दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको २९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५९०.३१ रुपैयाँलाई आधार मानेर हुने छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५१४.५५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५१४.५५ रुपैयाँलाई आधार मानेर हुने छ ।
मेरो र परिवारको उज्ज्वल भविश्य बनाउन देश छाडें : बिमल घर्ती मगर
काठमाडौं । फुटबलर बिमल घर्ति मगरले आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउन अष्ट्रेलिया गएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । उनले उमेरको बढेक्रमसँगै जिम्मेवारी थपिँदा देश आफ्नो देश छोड्नु परेको दुखेसो पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘जिन्दगी मा अनेकौ उतारचढाव आउँछन्, उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिकपन पनि बढ्ने रहेछ, त्यसै क्रममा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाति राखेर अष्ट्रेलिया आउने निधो गरें ।’
स्टार्टअप एण्ड इनोभेशनको लागि उद्योग संगठन मोरङले खुलायो आवेदन
काठमाडौं । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत तेश्रो व्याचका लागी स्टार्टअपको आवेदन आव्हान गरेको छ । संगठनले नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले नविन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै उक्त आवेदन खुलाएको हो । जसमा २०८० कार्तिक १५ गतेसम्म अनलाईन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । अनलाइन आवेदन फारम संगठनको वेवासाइटबाट लनइन गरि प्राप्त गर्न सकिने छ । विगत वर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेश्रो व्याचका लागी संगठनले प्रस्ताव आव्हान गरि कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार, बिराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउण्टेन्ट्स संघ लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । दश महिना अवधि रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागी हुन सक्नेछन् । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई विशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ । नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोश्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएकाले संगठनले तेश्रो चरणका कार्यक्रम ल्याएको हो । विगतका कार्यक्रम अन्तर्गत स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो र दोश्रो व्याचमा गरि ३० जना स्टार्टअपहरु ग्राजुएशन भइसकेका संगठनले जानकारी गराएको छ । विगत २ वर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना बिजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिवृद्धि गरिएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पुँजीको सहजिकरणका लागी विराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ । २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्ने छ ।
एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले ल्यायो अफर
काठमाडौं । नेपाल भिएस इन्डियाको एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले अफर ल्याएको छ । असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने अफर ल्याएको हो । ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउनेछन् । चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो । सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।
डीडीसी घाटामा जाँदा किसानलाई दुधको बक्यौता पाउन सकस, कर्मचारीले पनि पाएनन् तलब
काठमाडौं । चितवनका किशोर बगाले डेढ दशकदेखि कृषि पेशामा आवद्ध छन् । उनले चितवनको रत्ननगरमा गोरखकाली गाई फर्म सञ्चालन गरी दैनिक ३१० लिटर दुग्ध बिक्री गर्दै आएका छन् । उनको फर्ममा हाल ४५ भन्दा बढी गाई समेत छन् । डेढ दशकदेखि कृषि क्षेत्रमा आवद्ध उनले नियमित रुपमा दुग्ध बिक्रीको रकम पाउने गरेकोमा पछिल्लो केही समयदेखि भुक्तानी पाएका छैनन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष समेत रहेका उनले गत साउनदेखि रकम पाएका छैनन् । ‘मैले दैनिक ३१० लिटर दुध निजी डेरीलाई बिक्री गर्दै आएको छु, पहिला नियमित (महिनामा २ पटक) भुक्तानी पाउने गरेको थिएँ, तर पछिल्लो केही समयदेखि नियमित भुक्तानी रोकिएको छ’, उनले भने, ‘निजी डेरीसँगै सरकारी स्वामित्वमा सञ्चालित डीडीसीले समेत भुक्तानी रोकेको पाएको छु ।’ उनी जस्तै चितवनका हजारौं किसानले दुग्धको बक्यौता रकम पाएका छैनन् । हाल चितवनमा १ सय १५ वटा कृषि सहकारीबाट दैनिक १ लाख ३५ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । उक्त दुग्धमध्ये २५ हजार लिटर डीडीसी र बाँकी दुग्ध निजी क्षेत्रका डेरीहरुले खरिद गर्दै आएका छन् । सरकारी र डीडीसीले गरी ३ अर्बभन्दा बढी भुक्तानी रकम रोकेका छन् । किसानबाट उद्यारोमा दुध खरिद गरेर नगदमा बिक्री गर्ने सरकारी स्वामित्वमा सञ्चालित दूग्ध विकास संस्थान (डीडीसी) ले समेत साढे २ महिनादेखि किसानलाई दुधको रकम भुक्तानी गरेकाे छैन । गाइभैंसीका लागि आवश्यक पर्ने दाना, चोकर तथा औषधिहरुकाे पैसा नगदमै भुक्तानी गर्दै आएका उनीहरुले लामो समयसम्म दुधको पैसा नपाउँदा समस्या भएको बताएका छन् । महिनामा २ पटक दुधको रकम भुक्तानी गर्नुपर्नेमा डीडीसीले साउनदेखि दुधको रकम भुक्तानी गर्न सकेको छैन । २ महिनाको ४ किस्ता बापत झन्डै ४५ करोड रुपैयाँ हाराहारीमा रकम भुक्तानी रोकिएको संस्थानले जनाएको छ । डीडीसीका अर्थविज्ञ अञ्जन अधिकारीले साना किसानलाइ नियमित रुपमा रकम भुक्तानी गरेपनि ठूला किसानलाइ केही समयदेखि भुक्तानी गर्न नसकिएको स्वीकार गरे । ‘हामीले थोरै रकम भएका किसानलाई नियमित रुपमा (महिनामा २ पटक) रकम भुक्तानी गरिरहेका छौँ, धेरै रकम भएकाहरुलाई केही समयदेखि भुक्तानी गर्न सकिएको थिएन, अब विस्तारै भुक्तानी गर्न थालिसक्यौँ’, उनले भने । उनले दशैं अगाडि पुराना सबै रकम भुक्तानी गरिसक्ने गरी काम भैरहेको बताए । डीडीसीले दैनिक १२ सय दुग्ध उत्पादक संस्थाबाट दूध संकलन गर्दै आएको छ । तर, महिनामा २ पटक भुक्तानी गर्नुपर्ने रकम नदिँदा किसानहरु समस्यामा पर्न थालेका छन् । मौज्दात रहेको दूग्धजन्य पदार्थ बिक्री नभएपछि संस्थानले दशैंमा समेत बक्यौता रकम भुक्तानीको सम्भावना कम रहेकोे बुझिएको छ । हाल डीडीसीमा २ लाख किसानका परिवार आवद्ध छन् । हाल डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत् काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ । नेपाल डेरी संघका अध्यक्ष राजकुमार दाहाल दूग्धजन्य पदार्थको मौज्दात धेरै हुँदा सरकारी र निजी डेरीहरुले किसानलाई बक्यौता रकम भुक्तानी गर्न नसकेको बताउँछन् । ‘अहिले निजी र सरकारी डेरी दुबैमा यो समस्या छ, धेरै मौज्दात हुँदा अहिले रकम भुक्तानी रोकिएको हो, पहिला पनि केही समस्या हुनेगर्थ्याे, तर कोरोना पछि निरन्तर समस्या आयो’, उनले भने । उनले निजी डेरी उद्योगीले झन्डै ३ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । ३ महिनादेखि निजी डेरीले किसानलाई दुधको बक्यौता रकम भुक्तानी गरेका छैनन् । नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रलाद दाहालले डीडीसी र निजी डेरीले ३ अर्बभन्दा बढी रकम भुक्तानी नगरेको बताए । ‘गत साउनदेखि डीडीसी र निजी डेरीले किसानलाई दुधको मूल्य नै भुक्तानी नै गरेका छैनन्, अन्य डेरीमा धेरै समस्या भएपनि नेपाल डेरीले साउन र भदौ महिनाको भुक्तानी गरिसकेको छ, असोजको पहिलो किस्ता केही दिनमा नै भुक्तानी हुने मैले जानकारी पाएकोे छु’, उनले भने । कर्मचारीले समेत पाएनन् तलब लामो समयदेखि नोक्सानीमा जाँदा डीडीसीले कर्मचारीलाई नियमित रुपमा तलब समेत दिन सकेको छैन । संस्थान नोक्सानीमा गएको र पछिल्लो समय दुग्धजन्य पदार्थको मौज्जात धेरै हुँदा व्यवस्थापन गर्न नसकिएको जनाएको छ । कर्मचारीलाई नियमित सेवासुविधा भुक्तानी गर्न नसकेको संस्थानमाथि दशैंमा सेवासुविधा दिनुपर्ने दबाव थपिएको छ । ‘हामीले गत साउनदेखि नियमित रुपमा तलब भुक्तानी गर्न सकेका छैनाैं, साउनदेखि रोकिएको तलब माथि दशैंमा दिनुपर्ने बोनस समेत थपिएको छ’, डीडीसी स्रोतले भन्यो, ‘किसानको बक्यौता र कर्मचारीको सेवासुविधा एकैपटक भुक्तानी गर्नुपर्दा अहिले व्यवस्थापकमाथि चुनौती थपिएको छ ।’ डीडीसी स्रोतले किसानलाइ साउनको भुक्तानी र कर्मचारीलाई साउनदेखि असोजसम्मको (दशैं बोनस पछि दिनेगरी) रकम भुक्तानी गर्ने तयारी भएको जनाएको छ ।
चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन
काठमाडौं । चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन भएको छ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्वी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको छ । नेपाल ल्युब आयलले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीज्युले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरका हु्न् भने साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको शोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन् । समारोहमा करण चौधरील भने,’गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ । येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।
नक्कली प्रमाणपत्र पेश गरी जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्वनमा
काठमाडौं । सरकारले नक्कली प्रमाणपत्र पेश गरेर नेपाली कामदारलाई जापान पठाएको भन्दै १४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार एक निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ कोे दफा ६१ को ७ बमोजिम निलम्बन गरेको हो । ‘जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्विकृती लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरीको सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको छ, प्रारम्भीक अनुसन्धानबाट १४ म्यानपावर कम्पनीको संलग्नता भएको देखिएको छ’, विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विभागले उक्त म्यानपावर कम्पनीलाई निलम्वन गरी अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राखिएको समेत जनाएको छ ।
हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । रासस