डीडीसी घाटामा जाँदा किसानलाई दुधको बक्यौता पाउन सकस, कर्मचारीले पनि पाएनन् तलब

<p>काठमाडौं । चितवनका किशोर बगाले डेढ दशकदेखि कृषि पेशामा आवद्ध छन् । उनले चितवनको रत्ननगरमा गोरखकाली गाई फर्म सञ्चालन गरी दैनिक ३१० लिटर दुग्ध बिक्री गर्दै आएका छन् । उनको फर्ममा हाल ४५ भन्दा बढी गाई समेत छन् । डेढ दशकदेखि कृषि क्षेत्रमा आवद्ध उनले नियमित रुपमा दुग्ध बिक्रीको रकम पाउने गरेकोमा पछिल्लो केही समयदेखि [&hellip;]</p>

काठमाडौं । चितवनका किशोर बगाले डेढ दशकदेखि कृषि पेशामा आवद्ध छन् । उनले चितवनको रत्ननगरमा गोरखकाली गाई फर्म सञ्चालन गरी दैनिक ३१० लिटर दुग्ध बिक्री गर्दै आएका छन् । उनको फर्ममा हाल ४५ भन्दा बढी गाई समेत छन् ।

डेढ दशकदेखि कृषि क्षेत्रमा आवद्ध उनले नियमित रुपमा दुग्ध बिक्रीको रकम पाउने गरेकोमा पछिल्लो केही समयदेखि भुक्तानी पाएका छैनन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष समेत रहेका उनले गत साउनदेखि रकम पाएका छैनन् ।

‘मैले दैनिक ३१० लिटर दुध निजी डेरीलाई बिक्री गर्दै आएको छु, पहिला नियमित (महिनामा २ पटक) भुक्तानी पाउने गरेको थिएँ, तर पछिल्लो केही समयदेखि नियमित भुक्तानी रोकिएको छ’, उनले भने, ‘निजी डेरीसँगै सरकारी स्वामित्वमा सञ्चालित डीडीसीले समेत भुक्तानी रोकेको पाएको छु ।’

उनी जस्तै चितवनका हजारौं किसानले दुग्धको बक्यौता रकम पाएका छैनन् । हाल चितवनमा १ सय १५ वटा कृषि सहकारीबाट दैनिक १ लाख ३५ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । उक्त दुग्धमध्ये २५ हजार लिटर डीडीसी र बाँकी दुग्ध निजी क्षेत्रका डेरीहरुले खरिद गर्दै आएका छन् ।

सरकारी र डीडीसीले गरी ३ अर्बभन्दा बढी भुक्तानी रकम रोकेका छन् । किसानबाट उद्यारोमा दुध खरिद गरेर नगदमा बिक्री गर्ने
सरकारी स्वामित्वमा सञ्चालित दूग्ध विकास संस्थान (डीडीसी) ले समेत साढे २ महिनादेखि किसानलाई दुधको रकम भुक्तानी गरेकाे छैन ।

गाइभैंसीका लागि आवश्यक पर्ने दाना, चोकर तथा औषधिहरुकाे पैसा नगदमै भुक्तानी गर्दै आएका उनीहरुले लामो समयसम्म दुधको पैसा नपाउँदा समस्या भएको बताएका छन् ।

महिनामा २ पटक दुधको रकम भुक्तानी गर्नुपर्नेमा डीडीसीले साउनदेखि दुधको रकम भुक्तानी गर्न सकेको छैन । २ महिनाको ४ किस्ता बापत झन्डै ४५ करोड रुपैयाँ हाराहारीमा रकम भुक्तानी रोकिएको संस्थानले जनाएको छ ।

डीडीसीका अर्थविज्ञ अञ्जन अधिकारीले साना किसानलाइ नियमित रुपमा रकम भुक्तानी गरेपनि ठूला किसानलाइ केही समयदेखि भुक्तानी गर्न नसकिएको स्वीकार गरे ।

