विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको प्रक्रियाबाट सम्बोधन गराउन आवश्यक रहेको बताए। उनले संविधानको प्रबन्धअनुसार शिक्षाको मौलिक हकको कार्यान्वयन, तीन तहका सरकारबीचको शिक्षा सञ्चालनको कार्यक्षेत्र र व्यवस्थापनका लागि विधेयक ल्याइएको बताए। विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो । सांसद् सुवालले विधेयक दर्ता भएसँगै शिक्षकको आन्दोलन भएको, निजी विद्यालयले आफूखुसी शुल्क लिने प्रवृत्ति रोक्न नसकिएको र जिल्ला शिक्षा कार्यालयलाई पुनःस्थापना गर्न लागिएकोमा असन्तुष्टि व्यक्त गरे । जवाफमा मन्त्री राईले विसं २०७५ मा मस्यौदा भई मन्त्रिपरिषद्मा पुगेर फिर्ता भई पुनः मन्त्रिपरिषद् हुँदै संसद्मा आइपुगेकाले सहमतिका आधारमा संसदीय प्रक्रियाबाट यसलाई पारित गर्न आग्रह गरे । उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।
सिटिजन लाइफको पहिलो दिन : कारोबार सर्वाधिक, सेयर मूल्य कति ?
काठमाडौं । दोश्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबार कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कारोबारमात्रै नभई कारोबार संख्या र सेयर संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा छ । कम्पनीको कूल ३ लाख १८ हजार ७२४ कित्ता सेयर कूल २४ हजार ५६७ पटकमा किनबेच भएको छ । यता कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । पहिलो कारोबार ५०८ रुपैयाँमा कम्पनीको सेयर दिनभरमा घटेर प्रतिकित्ता ४५७.२० रुपैयाँमा झरेको छ । जुन रकमको आधारमा ५०.८० रुपैयाँले घटी हो । समग्रमा आइतबारको सेयर बजार ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा झरेको छ । जुन गत बुधबारको तुलनामा १.६५ प्रतिशतले घटी हो । बजारमा एक अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भने गत बुधबारको तुलनामा बढी हो । गत बुधबारको बजारमा एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये पनि १० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
चार्डपर्वलाई लक्षित गर्दै आइएमई पेले ल्यायो क्यासब्याक तथा बम्पर उपहार
काठमाडौं । ‘आइएमई पेले ले आउँदै गरेको दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ। असोज १४ गते देखि सुरु भइ मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । भने अन्त्यमा ८ जना विजेताले ५० हजार रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यससँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताए ।
मनकामना केबलकार दुई दिन बन्द रहने
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुन:सञ्चालनमा आउने छ ।
फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी
मङ्गलबारे । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए । केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्छन् । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ थियो । सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिए । उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उनले बताए । दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउएका छन् । बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । ‘गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु’, उनले भने, ‘धूपी प्रतिकिलो आठ सय र तितेपाती प्रतिकिलो चार सयमा लिने गरेको छु ।’ सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए । ‘खेर गइरहेको पाती, धूपीलगायत वनस्पतिबाट जडीबुटी/हर्बल तेल उत्पादन गरेर केही पैसा आउने भएपछि स्थानीयवासीले उत्पादन सुरु गरेका छन्’, स्थानीय घनेन्द्र काफ्लेले भने । यो नयाँ काम भएको भन्दै यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको बताए । काफ्लेले धूपीलगायत अन्य प्रजातीका बिरुवासमेत वितरण गरिएको जनाउँदै डिभिजन वन कार्यालय इलामले दुई लाख बिरुवा सहयोग गरेको जानकारी दिए । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रलगायत अन्य निकायबाट भने सहयोग पाउन नसकेको उनको भनाइ थियो । गाउँमा उत्पादित वस्तु बाहिर जान थालेपछि स्थानीयवासीसमेत खुसी भएका केशव दाहालले बताए । ‘उद्योगबाट उत्पादित तेल तथा जडीबुटी विदेश निर्यात हुन थालेपछि हामीलाई पनि हौसला मिलेको छ’, उनले भने, ‘उद्योग विस्तार हुँदै गए स्थानीयले रोजगारीसमेत पाउने छन् ।’ कस्तो जडीबुटी उत्पादन हुन्छ त ? यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो । तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन् । हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उनले बताए । यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए । स्थानीय निकाय तथा सरकारीले सडकको व्यवस्था गरिदिए यहाँबाट उत्पादित जडीबुटी अन्य जिल्लामा पनि पु¥याउन सकिने उनको भनाइ थियो । ‘नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्सलगायत देश निर्यात हुन थालेको छ’, दाहालले भने, ‘स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन । आर्थिक सहयोग भए, उद्योगलाई विस्तार गरी उत्पादन पनि बढाउने योजना छ ।’ रासस
हिमालयन रिको सीईओ बन्दै उपासना पौडेल
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन,’ कम्पनी स्रोतले विकासन्युजसँग भन्यो । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको विकासन्युजलाई जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
चाडवाड नजिकिएपछि बजार अनुगमन तीव्र
काठमाडौं । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताए । उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट ९२ लाख २५ हजार जरिवाना तिराइएको छ । त्यस्तै ३४ फार्मबाट एक करोड दुई लाख मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले बताए । चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए । आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ । विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना लगाइएको छ । कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ ।
तीन वर्षमा तपाईंको भान्सामा रहेको ग्यासको मूल्य कति बढ्यो ?
