग्गा
काठमाडौं । एनएमबि बैंकले आफ्नै स्वामित्वमा केन्द्रिय कार्यालय निर्माण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कर्पाेरेट कार्यालय भवन निर्माण गर्ने भएको जनाएको छ । बैंकका अनुसार १०५.५६२६ आना क्षेत्रफल जग्गामा आफ्नो कर्पाेरेट कार्यालय निर्माण गर्ने भएको हो । भवन निर्माण गर्ने उद्देश्यले बैंकले उक्त जग्गा र सो जग्गामा रहेका संरचना खरिद गरेको बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए । उनका अनुसार उक्त जग्गा १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँमा खरिद गरेको हो । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको कम्पनी सचिव दाहालले बताए ।
पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु
फाइल तस्बिर कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ । पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ । अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ । सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ । ‘अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ’ उनले भने। अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ । सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन । पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।