नेपाल बैंकमा अधिकारीको ४ वर्ष : सेयरधनीले लाभांश पाए, बिजनेस दोब्बर बनाए

<p>काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी सोमबारदेखि बैंकबाट बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न नमानेपछि उनी बैंकबाट बाहिरिएका हुन् । बैंकका सञ्चालक आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी सोमबारदेखि बैंकबाट बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् ।

वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न नमानेपछि उनी बैंकबाट बाहिरिएका हुन् । बैंकका सञ्चालक आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन भएकाे छ । अब नेपाल बैंकले नयाँ सीईओ खाेज्नेछ ।

नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । त्यसअघि बैंक बाहिरबाट सीईओ ल्याउने अभ्यास थियो । बैंकको तल्लो तहदेखि माथिल्लो तहसम्म पुगेको ब्यक्ति भएकाले सीईओ अधिकारीले आफ्नो कार्यकालमा उल्लेख्य काम गरेको बैंककी उपकार्यकारी प्रबन्धक लक्ष्मी पण्डित बताउँछिन् ।

‘उहाँ त नेपाल बैंकको तल्लो तहबाट माथिल्लो तहमा पुगेको कर्मचारी हो, बैंककै प्रडक्ट भएको हुँदा बैंकप्रतिको माया पनि बढी नै हुन्छ, उहाँलाई सुरुदेखि नै आन्तरिक कुराहरु थाहा थिए, त्यही अनुसार उहाँले काम गर्नु भयो,’ उनले अधिकारीसँगको कामको अनुभव सुनाउँदै भनिन् ।

राजनीति नियुक्ति लिएर आउने सीईओलाई बैंकको आन्तरिक कुराहरु बुझ्न एक/दुई वर्ष लाग्ने गरेको र तलव भत्ता मात्रै पचाएर बाहिरिने गरेको उनको भनाइ छ । त्यसैले सीईओ अधिकारीलाई नै दोस्रो कार्यकालका लागि दोहोर्याउनु पर्ने आफुहरुको माग भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ ।

‘उहाँ दोहोरिनु पर्छ भन्ने कर्मचारीको पनि चाहना र माग थियाे, उहाँ आफू पनि बैंकका लागि खटिने र कर्मचारीलाई पनि खटाउन सक्ने क्षमता भएको ब्यक्ति हो, जतिबेलासम्म लक्ष्य पुरा हुँदैन तबसम्म आराम गर्नु हुँदैन भन्ने उहाँको स्वभाव थियाे, तर दाेहाेरिनु भएन,’ उनले भनिन्, ।

अधिकारी सीईओ हुनु पहिला र अहिलेको तुलना गर्ने हो बैंकले ठूलो फड्को मारेको उपप्रबन्धक पण्डित बताउँछिन् । बैंकको आन्तरिक प्रणालीलाई चुस्तदूरुस्त कायम गरेको उनको भनाइ छ । उनको कार्यकालमा सबैभन्दा देखिने गरी भएको भनेको पारदर्शिता रहेको उनले जानकारी दिइन् ।

‘बैंकलाई हेर्ने नजरमा पनि धेरै परिवर्तन आएको छ, बैंकको कर्मचारी व्यवस्थापनदेखि आन्तरिक प्रणालीलाई एउटा तहमा पुर्याउनु भएको छ, कर्मचारीको बढुवादेखि अन्यमा पारदर्शीता कायम भएको छ,’ उनले भनिन् ।

त्यसपछि सुरु भयो लाभांश वितरण

देशको जेठो बैंकको सीईओका रुपमा नेतृत्व सम्हालेका अधिकारीले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेका हुन् । उनी सीईओ भएदेखि बैंकले निरन्तर सेयरधनीहरुलाई उच्च लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षमा पनि बैंकको ६.६२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ ।

चार वर्षमा कति गर्याे प्रगति  ?

नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई  दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ । सीईओ अधिकारीको कार्यकालमा अधिकांश सूचकमा निजी क्षेत्रका वाणिज्य बैंकलाई चुनौति दिने गरि बैंकले प्रगति गरेको छ ।

अधिकारी सीईओ बनेपछि बैंकको निक्षेप संकलन शतप्रतिशत बढेको छ । उनी सीईओ बन्नु अघि आर्थिक वर्ष २०७५/७६मा बैंकसँग १ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ मात्रै निक्षेप थियो । जब उनी बैंकको सीईओ भएर आए तब बैंकले १०८ प्रतिशत निक्षेप बढाएर आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ४४ अर्ब रुपैयाँ पुर्याए ।

उनको कार्यकालमा कर्जा प्रवाह पनि उल्लेख्य वृद्धि भएको छ । ४ वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०७९/८० सम्म ९९.५२ प्रतिशत कर्जा वृद्धि गरेर १ खर्ब ८४ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अधिकारी सीईओ हुनु अघि आर्थिक वर्ष २०७५/७६ मा बैंकको कर्जा प्रवाह ९१ अर्ब ९७ करोड रुपैयाँ मात्रै थियो ।

अधिकारीले आफ्नो कार्यकालमा चुक्ता पूँजी र जगेडा कोषमा पनि उल्लेख्य वृद्धि गरेका छन् । ४ वर्षको अवधिमा चुक्ता पूँजी ४९.७६ प्रतिशत बढाएर १४ अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोष ५६.६९ प्रतिशत बढाएर २० अर्ब ९१ करोड रुपैयाँ पुर्याएका छन् । आर्थिक वर्ष २०७५/७६ सम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ५६ करोड रुपैयाँ मात्रै थियो ।

उनको कार्यकालमा बैंकको नाफा पनि बढेको तथ्याङ्कले देखाउँछ । अधिकारी बैंकको सीईओ बन्नु अघि बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा गर्थ्यो । तर, पछिल्लो तथ्याङ्क अनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ । ४ वर्ष अघि ३ अर्ब २६ करोड रुपैयाँ ब्याज आम्दानी गर्ने बैंक हाल ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गर्दै आएको छ ।

उनको कार्यकालमा खराब कर्जा भने साढे १० प्रतिशतले बढेको छ । ४ वर्षअघि २.५८ प्रतिशत रहेको खराब कर्जा २.८५ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण खराब कर्जा बढेको उपप्रबन्धक पण्डितले बताइन् । बैंकिङ्ग क्षेत्रमा नै खराब कर्जा बढेकाले नेपाल बैंकको पनि बढनु स्वभाविक रहेको उनको भनाइ छ ।

‘कोरोना महामारीका कारण खराब कर्जा बढेको हो, देशको परिस्थिती नै गाह्रो थियो, कसैलाई अफ्ठ्यारोमा पारेर ऋण असुली गर्न सक्ने अवस्था थिएन, कतिपय ब्यापार व्यवसाय अझै सुस्त छ,’ उनले भनिन्, ‘बढेको खराब कर्जा चालू आवको पहिलो त्रैमासमा नै तल झर्छ ।’

कार्यवाहक सीईओको जिम्मेवारी पाएकी समता पन्तका अनुसार सीईओ अधिकारीको कार्यकालमा बैंकले धेरै प्रगति गरेको छ । तथ्याङ्कलाई आधार मान्ने हो भने बैंकको सञ्चालक समितिले अधिकारीलाई दोस्रो कार्यकालका लागि दोहार्याउनु पर्ने धारणा राखिन् ।

‘तथ्याङ्कका आधारमा उहाँको कार्यकाल सफल भएको छ, उहाँकै कार्यकालबाट बैंकले लाभांश दिन सुरु गरेको हो, ४ वर्षको अवधिमा लाभांशमा अब्बल बनाउनु भयो, क्रेडिट रेटिङमा पनि ‘ए’ रेटिङमा राख्नु भयो,’ उनले भनिन् ।

उनका अनुसार सीईओ अधिकारी कर्मचारी व्यवस्थापनमा पनि अब्बल छन् । सीईओ अधिकारीकै पहलमा कर्मचारीको सेवा सुविधा बढेको उनको भनाइ छ ।

‘कर्मचारी व्यवस्थापनमा पनि अब्बल हुनुहुन्छ, १५/१६ वर्षदेखि बढ्न नसकेको सेवा सुविधा उहाँले बढाउन पहल गर्नु भयो, त्यसकारण पनि कर्मचारी उहाँको कार्यकालमा सन्तुष्ट छन्,’ उनले भनिन् ।

Share News