काठमाडौं । नेपाल आयले निगमले शनिबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदाथर्का मूल्य बढाउसँगै व्यापक आलोचना भयो । चाडपर्वको समयमा निगमले पेट्रोलियम पदार्थ, ग्यास र हवाई इनधनको मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भयो । निगमले एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएर २१ सय १० रुपैयाँ कायम गर्यो । जुन हालसम्मकै दोस्रो बढी मूल्यवृद्धि हो । यसअघि एलपी ग्यासमा निगमले २३५ रुपैयाँको मूल्यवृद्धि गरेको थियो । चाडपर्वकै समयमा इनधन तथा डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको भन्दै सरकारको आलोचना भएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धिको निर्णय फिर्ता लिएको बताएको छ । सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको बताएको छ । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ । आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अर्थात अब उपभोक्ताले पुरानै मूल्यमा किन्न पाउने उनको भनाइ छ । निगमले ग्यासको मूल्य बढाएर वर्षेनी जनताको भान्सा महँगो बनाइरहेको छ । तीत वर्षअघि १३ सयको हाराहारीमा रहेको ग्यासको मूल्य आजका दिनसम्म आइपुग्दा २११० रुपैयाँ पुगेको छ । यसअघि सर्वसाधारणले प्रतिसिलिण्डर १८९५ रुपैयाँमा खरिद गर्न पाउँथे । ती वर्षको अवधिमा ग्यासको मूल्य १३ पटक बढेको छ । लामो समय १८ सय रुपैयाँ कायम रहेको ग्यासको मूल्य त्यसपछि बढाएर १८९५ रुपैयाँ पुर्याइएको थियो । १४ को घटबढमा ग्यासको मूल्य १८ सयको हाराहारीमा थियो । यस्तै, सिलिण्डरको मूल्य सात पटक १५७५ कायम भएको देखिन्छ । चार महिना १५७५ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । २०७७ माघदेखि २०७८ असारसम्म १४०० रुपैयाँ मूल्य कायम भएको देखिन्छ । यस्तै, १४ पटक सम्मको मूल्य घटबढमा प्रतिसिलिण्डर १३७५ रुपैयाँ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । तीन वर्षको अवधिमा सिलिण्डरको मूल्य ५६.२९ प्रतिशत वृद्धि भएको देखिन्छ । निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार राति १२ बजेदेखि मूल्यवृद्धि फिर्ता हुने बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘सरकारबाट मूल्यवृद्धि फिर्ता गर्न निर्देशन आएको छ, निगमले पनि आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्छ, सरकारले स्थिरिकरण कोष र निगमले बुझाउनु पर्ने रकमबाट समायोजन हुने गरी मूल्यवृद्धि फिर्ता लिन आदेश दिएको छ,’ उनले भने । एनका अनुसार हाल निगमको मूल्य स्थिरिकरण कोषमा पैसा छैन भने निगमले सरकारलाई दिनु पर्ने रकम २ अर्ब १० करोड छ । सोही रकमबाट यो मूल्यवृद्धिलाई समायोजन गरिनेछ ।