‘हामीले थोरै रकम भएका किसानलाई नियमित रुपमा (महिनामा २ पटक) रकम भुक्तानी गरिरहेका छौँ, धेरै रकम भएकाहरुलाई केही समयदेखि भुक्तानी गर्न सकिएको थिएन, अब विस्तारै भुक्तानी गर्न थालिसक्यौँ’, उनले भने ।

उनले दशैं अगाडि पुराना सबै रकम भुक्तानी गरिसक्ने गरी काम भैरहेको बताए । डीडीसीले दैनिक १२ सय दुग्ध उत्पादक संस्थाबाट दूध संकलन गर्दै आएको छ । तर, महिनामा २ पटक भुक्तानी गर्नुपर्ने रकम नदिँदा किसानहरु समस्यामा पर्न थालेका छन् ।

मौज्दात रहेको दूग्धजन्य पदार्थ बिक्री नभएपछि संस्थानले दशैंमा समेत बक्यौता रकम भुक्तानीको सम्भावना कम रहेकोे बुझिएको छ । हाल डीडीसीमा २ लाख किसानका परिवार आवद्ध छन् ।

हाल डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत् काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ ।

नेपाल डेरी संघका अध्यक्ष राजकुमार दाहाल दूग्धजन्य पदार्थको मौज्दात धेरै हुँदा सरकारी र निजी डेरीहरुले किसानलाई बक्यौता रकम भुक्तानी गर्न नसकेको बताउँछन् ।

‘अहिले निजी र सरकारी डेरी दुबैमा यो समस्या छ, धेरै मौज्दात हुँदा अहिले रकम भुक्तानी रोकिएको हो, पहिला पनि केही समस्या हुनेगर्थ्याे, तर कोरोना पछि निरन्तर समस्या आयो’, उनले भने ।

उनले निजी डेरी उद्योगीले झन्डै ३ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । ३ महिनादेखि निजी डेरीले किसानलाई दुधको बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रलाद दाहालले डीडीसी र निजी डेरीले ३ अर्बभन्दा बढी रकम भुक्तानी नगरेको बताए ।

‘गत साउनदेखि डीडीसी र निजी डेरीले किसानलाई दुधको मूल्य नै भुक्तानी नै गरेका छैनन्, अन्य डेरीमा धेरै समस्या भएपनि नेपाल डेरीले साउन र भदौ महिनाको भुक्तानी गरिसकेको छ, असोजको पहिलो किस्ता केही दिनमा नै भुक्तानी हुने मैले जानकारी पाएकोे छु’, उनले भने ।

कर्मचारीले समेत पाएनन् तलब

लामो समयदेखि नोक्सानीमा जाँदा डीडीसीले कर्मचारीलाई नियमित रुपमा तलब समेत दिन सकेको छैन । संस्थान नोक्सानीमा गएको र पछिल्लो समय दुग्धजन्य पदार्थको मौज्जात धेरै हुँदा व्यवस्थापन गर्न नसकिएको जनाएको छ ।

कर्मचारीलाई नियमित सेवासुविधा भुक्तानी गर्न नसकेको संस्थानमाथि दशैंमा सेवासुविधा दिनुपर्ने दबाव थपिएको छ ।

‘हामीले गत साउनदेखि नियमित रुपमा तलब भुक्तानी गर्न सकेका छैनाैं, साउनदेखि रोकिएको तलब माथि दशैंमा दिनुपर्ने बोनस समेत थपिएको छ’, डीडीसी स्रोतले भन्यो, ‘किसानको बक्यौता र कर्मचारीको सेवासुविधा एकैपटक भुक्तानी गर्नुपर्दा अहिले व्यवस्थापकमाथि चुनौती थपिएको छ ।’

डीडीसी स्रोतले किसानलाइ साउनको भुक्तानी र कर्मचारीलाई साउनदेखि असोजसम्मको (दशैं बोनस पछि दिनेगरी) रकम भुक्तानी गर्ने तयारी भएको जनाएको छ ।

Share News